Friday 26 December 2014

Gita: Chapter 7: Slok 11 - श्लोक ११ हे भरतवंशीहरुमा श्रेष्ठ अर्जुन ! वलवानहरुमा काम र रागदेखि रहित वल म हुँ र प्राणीहरुमा

No. 209

श्लोक ११ 

हे भरतवंशीहरुमा श्रेष्ठ अर्जुन ! वलवानहरुमा काम र रागदेखि रहित वल म हुँ र प्राणीहरुमा धर्मदेखि अविरूद्ध (धर्मयुक्त) काम पनि म हुँ । 

'वलम् वलवलवतां चाहं कामरागविवर्जितम्' -- कठिन भन्दा कठिन काम गर्दा पनि आफू भित्र एउटा कामना-आसक्तिरहित शुद्ध, निर्मल उत्साह रहन्छ । काम पूरा हुँदा पनि 'मेरो कार्य शास्त्र र धर्म अनुकूल हो  तथा लोकमर्यादा अनुसार सन्तजनअनुमोदित छ' भन्ने विचारले मनमा एउटा उत्साह रहन्छ । यसको नाम वल हो । यो वल भगवानको नै स्वरूप हो । यसैले यो वल ग्राह्य (ग्रहण गर्नु पर्ने) हो । 

गीतामा भगवानले आफैं वलको व्याख्या गरिदिनु भयो । सत्रौं अध्यायको पाँचौं श्लोकमा 'कामरागवलन्विताः' शब्दहरुमा आएको वल कामना र आसक्तिले युक्त हुनाले दुराग्रहको वाचक हो । अतः यो वल भगवानको स्वरूप होइन, आसुरी सम्पत्ति हुनाले त्याज्य हो । यस्तै, 'सिद्धोहं बलवान्सुखी' र 'अहंकारं बलं दर्पम्' पदहरुमा आएको बल त्याज्य छ । छैठौं अध्यायको चौतिसौं श्लोकमा 'बलबद्धृढम्' पदमा आएको बल शब्द मनको विशेषण हो । यो बल पनि आसुरी सम्पत्तिको नै हो; किनकि त्यसमा कामना र आसक्ति छ । तर यहाँ वर्णित बल कामना र आसक्तिदेखि रहित छ । यसैले यो वल सात्विक उत्साहको वाचक हो र ग्राह्य हो । सत्रौं अध्यायको आठौँ श्लोकमा 'आयुःसत्वबलारोग्य ……'  पदमा आएको बल शब्द पनि यही सात्विक बलको वाचक हो । 

'धर्माविरूद्धो भूतेषु कामोस्मि भरतर्षभ' -- हे भरतवंशिहरुमा श्रेष्ठ अर्जुन ! मनुष्यहरुमा धर्मदेखि अविरूद्ध अर्थात् धर्मयुक्त 'काम' मेरो स्वरूप हो । कारण, शास्त्र र लोक-मर्यादा अनुसार शुभ-भावले केवल सन्तान उत्पत्तिकोलागि हुने काम मनुष्यको अधीन हुन्छ । परन्तु आसक्ति, कामना, सुखभोग आदिकोलागि हुने काममा मनुष्य पराधीन हुन्छ र उसको वंशमा भएर त्यो व्यक्ति गर्न नहुने शास्त्रविरुद्ध काममा लाग्छ । शास्त्रविरूद्ध काम पतनको तथा सम्पूर्ण पापहरुको र दुःखहरुको हेतु हुन्छ । सम्पूर्ण जंगम सृष्टि कामवाट पैदा हुन्छन् । अतः मनुष्यमा भएको धर्मदेखि अविरूद्ध, मर्यादा अनुसारको काम भगवानको स्वरूप हो । भगवानले पहिले पनि भनिसक्नु भयो -- 'मत्तः परतरं नान्यत्किञ्चिदस्ति' र पछि पनि भन्नुहुन्छ -- 'ये चैव सात्विका भावा', वसुदेवः सर्वम्' । धर्मयुक्त काम भगवानको स्वरूप भए जस्तै धर्मविरुद्ध काम पनि भगवानदेखि छुट्टै छै । धर्मविरुद्ध आचरण गर्नेलाई भगवान नरकरूपले पाइनु हुन्छ; किनकि नरक पनि भगवान नै हुनुहुन्छ । परन्तु गीताको उपदेश मनुष्यलाई नरकहरुमा अथवा जन्म-मरणमा पठाउनु नभएर उसको कल्याण गर्नु हो ।उद्देश्य सँधै कल्याणको, आनन्दको नै हुन्छ, दुःखको होइन । दुःख कोही पनि चाहँदैन ।अर्जुनले पनि कल्याणको कुरा नै सोधेका हुन् । 

श्लोक १२ 

जति पनि सात्विक भाव छन्, र जति पनि राजस तथा तामस भाव छन्, ती सबै-का-सबै मवाट नै हुन्छन् -- यो कुरो तिमी बुझ । परन्तु म तिनमा (भावहरुमा) र ती भावहरु ममा छैनन् ।    
सबै सात्विक, राजस र तामस भाव (गुण, पदार्थ र क्रिया) पनि मवाट नै उत्पन्न हुन्छन् । यसको तात्पर्य, सम्पूर्ण सृष्टि जे भइरहेको छ, मूलमा सबैको आश्रय, आधार र प्रकाशक भगवान नै हुनुहुन्छ अर्थात् सबै भगवानको नै सत्ता-स्फूर्ति पाउँछन् ।                                                     
                 
सात्विक, राजस र तामस भाव भगवानवाट नै हुन्छन्, यसैले यिनमा भएका सबै विलक्षणता पनि भगवानका नै हुन् । अतः मनुष्यको दृष्टि भगवान तर्फ नै जानुपर्छ, सात्विक आदि भाव तर्फ होइन ।उसको दृष्टि भगवानतिर गए ऊ मुक्त हुनेछ र संसार तिर गए ऊ बाँधिन्छ ।        

सात्विक, राजस र तामस -- यी भावहरु (गुण, पदार्थ र सबै क्रियाहरु) भन्दा अतिरिक्त अरु कुनै भाव नै छैनन् । यी सबै भगवतस्वरूप नै हुन् । सबै मनुष्य सुख खोज्छन्, दुःख कोही पनि खोज्दैनन् । अनुकूल-परिस्थिति शास्त्र विहित (शास्त्र अनुसार) कर्मको फल हो र प्रतिकूल परिस्थिति शास्त्र निषिद्ध (शास्त्रले भनेको नगर्ने) कर्महरुको फल हो । यसैले हामीलाई विहित कर्म गर्न निषिद्ध कर्म नगर्न लगाउँछ शास्त्र ।यदि निषिद्ध कर्मलाई पनि भगवतस्वरूप मानेर गरियो भने भगवान दुःखहरु र नरकहरुको रूपमा प्रकट हुनुहुन्छ । अशुभ कर्महरुको उपासना गर्नेको अगाडि भगवान नरकरूपले नै प्रकट हुनुहुन्छ; किनकि दुःख र नरक पनि भगवानका नै स्वरूप हुन् । 

गर्ने र नगर्ने कुरामा विधि र निषेध लागु हुन्छ । अतः त्यहाँ विहित नै गर्नु पर्छ, निषिद्ध गर्नु हुँदैन ।तर मान्ने र जान्ने कुरोमा परमात्मालाई नै 'मान्नु' पर्छ र आफूलाई र संसारलाई 'जान्नु' पर्छ ।

मान्ने कुरोमा परमात्मालाई नै मानेर उहाँलाई पाउने उत्कण्ठा वढाउनु पर्छ  । उहाँलाई पाउन र प्रसन्न गर्न उहाँको आज्ञाको पालन गर्नुपर्छ ।  भगवानको आज्ञा विरुद्ध काम गरियो भने उहाँलाई कसरी प्रसन्नता हुने ? र विरुद्ध काम गर्नेलाई उहाँ कसरी पाइने ? 

जान्ने कुरोमा संसारलाई जान्नु पर्छ । उत्पत्ति-विनाशशील सँधै संगै रहने होइन, त्यो आफ्नो होइन र आफ़्नोलागि पनि होइन -- यस्तो जानेर त्योसँग सम्बन्ध-विच्छेद गर्नु पर्छ । त्यसमा कामना, ममता, आसक्ति गर्नु हुँदैन । त्यसको महत्व हृदयदेखि नै हटाउनु पर्छ । यसवाट सत्-तत्व प्रत्यक्ष हुनेछ र जान्नु पूर्ण हुनेछ । असत् (नाशवान्) वस्तु हामीसँग रहने होइन -- यस्तो बुझेपछि पनि त्यसलाई समय समयमा महत्व दिइरहियो भने वास्तविकता (सत्-वस्तु) प्राप्त हुँदैन ।

'मत्त एवेति तान्विद्धि' -- ती सबैलाई तिमी मवाट नै उत्पन्न हुने भन्ने बुझ अर्थात् सबै म नै हुँ । कार्य र कारण -- यी दुवै भिन्न देखिंदा पनि कार्य कारणदेखि भिन्न र स्वतन्त्र सत्ता राख्दैन । अतः कार्य कारणरूप नै हुन्छ । जस्तो सुवर्णवाट गहना पैदा हुन्छन् भने ती सुवर्ण भन्दा अलग छुट्टै हुँदैनन् अर्थात् सुवर्ण नै हुन्छन् । त्यस्तै परमात्मावाट पैदा हुने अनन्त सृष्टि परमात्मादेखि भिन्न सत्ता राख्न सक्तैनन् । 
        
'मत्त एव' भन्नुको तात्पर्य, अपरा र पारा प्रकृति मेरो स्वभाव हो; अतः कोही मवाट भिन्न सिद्ध गर्न सक्तैन । सातौँ अध्यायको परिशिष्टरुप नवौं अध्यायमा भगवानले  भन्नुभएको छ, 'कल्पको आदिमा प्रकृतिको वशमा गरेर म वारम्वार सृष्टिको रचना गर्छु ।' भगवान अझ भन्नुहुन्छ, मेरो अध्यक्षतामा प्रकृति चराचर संसारको रचना गर्छ' -- यी दुवै कुराहरु एक नै भए । चाहे प्रकृतिलाई लिएर भगवान रचना गर्नुहोस्, चाहे भगवानको अध्यक्षतामा प्रकृति रचना गरोस् -- यी दुबैको तात्पर्य यौटै हो । भगवानले रचना गर्दा प्रकृतिलाई लिएर नै गर्नुहुन्छ भने मुख्यता भगवानको नै भयो प्रकृतिले भगवानको अध्यक्षतामा रचना गर्दा पनि भगवानको नै मुख्यता भयो । यही कुरालाई यहाँ भनियो, 'म सम्पूर्ण जगतको प्रभव र प्रलय हुँ' र यही कुरालाई उपसंहार गर्दै भगवान भन्नुहुन्छ, 'सात्विक, राजस र तामस -- यी मवाट नै हुन्छन ।'

भगवानले विज्ञानसहित ज्ञान भन्ने भन्ने प्रतिज्ञा गरेर जान्ने व्यक्तिहरुको दुर्लभता वताउँदै आरम्भ गरिएको क्रिया, त्यसमा अपरा र पारा प्रकृतिको कथन गर्नुभयो । अपरा र परा प्रकृतिहरुलाई सम्पूर्ण प्राणीहरुको कारण वताउनु भयो; किनकि यिनको संयोगले नै सम्पूर्ण प्राणीहरु पैदा हुन्छन् । फेरि आफूलाई यी अपरा र पराको कारण वताउनु भयो -- 'मत्त: परतरं नान्यत्' यही कुरा विभूतिहरुको वर्णनको उपसंहार गर्दै यही भन्नुभयो, सात्विक, राजस र तामस भावहरुलाइ मवाट हुने जान ।

'न त्वहं तेषु ते मयि' -- म तिनमा छैन र ती ममा छैनन् । तात्पर्य, ती गुणहरुको मेरो सिवाय कुनै स्वतन्त्र सत्ता छैन अर्थात् म-नै-म हुँ; म सिवाय अरु केही छैन । ती सात्विक, राजस, तामस जति पनि प्राकृत पदार्थ र क्रियाहरु छन्, ती सब-का-सब उत्पन्न र नष्ट हुन्छन् । परन्तु म उत्पन्न पनि हुन्न र नष्ट हुन्न । यदि म तिनमा हुने भए तिनको नाश हुँदा मेरो पनि नाश हुनु पर्ने । त्यसैले म तिनमा छैन ।यदि तिनीहरु ममा हुने भए म जस्तो अविनाशी उनीहरुमा हुनुपर्ने । तर तिनीहरु त नष्ट हुन्छन् र म रहिरहन्छु, यसैले यिनीहरु ममा छैनन् । 

बीज नै वृक्ष, शाखाहरु, पातहरु, फूल आदिको रूपमा हुन्छ, परन्तु वृक्ष, शाखाहरु, पात आदिमा बीज खोज्यौं भने तिनमा बीज पाउँदैनौं । यस्तै सात्विक, राजस र तामस भाव मवाट नै हुन्छन्; तर ती भावहरुमा तिमीले मलाई खोज्यौ भने तिनमा म पाइंदैन । कारण कि म तिनमा मूलरूपले र तत्वरूपले  विद्यमान छु । अतः म तिनमा र तिनीहरु ममा छैनन्  अर्थात् सबै म-नै-म छु ।

वादल आकाशमा नै उत्पन्न हुन्छन्, आकाशमा नै रहन्छन् र आकाशमा नै लीन हुन्छन्; परन्तु आकाश जस्ता-को-तस्तो निर्विकार रहन्छ । न आकाशमा वादल रहन्छन् र न वादलहरुमा आकाश रहन्छ । त्यस्तै आठौँ श्लोकहरुदेखि यहाँसम्म वताइएका सत्र विभूतिहरु सबै मवाट नै उत्पन्न हुन्छन्, ममा नै रहन्छन् र ममा नै लीन हुन्छन् । तर तिनीहरु ममा छैनन् र म तिनमा छैन । मेरो सिवाय तिनीहरुको स्वतन्त्र सत्ता छैन । यो दृष्टिले सबै म नै म हुँ । तात्पर्य, भगवान वाहेक  यहाँ देखिएका सात्विक, राजास, तामस भाव अर्थात् प्राकृत पदार्थ र क्रियाहरुको सत्ता मानेर र तिनलाई महत्ता दिएर यी मनुष्य फसिरहेका छन् । अतः भगवान ती मनुष्यलाई लक्ष यता गराउँदै भन्नुहुन्छ, 'यी सबै पदार्थ र क्रियाहरुमा भएको सत्ता र महत्ता मेरो नै हो । 

No comments:

Post a Comment