Wednesday 25 June 2014

103. No. 72 फेरि पनि पहिला श्लोकहरुका नै वांकी अंश आफ्नो कर्तव्य पालनपूर्वक अरुको अधिकारको रक्षा गर्ने जिम्मेवारीलाई नै कर्मयोग भनिन्छ ।

No72
फेरि पनि पहिला श्लोकहरुका नै वांकी अंश
आफ्नो कर्तव्य पालनपूर्वक अरुको अधिकारको रक्षा गर्ने जिम्मेवारीलाई नै कर्मयोग भनिन्छ । अरुको अधिकार नै हाम्रो कर्तव्य हो भन्छ गीताको कर्मयोग । छोटोमा, प्रत्येक व्यक्तिले आफ्नो कर्तव्य-पालन द्वारा अरुको अधिकारको रक्षा गर्ने, आफ्नो अधिकार नहेर्ने । अरुको हित गर्नु हाम्रो कर्तव्य हो र हामीवाट हुने त्यही कर्तव्य अर्को व्यक्तिको अधिकार हो । हामीले आफ्नो कर्तव्यको पालन गर्नु पर्ने अर्को व्यक्तिको अधिकारको रक्षाकोलागि नै हो । यसैले ब्रह्माजी देवताहरुलाई र मनुष्यहरुलाई उपदेश दिनुहुन्छ, 'एक अर्काको हित गर्नु तिमीहरुको कर्तव्य हो ।'
कर्मयोगको मूल मन्त्र -- अरुको नासो अरुलाई फर्काउने । हामीले यो संसारमा आउँदा आफूले केही लिएर आएका थिएनौं, फेरि यहाँवाट फर्केर जाँदा यहाँवाट केही लग्न सक्ने पनि होइनौं । संसारको वस्तु संसारमा नै छोडेर जानुपर्ने त संसारको नियम नै हो । जस्तो हामी कुनै होटेलमा जाँदा त्यो होटेलको समस्त सामान उपयोग गर्न त पाउँछौं, तर त्यहाँको कुनै पनि सामान आफू फर्कंदा लिन हामी पाउँदैनौं । यही नियम यो संसारको वस्तु, व्यक्ति र पदार्थमा पनि लागु हुन्छ ।  कर्मयोगको वारेमा जानकारी हुनुभन्दा पहिले हामीले आफ्नो मानी रहेको यहाँका वस्तु, व्यक्ति र पदार्थको सहज त्याग हुन नसक्ने भएकोले यसलाई 'संसारको सेवामा लागाई देऊ' भन्छ कर्मयोग । अहिलेसम्म हामीले सम्बन्ध मानी रहेका व्यक्ति, वस्तु र पदार्थसँग सम्बन्ध हटाउनकोलागि नै कर्मयोगको आवश्यकता छ हामीलाई । हामी परा  प्रकृति (जीव)ले अपरा प्रकृति (जड)सँग सम्बन्ध राखेर, यही अपरा प्रकृतिलाई नै साँचो मानेर जीवन चलाउँदा नै समस्या भएको हो। हामीलाई केही गर्नु छैन, पहिले साँचो मानिरहेको संसारसंगको सम्बन्धलाई र संग्रहलाई झूठो मान्ने । वस्तु, व्यक्ति र सम्बन्ध त व्यवहारमा आवश्यक छन्, तिनीहरुको उपयोग कुशलतासँग गर्ने, तर तिनीहरुलाई साँचो नमान्ने, आजकल हामी महिलाहरुले सुनको भनेर सुनको जलप भएको नक्कली गहना लगाए जस्तो । त्यसो गर्न हामी महिलाहरु कुशल भए जस्तै पुरुषले पनि संसारमा व्यवहार गर्ने, तर संसारलाई र व्यवहारलाई झूठो मानेर । यसो गर्न सके संसारमा रहेको हाम्रो आकर्षण घट्छ, अलि अलि गरेर संसारप्रतिको  आकर्षण घट्दै गएपछि परमात्मामा आकर्षण वढ्दै जान्छ हाम्रो । यही हो कर्मयोगवाट परमात्माको अनुभव हुने प्रक्रिया ! अर्को शब्दमा, हाम्रा समस्त  चित्तवृत्ति, हाम्रा कृयाकलाप अहिलेसम्म संसार उन्मुख छन्, अव तिनै चित्तवृत्ति, तिनै क्रियाकलाप ईश्वर उन्मुख हुनु पर्यो । सजिलोसँग बुझ्नु पर्दा, पूर्वतिर हिंडिरहेको मनुष्यले पश्चिमतर्फ  लाग्नु पर्ने भयो । यो ज्ञानको जानकारी हुनुभन्दा पहिले हिंडिरहेको दिशा नै वदल्नु पर्यो हामीले । फेरि बुझ्नु  पर्दा, हाम्रा समस्त चिन्तन, समस्त क्रियाकलाप (शारीरिक, मानसिक)ले अर्को दिशा लिनु पर्ने भयो । यदि हामी अहिले गरिरहेका चिन्तन, क्रियाकलाप र रहनसहनवाट नै ईश्वरप्राप्ति खोज्छौं भने, त्यो त हजुर, आकाशमा फूल टिप्न खोजेको प्रयास जस्तै हुनेछ ।     
अझ विस्तृतमा भन्दा, हामीले संसारलाई नै  सत्य मानेर व्यवहार गरेको वेला हाम्रा क्रियाकलाप रजोगुणवाट संचालित भैरहेका हुन्छन् ।  अध्यात्म शास्त्रको अध्ययन, श्रवण, मनन र निदिध्यासनकोलागि सत्वगुणको जरुरत पर्छ हामीलाई। सत्सँग  र सत्शास्त्रको श्रवण र मननले हाम्रो रजोगुण नाश हुन सक्छ । शास्त्र अनुसार हाम्रो अन्तःकरण अत्यन्त निर्मल छ।  तर हामीले नाना थरीका कचरा भरिदिएका छौं हाम्रो अन्तःकरणमा। अव हामीलाई केही गर्नु छैन, आफैंले अन्तःकरणमा  थुपारेको कचरा जति फाल्नु छ । यो कचरा हटाउने काम पनि सत्सँग र सत्शास्त्रको नै हो ।
 
अर्को कुरो, हामीवाट आफ्नोलागि कर्म हुन्जेल हाम्रो कर्मको समाप्ति हुँदै हुँदैन, हामी झन् झन् ती कर्महरुवाट वाँधिन्छौँ । आफ़्नोलागि कहिले पनि, केही पनि नगर्ने व्यक्ति नै कृतकृत्य हुन्छ । आफ़्नोलागि केही नगर्दा पापको आचरण हुँदैन, किनभने पापको आचरण कामनावाट नै हुन्छ । त्यसैले हामीले आफ्नो कल्याण चाहने हो भने शास्त्रले भने जस्तो फलको इच्छा नराखेर र आसक्तिको त्याग गरेर कर्तव्य-कर्म गर्नु पर्छ ।
आफ्नो कामनाको त्याग गरेपछि संसार मात्रको हित हुन्छ । आफ्नो कामनाको पूर्तिकोलागि आसक्तिपूर्वक भोग भोग्ने व्यक्ति आफ्नो पनि पतन गर्छ, भोग सामग्रीको अभाव हुनेहरुको पनि पतन गर्छ, अभाव ग्रस्त व्यक्तिलाई पनि दुःख दिन्छ, अभावग्रस्त व्यक्तिहरुलाई भोगी मनुष्यले गरेका भोग देखेर दुःख त हुन्छ नै। यही कारण भोगी व्यक्ति कुनै हालतमा पनि वच्न सक्तैन ।
तर पारमार्थिक मार्गमा हिंडने व्यक्तिलाई देख्दा अरुलाई आफैं शान्ति हुन्छ; किनकि पारमार्थिक सम्पत्तिमा सबैको अधिकार छ । निष्कर्ष, हामीले कामना-आसक्तिको त्याग गरेर आफ्नो कर्तव्य-कर्मको पालन गरि रहे ब्रह्माजीले भने जस्तो हामीलाई परम कल्याण प्राप्त हुन्छ ।
यो श्लोकमा भनिएको कल्याण-प्राप्ति पनि विशेष गरी मनुष्यलाई नै भनिएको हो, देवताहरुलाई होइन । किनकि देवयोनिमा आफ्नो कल्याण गर्न सकिंदैन । मनुष्यवाट हुने कर्मको अनुसार फल दिने, कर्म गर्ने सामग्री दिने तथा आफ्नो आफ्नो शुभ कर्महरुको फल भोग्नकोलागि देवताहरु वनाइएका हुन् ।
मनुष्य कर्मयोनि हो र चौरासी लाख योनिहरु, देवता, नरकमा वस्ने जीव भोगयोनिहरु हुन् । सकाम भाव भएका व्यक्तिहरु भोग भोग्नकोलागि नै स्वर्गमा जाने हुन् । त्यसैले देवताहरु निष्काम भाव राख्दैनन्, केवल आफ्नो जिम्मेवारी निभाउँछन्, त्यसैले यो श्लोकमा वर्णित कल्याण मनुष्यकोलागि नै हो ।
मुक्ति स्वाभाविक छ र बन्धन अस्वाभाविक छ । मनुष्ययोनि आफ्नो कल्याण गर्नकोलागि नै हो । आफ्नो कर्तव्य-कर्मको पालन गर्ने मनुष्यको  अवश्य कल्याण हुन्छ ।

कल्याणकोलागि नयाँ नयाँ काम गर्नु पर्ने होइन । तर हामीवाट हुने काम स्वार्थ, अभिमान र फलेच्छाको त्यागद्वारा हुनु पर्यो, त्यस्तो हुन सके हाम्रो कल्याण हुने भयो । ठूला ठुला यज्ञवाट प्राप्त हुने स्वर्ग लोक क्षत्रियले आफ्नो कर्तव्य-कर्म (युद्ध) गरेर पाउने भयो । 
यो श्लोकमा ब्रह्माजीले देवताहरुलाई र मनुष्यहरुलाई परस्पर एक अर्कोलाई हित गर्ने कुरो गर्नुभयो । त्यस्तै यही कुरा वैदिक सनातन धर्मका चारै वर्ण र आश्रमका व्यक्तिहरुलाई लागु हुन्छ ।      

No comments:

Post a Comment