Friday, 26 December 2014

Gita: Chapter 7 : Slok 17 - श्लोक १७ ती चार भक्तहरुमा ममा नै निरन्तर लागेको अनन्य भक्तिले युक्त ज्ञानी अर्थात् प्रेमी भक्त श्रेष्ठ

No. 216

श्लोक १७ 

ती चार भक्तहरुमा ममा नै निरन्तर लागेको अनन्य भक्तिले युक्त ज्ञानी अर्थात् प्रेमी भक्त श्रेष्ठ छ;। किनकि ज्ञानी भक्तलाई म अत्यन्त प्रिय छु र त्यो भक्त मेरो अत्यन्त प्रिय छ । 

'तेषाम् ज्ञानी नित्ययुक्त:' -- ती (अर्थार्थी, आर्त, जिज्ञासु र ज्ञानी) भक्तहरुमा ज्ञानी अर्थात् प्रेमी भक्त श्रेष्ठ छ, किनकि उ नित्ययुक्त छ अर्थात् उ सदा-सर्वदा केवल भगवानमा नै लागिरहन्छ । भगवान भन्दा अरु कसैमा ऊ अलिकति पनि अन्त लाग्दैन । गाई दुहुँदा, दही मथ्दा, धान कुट्दा जस्ता लौकिक क्रियाहरुमा पनि भगवान श्रीकृष्णमा नै गोपिहरुको चित्त हुन्थ्यो । त्यस्तै त्यो ज्ञानी भक्त लौकिक र पारमार्थिक सबै क्रियाहरु गर्दा सँधै भगवानमा नै जोडिइरहन्छ । भगवानसँग सम्बन्ध राखी राखी उसका सबै क्रियाहरु हुन्छन् । 

'एकभक्तिर्विशिष्यते' -- त्यो ज्ञानी अर्थात् प्रेमी भक्तको आकर्षण केवल भगवानमा हुन्छ । उसको आफ्नो कुनै व्यक्तिगत इच्छा रहँदैन । यसैले ऊ श्रेष्ठ हो। 

अर्थार्थी आदि भक्तहरुमा पूर्वसंस्कारहरुले गर्दा व्यक्तिगत इच्छाहरु उत्पन्न हुन्जेल उनीहरुको एक भक्ति हुँदैन अर्थात् भगवानमा मात्रै प्रेम हुँदैन । परन्तु ती भक्तहरुमा आफ्ना इच्छाहरु नष्ट गर्ने भाव पनि भइरहन्छ र इच्छाहरु सर्वथा नष्ट भएपछि सबै भक्त भगवानका प्रेमी र भगवानका प्रेमास्पद हुन्छन् । त्यहाँ भक्त र भगवानवीच द्वैत भाव नरहेर प्रेमाद्वैत (प्रेममा अद्वैत) हुन्छ ।

यसै पनि चारै भक्त भगवानमा नित्य-निरन्तर लागिरहन्छन्; परन्तु यी तीन भक्तहरु भित्र केही-न-केही व्यक्तिगत इच्छा रहन्छन्;  जस्तो अर्थार्थी भक्त अनुकूलताको इच्छा गर्छन्, आर्त भक्त आफ्नो प्रतिकूलता मेटाउने इच्छा गर्छन्, र जिज्ञासु भक्त आफ्नो स्वरूप या भगवततत्व जान्ने इच्छा गर्छन् । ज्ञानी अर्थात् प्रेमी भक्तमा आफ्नो कुनै इच्छा रहँदैन; अतः उनीहरु एक भक्ति हुन् । 

'प्रिय हि ज्ञानिनोत्यर्थमहं स च मम प्रियः' -- त्यो ज्ञानी प्रेमी भक्तलाई म अत्यन्त प्यारो छु । उसमा आफ्नो कुनै पनि इच्छा छैन, केवल ममा मात्रै प्रेम छ । यसैले ऊ पनि मेरो अत्यन्त प्यारो छ । 

भगवानको अंश भएकोले सबै जीव स्वाभाविक नै भगवानलाई प्यारा छन् । भगवानको प्रेममा कुनै निजी स्वार्थ छैन । एउटी आमाले वच्चा स्याहारेको जस्तो भगवान विना कुनै कारण सबैको पालन-पोषण र प्रबन्ध गर्नुहुन्छ । परन्तु कुनै मनुष्य कुनै कारणले भगवानको सम्मुख भयो भने उसको त्यो सम्मुखताको कारणले नै भगवानमा ऊप्रति एक विशेष प्रियता हुन्छ । 

भक्त सर्वथा निष्काम भएपछि अर्थात् उसमा लौकिक-पारलौकिक कुनै पनि प्रकारको इच्छा नरहेपछि उसमा स्वतःसिद्ध प्रेम पूर्णरूपले जाग्रत हुन्छ । पूर्णरूपले प्रेम जाग्रत हुनुको अर्थ हो, प्रेममा अलिकति पनि कमी नरहने। त्यो प्रेम कहिले समाप्त पनि हुँदैन, किनकि त्यो प्रेम अनन्त र प्रतिक्षण वर्धमान छ । प्रतिक्षण वर्धमानको तात्पर्य, प्रेममा प्रतिक्षण अलौकिक विलक्षणताको अनुभव भइरहन्छ अर्थात् यता हाम्रो दृष्टि पहिले गएकै थिएन, यता हाम्रो ध्यान गएकै थिएन, अहिले दृष्टि गयो -- भन्ने  प्रतिक्षण भाव र अनुभव भइरहन्छ । 

भगवानले आफ्नो प्रेमी  भक्तलाई 'ज्ञानी' नाम दिनुको अर्थ हो, 'सबै परमात्मा नै हो' -- यही वास्तविक र अन्तिम ज्ञान हो, यो भन्दा पछि केही पनि छैन । यसैले यस्तो अनुभव गर्ने प्रेमी भक्त नै वास्तविक ज्ञानी हो ।        
कारण, यस्ता भक्तको दृष्टिमा परमात्मा सिवाय अर्को सत्ता छँदै छैन जव कि विवेकी पुरुषको दृष्टिमा सत् र असत् -- दुई सत्ता रहन्छ । तात्पर्य, यहाँ 'ज्ञानी' शब्द जीवन्मुक्त तत्वज्ञानीकोलागि आएको होइन, 'वासुदेवः सर्वम्'को अनुभव गर्ने ज्ञानी अर्थात् प्रेमी भक्तकोलागि आएको हो । गीतामा भगवानले मुख्यरूपले भक्तलाई नै 'ज्ञानी' भन्नुभयो, किनकि त्यही अन्तिम र सक्कली ज्ञानी हो । उसको प्रेम खालि भगवानमा मात्रै हुन्छ, यसैले ऊ श्रेष्ठ हो -- 'एकभक्तिर्विशिष्यते' ।

भगवानको अर्थार्थी भक्त अनित्ययुक्त (निरन्तर भगवानमा नलागेको) हुन्छ । अर्थार्थी भन्दा आर्त भक्त कम अनित्ययुक्त हुन्छ । परन्तु ज्ञानी सर्वथा नित्ययुक्त हुन्छ । 

'प्रियो हि ज्ञानिनोत्यर्थमहं स च मम प्रियः' पदहरुको अर्थ, 'वासुदेवः सर्वम्'को अनुभव भएपछि भक्त र भगवान -- दुबैमा प्रेम नै प्रेम वांकी रहन्छ । यसैलाई शास्त्रहरुमा प्रतिक्षण वर्धमान प्रेम, अनन्त रस, आदि नामहरुले भनिन्छ ।

No comments:

Post a Comment