Wednesday 25 June 2014

95. No. 68 श्लोक ८ तिमी शास्त्रविहित कर्म गर;

यो जोसँग सम्बन्धित छ ।
No. 68
 
श्लोक ८
तिमी शास्त्रविहित कर्म गर; किनकि कर्म नगर्नु भन्दा कर्म गर्नु श्रेष्ठ छ । कर्म गरेन भने तिम्रो जीवन
निर्वाह पनि चल्दैन ।
भनिन्छ, गीतामा तीन योगहरु छन् । ती हुन् -- कर्मयोग, भक्तियोग र ज्ञानयोग । कर्मयोग अन्तर्गत गीताका पहिला ६ अध्यायहरु छन् , भक्तियोगमा वीचका ६ अध्यायहरु छन्, ज्ञानयोगमा अन्तिम ६ अध्यायहरु छन् । यही कारण, अर्जुनले कर्मको  नै आदेश पाइरहेका छन् भगवानवाट ।  के गर्नु हजुर, जे गर्दिन भनेका थिए, त्यही गर्नु परिरहेछ अर्जुनलाई । जे गर्न  लाग्यो त्यो गर्न नपाइने, जे गर्नुपर्छ त्यही गर्नु पर्ने । हामीलाइ पनि त्यही त हो नि, होइन र !
कर्म गर्दा कर्तापन नहुनु नै कर्मयोग हो । कर्तापन नहुनु भनेको हामीले गरेका कर्ममा हुने आसक्ति हटाउनु भनेको हो । गीताले हामी जस्तालाई बुझाउन त्यही कुरा विभिन्न शैलीले, बिभिन्न भंगीले उपदेश गर्छ । कामना आदि दोष भएका हामीमा एक चोटी भन्दा यो ज्ञान (विषय पनि नयाँ भएकोले) अड्न सक्तैन भन्ने लाग्छ, हाम्रा गुरुहरुलाई ।  त्यसैले, हामीले यो ज्ञान वारम्वार सुनिरहनु पर्यो, यदि हामीलाई यो ज्ञानको महत्व थाहा छ भने ।
कर्तापन भनेको रजोगुणको खेल हो । किनभने, शास्त्र भन्छ, यो संसारमा भैरहेका सबै कर्महरु परमात्माको आज्ञाले भैरहेका छन् । रमण महर्षि परमात्मालाई कर्ता मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ, 'कर्तुराग्यया प्राप्यते फलम्' । उसको इच्छा विना एउटा पात हल्लंदैन, एक दानो रायो उम्रंदैन भने हामीले आफू कर्ता मान्दा हामीलाई दोष लाग्यो, पाप लाग्यो, पापको फल दुःख भयो । फेरि, दुःख भनेको कुनै देखाउन सकिने वस्तु अथवा पदार्थ होइन । दुःख भनेको हामीलाई मन नपर्ने, प्रतिकूल परिस्थिति हो । यस्तो अनुकूल अथवा प्रतिकूल परिस्थिति मान्ने पनि हाम्रो मन नै हो ।  जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि आफ्नो मनको शान्तिलाई भंग हुन नदिनु नै हाम्रो आध्यात्मिक साधना हो ।
आश्चर्य मान्छ शास्त्र पनि, सँधै आफ्ना वरिपरिकालाई परिरहेका वस्तु, व्यक्ति र पदार्थको संयोगद्वारा परिरहेका परिस्थिति हामीलाई पनि चेत हुँदैन ।  त्यस्ता घटनाहरु कुनै दिन आफूमा पनि आइपर्छन् भन्ने किन लाग्दैन हामीलाई ? संसारमा सबैलाई लाग्ने नियम 'अरुलाई लाग्छ, आफूलाई  लाग्दैन भन्ने मान्यता छ हाम्रो । अरुलाई नियम (rule) आफूलाई अपवाद (exception) वनाउँछौं हामी । हुँदै नहुने, विल्कुलै असम्भव मान्यता राख्ने हामी जस्ता व्यक्तिलाई दुःख नभए कसलाई हुने ?

परमात्माको संसार, उसैको सृष्टि, हामीले आफूलाई कर्ता मान्दा दोष लाग्यो, हाम्रो मन अशुद्ध भयो, अशुद्ध भएको मनले राम्रो चिन्तन गर्न सकेन, राम्रो चिन्तन नभएपछि ठीक भएन, वेठीक व्यवहारले अरुलाई भन्दा पहिले हामी आफैंलाई नोक्सान भयो । अशुद्ध व्यवहार, वेठीक व्यवहारले हाम्रो अन्तःकरणमा त्यसको संस्कार वस्यो । यसै गरी गरी हामीमा नयाँ नयाँ अशुद्ध संस्कारहरु वढ्दै गए । आफूले गरेका कामवाट शान्ति होला भनेको त झन् झन् अशान्ति हुन थाल्यो हामीलाई । त्यसैले धेरै पटक वर्णन भैरहेको छ, यही अशान्तिवाट शोक, चिन्ता, भय लाग्ने भयो हामीलाई ।
यो श्लोकमा अर्को बुँदा छ, काम गर्नु पर्छ अर्जुनले । अर्जुन काम (युद्धरुप कर्म) नगरी जोगी हुन चाहन्छन्, भिक्षा मागेर जीवन निर्वाह गर्न चाहन्छन् । त्यसैले अर्जुन जस्तो आफ्नो प्रिय सखालाई भगवान विग्रन दिनुहुन्न । गीतामा कहिं पनि, कतै पनि भिक्षा मागेर खाने उपदेश भगवानको छैन । ठुला ठुला सन्त महात्माहरु पनि, वैदिक कालका वशिष्ठ, याज्ञवल्क्य  आदि ऋषिहरु पनि राजाहरुका र जनताका छोराछोरीलाई पढाएर, गुरुकुल चलाएर जीविका चलाउँथे । हालै हामीले देखेका अथवा सुनेका स्वामीजीहरु, जस्तै, स्वामी रामसुखदासजी महाराज, स्वामी अखण्डानन्द सरस्वती, वाट ठुला ठूला प्रवचनहरु हुन्थे भारतमा । मैले पनि सुनेको नै हो, उहाँहरुका प्रवचनहरुवाट करौडौं रुपियाँ उठथे, त्यो जमानामा । तर, उहाँहरुको  त्यो रकम सबै गीताप्रेस, गोरखपुरको संस्थापन र व्यवस्थापनमा खर्च हुन्थे । भनाइको  मतलव, जुन सुकै वर्ण र आश्रममा रहेको व्यक्तिले पनि आफ्नो वर्ण र आश्रममा विहित आचरण गर्नुपर्छ ।    

No comments:

Post a Comment