Wednesday 25 June 2014

92. No. 65 श्लोक ५ कुनै पनि मनुष्य कुनै पनि अवस्थामा क्षण मात्र पनि कर्म नगरी रहन सक्तैन;

No. 65
श्लोक ५

कुनै पनि मनुष्य कुनै पनि अवस्थामा क्षण मात्र पनि कर्म नगरी रहन सक्तैन; किनकि प्रकृतिको वशमा भएका सबै प्राणीहरुवाट प्रकृतिजन्य  कर्महरु गराइन्छन् ।
भगवान भन्नुहुन्छ, कुनै पनि साधक, चाहे ज्ञानी होस् अथवा अज्ञानी, कर्म नगरी रहन सक्तैन । ज्ञानी आफ्नो भनिएको शरीरसँग कुनै सम्बन्ध राख्दैन, तैपनि उसको शरीरद्वारा हरदम कुनै न कुनै क्रिया भइरहन्छ । हामीले  आफूवाट हरदम कर्म भैरहेको छ भन्ने नमाने पनि शरीरसंग सम्बन्ध रहुन्जेल हामीवाट कर्म भइरहन्छन्, किनभने हाम्रो शरीर प्रकृतिको वशमा छ । प्रकृति निरन्तर परिवर्तनशील छ । हामीले (साधकले) आफ़्नोलागि केही गर्नु छैन । आफ्नो अगाडि आएका विहित कर्म केवल अरुको हितकोलागि गर्नुपर्छ हामीले । हाम्रो उद्देश्य परमात्मप्राप्ति भएकोले हामीवाट हुने कर्म निषिद्ध त हुनै भएन ।
हामीहरु स्थूल शरीरवाट हुने क्रियाहरुलाई मात्रै कर्म भन्छौं, तर गीता मनका क्रियाहरुलाई पनि कर्म भन्छ । गीताले शारीरिक, मानसिक र वाचिक सम्पूर्ण क्रियाहरूलाई कर्म मानेको छ । हामीले आफ्नो सम्बन्ध मानेका क्रियाहरु नै कर्म वनेर हामीलाई वाँधछन्, अरु क्रियाहरुले वाँधदैनन् हामीलाई ।
मनुष्यको धारणा छ, वच्चा हुर्काउनु, नोकरी गर्नु, व्यापार, अध्यापन गर्नु कर्म हो, तर यी कर्म संगसंगै खानु-पिउनु, सुत्नु, वस्नु, चिन्तन गर्नु चाहिं कर्म होइनन् । यही कारण उनीहरु व्यापार आदि कर्म छोडेर 'म कर्म गरिरहेको छैन' भन्छन् । यस्तो विचार गर्नु ठूलो भूल हो हाम्रो । शरीर-निर्वाह सम्बन्धी स्थूल शरीरका क्रियाहरु, निद्रा, चिन्तन आदि सूक्ष्म शरीरका क्रियाहरु र समाधि आदि कारण-शरीरका क्रियाहरु -- यी सबै कर्म नै हुन् । शरीरसँग अहंता, ममता रहुन्जेल शरीरवाट हुने सम्पूर्ण क्रियाहरु कर्म नै हुन् । किनभने शरीर प्रकृतिको कार्य हो र प्रकृति कहिले पनि अक्रिय हुन्न । त्यसैले शरीरसँग सम्बन्ध रहिरहँदा कुनै पनि मनुष्य कुनै पनि अवस्थामा क्षण मात्र पनि कर्म नगरी रहन सक्तैन ।
भगवान अझ भन्नुहुन्छ, प्रकृतिजन्य गुण प्रकृतिका वशमा परेका मनुष्यहरूलाइ कर्म गराई छाडछन् । आत्मा स्वयं अक्रिय, असंग, अविनाशी, निर्विकार तथा निर्लिप्त भए पनि जवसम्म हामी प्रकृति र प्रकृतिका कार्य -- स्थूल, सूक्ष्म र कारण शरीरसँग सम्बन्ध राख्छौं, तवसम्म हामी प्रकृतिको वशमा रहन्छौं ।
स्वभाव वृत्तिवाट वन्छ, वृत्तिहरु गुणवाट वन्छन्, गुण प्रकृतिवाट पैदा हुन्छन् । त्यसैले, स्वभावको वशमा भने पनि, प्रकृतिको वशमा भने पनि, गुणको वशमा भने पनि कुरा एकै हो । वास्तवमा, सबैको मूलमा प्रकृतिजन्य पदार्थहरुको नै परवशता हुन्छ । यही परवशतावाट सवै परवशताहरु निस्कन्छन् । यही प्रकृतिजन्य परवशतालाई नै कहिं कालको, कहिं स्वभावको, कहिं कर्मको र कहिं गुणहरुको परवशता भनिएको छ । समग्रमा, यही जीव जवसम्म प्रकृति र प्रकृतिको गुणहरुवाट अतीत हुँदैन, परमात्माको प्राप्ति गर्दैन, तवसम्म यो (जीव) गुण, काल, स्वभावको परवश भइ नै रहन्छ । अर्थात् प्रकृतिसँग सम्बन्ध मानुन्जेल हामी (जीव) प्रकृतिमा नै रहन्छौं र कहिले कालको, कहिले गुणको, कहिले भोगहरुको, कहिले स्वभावको अधीनमा नै रहन्छौं, कहिले पनि स्ववश (स्वतन्त्र) हुन सक्तैनौं । यति मात्रै कहाँ हो र , हामी परिस्थिति, व्यक्ति, स्त्री, पुत्र, धन, घरजग्गा आदिमा परतन्त्र नै रहन्छौं । जव हामी (जीव) गुणहरुदेखि अतीत आफ्नो स्वरूपको अथवा परमात्मतत्वको अनुभव गर्छौं, त्यसपछि यस्तो परवशता रहँदैन हामीमा र हामी स्वतःसिद्ध स्वतन्त्रता पाउँछौं ।
प्रकृतिका पनि (अक्रिय) सूक्ष्म र (सक्रिय) स्थूल -- अवस्थाहरु हुन्छन् । जस्तो काम गर्नु सक्रिय अवस्था हो, काम नगर्नु, निद्रा आदि अक्रिय अवस्था हो ।  वास्तवमा अक्रिय अवस्थामा पनि प्रकृति अक्रिय रहन्न, त्यसमा सूक्ष्म रूपले सक्रियता रहन्छ । खासै भन्नु पर्दा, प्रकृति कहिले पनि अक्रिय हुँदै हुन्न, किनकि यो प्रतिक्षण वदलिइरहन्छ । स्वयं आत्मामा कर्तापन छैन, तर प्रकृतिका कार्यहरु शरीर आदिसँग सम्बन्ध मान्नाले त्यही स्वयं प्रकृतिको परवश हुन्छ । यही परवशताको कारणले स्वयं अकर्ता हुँदा हुँदै पनि ऊ आफूलाई कर्ता मानिरहन्छ । वस्तुतः आत्मामा कुनै पनि परिवर्तनरुप क्रिया हुँदैन । प्रकृतिद्वारा समस्त सृष्टिको क्रियाहरु स्वाभाविक रूपले भए जस्तै ऊ (स्वयं) द्वारा पनि वालकपन, जवानी आदि अवस्थाहरु र भोजन पचाउनु, सास भित्र वाहिर आउनु जानु आदि क्रियाहरु र यस्तै किसिमले देख्नु, सुन्नु आदि क्रियाहरु पनि स्वाभाविकरूपले भइ नै रहेछन् । परन्तु (हामी) जीवात्मा प्रकृतिमा कुनै क्रियाहरुलाई आफ्नो मान्छ र कुनै क्रियाहरुलाई आफ्नो मान्दैन । यही नै उसको बन्धनको कारण हो ।
प्रकृति निरन्तर परिवर्तनशील छ, तर शुद्ध स्वरूपमा कहिले कुनै परिवर्तन हुँदैन । वास्तवमा प्राकृतिक पदार्थहरुको स्वतन्त्र सत्ता छँदै छैन । प्रतिक्षण वदलिइ रहने पुञ्जको नाम नै पदार्थ हो । पदार्थहरुसँग आफ्नो सम्बन्ध मान्दा कुनै पनि मनुष्य कुनै पनि अवस्थामा एक क्षण पनि कर्म नगरी रहन सक्तैन । सबै क्रियाहरु पदार्थहरुमा भइरहेछन् र पदार्थहरुसँग मेरो कुनै पनि सम्बन्ध छैन भन्ने हामीले (साधकले) मान्न सके हामी सबै परवशतादेखि मुक्त हुन्छौं । कर्मयोगी प्रतिक्षण परिवर्तनशील पदार्थहरुको कामना, ममता र आसक्ति त्यागेर यो परवशता मेटाउँछ ।
सम्पूर्ण क्रियाहरु खालि प्रकृतिमा नै हुन्छ । तर प्रकृतिसँग आफूलाई मिलाउँदा मनुष्य प्रकृतिमा भएका गुणहरुको अधीन हुन्छ अर्थात् उसको सम्बन्ध क्रियासँग हुन्छ । यसैले प्रकृतिसँग मान्ने व्यक्ति कुनै पनि अवस्थामा, एक क्षण पनि कर्म नगरी रहन सक्तैन ।
प्रकृतिको सम्पूर्ण अवस्थाहरुदेखि अतीत छ -- सहजावस्था अथवा सहज समाधि । सहजावस्था स्वरूपको हुन्छ । कुनै पनि क्रिया नहुने तत्वमा क्रिया कसरी  हुने ? अतः सहजावस्थामा परिणाम पनि छैन, व्युत्थान पनि छैन । किनभने क्रियाहरु त प्रकृति विभागमा हुने हुन्, स्वरूप बिभागमा हुने होइनन् ।
कर्म गर्नमा हामी परतन्त्र भए पनि राग-द्वेष नगर्नमा हामी स्वतन्त्र छौं ।     

No comments:

Post a Comment