Friday, 26 December 2014

Gita: Chapter 7: Slok 18 श्लोक १८ पहिले भनिएका सबै चारै थरी नै भक्तहरु धेरै उदार र श्रेष्ठ भाव भएका हरु हुन् ।

No. 217 

श्लोक १८ 

पहिले भनिएका सबै चारै थरी नै भक्तहरु धेरै उदार र श्रेष्ठ भाव भएका हरु हुन् । परन्तु ज्ञानी प्रेमी त मेरो स्वरूप नै हो -- यस्तो मेरो मत छ; कारण, त्यो भक्त मदेखि अभिन्न छ| यो जस्तो उत्तम, श्रेष्ठ गति अर्को छैन । त्यस्तो विशिष्ट गतिमा ऊ दृढताले स्थित छ ।

'उदाराः सर्व एवैते' -- यी सब-का-सब भक्त उदार छन्, श्रेष्ठ भाव भएका छन् । भगवानले यहाँ प्रयोग गर्नुभएको 'उदाराः' शब्दका विभिन्न भाव छन्; जस्तो -- 

(१) चौथो अध्यायको एघारौँ श्लोकमा भगवानले भन्नुभएको छ, 'भक्त जसरी मेरो शरण हुन्छन्, त्यसै गरी म उनीहरुको भजन गर्छु ।' भक्त भगवानलाई चाहन्छन् र भगवान भक्तलाई चाहनुहुन्छ । परन्तु यी दुईमा पहिले सम्बन्ध जोड्ने भक्त हो र सम्बन्ध पहिले जोड्ने नै उदार हुन्छ । तात्पर्य, भगवानले सम्बन्ध जोड़नुहोस् या नजोड्नु होस्, यसको पर्वाह भक्त गर्दैन । ऊ त पहिले आफ्नोतर्फवाट सम्बन्ध जोड्छ र आफूलाई समर्पित गर्छ । यसैले ऊ उदार हो । 

(२) देवताहरुका भक्त सकाम भावले विधिपूर्वक यज्ञ, तप, दान आदि त गर्छन् । त्यसपछि देवताहरुलाई उनीहरुको कामना अनुसार ती चीजहरु दिनै पर्छ । किनकि देवताहरु ती सकाम भक्तहरुको हित-अहित हेर्दैनन् । तर भगवानको भक्तले भगवानसँग केही चीज माग्छ भने भगवानले यदि उसको प्रार्थना उचित सम्झनु भयो भने ती चीज दिनुहुन्छ अर्थात् ती चीज दिंदा उसको भक्ति वढ्छ भने दिनुहुन्छ र भक्ति वढ़दैन भने, भक्त संसारमा नै फस्छ भने ती चीज दिनुहुन्न । कारण, भगवान परमपिता हुनुहुन्छ र परम हितैषि हुनुहुन्छ । अर्को शब्दमा, आफ्नो कामनाको पूर्ति होस् या नहोस्, तैपनि त्यस्ता ज्ञानी भक्त भगवानको नै भजन गर्छन्, भगवानको भजन गर्न छोडदैनन् -- यही उनीहरुको उदारता हो । 
                      
(३) संसारका भोग र रुपियाँ पैसा प्रत्यक्ष सुखदायी देखिन्छन् र भगवानको भजनमा प्रत्यक्ष छिट्टै सुख देखिंदैन, तैपनि त्यस्ता भक्त संसारको प्रत्यक्ष सुख त्यागेर अर्थात् भोग भोग्ने र संग्रह गर्ने लालसा छोडेर भगवानको भजन गर्छन् । यही उनीहरुको उदारता हो । 

(४) भगवानको दरवारमा माग्ने व्यक्तिहरुलाई पनि उदार भनिन्छ अर्थात् कोही केही माग्छ, कोही धन चाहन्छ, कोही आफ्नो कुनै दुःख हटाउन चाहन्छ -- यस्ता माग्ने भक्तलाई पनि भगवान उदार भन्नुहुन्छ भने यो पनि भगवानको विशेष उदारता नै हो । 

(५) भक्तहरुलाई  लौकिक र पारलौकिक कामना पूर्तिकोलागि अरु तर्फ अलिकति पनि भाव जाँदैन । उनीहरु खालि भगवानवाट नै कामनापूर्ति गराउन खोज्छन् । भक्तहरुको यो अनन्य भाव नै उनीहरुको उदारता हो । 

'ज्ञानी त्वात्मैव मे मतम्' -- यहाँ 'तु' पदले ज्ञानी अर्थात् प्रेमी भक्तको विलक्षणता वताइएको छ, अरु भक्त त उदार छँदै छन्, तर ज्ञानी भक्तलाई के उदार भन्नु, ऊ त मेरो स्वरूप नै हो । स्वरूपमा कुनै निमित्तले, कुनै कारण विशेषले प्रियता हुँदैन, प्रत्युत आफ्नो स्वरूप भएकोले स्वतःस्वाभाविक प्रियता हुन्छ ।

प्रेममा प्रेमी आफूले आफैंलाई प्रेमास्पदमा समर्पित गरिदिन्छ अर्थात् आफ्नो सत्ता छुट्टै मान्दैन । त्यस्तै प्रेमास्पद पनि प्रेमीमा स्वयं समर्पित हुन्छन् । उनीहरुलाई यो प्रेममा अद्वैतको विलक्षण अनुभूति हुन्छ । ज्ञानमार्गको यो अद्वैत भाव नित्य-निरन्तर अखण्डरूपले शान्त, सम रहन्छ । परन्तु प्रेमको यो अद्वैत भावले एक-अर्कोलाई अभिन्नताको अनुभव गराउँदै प्रतिक्षण वर्धमान रहन्छ । प्रेमको अद्वैत भाव एउटा हुँदा त्यो भावले एक-अर्कोलाई अभिन्नताको  अनुभव गराउँदै प्रतिक्षण वर्धमान रहन्छ । प्रेमको अद्वैत भाव एक हुँदा पनि दुई   र दुई हुँदा पनि एक छ । यसैले प्रेम-तत्व अनिर्वचनीय छ । शरीरसँग सर्वथा अभिन्नता (एकता) मान्दा मान्दै पनि निरन्तर भिन्नता वनिरहन्छ र भिन्नताको अनुभव गर्दा पनि भिन्नता वनिरहन्छ ।  यही किसिमले प्रेम-तत्वमा भिन्नता रहँदा पनि अभिन्नता वनिरहन्छ र अभिन्नताको अनुभव हुँदा पनि अभिन्नता वनिरहन्छ । 

नदी समुद्रमा प्रविष्ट हुन्छ भने प्रविष्ट हुने वित्तिकै नदी र समुद्रको जलको एकता हुन्छ । एकता भएपछि  पनि दुवैतिरवाट जलको एउटा प्रवाह चलिरहन्छ; अर्थात् कहिले नदीको  समुद्रतिर र कहिले समुद्रको नदीतिर एउटा विलक्षण प्रवाह चलिरहन्छ । त्यस्तै, प्रेमीलाई प्रेमास्पदतिर र प्रेमास्पदलाई प्रेमीतिरको प्रेमको एउटा विलक्षण प्रवाह चलिरहन्छ । उनीहरुको नित्य-योगमा वियोग र वियोगमा नित्य-योग -- यस्तो प्रकारको प्रेमको विलक्षण लीला अनन्तरूपले अनन्त कालसम्म चलिरहन्छ । तीमध्ये कुन चाहिं प्रेमास्पद हो र कुन प्रेमी भन्ने कुरा थाहा हुँदैन । त्यहाँ दुवै प्रेमास्पद छन् र दुवै प्रेमी छन् । 'ज्ञानी त्वात्मैव मे मतम्'को तात्पर्य यही हो ।

'आस्थितः स हि युक्तात्मा: मामेवानुत्तमाम् गतिम्' -- किनकि जुन भन्दा उत्तम गति अर्को हुन सक्तैन, यस्तो सर्वोपरि ममा नै उसको दृढ स्थिति छ ।

'भगवान मात्रै मेरो हो' -- भन्ने ममा हुने त्यो भक्तको आफ्नोपन अनुकूलतालाई -प्रतिकूलतालाई  लिएर कुनै मात्रामा पनि फरक पर्दैन, उल्टो त्यो आफ्नोपन दृढ हुँदै वढिरहन्छ । 

त्यो व्यक्ति युक्तात्मा हो अर्थात् ऊ कुनै पनि अवस्थामा मवाट छुट्दैन, सँधै मसंग अभिन्न रहन्छ ।

सांसारिक अर्थार्थी भगवान छोडेर खालि अर्थ मात्रै चाहन्छ; अतः ऊ झूठ, कपट, वेइमानी आदिको भक्त हुन्छ । ऊ भित्र धनको महत्व धेरै हुनाले ऊ उदार हुँदैन, महान् कृपण हुन्छ । यसैले उसकोलागि 'उदार' शब्द लागु नै हुँदैन । परन्तु भगवानको अर्थार्थी भक्त भित्र अर्थको महत्व नभएर भगवानको महत्व हुन्छ ।यसैले त्यस्तो भक्तमा कृपणता नभएर उदारता हुन्छ । यही कारण त्यस्तो भक्तलाई यहाँ उदार भनिएको हो । यहाँको उदार भावको अर्थ हो -- त्याग । अर्थार्थी, आर्त र जिज्ञासु संसार (भोग र संग्रह) छोडेर भगवानमा लागे -- यही उनीहरुको त्याग हो । यसैले यी सबै उदार हुन् -- 'उदाराः सर्व एवैते ।' भगवान मात्रैको सम्बन्ध मुख्य हुनाले अर्थार्थी, आर्त, र जिज्ञासु पनि पछि स्वतः 'ज्ञानी' हुन्छन् । 

भगवान नमान्नु कामना भन्दा पनि वढी दोषी हो । भगवान छोडेर अरु देवताहरुको उपासना गर्ने व्यक्तिहरुमा यदि कामना रह्यो भने उनीहरु जन्म-मरण पाउँछन् -- 'गतागतम् कामकामा लभन्ते'। परन्तु भगवानको मात्रै भजन गर्नेहरुमा कामना रहिहाल्यो भने पनि भगवानको कृपा र भजनको प्रभावले उनीहरु भगवान प्राप्त गर्छन् । कारण, मनुष्यको कुनै पनि तरहले भगवानसँग सम्बन्ध जोडियो भने ऊ भगवान प्राप्त गर्छ; किनकि मूलमा ऊ  भगवानको नै अंश हो । 

अर्थार्थी, आर्त र जिज्ञासु -- यी तीनैलाई भगवानले यहाँ 'उदार' भन्नुभएको छ । परन्तु भगवान सिवाय अन्यको भजन गर्नेहरुलाई भगवानले उदार नभनेर 'अल्पमेधा' भन्नुभयो र तिनको भजनलाई अविधिपूर्वक गरिएको भन्नुभयो ।  
देवताहरुलाई भगवान भन्दा छुट्टै मानेको कारणले अर्थात् देवताहरुमा भगवदबुद्धि नभएको कारणले उनीहरुको उपासना अविधिपूर्वक छ । तात्पर्य, सबैमा भगवदबुद्धि नहुनु सकामभाव भन्दा पनि वढी घातक छ; किनकि चेतनसँग सम्बन्ध भएन ।

तत्वज्ञानीलाई ब्रह्मसँग 'तात्विक एकता' अर्थात् सधर्मता हुन्छ; परन्तु भक्तको भगवानसँग 'आत्मीय एकता' हुन्छ -- 'ज्ञानी त्वात्मैव मे मतम्'। तत्वाज्ञानीको तात्विक एकता (सधर्मता)मा जीव र ब्रह्ममा अभेद हुन्छ अर्थात् ब्रह्म सत् -चित्-आनन्दस्वरूप भए जस्तै तत्वज्ञानी पनि सत्-चित्-आनन्दस्वरूप हुन्छ र एउटा तत्व सिवाय केही रहँदैन । परन्तु भक्तको आत्मीय एकतामा जीव र भगवानमा  अभिन्नता हुन्छ । अभिन्नतामा भक्त र भगवान यौटै हुँदा पनि प्रेमकोलागि दुई हुन्छन् । तिनमा दुवै प्रेमी र दुवै प्रेमास्पद हुन्छन् । यसैले उनीहरु दुइटा हुँदा पनि एउटा नै रहन्छन् ।

जीव परमात्माको अंश हो । अतः ऊ परमात्मासँग जति जति टाढा जान्छ, उसको अहंकार त्यति त्यति दृढ हुँदै जान्छ र ऊ जति जति परमात्मातिर आउँछ, त्यति त्यति उसको अहंकार मेटिन्छ । स्वरूपमा स्थित भएपछि पनि सूक्ष्म अहम् को गन्ध रहन सक्छ । परन्तु प्रेममा परमात्मासँग अभिन्नता (आत्मीयता) भएपछि जीवको अपरा प्रकृतिसँग सर्वथा सम्बन्ध-विच्छेद हुन्छ र अहंकार सर्वथा मेटिन्छ, किनकि अहंकार अपरा प्रकृतिको नै कार्य हो । यसैले भगवानले भन्नु भयो -- ज्ञानी त्वत्मैव मे मतम्' ।

अर्थार्थी, आर्त र जिज्ञासुमा क्रमशः आफ्नो स्वतन्त्र सत्ता (अहंता) कम हुँदै जान्छ र ज्ञानीमा उसको आफ्नो स्वन्त्र सत्ता विल्कुल रहँदैन । यसैले 'त्वात्मैव' भन्नुको तात्पर्य, प्रेमी भक्तको स्वतन्त्र सत्ता नै रहेन, खालि भगवान मात्रै रहनु भयो अर्थात् प्रेमीको रूपमा साक्षात् भगवान नै हुनुहुन्छ । यो आत्मीयता भक्तिको लागि स्वीकृत द्वैत हो । त्यो द्वैत ज्ञानयोगको अद्वैत भन्दा पनि राम्रो छ ।

'मामेवानुत्तमां गतिम्' -- भगवान भन्दा ठूलो उत्तम गति अर्को कुनै छैन । 'गति' शब्दका तीन अर्थ हुन्छन् -- ज्ञान, गमन र प्राप्ति । यहाँ 'गति' शब्द प्राप्तिको अर्थमा आएको छ । अन्तिम प्रापणीय (पाउनु पर्ने) तत्व भएकोले भगवान सर्वोत्तम गति हुनुहुन्छ । 

'आस्थितः' -- एक थरी दृढता अभ्यासले हुन्छ र अर्को थरी दृढता स्वतः हुन्छ ।जस्तो सम्पूर्ण प्राणीहरुको 'म छु' -- भन्ने आफूमा स्थिति भए जस्तै ज्ञानी भक्तलाई भगवानमा स्वतः दृढ स्थिति हुन्छ । 

No comments:

Post a Comment