Wednesday 25 June 2014

93. No. 66 श्लोक ६ जो कर्मेन्द्रियहरुलाई, सम्पूर्ण इन्द्रियहरुलाइ, हठपूर्वक रोकेर मनले इन्द्रियहरुको

No. 66
श्लोक ६
जो कर्मेन्द्रियहरुलाई, सम्पूर्ण इन्द्रियहरुलाइ, हठपूर्वक रोकेर मनले इन्द्रियहरुको चिन्तन गरेर वस्छ, त्यो मूढ बुद्धि भएको मनुष्यलाई  मिथ्याचारी भनिन्छ ।
गीतामा कर्मेन्द्रिय अन्तर्गत ज्ञानेंद्रियहरुलाई पनि मान्नुपर्छ । त्यसैले गीतामा कर्मेन्द्रिय 'शब्द' आएको छ, तर ज्ञानेंद्रिय शब्द चाहिं आएको छैन । यसको मतलव, गीता अनुसार ज्ञानेंद्रिय पनि कर्मेन्द्रिय अन्तर्गत नै पर्छन् । किनकि ज्ञानेंद्रियका क्रियाहरुलाई पनि कर्मेन्द्रियका क्रियाहरुसँग सम्मिलित गरिएका छन् । यसको मतलव, गीता ज्ञानेंद्रिय हरुलाई पनि कर्मेंद्रिय नै भन्छ । त्यस्तै गीता मनलाई पनि कर्मेंद्रिय नै मान्छ । अर्को शब्दमा, सम्पूर्ण प्रकृति क्रियाशील भएको कारण प्रकृतिका सम्पूर्ण कार्यहरु क्रियाशील छन् ।
संयम गर्ने भनेको, इन्द्रियहरूलाई राम्ररी नियमन अर्थात् वशमा गर्ने । तर यो श्लोकमा इन्द्रियहरुलाइ हठपूर्वक वाहिरवाट रोक्ने भनिएको  हो ।
मूर्ख बुद्धि भएका (सत्-असत् को विवेकदेखि रहित) मनुष्य वाहिरवाट त इन्द्रियाहरुका क्रियाहरुलाई हठपूर्वक रोक्छन्, तर मनले ती इन्द्रियहरुका विषयहरूको चिन्तन गरिरहन्छन् र यस्तो स्थितिलाई क्रियारहित स्थिति मान्छन् । त्यसैले त्यस्ता व्यक्तिलाई मिथ्याचारी भनिन्छ ।
त्यस्तो मूर्ख व्यक्ति वाहिरवाट त विषयको त्याग गर्छ र 'म कर्म गर्दिन' भन्ने सम्झन्छ । तर यस्तो अवस्थामा पनि ऊ कर्मरहित भएको छैन ।किनकि वाहिरवाट क्रिया नगरे पनि अहंता, ममता र कामनाले गर्दा रागपूर्वक विषय चिन्तनको रूपमा विषय भोगरूपी कर्म त भइ नै रहन्छ ।
संसारिक भोगहरुलाई वाहिरवाट पनि भोग्न सकिन्छ र मनले पनि भोग्न सकिन्छ । वाहिरवाट रागपूर्वक विषय भोग्दा अन्तःकरणमा भोगहरुका जस्ता संस्कार पर्छन्, त्यस्तै संस्कार मनले भोगहरु भोग्दा पनि अर्थात् रागपूर्वक विषयहरुको चिन्तन गर्दा पनि पर्छन् । वाहिरवाट भोगहरुको त्याग त मनुष्य विचारले, लोक-लाजले र व्यवहारमा गडवडी पर्ला भन्ने डरले पनि गर्न सक्छ, तर मनले भोग भोग्नमा वाहिरवाट कुनै वाधा पर्दैन । अतः व्यक्ति मनले भोगहरु भोगी नै रहन्छ र वाहिर वेकारको अभिमान गर्छ, 'म भोगहरुको त्यागी हुँ' । खासै भन्नु पर्दा, मनले भोग भोग्दा विशेष हानि हुन्छ, किनकि मनले विषय भोग्ने विशेष अवसर पाइन्छ । वाहिरवाट विषय भोग्दा कुनै वेला अवसर पाइएला, कुनै वेला नपाइएला पनि । तर मनले विषय सेवन गर्न त हर वखत अवसर पाइन्छ । यही क्रममा भगवान भन्नुहुन्छ, साधकले जसरी आफूलाई वाहिरको भोगवाट वचाउँछ, ती भोगहरुको त्याग गर्छ, त्यस्तै मनले भोगहरुको चिन्तनको पनि विशेष होशियारीसँग त्याग गरोस् ।
अर्जुन पनि कर्महरुको स्वरूपले नै त्याग गर्न चाहनछन् र भगवानसँग सोध्छन्न 'हजुर मलाई घोर कर्ममा किन लगाउनु हुन्छ ? यसको उत्तरमा भगवान अर्जुनलाई भन्नुहुन्छ, आफूमा ममता, अहंता, आसक्ति, कामना राखी राखी केवल वाहिरवाट कर्महरुको आफूलाई क्रियारहित मान्ने मनुष्यको आचरण मिथ्या हो । यी सबै कुराको निष्कर्ष, साधकले कर्महरुको स्वरूपले नै त्याग नगरेर वरु कामना, ममता, आसक्तिरहित भएर तत्परतापूर्वक आफ्नो कर्म गरिरहनु पर्छ । वास्तवमा मनदेखि नै भोगहरुको त्याग हुनु पर्छ ।

No comments:

Post a Comment