Friday 26 December 2014

Gita: Chapter 7: Slok 4, 5 - श्लोक ४, ५ पृथ्वी, जल, तेज, वायु, आकाश (यी पंचमहाभूत) र मन, बुद्धि तथा अहंकार --

No. 202

श्लोक ४, ५ 

पृथ्वी, जल, तेज, वायु, आकाश (यी पंचमहाभूत) र मन, बुद्धि तथा अहंकार -- यी आठ प्रकारका भेद भएको यो मेरो अपरा प्रकृति हो; र हे महावाहो ! यो अपरा प्रकृतिदेखि भिन्न जीवरूप वनेको मेरो परा प्रकृतिलाई जान; यही परा प्रकृतिद्वारा यो जगत धारण गरिएको छ ।

'भूमिरापोनलो वायुः …… मे पराम्' -- परमात्मा सबैको कारण हुनुहुन्छ । उहाँ प्रकृतिलाई लिएर सृष्टिको रचना गर्नुहुन्छ । जुन प्रकृति लिएर भगवान रचना गर्नु हुन्छ, त्यसको नाम 'अपरा प्रकृति' हो र आफ्नो अंश जीवलाई भगवान 'परा प्रकृति' भन्नुहुन्छ । अपरा प्रकृति निकृष्ट, जड र परिवर्तनशील छ तथा परा प्रकृति श्रेष्ठ, चेतन र परिवर्तनरहित छ । 

प्रत्येक मनुष्यको भिन्न भिन्नै स्वभाव हुन्छ । जस्तो स्वभावलाई मनुष्यसँग छुट्टयाउन सकिंदैन, त्यस्तै परमात्माको प्रकृतिलाई परमात्मावाट छुट्टै (स्वतन्त्र) सिद्ध गर्न सकिंदैन । यो प्रकृतिको नै स्वभाव हो; यसैले यसको नाम 'प्रकृति हो । यस्तै प्रकारले परमात्माको अंश भएकोले जीवलाई परमात्मादेखि भिन्न गर्न सकिंदैन । किनकि यो परमात्माको स्वरूप हो । परमात्माको स्वरूप हुनाले केवल अपरा प्रकृतिसँग सम्बन्ध जोडेको कारणले यो जीवात्मालाई प्रकृति भनिएको हो । अपरा प्रकृतिको सम्बन्धले आफ्नोमा कृति (गर्नु) मानेको कारण नै यो जीवरूप हो । यदि यसले आफूमा प्रकृति मानेन भने यो परमात्मस्वरूप नै हो । त्यसपछि यसको जीव अथवा प्रकृति भन्ने नाम रहँदैन अथवा यसमा बन्धनकारक कर्तृत्व र भोक्तृत्व रहँदैन । 

यहाँ अपरा प्रकृतिमा पृथ्वी, जल, तेज, वायु, आकाश, मन, बुद्धि र अहंकार -- यी आठ शब्द लिइएका छन् । यिनमा यदि पाँच स्थूल भूतहरुसँग स्थूल सृष्टि मानिए मन, बुद्धि, अहंकार -- यी तीनैहरुवाट स्थूल सृष्टि मानियो भने यो वर्णनमा स्थूल र सूक्ष्म सृष्टिहरु त आउँछन् तर कारणरुप प्रकृति यसमा आउँदैन । कारणरुप प्रकृति विना प्रकृतिको वर्णन अधूरो रहन्छ । अतः आदरणीय टिकाकारहरुले पाँच स्थूल भूतहरुवाट सूक्ष्म तन्मात्राहरु (शब्द, स्पर्श, रुप, रस र गन्ध)लाई लिएका छन् । यी तन्मात्राहरु पाँच स्थूल भूतहरुका कारण हुन् । 'मन' शब्दले अहंकार लिइएको छ; जुन यो मनको कारण हो । 'बुद्धि' शब्दले महत्तत्व (समष्टि बुद्धि) र अहंकार शब्दले प्रकृति लिइएको छ । यसरी यी आठ शब्दहरुको अर्थ यसरी लिंदा नै समष्टि अपरा प्रकृतिको पूरा वर्णन हुन्छ; किनकि यसमा स्थूल, सुक्ष्म र कारण -- यी तीनै समष्टि शरीर आउँछन् । शास्त्रहरुमा यही समष्टि प्रकृतिलाई 'प्रकृति-विकृति'को नामले वर्णन गरिएको छ । परन्तु यहाँ ध्यान दिनु पर्ने कुरा -- भगवानले यहाँ अपरा र परा प्रकृतिको वर्णन 'प्रकृति-विकृति'को दृष्टिले गर्नुभएन । यदि उहाँले 'प्रकृति-विकृति'को दृष्टिले वर्णन गरेको भए चेतनलाई प्रकृतिको नामले भन्नु हुन्थेन; किनकि चेतन न त प्रकृति हो, न विकृति हो । भगवानले यहाँ जड र चेतनको विभाग वताउनकोलागि नै अपरा प्रकृतिको नामले जडको र परा प्रकृतिको नामले चेतनको वर्णन गर्नुभएको हो । 

यो श्लोकमा यस्तो देखिन्छ -- पृथ्वी, जल, तेज, वायु र आकाश -- यी पाँच तत्वहरुको स्थूलरूपले स्थूल सृष्टि लिइएको छ र यिनीहरुको सूक्ष्म रूप, जसलाई  पञ्च तन्मात्राहरु भनिएको छ, वाट सूक्ष्म-सृष्टि लिइएको छ । सूक्ष्मसृष्टिको अंग मन, बुद्धि, अहंकार आदि हुन् । 

अहंकार दुई प्रकारका हुन्छन् -- (१) 'अहं-अहं' गर्ने अन्तःकरणको वृत्ति पनि अहंकार हो, यो अहंकार कारणरूप छ । यो भयो अपरा प्रकृति । यसको वर्णन अहिले चौथो श्लोकमा भयो र (२) 'अहम'-रूपले व्यक्तित्व, एकदेशीयताको नाम पनि अहंकार हो; यो अहंकार कर्तारूप हो अर्थात् यो आफूलाई क्रियाहरु गर्ने मान्छ । यो भयो 'परा-प्रकृति', यसको वर्णन यहीं पाँचौं श्लोकमा भएको छ । यो अहंकार कारणशरीरमा तादात्म्यरूपले रहन्छ । यो तादात्म्यमा एउटा जड अंश र एउटा चेतन अंश छ । यसमा भएको जड-अंश कारण शरीर हो र यसमा अभिमान गर्ने चेतन अंश हो । बोध नहुन्जेल यो जड-चेतनको तादात्म्य गर्ने कारण शरीरको 'अहम्' कर्तारूपले निरन्तर वनिरहन्छ । सुषुप्तिमा यो सुषुप्त रूपमा रहन्छ अर्थात् यो प्रकट हुँदैन । निद्रावाट बिउँझेपछि 'म सुतेको थिएँ, अव बिउँझेको छु' भन्ने 'अहम्' को जागृति हुन्छ । यसपछि मन र बुद्धि जाग्रत हुन्छन्; जस्तो -- 'म कहाँ छु, कस्तो छु' -- यो मनको जागृति भयो र म यो देशमा, यो कालमा छु -- यस्तो निश्चय हुनु बुद्धिको जागृति भयो । यसरी निद्रावाट बिउँझेपछि अनुभव हुने 'अहम्' परा प्रकृति हो र वृत्तिरुप 'अहम्' अपरा प्रकृति हो । यो अपरा प्रकृतिलाई प्रकाशित गर्ने र आश्रय दिने चेतनले अपरा प्रकृतिलाई आफ्नो मान्दा त्यो जीवरूप परा प्रकृति हुन्छ -- 'ययेदम् धार्यते जगत् ।' 

यदि यो परा प्रकृति अपरा प्रकृतिदेखि विमुख भएर परमात्माको सम्मुख भयो भने, परमात्मालाई मात्रै आफ्नो मान्यो भने र अपरा प्रकृतिलाई कहिले पनि आफ्नो मानेन भने अर्थात् अपरा प्रकृतिसँग सर्वथा सम्बन्ध-रहित भएर निर्लिप्तताको अनुभव गर्यो भने यसलाई आफ्नो स्वरूपको बोध हुन्छ । स्वरूपको बोध भएपछि परमात्माको प्रेम प्रकट हुन्छ, जुन पहिले अपरा प्रकृतिसँग सम्बन्ध राखेको हुनाले आसक्तिको रूपमा थियो । त्यो प्रेम, अनन्त, अगाध, असीम, आनन्दरूप र प्रतिक्षण वर्धमान छ । त्यसको (त्यो प्रेमको) प्राप्ति भएपछि यो परा प्रकृति प्राप्त-प्राप्तव्य हुन्छ, आफ्नो असंगरूपको अनुभव हुँदा ज्ञात-ज्ञातव्य हुन्छ र अपरा प्रकृतिलाई सारा संसारको सेवामा लगाएर संसारवाट सर्वथा विमुख हुँदा कृतकृत्य भइन्छ । यही मानव-जीवनको पूर्णता हो, सफलता हो ।

'प्रकृतिरष्टधा अपरेयम्' -- पदहरुले यस्तो लाग्छ, यहाँ वर्णित आठ प्रकारका अपरा प्रकृतिहरु 'व्यष्टि अपरा प्रकृति' हुन् । यसको कारण हो, मनुष्यलाई व्यष्टि प्रकृति -- शरीरले नै बन्धन हुने हो, समष्टि प्रकृतिले होइन । कारण, मनुष्य व्यष्टि शरीरसँग आफ्नोपन गर्छ र यही आफ्नोपनले नै बन्धन हुन्छ ।

व्यष्टि कुनै छुट्टै तत्व होइन, यो समष्टिको नै छुद्र अंश हो । समष्टिसँग मानिएको सम्बन्धलाई नै व्यष्टि भनिन्छ अर्थात् समष्टिको अंश शरीरसँग जीवले आफ्नो सम्बन्ध मानेपछि त्यो समष्टिको अंश शरीर नै 'व्यष्टि' भनिन्छ । व्यष्टिसँग सम्बन्ध जोड्नु नै बन्धन हो । यो बन्धन छुटाउन भगवानले आठ प्रकारको अपरा प्रकृतिको वर्णन गरेर भन्नु भयो, जीवरूप परा प्रकृतिले नै यो अपरा प्रकृतिलाई धारण गरिराखेको छ । यदि यसले अपरा प्रकृतिलाई धारण गर्दैन भने बन्धनको प्रश्न नै छैन । 

पन्ध्रौँ अध्यायको सातौँ श्लोकमा भगवानले जीवात्मालाई आफ्नो अंश भन्नुभएको छ -- 'ममैवांशो जीवलोके जीवभूतः सनातन: ।' परन्तु ऊ (जीव) प्रकृतिमा रहने मन र पाँचै इन्द्रियहरुलाई खिंच्छ अर्थात् तिनीहरुलाई आफ्नो मान्छ -- 'मनः षष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति ।' यसै गरी तेह्रौं अध्यायको पाँचौं श्लोकमा भगवानले क्षेत्ररूपले समष्टिको वर्णन गरेर छैठौं श्लोकमा व्यष्टिको विकारहरुको वर्णन गर्नु भयो; किनकि यी विकारहरु व्यष्टिका नै हुन्, समष्टिका होइनन् ।यी सबैवाट यो सिद्ध भयो, व्यष्टिसँग सम्बन्ध जोड्नु नै हाम्रोलागि वाधक हो । यो व्यष्टिसँग सम्बन्ध छोड्नकोलागि   नै यहाँ व्यष्टि अपरा प्रकृतिको वर्णन गरिएको हो, तर यो व्यष्टि पनि समष्टिको नै अंग हो । व्यष्टि प्रकृति अर्थात् शरीर समस्त सृष्टिसँग सर्वथा अभिन्न छ, भिन्न कहिले पनि हुन सक्तैन । 

वास्तवमा मूल प्रकृति कहिले पनि कसैको बाधक या साधक (सहायक) हुँदैन । साधकले त्योसँग आफ्नो सम्बन्ध नमानेपछि यो (मूल प्रकृति) सहायक हुन्छ, तर साधकले त्यो (मूल प्रकृति)सँग आफ्नो सम्बन्ध मान्यो भने त्यो बाधक हुन्छ; किनकि प्रकृतिसँग सम्बन्ध मान्दा नै व्यष्टि अहंता (म-पना) पैदा हुन्छ । यो अहंता नै बन्धनको कारण हुन्छ ।

यहाँ 'इतीयम् मे' पदहरुले भगवान यो बुझाइरहनु भएको छ, यो अपरा प्रकृति मेरो हो । योसंग भूलले आफ़्नोपनि गर्नु नै वारम्वार जन्म-मरणको कारण हो; र जसले भूल गरेको हो, त्यो मेट्ने जिम्मेवारी पनि उसैको हो । यही कारण, जीवले  यो अपरासँग आफ्नोपन नगर्ने ।

अहंतामा भोगेच्छा र जिज्ञासा -- यी दुवै रहन्छन् । यसमा भोगेच्छा कर्मयोगद्वारा मेटाउन सकिन्छ र जिज्ञासा ज्ञानयोगद्वारा पूरा गर्न सकिन्छ । कर्मयोग र ज्ञानयोग -- यी दुईमा एकलाई सम्यक्तया पूर्ण भएपछि एक-अर्कोमा दुवै आउँछन् अर्थात् भोगेच्छाको निवृत्ति भएपछि जिज्ञासाको पनि पूर्ति हुन्छ र जिज्ञासाको पूर्ति भएपछि असंगता स्वतः आउँछ । त्यो असंगताको पनि उपभोग नगरेपछि वास्तविक बोध हुन्छ र मनुष्यको जन्म सर्वथा सार्थक हुन्छ ।

'जीवभूताम्' -- वास्तवमा यो जीवरूप होइन, जीव वनेको हो । यो त स्वतः साक्षात् परमात्माको अंश हो । केवल स्थूल, सुक्ष्म र कारणशरीररुप प्रकृतिसँग सम्बन्ध जोडेर नै यो जीव वनेको हो । यो सम्बन्ध जोड्छ -- आफ्नो सुखकोलागि । यही सुख नै  यसको जन्म-मरणरुप महान् दुःखको कारण हो ।

'महावाहो' -- हे अर्जुन ! तिमी वडो शक्तिशाली छौ, यसैले तिमी अपरा र परा प्रकृतिको भेदलाई बुझ्न समर्थ छौ । अव तिमी यसलाई बुझ -- 'विद्धि' ।    

'ययेदम् धार्यते जगत्' -- वास्तवमा यो जगत् जगद्रूप होइन, भगवानको नै स्वरूप हो -- 'वसुदेवः सर्वम्','सदसच्चाहम्' । खालि यो परा प्रकृति -- जीवले यसलाई जगतरूपले धारण गरिराखेको छ अर्थात् जीव यो संसारको स्वतन्त्र सत्ता मानेर आफ्नो सुखकोलागि यसको उपयोग गर्न लाग्यो । यसैले जीवको बन्धन भएको हो । यदि जीवले संसारको स्वतन्त्र नमानेर यसलाई खालि भगवतस्वरूप नै मान्यो भने उसको जन्म-मरणरूप बन्धन मेटिन्छ ।

भगवानको परा प्रकृति भएर पनि जीवात्माले यो दृश्यमान जगतलाई, अपरा प्रकृतिलाई धारण गरिराखेको छ अर्थात् यसले परिवर्तनशील, विकारी जगतलाई स्थायी, सुन्दर र सुखप्रद मानेर 'म' र 'मेरो'-रूपले धारण गरिराखेको छ । जसलाई भोगहरु र पदार्थहरुमा जति आसक्ति र आकर्षण छ, उसलाई संसार त्यति नै स्थायी, सुन्दर र सुखप्रद लाग्छ । पदार्थहरुको संग्रह तथा तिनको उपयोग गर्ने लालसा नै खास बाधक हुन् । संग्रहले अभिमानजन्य सुख हुन्छ र भोगहरुले संयोगजन्य सुख हुन्छ । यो सुखासक्तिले गर्दा नै जीवले यो जगतलाई जगत-रूपले धारण गरिराखेको छ । सुखासक्तिले गर्दा नै ऊ यो जगतलाई भगवत्स्वरूपले देख्न सक्तैन । संसार वास्तवमा भगवतस्वरूप नै हो; तर संसारलाई आफ्नो भोग्य मान्ने भोगासक्त पुरुष संसारलाई भगवतस्वरूप देख्न सक्तैन । यो भोगासक्ति नै जगतलाई धारण गराउँछ अर्थात् जगतलाई धारण गराउन हेतु छ । 

अर्को कुरा, सम्पूर्ण मनुष्यको शरीरहरूको उत्पत्ति रज-वीर्यले नै हुन्छ, जुन वास्तविक स्वरूप भन्दा मलीन छ । परन्तु भोगहरुमा आसक्त पुरुषहरुलाई ती शरीरहरुमा मलीन बुद्धि हुँदैन, रमणीय बुद्धि हुन्छ । यो रमणीय बुद्धिले नै जगतलाई धारण गराउँछ ।

नदीको किनारामा खडा भएका एउटा सन्तलाई कसैले भन्यो, 'हेर्नुस् महाराज ! यो नदीको जल बगिरहेको छ र त्यो पुलमा मनुष्य वगिरहेका छन् ।' सन्तले ती व्यक्तिलाई भने, 'हेर भाई ! नदीको जल मात्रै होइन, नदी आफैं पनि बगिरहेको छ; र पुलमा मनुष्य मात्रै होइन, पुल आफैं पनि वगिरहेको छ ।' तात्पर्य, ती नदी, पुल तथा मनुष्य धेरै तेजीसँग नाश तर्फ गइरहेका छन् । एक दिन न यो नदी रहनेछ, न यो पुल रहनेछ र यी मनुष्य नै रहने छन् । त्यस्तै यो पृथ्वी, पनि वगिरहेको छ, अर्थात् प्रलयतिर गइरहेछ । यसरी भावरूपले देखिने यो सारा जगत प्रतिक्षण अभावमा गइरहेको छ; तर जीवले यसलाई भावरूपले अर्थात् 'छ' रूपले धारण (स्वीकार) गरिराखेको छ । प्रकृतिको (स्वरूपले) उत्पत्ति हुँदैन, तर अपरा प्रकृतिसँग तादात्म्य गरेको कारण यो शरीरको उत्पत्तिलाई जीव आफ्नो उत्पत्ति मान्छ र शरीरको नाशलाई आफ्नो नाश मान्छ । यस्तो मान्दा नै ऊ जन्मने-मर्ने गरिरहन्छ । यदि यसले अपरासँग सम्बन्ध जोडेन भने, यसवाट विमुख भयो भने अर्थात् भावरूपले यसलाई सत्ता दिएन भने जगत सत्-रूपले देखिनै सक्तैन । 

'इदम्' पदले शरीर र संसार -- दुवै लिनु पर्छ, किनकि शरीर र संसार छुट्टा-छुट्टै छैनन्; तत्वतः (धातु चीज) एकै छन् । शरीर र संसारको भेद केवल मानिएको हो, वास्तवमा अभेद नै छ । यसैले तेर्हौं अध्यायमा भगवानले 'इदं शरीरम्' पदहरुले शरीरलाई क्षेत्र वताउनु भयो; तर क्षेत्रको वर्णनमा समष्टिको नै वर्णन भएको छ र इच्छा द्वेषादि विकार व्यष्टि प्राणीका नै हुन्छन् । तात्पर्य, समष्टि र व्यष्टि तत्वतः एकै छन् । एकै हुँदा पनि आफूलाई शरीर मान्दा 'अहंता' र शरीरलाई आफ्नो मान्दा 'ममता' पैदा हुन्छ, यसैले नै बन्धन हुन्छ । यदि शरीर र संसारको अभिन्नताको अथवा आफ्नो र भगवानको अभिन्नताको साक्षात् अनुभव भयो भने अहंता र ममता स्वतः मेटिन्छ । यी अहंता र ममता कर्मयोग, ज्ञानयोग र भक्तियोग -- तीनैवाट मेटिन्छन् । कर्मयोगले -- 'निर्ममो निरहंकार:', ज्ञानयोगले -- 'अहंकारं ..... विमुच्य निर्ममः' र भक्तियोगले -- 'निर्ममो निरहंकार:' । तात्पर्य, जडतासँग सम्बन्ध-विच्छेद हुनु पर्छ, किनभने यो सम्बन्ध खालि मानिएको हो । अतः विवेकपूर्वक यो सम्बन्ध नमाने अर्थात् वास्तविकताको अनुभव गरे यो मानिएको सम्बन्ध मेटिन्छ ।

No comments:

Post a Comment