104. No. 73 श्लोक १३ यज्ञशेष (योग)को अनुभव गर्ने श्रेष्ठ मनुष्य सम्पूर्ण पापहरुवाट मुक्त हुन्छन् ।
यज्ञशेष
(योग)को अनुभव गर्ने श्रेष्ठ मनुष्य सम्पूर्ण पापहरुवाट मुक्त हुन्छन् ।
तर जो केवल आफ़्नोलागि मात्रै सबै कर्महरु गर्छन्, ती पापीहरु त पाप नै
खान्छन् ।
कर्तव्यकर्महरुको पालन निष्कामभावले
विधिपूर्वक गरे यज्ञशेषको रूपमा योग अथवा समता नै शेष रहन्छ । कर्मयोगमा
संसारवाट प्राप्त सामग्रीद्वारा नै कर्म हुन्छ । अतः संसारको पदार्थ
संसारको सेवामा लगाइदिन सके त्यही कर्म 'यज्ञ' सिद्ध हुन्छ । यज्ञ सिद्ध
भएपछि स्वतः अवशिष्ट रहने योग आफ़्नोलागि हुन्छ । यही योग, यही समता नै
यज्ञशेष हो, यही यज्ञशेषलाई नै अमृत भन्छ गीता ।
यो श्लोकमा भनिएको कुरो, यस्तो यज्ञशेषको
अनुभव गरेपछि अर्थात् अमृतको अनुभव गरेपछि हामीमा कुनै पनि प्रकारको बन्धन
वांकी रहँदैन । साधकको सम्पूर्ण (संचित, प्रारब्ध र क्रियमाण) कर्म विलीन
हुन्छन् । सम्पूर्ण कर्महरु विलीन हुनुलाई नै सनातन ब्रह्मको प्राप्ति
भनिन्छ गीता अनुसार ।
पाप कर्म त बन्धनकारी हुन्छन् नै,
सकामभावले गरिएका कर्महरु पनि बन्धनकारी हुन्छन् । यज्ञशेषको अनुभव गर्ने
मनुष्यको पाप-पुण्य दुवै रहँदैनन् ।
अव प्रश्न छ, बन्धनको वास्तविक कारण के हो ?
'यस्तो हुनुपर्छ, यस्तो हुनु हुँदैन'
भन्ने कामनावाट नै बन्धन हुन्छ । यही कामना नै सम्पूर्ण पापहरुको जड हो ।
त्यसैले, कामनाको त्याग गर्नु अत्यन्त आवश्यक छ हाम्रो जीवनमा ।
विचार गर्ने हो भने, कामनाको आफ्नो कुनै स्वतन्त्र सत्ता
छैन । कामनाको उत्पत्ति अभाववाट हुन्छ र 'स्वयम्' (सत् स्वरूप)मा कुनै
किसिमको अभाव छँदै छैन, हुन पनि सक्तैन । यसैले, 'स्वयम्'मा कामना छँदै
छैन । हामीले आफ्नै भूलले शरीर आदि असत् पदार्थसँग आफ्नो एकता मानेर
त्यही असत् पदार्थको अभाववाट आफूमा अभाव मान्न थाल्यौं र त्यही अभावको
पूर्तिकोलागि असत् पदार्थको कामना गर्यौं । हामीले यो कुराको विचार
गर्नुपर्यो, आरम्भ र समाप्त हुने क्रियाहरुसँग उत्पन्न र नष्ट हुने
पदार्थहरु नै त पाइन्छन् । यस्ता उत्पत्ति-विनाशशील पदार्थहरुवाट हाम्रो
अभावको पूर्ति कहिले पनि हुन सक्तैन । यस्ता पदार्थहरुवाट अभावको पूर्ति
हुने प्रश्न नै नभएपछि यस्ता कामना गर्नु हाम्रो नै भूल होइन त । यस्तो
प्रकारले विचार गर्न सके हाम्रो कामना हट्न सक्छ ।
हाम्रा आफ्ना भनिने शरीर आदि पदार्थहरुलाई
कहिले पनि आफ्नो तथा आफ़्नोलागि नमानेर अरुको सेवामा ती पदार्थहरु लगाइदिन
सके ती पदार्थहरुसँग स्वतः सम्बन्ध-विच्छेद हुन्छ हाम्रो । यस्तो
सम्बन्ध-विच्छेदले तत्काल नै आफ्नो सत् स्वरूपको बोध हुन्छ हामीलाई ।
त्यसपछि कुनै अभाव वांकी रहँदैन । मनमा कुनै प्रकारको अभावको कामना नरहने
मान्छे जीवित अवस्थामा नै मुक्त हुन्छ ।
आफ्नोलागि केही पनि चाहिने भाव अर्थात्
स्वार्थ, कामना, ममता, आसक्ति नहुने, आफूलाई कसैले 'असल' भनिदेओस भन्ने पनि
भाव नभएको व्यक्तिलाई मुक्त भन्छ गीता । जति धेरै स्वार्थ बुद्धि भयो हामी
त्यति धेरै पापी हुन्छौं ।
संसारमा मिलेका साधन सामग्रीहरु संसारको
सेवामा नलगाएर आफ्नो सुखभोगमा लगाउनु नै आफ्नोलागि 'पकाउनु' हो । यो
श्लोकमा आएको 'पकाउनु' शब्दले खालि पकाउनु मात्र नभएर खानु, पिउनु,
हिंड्नु, वस्नु आदि सबै संसारिक क्रियाहरुको सिद्धि भन्ने बुझाउँछ ।
संसारको सानो भन्दा सानो अंश शरीरलाई
आफ्नो र आफ़्नोलागि मान्नु नै ठूलो पाप हो । तर यो शरीरलाई आफ्नो नमानेर
यसलाई (यो शरीरलाई) आवश्यकता अनुसार अन्न, जल, वस्तु आदि दिएर यो शरीरलाई
भोगी वन्न नदिनु यो शरीरको सेवा हो । यसो गर्न सके हामीलाई यो शरीरमा
ममता-आसक्ति रहँदैन ।
आफ्नो कर्मको फल आफैंले भोग्नु पर्छ
हामीले । तर यो शरीरवाट गरिएका कर्महरुको प्रभाव सम्पूर्ण संसारमा नै पर्छ
। 'आफ़्नोलागि' कर्म गर्ने मनुष्य आफ्नो कर्तव्यदेखि 'च्युत' हुन्छ, तल
झर्छ । त्यसैले गीता भन्छ, हामीले आफ्नोलागि केही नगर्ने, आफ़्नोलागि केही
नमान्ने र आफ़्नोलागि केही नचाहने ।
आफ़्नोलागि 'पकाउनु' भनेको कर्मफलको आश्रय
लिनु हो । कर्मफलसंग सर्वथा अनाश्रित रहन सके साधक आफ़्नोलागि केही गर्दैन,
जसले गर्दा ऊ योगमा स्थित रहन समर्थ हुन्छ ।
यो
श्लोकमा भगवानले 'पाप खाने' मनुष्यलाई सभ्य भाषामा निन्दा गर्नुभयो ।
भगवानको आशय, आफ्नोलागि भनेर गरिएका कर्मवाट मनुष्य धेरै पाप संग्रह
(जम्मा) गर्छ । यो पापसंग्रह जति खर्च गरे पनि, जति भोगे पनि सकिंदैन ।
फेरि गीता भन्छ, 'तिमीहरु आजैदेखि, अहिल्यैदेखि पाप गर्दिन भन', यस्तो
निश्चयमा धेरै ठूलो शक्ति हुन्छ । किनभने परमात्मातिर लाग्ने दृढ निश्चय
भएपछि पाप हुन स्वतः रोकिन्छ ।
मनुष्यसँग भएका शरीर, योग्यता, पद,
अधिकार, विद्या, वल सवै पछि पाइएका हुन् र छुट्ने किसिमका हुन् । यसैले यी
सबै आफ़ो र आफ़्नोलागि होइनन्, अरुको सेवकोलागि हुन् । हाम्रा शरीरका सबै
अवयव शरीरका भए जस्तै संसारका सबै मनुष्य संसारको हितकोलागि हुन् । कुनै
पनि देश, वेश, वर्ण, आश्रम आदिका व्यक्तिले आफ्नो कर्महरुद्वारा अरुको
सेवा गरेर सजिलैसँग आफ्नो कल्याण गर्न सक्छ ।
हामीमा भएको विशेषता अरुकोलागि हो,
आफ़्नोलागि होइन । यो सिद्धान्तलाई सबैले आदर गरे सबै जीवन्मुक्त हुने थिए ।
पाइएको वस्तुलाई अरुको सेवामा लगाइदिने त हो, अरु के नै गर्नु पर्छ र ?
सित्तैंमा आफ्नो कल्याण हुन्छ । हामीवाट यस्तो हुन सके मुक्तिकोलागि केही
गर्नु जरुरत छैन । हामीसंग भएका वस्तुहरु अरुको सेवामा लागाउने जिम्मेवारी
हो हाम्रो, त्यो भन्दा वढी केही गर्नु छैन हामीलाई । त्यो भन्दा वढी हामी
केही गर्न पनि सक्तैनौं । हामीसँग भएका समस्त वस्तु, योग्यता र सामर्थ्य
अरुको सेवामा पूरा खर्च गर्न सक्यौं भने हाम्रो कल्याण पनि पूरा हुनेछ ।
वास्तवमा शरीरवाट संसारको नै काम हुन्छ,
आफ्नो काम हुँदै हुँदैन, किनकि शरीर हाम्रोलागि हुँदै होइन । केही न केही
कामकोलागि नै शरीरको जरुरत हुन्छ । केही पनि नगरे शरीरको के जरुरत ?
त्यसैले, शरीर द्वारा आफ़्नोलागि केही गर्नु नै दोष हो । पाइएको वस्तु
द्वारा आफ़्नोलागि केही गर्न हुँदैन, ती वस्तुहरुद्वारा संसारको सेवा
गर्नुपर्छ हामीले। शरीर संसारको अंश भएकोले यसवाट जे जे हुन्छ, संसारकैलागि
हुन्छ । संसार भन्दा पर हाम्रो शरीर, इन्द्रियहरु, मन, बुद्धि जानै
सक्तैनन्, यिनीहरुलाई संसारवाट छुट्टयाउन पनि सक्तैनौं हामी । आफ़्नोलागि
कर्म गर्नु मनुष्यपना होइन, राक्षसपना हो । अरुकोलागि कर्म गर्ने व्यक्ति
नै मनुष्य हो । आफ्नो सुखकोलागि कर्म गर्ने मान्छेले पाप खान्छ अर्थात्
सँधै दुःखी रहन्छ र अरुको हितकोलागि कर्म गर्ने मान्छे सबै पापहरुवाट मुक्त
हुन्छ अर्थात् सँधैकोलागि सुखी रहन्छ ।
No comments:
Post a Comment