Friday 26 December 2014

Gita: Chapter 7: Slok 7 - श्लोक ७ हे धनन्जय ! म सिवाय यो जगतको अर्को कुनै कारण छँदै छैन ।

No. 206

श्लोक ७ 

हे धनन्जय ! म सिवाय यो जगतको अर्को कुनै कारण छँदै छैन । सूतको धागोमा उनिएका सूतका नै मणिहरु जस्तै यो सम्पूर्ण जगत ममा नै ओतप्रोत छ ।

'मत्तः परतरं नान्यत किञ्चिदस्ति धनन्जय' -- हे अर्जुन ! म सिवाय अर्को कुनै कारण छैन, म नै सबैको महाकारण हुँ । वायु आकाशवाट नै उत्पन्न हुन्छ, आकाशमा नै रहन्छ र आकाशमा नै लीन हुन्छ अर्थात् आकाश सिवाय वायुको छुट्टै स्वतन्त्र सत्ता छैन । त्यस्तै संसार भगवानवाट नै उत्पन्न हुन्छ, भगवानमा स्थित रहन्छ र भगवानमा नै लीन हुन्छ अर्थात् भगवान सिवाय संसारको कुनै पृथक स्वतन्त्र सत्ता छैन । 

यहाँ 'परतरं' भनेर सबैको मूल कारण वताइएको छ । मूल कारण भन्दा पर अर्को कुनै कारण छैन अर्थात् मूल कारणको कुनै उत्पादक छैन । भगवान नै सबैको मूल कारण हुनुहुन्छ । यो संसार अर्थात् देश, काल, व्यक्ति, वस्तु, घटना, परिस्थिति आदि सबै परिवर्तनशील छन् । परन्तु जसको हुनुपनाले यी सबैको हुनुपना देखिन्छ अर्थात् जसको सत्ताले यी सबै 'छ' देखिन्छन्, त्यही परमात्मा यी सबैमा परिपूर्ण हुनुहुन्छ ।

भगवानले यही अध्यायको दोस्रो श्लोकमा भन्नुभएको छ, 'म विज्ञानसहित ज्ञान भन्नेछु, त्यो ज्ञान जानेपछि केही जान्न वांकी रहँदैन -- 'यज्ज्ञात्वा नेह भूयोन्यज्ज्ञातव्यमवशिषयते' र यहाँ भन्नुहुन्छ, 'म सिवाय अर्को कुनै कारण छैन -- मत्त: परतरं नान्यत् किञ्चिदस्ति ।' दुवै ठाउँमा 'न अन्यत्' भन्नुको तात्पर्य, म सिवाय कुनै केही छँदै छैन मलाई जानेपछि के कसरी जान्न वांकी रहन्छ ? अतः भगवानले यहाँ 'मयि सर्वमिदं प्रोतम्' र पछि 'वासुदेव: सर्वम्' तथा 'सदसच्चाहम्' भन्नुभएको छ । 

कार्य आफ्नो कारण भन्दा वाहेक अरु कुनै स्वतन्त्र सत्ता राख्दैन । वास्तवमा कारण नै कार्यरूपले देखिन्छ । यसरी कारणको ज्ञान भएपछि कार्य कारणमा लीन हुन्छ अर्थात् कार्यको छुट्टै सत्ता प्रतीत हुँदैन र 'एउटा परमात्मा सिवाय अन्य कुनै कारण छैन' -- यस्तो अनुभव स्वतः हुनेछ ।

'मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव' -- यो सारा संसार सूतको मणिहरु जस्तो ममा उनिएको छ ।अर्थात् ममा नै संसार अनुस्यूत (व्याप्त) छ । सूतमा वनेका मणिहरुमा र सूतमा सूतसिवाय अरु केही छैन, त्यस्तै संसारमा म सिवाय अरु कुनै तत्व छैन । तात्पर्य, सूतका मणिहरु र सूत फरक फरक देखिए पनि वास्तवमा सूत मात्रै छ । त्यस्तै संसारका समस्त प्राणीहरु नाम रुप आदिले अलग अलग देखिए पनि वास्तवमा तिनमा रहने चेतन तत्व यौटै छ । त्यो चेतन तत्व म नै हुँ -- 'क्षेत्रज्ञम् चापि मां विद्धि सर्वक्षेत्रेषु भारत' अर्थात् मणिरुप अपरा प्रकृति पनि मेरो नै स्वरूप हो र धागोरूप परा प्रकृति पनि म नै हुँ । यी दुबैमा म नै परिपूर्ण छु, व्याप्त छु । साधकले संसारलाई संसारबुद्धिले देखुन्जेल उसलाई संसारमा परिपूर्णरूपले व्याप्त परमात्मा देखिनु हुन्न । परमात्माको वास्तविक बोध भएपछि व्यप्य-व्यापक भाव मेटिएर एउटा परमात्मतत्व मात्रै देखिन्छ । यही तत्व वताउन नै भगवानले यहाँ कारणरूपले आफ्नो व्यापकताको वर्णन गर्नुभएको छ ।

सूतको धागोमा उनिएका सूतका मणिहरुमा सूत वाहेक केही छँदै छैन । यसै गरी संसारमा भगवान सिवाय अरु केही छैन । तात्पर्य, मणिरुप अपरा प्रकृति र धागोरूप परा प्रकृति -- दुबैमा भगवान नै परिपूर्ण हुनुहुन्छ । मणिहरु वन्न अपरा प्रकृतिको मुख्यता छ र धागो वन्न परा प्रकृतिको मुख्यता छ । 'मणिगणा:' पद वहुवचनमा दिइनुको तात्पर्य, अपरा प्रकृति स्थावर-जंगम, जलचर-नभचर-थलचर, चौध भूवन, चौरासी लाख योनिहरु आदि अनन्त रुपहरु र अनन्त समुदायहरुमा विभक्त छन् ।

परा र अपराको भेद अपराको कारण नै हो ; किनकि अपरालाई सत्ता र महत्ता दिएर अपरासँग सम्बन्ध जोडेकोले नै जीव वनेको हो । वास्तवमा न मणिहरु छन्, न धागो छ, खालि एउटा सूत (कपास) मात्रै छ । यस्तै किसिमले न अपरा छ, न परा छ, केवल एक परमात्मा मात्रै छ । यही कुरालाई भगवानले आउँदो वारहौं श्लोकसम्म वर्णन गर्नुभएको छ । यो श्लोकमा आएको 'मत्त:' पदले वारहौं श्लोकको 'मत्त एव' पदहरुसम्म भगवानले 'म सिवाय कोही छैन' भन्ने' कुरा नै वताउनु भएको छ । यहाँ 'मत्त' समग्र परमात्माको वाचक छ र परमात्मा परा र अपरा दुवै प्रकृतिहरुको मालिक हो । 

कारण नै कार्यमा परिणत हुन्छ, जस्तो कपास नै धागो वन्छ, वीज नै वृक्ष वन्छ । अतः सबैको परम कारण भगवान हुनाले सबै रुपहरुमा भगवान नै हुनुहुन्छ -- 'वासुदेवः सर्वम् ।' यसैले भगवान भन्दा अर्को सत्ता देख्नु नै भूल हो ।

'मत्तः परतरं नान्यत्किन्चिदस्ति' -- दुईमध्ये श्रेष्ठलाई 'परतर' भन्छन् । भगवान अद्वितीय हुनुहुन्छ, उहाँ सिवाय अर्को कुनै वस्तु (पर) छँदै छैन । फेरि उहाँ 'परतर' कसरी हुनुभयो ? उहाँमा 'परतर' शब्द लागु नै हुँदैन । यहाँ भगवानलाई अद्वितीय वताउन नै 'परतर' शब्द आएको हो । तात्पर्य, भगवान भन्दा अर्को केही पनि छैन र श्रेष्ठ पनि केही छैन ।     

No comments:

Post a Comment