Friday 26 December 2014

Gita: Chapter 7: Slok 1 श्लोक १ हे पृथानन्दन ! ममा आसक्त मन भएको,

No. १९९ 

अव गीताको सातौँ अध्याय शुरु हुन्छ ।

श्रीभगवानले छैठौं अध्यायको छयालिसौं श्लोकमा योगीको महिमा भन्नुभयो र सैंतालिसौं श्लोकमा भन्नुभयो, योगीहरुमा पनि मलाई श्रद्धा-प्रेम गरेर मेरो भजन गर्ने भक्त सर्वश्रेष्ठ छ । भक्तहरुलाई भगवान याद आउँदा उनीहरु उहाँमा नै तल्लीन हुन्छन् -- मस्त हुन्छन् । त्यस्तै भगवानको अगाडि भक्तहरुको विशेष प्रसंग आयो भने भगवान त्यसमा मस्त हुनुहुन्छ । यसै मस्तीमा डुबुल्की मार्दै भगवान् अर्जुनले सोध्दै नसोधी उनलाई सातौँ अध्यायको विषय आफ्नै तर्फवाट भन्नुहुन्छ । 

श्रीभगवानले भन्नु भयो । 

श्लोक १ 

हे पृथानन्दन ! ममा आसक्त मन भएको, मेरो आश्रित भएर योगको अभ्यास गर्दै तिमी मेरो समग्ररूपलाई जुन प्रकारले जान्दछौ, त्यो विषय तिमी त्यही प्रकारले सुन ।

'मय्यासक्तमनाः' -- ममा नै मन आसक्त भएको अर्थात् ज्यादै स्नेहले गर्दा उसको मन स्वाभाविक नै ममा लागेको, टाँसिएको, उसले मलाई सम्झन नै नपर्ने, स्वाभाविक मेरो याद उसलाई आउने र मेरो विस्मृति कहिले नहुने -- यस्तो ममा मन लगाउने तिमी वन । 

उत्पत्ति-विनाशशील वस्तुहरुको र शब्द, स्पर्श, रुप, रस तथा गन्धको आकर्षण मेटिएको, यो लोकमा शरीरको आराम, आदर-सत्कार र नामको वड़ाईमा तथा स्वर्ग आदि परलोकको भोगहरुमा किञ्चित् मात्र पनि खिंचाव, आसक्ति या प्रियता नभएको र केवल मतर्फ नै खिंचाव भएको पुरुषको नाम 'मय्यासक्तमना:' हो ।

साधकले 'मय्यासक्तमना: हुन भगवानमा मन कसरी लगाउने भन्ने कुराकोलागि दुई उपाय वताइएका छन् --

(१) साधकले साँचो नियतले भगवानकोलागि मात्रै जप-ध्यान गर्न वस्दा भगवान त्यो जप-ध्यानलाई आफ्नो भजन मान्नुहुन्छ । अर्थात् मन लगाउन भगवानको आश्रय लिएर, भगवानको नै भरोसामा वस्ने साधक भगवानको कृपाले नै भगवानमा मन भएको हुन्छ । 

(२) भगवान सबै ठाउँमा हुनुहुन्छ भने यहाँ पनि हुनुहुन्छ; किनकि उहाँ सबै ठाउँमा हुनुहुन्न भने भगवान सबै ठाउँमा हुनुहुन्छ भन्न मिल्दैन । भगवान सबै समयमा हुनुहुन्छ भने अहिले पनि हुनुहुन्छ; किनकि यो समयमा हुनुहुन्न भने उहाँ सबै समयमा हुनहुन्छ भन्न सकिंदैन । भगवान सबैमा हुनुहुन्छ भने ममा पनि हुनुहुन्छ; किनकि यदि उहाँ ममा हुनुहुन्न भने उहाँ सबैमा हुनुहुन्छ भन्न पाइंदैन । भगवान सबैको हुनुहुन्छ भने मेरो पनि हुनुहुन्छ; किनकि यदि उहाँ मेरो हुनुहुन्न भने भगवान सबैको हो भन्न पाइंदैन । यसैले भगवान यहीं हुनुहुन्छ, अहिले नै हुनुहुन्छ, आफूमा नै हुनुहुन्छ र आफ्नै हुनुहुन्छ । कुनै देश, काल, वस्तु, व्यक्ति, परिस्थिति, घटना र क्रिया उहाँदेखि रहित छैन, रहित हुन सम्भव पनि छैन । यो कुरालाई दृढताले मान्दै भगवन्नाममा, प्राणमा, मनमा, बुद्धिमा, शरीरमा, शरीरको कण कणमा परमात्मा हुनुहुन्छ भन्ने भावको जागृति राख्दै नाम-जप गर्यो भने साधक बहुत चांडै भगवानमा मन भएको हुन्छ ।

'मदाश्रय:' -- केवल मेरो मात्रै आशा भएको, मेरो मात्रै भरोसा भएको, मेरो मात्रै विश्वास भएको, सँधै मेरो मात्रै आश्रित रहने व्यक्ति 'मदाश्रय' हो ।

यो जीवको स्वभाव कसै न कसैको आश्रय लिन्छ । परमात्माको अंश भएकोले ऊ आफ्नो अंशीलाई खोज्छ । तर यो जीवको लक्षमा, उद्देश्यमा परमात्मा नहुन्जेल उ शरीरसँग सम्बन्ध जोडिरहन्छ र शरीरको अंश संसारतर्फ खिंचिन्छ । यो जीव यस्तो मान्छ, 'यही (संसार) वाट मलाई केही मिल्छ, त्यसपछि म निहाल हुन्छु, जे हुन्छ, संसारवाट नै हुन्छ ।' परन्तु उसले भगवानलाई सर्वोपरि मानेपछि मात्रै ऊ भगवानमा आसक्त हुन्छ र भगवानको नै आश्रय लिन्छ ।

संसारको अर्थात् धन, सम्पत्ति, वैभव, विद्या, बुद्धि, योग्यता, कुटुम्ब आदिको आश्रय त नाशवान् आश्रय हुन्, मेटिने खालका हुन्, स्थिर रहने होइनन् ।संसारको आश्रय सँधै रहने खालका होइनन् र सँधैकोलागि तृप्ति गराउने पनि होइनन् । तर भगवानको आश्रय कहिले किन्चिन्मात्र पनि कम हुने खालको होइन; किनकि भगवानको आश्रय पहिले पनि थियो, अहिले पनि छ र पछि पनि रहने छ ।अतः आश्रय खालि भगवानको मात्रै लिनुपर्छ । केवल भगवानको मात्रै आश्रय, अवलम्बन, आधार र सहारा होस् । यहाँ प्रयोग भएको 'मदाश्रय:' शब्द यही कुराको वाचक हो ।

भगवान भन्नुहुन्छ, मन पनि ममा नै आसक्त होस् र आश्रय पनि मेरै होस् । मन आसक्त हुन्छ प्रेमले र प्रेम हुन्छ आफ्नोपनले । आश्रय लिइन्छ ठूला -वडाको, सर्वसमर्थको । सर्वसमर्थ त हाम्रो प्रभु नै हुनुहुन्छ । यसैले उहाँको नै आश्रय लिने हो र उहाँको प्रत्येक विधानमा यसो भनेर प्रसन्न हुने -- मेरो मनको विरुद्ध विधान पठाएर प्रभु मेरो कति हेरविचार गर्नुहुन्छ ! मेरो कति ख्याल राख्नुहुन्छ कि मेरो सम्मति विना नै मेरोलागि विधान गर्नुहुन्छ । यस्तो मेरो दयालु प्रभुलाई मसँग कति आफ्नोपन छ । अतः मलाई कुनै पनि वस्तु, व्यक्ति, परिस्थिति आदिको अलिकति पनि आवश्यकता छैन । यस्तो प्रकारले भगवानको आश्रित रहनु नै 'मदाश्रयः' हुनु हो । 

'योगं युञ्जन्' -- भगवानसंगको स्वतःसिद्ध अखण्ड सम्बन्ध मान्दै साधक जप, ध्यान, कीर्तन गर्न, भगवानको लीला र स्वरूपको चिन्तन गर्नमा स्वाभाविक नै अटल भावले लागि रहन्छ । उसको चेष्टा स्वाभाविक नै भगवानको अनुकूल हुन्छ । यसैलाई 'योगं युञ्जन्' भनिन्छ । 

साधक भगवानमा नै आसक्त र भगवानको नै आश्रय लिने हुन्छ, त्यो वेला ऊ के अभ्यास गर्ला ? कुन् चाहिं योग गर्ला ? ऊ भगवत्सम्बन्धी अथवा संसारसम्बन्धी जे सुकै कार्य गर्छ, उसका ती सबै कार्य योगको नै अभ्यास हो । तात्पर्य, जसवाट परमात्मासँग सम्बन्ध होला, ऊ (लौकिक र पारमार्थिक) काम गर्छ र जसवाट परमात्मासँग वियोग होला, त्यो काम ऊ गर्दैन ।

मन भगवानमा आसक्त भएको, सर्वथा भगवानको आश्रित भएको र भगवानसँगको सम्बन्ध स्वीकार गरेको पुरुष भगवानको समग्ररूप जान्दछ अर्थात् भगवानको सगुण-निर्गुण, साकार-निराकार, अवतार-अवतारी र शिव, गणेश, सूर्य, विष्णु आदि सवै रुप त्यो साधक जान्दछ । 

भगवान आफ्नो भक्तको कुरा भनेर कहिले थाक्नु हुन्न र भन्नुहुन्छ, ज्ञानमार्गद्वारा अघि वढ्ने साधक मलाई त जान्न सक्छ, मलाई प्राप्त गर्न सक्छ, तर भक्तिले मेरो भक्त समग्र रुपले मलाई जान्न सक्छ र इष्टको, उसले उपासना गर्ने रूपको दर्शन पनि गर्न सक्छ । 

'यथा ज्ञास्यसि तच्छ्रिणु' -- यहाँ 'यथा' पदले प्रकार वताइएको छ । भनिन्छ, तिमी जुन प्रकारले जान्न सक्छौ, म त्यही प्रकारले तिमीलाई भन्नेछु र 'तत्'ले वताइएको छ, जुन तत्व तिमी जान्न सक्छौ, त्यसको वर्णन पनि म गर्नेछु, तिमी सुन । 

छैठौं अध्यायको सैंतालिसौं श्लोकमा 'श्रद्धावान् भजते यो मां स मे युक्ततमो मतः' पदहरुमा प्रथम पुरुष (त्यो)को प्रयोग गरेर सामान्य कुरो भन्नु भएको थियो र यहाँ सातौँ अध्याय आरम्भ गर्दै 'यथा ज्ञास्यसि तच्छ्रिणु' पदहरुमा मध्यम पुरुष (तिमी) प्रयोग गरेर अर्जुनकोलागि विशेषतासँग भगवान भन्नुहुन्छ,  मेरो समग्ररूप जुन प्रकारले जान्दछौ, त्यही प्रकारले तिमी मवाट सुन । 

यो भन्दा पहिलेका छ अध्यायहरुमा भगवानकोलागि 'समग्र' शब्द आएको छैन । चौथो अध्यायको तेइसौं श्लोकमा 'यज्ञाआचरतः कर्म समग्रम् प्रविलीयते' पदहरुमा कर्मको विशेषणको रूपमा 'समग्र' आएको छ । 'समग्र' शब्दमा भगवानको सब-का-सब तात्विक स्वरूप आउँछ, केही वांकी रहँदैन । 
(१) यो श्लोकमा 'आसक्ति खालि ममा मात्रै होस्, आश्रय पनि खालि मेरो मात्रै होस्, त्यसो हुँदा योगको अभ्यास गरिंदा पनि मेरो समग्र रूपलाई नै जान्नेछ' -- यस्तो भन्नुको अर्थ, यदि मनुष्यको आसक्ति भोगहरुमा छ र आश्रय रुपियाँ-पैसा, कुटुम्ब आदिको छ भने कर्मयोग, ज्ञानयोग, आदि कुनै योगको अभ्यास गरिरहे पनि ऊ मलाई जान्न सक्तैन । मेरो समग्ररुप जान्नलाई ममा नै प्रेम हुनुपर्छ, मेरो नै आश्रय हुनुपर्छ, मवाट कुनै पनि कार्य पूर्तिको इच्छा हुनुहुन्न । यस्तो हुनु पर्छ र यस्तो हुनुहुन्न भन्ने कामना छोडेर भगवान जे गर्नुहुन्छ, त्यही हुनु पर्छ र भगवान जे गर्न चाहनु हुन्न, त्यो हुनु हुन्न भन्ने भावनाले खालि मेरो आश्रय लिने व्यक्ति मेरो समग्ररुप जान्दछ । यसैले भगवान अर्जुनलाई भन्नुहुन्छ, तिमी 'मय्यासक्तमनाः' र 'मदाश्रय' होऊ ।

(२) परमात्मासँग वास्तविक सम्बन्धको नाम 'योगम्' हो र त्यो सम्बन्ध अखण्ड भावले मान्नेको नाम 'युञ्जन्' हो । तात्पर्य, मन, बुद्दि, इन्द्रियहरु, आदिसँग सम्बन्ध मानेर आफूमा 'म' रूपले मानिराखेको एक व्यक्तित्व नमानेर परमात्मासँगको वास्तविकताको अनुभव गरिरहने ।

वास्तवमा संसारको आसक्ति र आश्रय छोड्नु पर्ने आवश्यकता जति छ, 'योगं युञ्जन्' हुने आवश्यकता त्यति छैन हामीलाई । संसारको आसक्ति र आश्रय छोडे परमात्माको चिन्तन आफैं हुनेछ र सम्पूर्ण क्रियाहरु निष्काम-भावपूर्वक हुन थाल्छन् । त्यसपछि भगवान जान्न उसलाई कुनै परिश्रम गर्नु पर्दैन । यसको तात्पर्य, संसारतर्फ खिंचाव भएको र अन्तःकरणमा उत्पत्ति-विनाशशील वस्तुहरुको महत्व रहेको व्यक्ति परमात्माको वास्तविक स्वरूप जान्न सक्तैन । कारण, उसको आसक्ति, कामना, महत्ता संसारमा छ । यसैले, संसारमा परमात्मा सबैतिर परिपूर्ण रहँदा रहँदै पनि ऊ उहाँलाई जान्न सक्तैन । 

समाजको कुनै ठूलो व्यक्तिसँग आफ्नोपन हुँदा हामीलाई एक किसिमको प्रसन्नता हुन्छ । त्यसै गरी, हाम्रो सँधैको हितैषी र हाम्रो अंशी भगवानमा आत्मीयता जाग्रत भएपछि त्यो प्रसन्नता सँगै एउटा अलौकिक, विलक्षण प्रेम प्रकट हुन्छ । त्यसपछि स्वाभाविक रूपले नै भगवानमा मन भएको र भगवानको आश्रित हुन्छ । 

आश्रय, अवलम्बन, आधार, प्रपत्ति र सहारा -- यी सबै शब्दहरु 'शरणागतिको पर्यायवाचक हुँदा हुँदै पनि आफ्नै अलग अलग अर्थ राख्छन् । जस्तो --

(१) आश्रय -- हामी पृथ्वीको आधार विना वाँच्न सक्तैनौं र उठ्ने-वस्ने जस्ता कुनै क्रिया पनि गर्न सक्तैनौं, त्यस्तै प्रभुको आधार विना हामी वाँच्न र केही गर्ने सक्तैनौं । वाँच्न र केही गर्न प्रभुको आधार चाहिन्छ । यसैलाई 'आश्रय' भन्छन् ।

(२) अवलम्बन -- कसैको हात भाँचियो भने डाक्टरहरु त्यो हातमा पट्टी वांधेर त्यो हातलाई घाँटीको सहारामा झुन्ड्याईदिन्छन्, यसरी उसको हात घाँटीसँग अवलम्बित हुन्छ । यही किसिमले संसारसँग निराश र अनाश्रित भएर भगवानको गला परेर अर्थात् भगवानलाई समात्ने क्रियाको नाम हो 'अवलम्बन' ।

(३) अधीनता --- अधीनता दुई किसिमले हुन्छ -- (१) कसैले हामीलाई जवर्जस्ती अधीन गरेर अथवा समातेर र (२) हामी आफ्नै तर्फवाट कसैसंग अधीन भएर या दास वनेर । यस्तै आफ्नो कुनै पनि प्रयोजन नराखेर अर्थात् खालि भगवानलाई लिएर अनन्यभावले सम्पूर्ण रूपले भगवानको दास वन्नु र खालि भगवानलाई आफ्नो मान्नु 'अधीनता' हो ।

(४) प्रपत्ति -- कुनै समर्थको चरणहरुमा सुतेर दर्शन गरे जस्तै संसारतर्फवाट सर्वथा निराश भएर भगवानको चरणहरुमा पर्नु 'प्रपत्ति' (प्रपन्नता) हो ।

(५) सहारा -- जलमा डुबिरहेकोलाई कुनै वृक्ष, लता, डोरी आदिको आधार मिलेको जस्तो संसारमा फेरि-फेरि जन्म-मरणमा डुब्ने भयले भगवानको आश्रय लिनु 'सहारा' हो । 

यसरी उपर्युक्त सबै शब्दहरुमा खालि शरणागतिको भाव प्रकट हुन्छ । भगवानमा नै आसक्ति र भगवानको नै आश्रय भयो भने अर्थात् भगवानमा नै मन र बुद्धि लाग्यो भने शरणागति हुन्छ । मनुष्य मन-बुद्धिसहित स्वयं भगवानको आश्रित (समर्पित) भयो भने शरणागतिमा आवश्यक सबै भाव आउँछन् । 

मन र बुद्धिलाई आफ्नो नमानेर 'यी भगवानका नै हुन्' भन्ने सत्य दृढताले मानियो भने साधक 'मय्यासक्तमाना:' र 'मदाश्रय:' हुन्छ । सांसारिक सबै वस्तु प्रतिक्षण प्रलयतिर गइरहेका छन् र कुनै पनि वस्तुसँग आफ्नो नित्य सम्बन्ध नै छैन -- यो सबैको अनुभव हो । यदि यो अनुभवलाई महत्व दिइयो भने अर्थात् मेटिने सम्बन्धलाई आफ्नो नमानियो भने आफ्नो कल्याणको उद्देश्य हुनाले भगवानको शरणागति स्वतः आउँछ । कारण कि यो स्वतः भगवानको हो संसारसँग सम्बन्ध खालि मानिएको हो (वास्तवमा सम्बन्ध छँदै छैन) र भगवानसँग खालि विमुखता भएको हो (वास्तवमा विमुखता छँदै छैन)। यसरी  मानिएको सम्बन्ध छुटेपछि भगवानसँगको स्वतःसिद्ध सम्बन्ध प्रकट हुन्छ ।

मन स्वाभाविक नै भगवानतिर खिंचिएको, सम्पूर्ण तरिकाले भगवानको आश्रित भएको र भगवानसँग आफ्नो स्वतःसिद्ध नित्ययोग (आत्मीय सम्बन्ध) स्वीकार गरेको भक्त भगवानको समग्ररूप जान्दछ ।सबै भगवान नै हुनुहुन्छ -- यो भगवानको समग्ररूप हो ।

'मय्यासक्तामना:' मा प्रेमको र 'मदाश्रयः'मा श्रद्धाको मुख्यता छ । 

'समग्रम् माम्' -- यसमा 'समग्रम्' (समग्ररूप) विशेषण हो र 'माम्' विशेष्य हो । भक्तको सम्बन्ध विशेषणसँग नभएर विशेष्यसँग हुन्छ । 

छैठौं अध्यायको अन्तमा 'श्रद्धावान्भजते यो माम्' पदहरुमा आएको 'माम्'को के स्वरूप हो -- यसलाई भगवान यहाँ वताउनु हुन्छ, त्यो 'माम्' मेरो समग्ररूप हो । 

'यथा ज्ञास्यसि तच्छ्रिणु' -- त्यो समग्ररूपको वर्णन म यसरी, ढंग, युक्ति, शैलीले गर्नेछु, जुन जानेर तिमी मलाई सुगमतापूर्वक यथार्थरूपले जान्नेछौ ।


अर्जुनले अघिल्लो अध्यायमा संशय प्रकट गरेका थिए -- 'एतन्मे संशयम् कृष्ण', यसैले भगवान भन्नुहुन्छ, अव म तिम्रो संशय वांकी नरहने कुरो भन्नेछु ।                                                                                              

No comments:

Post a Comment