Wednesday 25 June 2014

108. No.76 श्लोक १७ तर आफू आफूमा नै रमण गर्ने र आफू आफूमा नै तृप्त तथा

No.76
श्लोक १७

तर आफू आफूमा नै रमण गर्ने र आफू आफूमा नै तृप्त तथा आफू आफूमा नै सन्तुष्ट हुने मनुष्यकोलागि कुनै कर्तव्य छैन ।
यो श्लोकमा पहिलो श्लोकमा वर्णित आचरण भएको मनुष्य भन्दा सर्वथा पृथक् साधकको, अझ भनौं सिद्धको विलक्षणताको  वर्णन छ ।
आफ्नो सम्बन्ध संसारसँग मान्ने व्यक्ति उसको 'रति' (प्रीति) इन्द्रियहरुवाट हुने भोगहरुमा  एवं स्त्री,पुत्र, परिवारमा मान्छ । यही प्रकार त्यस्तो व्यक्ति आफ्नो  'तृप्ति' भोजन (अन्न-जल)मा  तथा 'सन्तुष्टि' धनमा  भन्ने मान्छ । तर, 'अबुझ' व्यक्तिको प्रीति, तृप्ति र सन्तुष्टि न कहिले पूर्ण हुन सक्छ, न निरन्तर रहन्छ । किनकि संसार निरन्तर परिवर्तनशील, जड र नाशवान्  छ तथा स्वयं सदा एकरस, चेतन र अविनाशी छ । तात्पर्य, स्वयंको संसारसँग कत्ति पनि सम्बन्ध छैन । अतः स्वयंको प्रीति, तृप्ति र सन्तुष्टि संसारसँग कसरी हुन सक्छ ?
वास्तवमा, कुनै पनि मनुष्यको प्रीति संसारमा सँधै रहन सक्तैन -- यो त सबैको अनुभव हो । विवाहको वेला हुने स्त्री र पुरुष वीचको 'प्रीति' अथवा आकर्षण एक या दुई सन्तान भएपछि (कारण जे सुकै होस्) हुन सक्तैन । भोजन गर्दा पाइने 'तृप्ति' पनि केही समयकोलागि मात्रै रहन्छ । धन-प्राप्तिवाट हुने 'सन्तुष्टि' पनि क्षणिक नै हुन्छ; किनकि धनको लालसा सँधै वढी नै रहन्छ । यसो हुनाले धनको अभाव महशूस भई रहन्छ । छोटोमा, संसारमा पाइने प्रीति, तृप्ति र सन्तुष्टि कहिले पनि स्थायी रहन सक्तैन ।
गीता भन्छ, व्यक्तिलाई संसारिक वस्तुहरुवाट  मिल्ने प्रीति, तृप्ति र सन्तुष्टि खालि देखिएका हुन्, प्रतीति मात्र हुन्, वास्तविक होइनन् । यदि हामीले ती वस्तुहरुवाट पाउने प्रीति वास्तविक भए हामीलाई ती वस्तुवाट फेरि, अरति, अतृप्ति र असन्तुष्टि नहुनु पर्ने । स्वरूपवाट हुने प्रीति, तृप्ति र सन्तुष्टि त स्वतःसिद्ध छ । स्वरूप सत् छ, सत् मा कहिले पनि, कुनै पनि अभाव हुँदैन । अभाव नभई कुनै कामना पैदा हुँदैन । यसैले स्वरूपमा निष्कामता स्वतःसिद्ध छ ।

परन्तु जव हामी भूलले संसारसँग सम्बन्ध जोडछौं, त्यो वेला हामी प्रीति, तृप्ति र सन्तुष्टि संसारमा खोज्छौं र यसकोलागि संसारिक वस्तुहरुको कामना गर्न थाल्छौं । कामना भएपछि जव ती वस्तु (धन, सम्पत्ति) पाइन्छन्, तव मनमा स्थित कामना निस्किएपछि (अर्को कामना उत्पन्न हुनु भन्दा पहिले) त्यो हाम्रो  अवस्था निष्काम हुन्छ र त्यही निष्कामताको सुखलाई नै हामीले भूलले सांसारिक वस्तुको प्राप्तिले उत्पन्न सुख मान्छौं र त्यही सुखलाई नै प्रीति, तृप्ति र सन्तुष्टिको नाम दिन्छौं । यदि वस्तुको प्राप्तिवाट त्यो सुख रहने भए त्यो वस्तु पाइएपछि त्यो वस्तु रहुन्जेल हामीलाई सुख हुनु पर्ने, दुःख कहिले पनि हुनु नपर्ने, फेरि त्यही वस्तुको कामना हुनु नपर्ने । परन्तु सांसारिक वस्तुहरुवाट कहिले पनि पूर्ण (सँधैकोलागि) प्रीति, तृप्ति र सन्तुष्टि पाइन नसकिनाले हामी फेरि फेरि अरु अरु कामना गर्न थाल्छौं । कामना उत्पन्न हुँदा आफूमा अभाव र इच्छित वस्तु पाउँदा आफूमा हुने पराधीनताको वास्ता नै गर्दैनौं हामी । यसैले कामना गर्ने हामी सँधै दुःखीको दुःखी नै रहन्छौं ।
के गर्ने हजुर, विषय नै त्यस्तै पर्यो, अहिलेसम्म हामीले संसारमा पाइएका वस्तु, व्यक्ति र पदार्थवाट सुख छँदै छैन, दुःख मात्रै छ भन्दा एक चोटी हामी झस्किन्छौँ, तर यो कुराको साँच्चि नै अनुभव गर्न गहिरो विचार नै चाहिन्छ हामीलाई । वेदान्तको अर्को नाम नै विचार शास्त्र हो, बुद्धिलाई खेलाउनु पर्छ हामीले । अहिलेसम्म हामीले, व्यवहारका, राजनीतिका र समाजका कुराहरु खेलाइरहेको बुद्धिले अव वेदान्तको कुरा खेलाउनु पर्यो । संसार 'कोलाहल' हो भन्छ शास्त्र । यहाँ खल्वल, आवाज सुनिन्छ, तर त्यो अवाज बुझ्न सक्तैनौं हामी । त्यो नबुझिने आवाजको कति पछि लाग्ने ! अहिले पनि हामी ठण्डा दिमागले सोचौं, संसारलाई हामीले बुझ्न नै सकेका छैनौं, किनभने संसार प्रतिक्षण परिवर्तनशील छ, वदलिने खालको छ । क्षण क्षणमा वदिलिने संसारलाई  कहाँ र कसरी समात्ने, पक्ड़ने हामीले ।

No comments:

Post a Comment