Friday 26 December 2014

Gita: Chapter 7 : Slok 4, 5 - श्लोक ४, ५ को नै वांकी अंश गुरु शिष्यको सम्बन्धमा गुरु शिष्यलाई आफ्नो शिष्य मान्छ र शिष्य गुरुलाई आफ्नो गुरु मान्छ ।

No. 203 

श्लोक ४, ५ को नै वांकी अंश  

गुरु शिष्यको सम्बन्धमा गुरु शिष्यलाई आफ्नो शिष्य मान्छ र शिष्य गुरुलाई आफ्नो गुरु मान्छ । यसरी गुरु छुट्टै छ र शिष्य छुट्टै छ अर्थात् उनीहरुको छुट्टा छुट्टै सत्ता देखिन्छ । तर तिनको सम्बन्धवाट तेस्रो सत्ता पनि प्रतीत हुन्छ । यो सम्बन्धलाई 'सम्बन्धको सत्ता' भनिन्छ । यस्तै साक्षात् परमात्माको अंश जीवले शरीर-संसारसँग आफ्नो सम्बन्ध मानेको छ । यही सम्बन्धको कारण एउटा अर्को सत्ता प्रतीत हुन थाल्छ । यो सत्तालाई 'म-पना' भन्छन् । सम्बन्धको यो सत्ता (म-पना) खालि मानिएको हो, वास्तवमा यो सत्ता छैन ।  जीव भूलले यो मानिएको सम्बन्धलाई सत्य मान्छ अर्थात् यसमा सद्भाव गर्छ र बाँधिन्छ । यसरी जीव संसारमा होइन, संसारसँग मानिएको सम्बन्धसँग बाँधिन्छ ।

गुरु र शिश्यमा त दुबैको छुट्टा छुट्टै सत्ता छ र दुवै एक अर्कोसँग सम्बन्ध मान्छन्; परन्तु जीव (चेतन) र संसार (जड) -- यी दुबैमा केवल जीवको मात्रै वास्तविक सत्ता छ र यही भूलले जीव संसारसँग सम्बन्ध मान्छ । संसार प्रतिक्षण नष्ट भइरहेछ; अतः संसारसँग मानिएको सम्बन्ध पनि प्रतिक्षण स्वतः नष्ट भइरहेछ । यस्तो हुँदा हुँदै पनि संसारमा सुख प्रतीत हुन्जेल त्योसँग मानिएको सम्बन्ध स्थायी प्रतीत हुन्छ । तात्पर्य, संसारसँग मानिएको सम्बन्ध सुखासक्तिमा नै टिकेको छ । संसारसँग सुखासक्तिपूर्वक मानिएको सम्बन्धको कारण नै संसार अप्राप्त हुँदा प्राप्त र परमात्मा प्राप्त हुँदा पनि अप्राप्त प्रतीत भइरहनु भएको छ । संसारसँग मानिएको सम्बन्ध टुट्ने वित्तिकै परमात्माको वास्तविक सम्बन्धको अथवा संसारको अप्राप्ति र परमात्माको प्राप्तिको अनुभव हुन्छ ।

'म-पना' मेटाउन साधकले  प्रकृति र प्रकृतिको कार्यलाई न त आफ्नो स्वरूप सम्झने न उसवाट केही पाइने इच्छा राख्ने र आफ्नोलागि केही गर्ने । जे सुकै गर्दा पनि उसले संसारको सेवाकोलागि नै गरिरहने । तात्पर्य, प्रकृतिजन्य पदार्थ सबैको संसारसँग एकता छ; अतः उनीहरुलाई खालि संसारको मानेर संसारको सेवामा लगाइरहने । यसवाट क्रिया र पदार्थहरुको प्रवाह संसारतिर हुन्छ र आफ्नो स्वरूप अवशिष्ट रहन्छ अर्थात् आफ्नो स्वरूपको बोध हुन्छ । यो कर्मयोग भयो । ज्ञानयोगमा विवेक-विचारपूर्वक प्रकृतिको कार्य पदार्थहरु र क्रियाहरुसँग सर्वथा सम्बन्ध-विच्छेद गरेपछि स्वरूपको बोध हुन्छ । यसरी जडसँगको सम्बन्धले पैदा भएको अहंता (म-पना)को निवृत्ति हुन्छ । 

भक्तियोगमा 'म खालि भगवानको हुँ र खालि भगवान मात्रै मेरो हो तथा म शरीर-संसारको होइन र शरीर-संसार पनि मेरो होइन' भन्ने दृढ मान्यता गरेर भक्त संसारवाट विमुख भएर केवल भगवतपरायण हुन्छ । यसवाट संसारको सम्बन्ध स्वतः छुट्छ र अहंताको निवृत्ति हुन्छ ।

यसरी कर्मयोग, ज्ञानयोग र भक्तियोग -- यी तीनैहरुमध्ये कुनै एउटाको मात्रै पनि ठीक अनुष्ठान गरेपछि जडताले सर्वथा सम्बन्ध-विच्छेद भएर परमात्मतत्वको प्राप्ति हुन्छ ।   

No comments:

Post a Comment