Wednesday 25 June 2014

91. No. 64 श्लोक ३ हे निष्पाप अर्जुन ! यो मनुष्यलोकमा दुई प्रकारका निष्ठा मवाट पहिले नै भनिसकिएको छ ।

No. 64
श्लोक ३
हे निष्पाप अर्जुन ! यो मनुष्यलोकमा दुई प्रकारका निष्ठा मवाट  पहिले नै भनिसकिएको छ । तिनमा ज्ञानीहरुको निष्ठा ज्ञानयोगवाट र योगीहरुको निष्ठा कर्मयोगवाट हुन्छ ।
यहाँ भगवान आफूवाट दुई निष्ठा पहिले नै भनिसकिएको भन्नुहुन्छ । यही कुरा भगवान चौथो अध्यायमा पनि भन्नुहुन्छ । यो कुराले भगवानको नित्यताको बोध  हुन्छ । भगवानले  यहाँ अर्जुनलाई भन्नुको कारण, अर्जुनले आफ्नो कल्याणको उपाय भगवानसँग सोध्नु हो । साधकले आफ्नो पाप समाप्त भएपछि कल्याण चाहन्छ । हैन भने ऊ संसारिक वस्तु, पदार्थमा नै लागिरहन्छ ।
यो श्लोकमा उल्लिखित 'लोके' शब्दले मनुष्य-शरीर सम्झनु पर्छ, किनकि ज्ञानयोग अथवा कर्मयोग -- यी साधनहरु गर्न अधिकार पनि मनुष्य शरीरमा नै सम्भव छ । समभावमा हाम्रो स्थिति हुन ज्ञानयोग र कर्मयोग -- दुई  प्रकारको निष्ठा जरूरी छ ।
कर्मयोग र ज्ञानयोग -- यी दुई निष्ठाहरु लोकमा भएको कारण लौकिक हुन्, कर्मयोगमा क्षर संसारको प्रधानता छ र ज्ञानयोगमा जीवात्माको प्रधानता छ । यी दुई निष्ठाले जगत् र जीवको चर्चा गर्छन् । अर्कोतिर भगवन्निष्ठा छ । यो निष्ठाले जीव जगतको चर्चा नगरेर केवल परमात्माको चर्चा गर्छ । भगवानसँग सम्बन्ध रहेकोले यो निष्ठालाई अलौकिक भन्ने नाम दिइएको छ, यो निष्ठामा भक्ति मात्र रहन्छ । 
लौकिक निष्ठा साधकका आफ्ना निष्ठा हुन् । कर्मयोगी र ज्ञानयोगीले लौकिक साधनमा आफ्नो पुरुषार्थ मान्छ । तर भगवानको आश्रय लिएर साधन गर्ने साधकले आफ्नो उद्योगलाई मुख्य मान्दैन, त्यसैले उसको निष्ठा अलौकिक हुन्छ । कारण, भगवानको सम्बन्ध हुँदा सबै अलौकिक नै हुन्छ । भगवानसँग सम्बन्ध नहुन्जेल सबै लौकिक नै हुन्छन् ।
कसैलाई नजाती नसम्झनु, कसैलाई खराव नमान्नु र कसैलाइ कुभलो नगर्दा कर्मयोग आरम्भ (शुरु) हुन्छ । मेरो केही होइन, मलाई केही चाहिंदैन र मलाई आफ़्नोलागि केही गर्नु छैन -- यो सत्यको स्वीकार गर्दा ज्ञानयोग आरम्भ हुन्छ ।    
श्लोक ४
मनुष्यले कर्मको आरम्भ नगरी निष्कर्मताको अनुभव गर्दैन, र कर्महरुको त्यागले सिद्धि मात्रले पनि सिद्धि पाउंदैन ।
कर्मयोगमा कर्म गर्नु अत्यन्त आवश्यक छ, किनकि निष्कामभावले कर्म गर्दा नै कर्मयोगको सिद्धि हुन्छ । यो सिद्धि कर्म नगरी व्यक्तिलाई मिल्न सक्तैन ।
हाम्रो (साधकको) अन्तःकरणमा कर्म गर्ने वेग हुन्छ । त्यो वेग शान्त गर्नकोलागि कामनाको त्याग गरेर कर्तव्य कर्म गर्नु आवश्यक छ । कामना राखेर कर्म भयो भने त्यो वेग कम हुँदैन, झन् वढ्छ ।

कर्मयोगको आचरण गर्ने मनुष्य कर्म गर्दा गर्दै निष्कामता पाउँछ । जुन वेला हामीवाट भएका कर्म अकर्म हुन्छन्, ती कर्म बन्धनकारक हुँदैनन् । त्यो वेलाको  साधकको स्थितिलाई 'निष्कर्मता' भनिन्छ ।
कामनादेखि रहित भएर गरिएका कर्महरुमा फल दिने शक्तिको अभाव हुन्छ जस्तो भुटिएका वीजहरुमा  अङ्कुर आउने शक्ति हुँदैन ।त्यसैले, निष्काम व्यक्तिवाट हुने कर्ममा फेरि जन्म-मरणको चक्रमा घुमाउने शक्ति रहँदैन ।
सबै कर्महरु अरुको सेवामा लगाइदिन सके हाम्रो कामनाको त्याग हुनसक्छ । तर हालैको अनुभवमा पनि हामीवाट त्यसो हुन सकिरहेको छैन । हामी आफूले गरेको परिश्रम आफूले, आफ्नो परिवारले मात्रै भोग गर्ने भन्ने पक्षमा छौं । हाम्रो सम्पत्तिको अधिकार हाम्रो आफ्नो मात्रै छ भन्ने लाग्छ हामीलाई ।  तर गीता भन्छ, हामीवाट हुने सबै कर्म अरुको सेवामा लाग्नु पर्छ, आफ्नोलागि गरिने कर्मवाट हामीलाई शान्ति हुँदैन । किनभने कर्मको सम्बन्ध संसारसँग छ र हाम्रो आफ्नो सम्बन्ध (स्वरूपको) सम्बन्ध परमात्मासँग छ । हामीसंग कर्मको सम्बन्ध छँदै छैन भन्ने कुरा राम्रोसँग बुझ्नुपर्छ हामीले । यो कुरा बुझेपछि मात्रै हामी कर्मयोगमा लाग्न सकछौं । हामीले आफ़्नोलागि, आफ्नो शरीर, इन्द्रियहरु, मन-बुद्धिकोलागि, आफ्ना कुटुम्बकोलागि मात्रै कर्म गरुन्जेल हाम्रो कामनाको त्याग हुँदै हुँदैन । जवसम्म कामनाको त्याग हुँदैन , तवसम्म निष्कर्मताको प्राप्ति हुँदैन । कामना, त्याग र निष्कर्मताको यस्तो वलियो गाँठोतर्फ दृष्टि दिनु पर्ने भयो हामीले ।          
फेरि पहिलेकै कुरालाई वर्णन गर्दै भगवान भन्नुहुन्छ, खालि कर्महरुको स्वरूपले त्याग गरिदिएर मात्रै साङ्ख्ययोगीलाई सिद्धि अर्थात् निष्कर्मताको प्राप्ति हुँदैन । सांख्ययोगीले सिद्धि पाउने हो भने कर्तापन (अहंता)को त्याग गर्नुपर्छ । त्यसैले सांख्ययोगीले कर्मको स्वरूपले त्याग गर्ने होइन कि अहंताको त्याग गर्ने ।
गीताले हामीलाई व्यवहारमा परमार्थ-सिद्धिको कला सिकाउँछ । यो ग्रन्थको उद्देश्य हामीलाई कर्तव्य गराउनु छ, छोडाउनु होइन । यही कारण भगवान ज्ञानयोग र कर्मयोग दुवै साधनहरुवाट कर्म गर्ने आदेश दिनुहुन्छ हामीलाई ।
आफ्नो कल्याण चाहने साधकलाइ शुरु शुरुमा सांसारिक कर्म गर्न झर्को लाग्छ । त्यसैले ऊ आफ्नो जीवनमा गर्नुपर्ने कर्म नगर्न खोज्छ । यही सिलसिलामा अर्जुन पनि भगवानलाई सोध्छन्, 'यदि कर्मयोग र ज्ञानयोग दुवै प्रकारका साधनहरुको तात्पर्य समता हो भने हजुर मलाइ किन कर्म गर्ने आज्ञा दिनुहुन्छ ?' तर भगवान अर्जुनलाई दुवै प्रकारका साधनहरुमा पनि कर्म नै गर्ने आज्ञा दिनुहुन्छ । यहाँ यो देखिन्छ, भगवानको आशय कर्महरूलाई स्वरूपले छोड्ने नभएर कर्म गराउनुमा नै छ । एउटा कुरा -- भगवान हामीलाई कर्म नछोड्ने तर कर्मको विषालु अंश -- कामना, ममता असक्तिको त्याग गरेर कर्म गर्ने प्रेरणा दिनुहुन्छ ।

कर्मको पूरापूर त्याग गर्नु भन्दा साधकले (हामीले) कर्म गर्दा कर्मसँग सम्बन्ध-विच्छेद गर्नु जरूरी छ । कर्मयोगीले निःस्वार्थ भावले कर्म गर्दै शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थ आदिलाई संसारको नै वस्तु मानेर संसारको नै सेवामा लगाउँछ र कर्महरु तथा पदार्थहरुसँग आफ्नो कुनै पनि सम्बन्ध मान्दैन । ज्ञानयोगमा सत्-असत् को विवेकको प्रधानता रहन्छ । त्यसैले ज्ञानयोगी अनुसार गुण नै गुणमा व्यवहार गरिरहेछन् अर्थात् शरीर, इन्द्रियहरु, मन, बुद्धि आदिवाट कर्म भइरहेछन् । कर्महरुसंग मेरो सम्बन्ध अलिकति मात्र पनि छैन ।
हामी मध्ये धेरैको अनुभव पनि छ, आफ्नो कल्याणको उत्कट अभिलाषा भएपछि व्यक्तिलाई कर्म, पदार्थ र व्यक्ति (परिवार) देखि अरुचि हुन थाल्छ । तर त्यो अरुचि पनि नक्कली जस्तो भइदियो । किनभने त्यो अरुचि हाम्रो आफ्नो शरीरसँग घनिष्ठ सम्बन्ध भएकोले यो आराम-विश्रामको इच्छा हो । यस्तो इच्छा साधकको (हाम्रो) उन्नतिमा वाधक हुन्छ । हामीहरुलाई यस्तो लाग्छ, कर्म, पदार्थ र व्यक्तिको स्वरूपले त्याग गरेपछि हामी परमार्थ मार्गमा अघि वढ्न सकछौं । यही विचार अर्जुनमा पनि उठेको थियो । तर कर्मको स्वरूपले नै त्याग नगरेर कर्महरुमा आसक्तिको त्याग गर्नु आवश्यक छ । सांख्ययोगमा उत्कट वैराग्य नभई आसक्तिको गर्न कठिन हुन्छ । तर कर्मयोगमा वैराग्य अलि कम भए पनि आसक्तिको त्याग सुगमतापूर्वक हुन्छ ।     
गीतामा एकान्तमा वसेर साधन गर्नेलाई प्रशंसा भएको छ; तर  सात्विक व्यक्तिहरु त एकान्तमा वसेर साधन-भजन गर्न सक्छन्, तर राजस व्यक्तिहरु संकल्प-विकल्पमा र तामस व्यक्तिहरु निद्र-आलस्य-प्रमादमा समय विताउँछन् । संकल्प-विकल्पमा र निद्रा-आलस्य-प्रमादमा समय विताउनु पतनको कारण हो । त्यसैले हाम्रो रूची एकान्तको नै रहनुपर्छ अर्थात् संसारिक कर्महरु त्यागेर पारमार्थिक कर्म गर्नमा नै हाम्रो प्रवृत्ति रहनुपर्छ, तर जस्तो कर्तव्य कर्म आफ्नो अगाडि आउँछ, त्यसलाई हामीले तत्परतापूर्वक गर्नुपर्छ । कर्तव्य-कर्ममा हाम्रो कुनै पनि किसिमको राग हुनु हुँदैन । जनसमुदायमा पनि राग हुनुहुँदैन, अकर्मण्यतामा पनि हुनुहुँदैन । कहीं पनि राग नभए हाम्रो कल्याण छिटै हुनसक्छ । शरीरलाई शुनशान ठाउँमा राखे मात्रै एकान्तमा वस्ने भनेको होइन । किनभने शरीर त संसारको एउटा सानो अंश हो । त्यसैले शरीरसँग सम्बन्ध-विच्छेद हुनु अर्थात शरीरमा अहंता, ममता नहुनु नै वास्तविक एकान्त हो ।
जुन आफ्नो हो, आफूमा छ र अहिले नै छ, त्यो तत्वको प्राप्ति केही गरेर हुने होइन; किनभने त्यो तत्वको अप्राप्ति कहिले भएकै छैन। हामीले केही गर्यौं भने परमात्मा प्राप्त हुन्छ भन्नु त देहाभिमान पुष्ट गर्नु मात्र हो । हरेक क्रियाको आरम्भ र अन्त हुन्छ । क्रिया द्वारा त्यो वस्तु प्राप्त हुन्छ, जुन विद्यमान छैन । परन्तु प्रकृतिसँग सम्बन्ध भएको कारणले प्रत्येक प्राणीमा क्रियाको वेग रहन्छ । त्यही वेगले हामीलाई क्रियारहित हुन दिंदैन । क्रियाको वेग शान्त गर्न यत्ति गरे पुग्छ, जे कुरा गर्न हुँदैन, त्यो नगर्ने र जे गर्नु पर्छ, त्यो निर्मम र निष्काम भएर गर्ने अर्थात् आफ़्नोलागि केही पनि नगर्ने, खालि अरुको हितकोलागि नै गर्ने । आफ़्नोलागि गर्दा क्रियाको वेग कहिले पनि शान्त हुँदैन; किनभने आफ्नो स्वरूप नित्य छ र कर्म अनित्य छ । अतः निष्काम भावले अरुको हितकोलागि कर्म गर्दा क्रियाको वेग शान्त भएर प्रकृतिसँग सम्बन्ध-विच्छेद भएर सबै देश, काल आदिमा विद्यमान परमात्म तत्व प्रकट हुनेछ, त्यो तत्वको अनुभव हुनेछ ।

No comments:

Post a Comment