Friday 26 December 2014

Gita: Chapter 6 : Slok 47 श्लोक ४७ कै वांकी अंश कर्मयोगी, ज्ञानयोगी सबै युक्त हुन् अर्थात् सबै संसारवाट विमुख छन् र समता (चेतन-तत्वको) सम्मुख छन् ।

No 198 

श्लोक ४७ कै वांकी अंश 

कर्मयोगी, ज्ञानयोगी सबै युक्त हुन् अर्थात् सबै संसारवाट विमुख छन् र समता (चेतन-तत्वको) सम्मुख छन् । तिनमा पनि भक्तियोगी (भक्त)लाई सर्वश्रेष्ठ वताउनुको तात्पर्य, यो जीव परमात्माको अंश हो, तर संसारसँग आफ्नो सम्बन्ध मानेर यो बाँधिएको हो । यसले संसार-शरीरसँग मानिएको सम्बन्ध छोडेपछि ऊ स्वाधीन र सुखी हुन्छ । यो स्वाधीनताको एउटा भोग हुन्छ । यो स्वाधीनतामा पदार्थहरु, व्यक्तिहरु, क्रियाहरु, परिस्थितिहरु आदिको कुनै पराधीनता रहँदैन, तर पनि स्वाधीनतालाई लिएर जुन सुख हुन्छ, अर्थात् ममा दुःख छैन, सन्ताप छैन, लेश मात्रै पनि कुनै इच्छा छैन -- भन्ने सुखको भोगमा, स्वाधीनतामा पनि परिच्छिन्नता (पराधीनता) छ । यसमा संसारसँग सूक्ष्म सम्बन्ध वनेको छ । यही कारण यसलाई 'ब्रहमभूत अवस्था' भनिएको हो ।

सुखको अनुभवमा स्वतन्त्रता देखिउञ्जेल सूक्ष्म अहंकार रहन्छ । परन्तु यो स्थितिमा (ब्रह्मभूत अवस्थामा) स्थित रही रहँदा त्यो अहंकार पनि मेटिन्छ । कारण कि प्रकृति र उसको कार्यसँग सम्बन्ध नराखे प्रकृतिको अंश 'अहम्' आफैं शान्त हुन्छ । तात्पर्य, कर्मयोगी, ज्ञानयोगी पनि अन्तमा समय पाएर अहंकारदेखि रहित हुन्छन् । परन्तु भक्तियोगी त आरम्भदेखि नै भगवानको हुन्छ । अतः उसको अहंकार आरम्भमा नै समाप्त हुन्छ । यस्तो कुरा गीतामा पनि देखिन्छ, सिद्ध कर्मयोगी, ज्ञानयोगी र भक्तियोगीको लक्षणहरुको वर्णन भएको प्रसंगमा कर्मयोगी र ज्ञानयोगीको लक्षणहरुमा करुणा र कोमलता देखिनमा आउँदैन, तर भक्तहरुको लक्षणहरुमा देखिनमा आउँछ । यसैले सिद्ध भक्तहरुको लक्षणहरुमा त 'अद्वेष्टा सर्वभूतानाम् मैत्रः करुण एव च' -- यी पद आएका छन्, तर सिद्ध कर्मयोगी र ज्ञानयोगीको लक्षणहरुमा यस्ता पद आएका छैनन् । भक्त पहिलेदेखि नै सानो भएर वाटो लाग्छ, अतः उसमा नम्रता, कोमलता, भगवानको विधानमा प्रसन्नता आदि विलक्षण कुराहरु साधन अवस्थामा नै आउँछन् र सिद्धावस्थामा यी कुराहरु विशेषताले आउँछन् । यसैले भक्तको सूक्ष्म अहंकार पनि रहँदैन । यही कारणहरुले भगवानले भक्तलाई सर्वश्रेष्ठ भन्नुभएको छ ।

शान्ति, स्वाधीनता आदिको रस चिन्मय हुँदा पनि 'अखण्ड' छ । परन्तु भक्तिरस चिन्मय हुँदा पनि 'प्रतिक्षण वर्धमान' छ अर्थात् त्यो रस प्रतिक्षण नवीनरूपले वढी नै रहन्छ, कहिले घट्दैन, मिटदैन र पूरा हुँदैन । यस्तो रसको, प्रेमानन्द्को भोक भगवानलाई पनि छ । भगवानको यो भोकको पूर्ति भक्त नै गर्छ । यसैले भगवान भक्तलाई सर्वश्रेष्ठ मान्नुहुन्छ । 

यसमा अर्को एउटा कुरा बुझ्नुपर्छ, कर्मयोग र ज्ञानयोग -- यी दुईमा त साधकको  आफ्नो निष्ठा हुन्छ, तर भक्तको आफ्नो कुनै स्वतन्त्र निष्ठा हुँदैन । भक्त त सर्वथा भगवानको नै आश्रित रहन्छ, भगवानमा निर्भर रहन्छ; भगवानको प्रसन्नतामा नै प्रसन्न रहन्छ -- 'तत्सुखे सुखित्वम् ।' उसलाई आफ्नो उद्धारको पनि चिन्ता हुँदैन । मलाई के होला ? यसमा पनि उसको ध्यान रहँदैन । यस्तो भगवन्निष्ठ भक्तको सारा भार, सारा देखभाल भगवान गर्नुहुन्छ -- 'योगक्षेमम् वहाम्यहम् ।'

मनुष्यको मन, बुद्धि जहाँ हुन्छ, त्यहीं उसको स्थिति हुन्छ । यहाँ 'मद्गतेरान्तरात्मना' मा भक्तको मन भगवानमा लागेको छ र 'श्रद्धावान्'मा उसको बुद्धि भगवानमा लागेको छ । अतः भगवानमा गाढा आत्मीयता हुनाले यस्तो भक्त भगवानमा नै स्थित छ ।

कर्मयोगी, ज्ञानयोगी, ध्यानयोगी, हठयोगी, लययोगी, राजयोगी, आदि सबै योगीहरुमा भगवानको भक्त सर्वश्रेष्ठ हो । आफ्नो भक्तको विषयमा भगवानले अरु ठाउँमा पनि भन्नुभएको छ । जस्तो -- 'ते मे युक्ततमा मताः, 'भक्तास्तेतीव मे प्रियाः, 'स योगी परमो मतः।'

परमप्राप्तिका सबै साधनहरुमा भक्ति मुख्य छ । यति मात्रै होइन, सबै साधनको अन्त पनि भक्तिमा नै हुन्छ । कर्मयोग, ज्ञानयोग आदि त साधन हुन्, भक्ति साध्य हो । भक्ति यति व्यापक छ, यो प्रत्येक साधनको शुरुमा पनि छ, अन्तमा पनि छ । भक्ति साधनको आरम्भमा पारमार्थिक आकर्षणको रूपमा रहन्छ; किनकि परमात्मामा आकर्षण नभई कुनै मनुष्य साधनमा लाग्नै सक्तैन । साधनको अन्तमा भक्ति प्रतिक्षण वर्धमान प्रेमको रूपमा रहन्छ -- 'मद्भक्तिम् लभते पराम्।' यसैले ब्रह्मसूत्रमा अन्य सबै धर्महरुको अपेक्षा भगवद्भक्ति-विषयक धर्म श्रेष्ठ वताइएको छ -- 'अतस्तिरज्यायो लिङ्गाच्च ।'

प्रस्तुत श्लोकमा यो सिद्ध हुन्छ, भगवान श्रीकृष्ण समग्र हुनुहुन्छ र उहाँको भक्ति अलौकिक छ । त्यो भक्तिको प्राप्तिमा नै मानवजीवनको पूर्णता छ ।  

No comments:

Post a Comment