Friday 26 December 2014

Gita: Chapter 7: Slok 9- श्लोक ९ पृथ्वीमा पवित्र गन्ध म हुँ र अग्निमा तेज म हुँ तथा सम्पूर्ण प्राणीहरुमा जीवनीशक्ति म हुँ र तपस्वीहरुमा तपस्या म हुँ ।

No. 208

श्लोक ९ 
पृथ्वीमा पवित्र गन्ध म हुँ र अग्निमा तेज म हुँ तथा सम्पूर्ण प्राणीहरुमा जीवनीशक्ति म हुँ र तपस्वीहरुमा तपस्या म हुँ ।

'पुण्यो गन्धः  -- पृथ्वी गन्ध-तन्मात्राले उत्पन्न हुन्छ, गन्ध-तन्मात्रामा रहन्छ र गन्ध-तन्मात्रामा नै लीन हुन्छ । तात्पर्य, गन्ध विना पृथ्वी केही पनि होइन । भगवान भन्नुहुन्छ, पृथ्वीको पवित्र गन्ध म नै हुँ । 

यहाँ गन्धसँग 'पुण्य' विशेषण दिनुको तात्पर्य हो, सबै गन्ध पृथ्वीमा नै रहन्छन् । त्यसमा पनि पुण्य अर्थात् पवित्र गन्ध पृथ्वीमा स्वाभाविक रहन्छ, तर दुर्गन्ध कुनै विकृतिले प्रकट हुन्छ । 

'तेजश्चास्मि विभावसौ' -- तेज रूप-तन्मात्राले प्रकट हुन्छ, त्यसैमा रहन्छ र त्यसैमा लीन हुन्छ । अग्निमा तेज नै तत्व हो । तेज विना अग्नि निस्तत्व छ, त्यो तेज म नै हुँ । 

'जीवनं सर्वभूतेषु' -- सम्पूर्ण प्राणीहरुमा एउटा जीवनीशक्ति, प्राणशक्ति छ । यही शक्तिमा सबै वाँचिरहेका छन् । यही प्राणशक्तिले गर्दा तिनीहरु प्राणी भनिएका छन् । प्राणशक्ति विना तिनीहरुमा कुनै प्राणीपना छैन । प्राणशक्तिको कारण नै गाढा निद्रामा सुतेको व्यक्ति पनि मुर्दा भन्दा विलक्षण देखिन्छ । त्यो प्राणशक्ति म नै हुँ । 

'तपश्चास्मि तपस्विषु' -- द्वन्द्वसहिष्णुतालाई तप भन्छन् । परन्तु वास्तवमा परमात्मा प्राप्तिकोलागि कति नै कष्ट आओस्, तिनमा निर्विकार रहनु नै सक्कली तप हो । यही तपस्वीहरुमा तप हो, यसैवाट उनीहरु तपस्वी भनिन्छन् र यही तपलाई भगवान आफ्नो स्वरूप भन्नुहुन्छ । तपस्वीहरूवाट यस्तो तप निकालिदिए उनीहरु तपस्वी रहँदैनन् ।

सृष्टिको रचनामा भगवान नै कर्ता, भगवान नै कारण र भगवान नै कार्य हुनुहुन्छ । अतः गन्ध र पृथ्वी, तेज र अग्नि, जीवनीशक्ति र प्राणी, तपस्या र तपस्वी --  
यी सबै (कारण र कार्य) एउटा भगवान नै हुनुहुन्छ । कारण, परा र अपरा -- दुवै भगवानको शक्ति भएकाले भगवानदेखि अभिन्न छन् । अतः परा-अपराको संयोगले पैदा हुने सम्पूर्ण सृष्टि भगवत्स्वरूप नै हो ।

'पुण्यो गन्धः' -- गन्ध-तन्मात्रा कारण हो र पृथ्वी त्यसको कार्य हो । गन्धलाई पवित्र भन्नुको तात्पर्य, कारण (तन्मात्रा) सँधै पवित्र नै हुन्छ । अपवित्रता कार्यमा विकृति हुँदा आउँछ । अतः गन्ध-तन्मात्रा पवित्र भए जस्तो शब्द, स्पर्श, रुप र रस पनि पवित्र भन्ने बुझ्नु पर्छ ।

श्लोक १० 

हे पृथानन्दन ! सम्पूर्ण प्राणीहरुको अनादि वीज मलाई जान । बुद्धिमानहरुमा बुद्धि र तेजस्वीहरुमा तेज म हुँ । 

'बीजं मां सर्वभूतानाम् विद्धि पार्थ सनातनम्' -- हे पार्थ ! सम्पूर्ण प्राणीहरुको सनातन (अविनाशी) वीज म हुँ अर्थात् सबैको कारण म नै हुँ । सम्पूर्ण प्राणी वीजरूप मवाट उत्पन्न हुन्छन्, ममा नै रहन्छन् र अन्तमा ममा नै लीन हुन्छन् । म विना प्राणीहरुको स्वतन्त्र सत्ता छैन । 

जति पनि वीज सबै वृक्षवाट उत्पन्न हुन्छन् र वृक्ष पैदा गरेर नष्ट हुन्छन् । तर यहाँ वर्णन भएको वीज 'सनातन' छ अर्थात् आदि-अन्तदेखि रहित (अनादि र अनन्त) छ । यही वीजलाई नवौं अध्यायको अठारौँ श्लोकमा 'अव्यय वीज' भनिएको छ । यो चेतन-तत्व अव्यय अर्थात् अविनाशी छ । यो स्वयं विकाररहित रहँदा रहँदै पनि सम्पूर्ण जगतको उत्पादक, आश्रय र प्रकाशक हो तथा जगतको कारण हो ।

गीतामा 'बीज' शब्द कहीं भगवान र कहीं जीवात्मा -- दुबैकोलागि आएको छ । अहिले यहाँ आएको बीज शब्द भगवानको वाचक हो; किनकि यहाँ कारणरूपले विभूतिहरुको वर्णन छ । दसौं अध्यायको उनन्चालिसौं श्लोकमा आएको 'बीज' शब्द पनि भगवानको नै वाचक हो; किनकि त्यहाँ भगवानलाई सम्पूर्ण प्राणीहरुको कारण भनिएको छ । नवौं अध्यायको अठारौँ श्लोकमा 'बीज' शब्द भगवानकोलागि आएको छ; किनकि त्यही अध्यायको उन्नाइसौं श्लोकमा 'सदसच्चाहमर्जुन' पदमा भनिएको छ, कार्य र कारण सबै म नै म छु । सबै भगवान नै हुनाले 'वीज' शब्द भगवानको वाचक हो                                       
                           
चौधौं अध्याको चौथो श्लोकमा 'अहं बीजप्रद: पिता' 'म बीज प्रदान गर्ने पिता हुँ' -- यसो हुँदा यहाँ बीज शब्द जीवात्माको वाचक हो । जडसँग आफ्नो सम्बन्ध मानेपछि नै 'बीज' शब्द जीवात्माको  हुन्छ । हैन भने यो शब्द भगवानको स्वरूप नै हो । 

'बुद्धिर्बुद्धिमतामस्मि' -- बुद्धिमानहरुमा बुद्धि म हुँ । बुद्धिको कारण नै उनीहरु बुद्धिमान भनिएका हुन् । यदि बुद्धिमानहरुमा बुद्धि भएन भने उनीहरुलाई  बुद्धिमान भन्ने सवाल नै आउँदैन । 

'तेतस्तेजस्विनामहम्' -- तेजस्वीहरुमा तेज म हुँ । यो तेज दैवी-सम्पत्तिको एउटा गुण हो । तत्वज्ञ जीवन्मुक्त महापुरुषहरुमा विशेष तेज -- शक्ति रहन्छ ।यो तेजको प्रभावले दुर्गुण-दुराचारी व्यक्ति पनि सद्गुण-सदाचारी वन्छन् । यो तेज भगवानको नै स्वरूप हो।                        

भगवान नै सम्पूर्ण संसारको कारण हुनुहुन्छ । संसारमा रहँदा पनि उहाँ सबैमा पूर्ण हुनुहुन्छ र सवै संसार मेटिएपछि पनि उहाँ रहनुहुन्छ । यसवाट सिद्ध भयो, सबै भगवान नै हुनुहुन्छ । यसकोलागि उपनिषद्हरुमा सुवर्ण, माटो र फलामको दृष्टान्त दिइएको छ । सुवर्णवाट वनेका गहना सबै सुवर्ण नै, माटोवाट वनेका भाँडा कुँडा माटा  र फलामवाट वनेका अस्त्र-शस्त्र फलाम नै भएजस्तै भगवानवाट उत्पन्न भएको सबै संसार पनि भगवान नै हो । परन्तु गीतामा भगवानले बीजको दृष्टान्त दिनुभएको छ, 'सबै संसारको बीज म हुँ । बीज वृक्षवाट पैदा हुन्छ, र वृक्ष पैदा गरेर स्वयं मेटिन्छ अर्थात् बीजवाट अंकुर निस्कन्छ, अङ्कुरवाट वृक्ष वन्छ र वीज स्वयं मेटिन्छ । परन्तु भगवानले आफूलाई संसारको बीज वताउंदै विलक्षण कुरा भन्नुभयो, 'म अनादि बीज हुँ, पैदा भएको बीज होइन' -- 'बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम्' र म अविनाशी बीज हुँ' । -- 'बीजमव्ययम्' । अविनाशी बीज भन्नुको मतलव हो, 'संसार मवाट पैदा हुन्छ, तर म मेटिन्न, जस्ता-को-तस्तो नै रहन्छु ।

सुवर्ण, माटो र फलामको दृष्टान्तमा गहनामा सुवर्ण, भाँडामा माटो र अस्त्र-शस्त्रहरुमा फलाम देखिन्छ, तर संसारमा भगवान देखिनु हुन्न । यदि बीजको दृष्टान्त लिए वृक्षमा बीज देखिंदैन । वृक्षमा बीज निस्केपछि मात्रै थाहा हुन्छ, यो वृक्ष यस्तो बीज छ, जसवाट यो बीज पैदा भयो । सम्पूर्ण वृक्ष बीजवाट नै निस्कन्छ र बीजमा नै समाप्त हुन्छ । वृक्षको आरम्भ बीजवाट नै हुन्छ र अन्त पनि बीजमा  नै हुन्छ अर्थात् त्यो वृक्ष सय वर्षसम्म रहे पनि त्यो वृक्षको अन्तिम परिणति वीजमा नै हुन्छ भने बीज सिवाय अरु के होला ? त्यस्तै भगवान संसारको बीज हुनुहुन्छ अर्थात् भगवानवाट नै संसार उत्पन्न हुन्छ र भगवानमा नै लीन हुन्छ । अन्तमा भगवान मात्रै वांकी रहनुहुन्छ । 

वृक्ष देखिंदा पनि 'यो बीज नै हो' -- यस्तो जान्ने मान्छेले नै वृक्षलाई ठीक-ठीक जान्दछ । बीजलाई नहेरेर खालि वृक्ष हेर्ने मान्छेले वृक्षलाई तत्वले जान्दैनन् । भगवान यहाँ 'बीजं मां सर्वभूतानाम्' भनेर सबैलाई यो ज्ञान गराउनु हुन्छ, 'तिमीलाई देखिएको यो संसार भन्दा पहिले पनि म थिएँ, म एउटा नै प्रजारूपले वहुत रूपहरुमा प्रकट भएको छु र सबै समाप्त भएपछि पनि म नै रहन्छु । तात्पर्य, पहिले म नै थिएँ र पछि पनि म नै रहन्छु भने बीचमा पनि म नै छु ।

विचार गर्नेलाई यो संसार पाञ्चभौतिक देखिन्छ, नत्र त यो संसार पाञ्चभौतिक पनि देखिंदैन । कोही यस्तो पनि भन्न सक्छ, 'यी सबै-का सबै शरीर पार्थिव (पृथ्वीवाट पैदा हुने) छन्, यसैले यिनमा माटोको प्रधानता छ ।' अर्को व्यक्ति भन्न सक्छ, 'यो कसरी माटो भयो ? माटोले हात धोइन्छ, माटो त कालो हुन्छ; अतः यो शरीर माटो होइन ।' यसरी शरीर माटो हुँदा पनि व्यक्तिलाई माटो देखिंदैन । परन्तु यो संसार जति देखिन्छ, यसलाई वालेर खरानी वनाइदियो भने अन्तमा माटो नै हुन्छ ।

विचार गर्दा, यी शरीरहरूको मूलमा के हो ? आमा-वावुको राज-वीर्यरूप अंशवाट शरीर वन्छ, त्यो अंश अन्नवाट पैदा हुन्छ । अन्न माटोवाट पैदा हुन्छ । अतः यी  शरीरहरु माटोवाट नै पैदा हुन्छन् र अन्तमा माटोमा नै लीन हुन्छन् । अन्तमा शरीरका तीन गतिहरु हुन्छन् -- जमीनमा गाडने, जलाउने, जनावरले खाने । यी मध्ये शरीरलाई जे सुकै गरे पनि यसको अन्तिम गति त माटो नै हो । यही किसिमले शुरु र अन्तिममा माटो भएकोले वीचमा शरीर देखिए पनि यो माटो नै हो । तर वीचमा यो शरीर र संसार माटो देखिंदैन । विचार गर्दा नै यो शरीर माटो देखिन्छ, आँखाले होइन । यसै गरी यो संसार विचार गर्दा नै परमात्मस्वरूप देखिन्छ । परमात्माले यो सृष्टि गर्दा कहींवाट कुनै सामान मगाउनु भएन र वनाउने अर्को पनि भएन । भगवान आफैं संसार वनाउने हुनुभयो  र आफैं शरीर वन्नुभयो । शरीरहरुको रचना गरेर उहाँ आफैं ती शरीरहरुमा प्रविष्ट हुनुभयो । यी शरीरहरुमा जीवरूपले उही परमात्मा हुनुहुन्छ । यसैले यो संसार पनि परमात्माको नै स्वरूप हो । 
  
आफूलाई सम्पूर्ण प्राणीहरुको बीज भन्नुको तात्पर्य हो, सबै प्राणीहरुको रूपमा म नै छु । सृष्टि अनन्त छ । तर ती अनन्त जीवहरुको बीज (परमात्मा)उही परमात्मा हुनुहुन्छ । अनन्त सृष्टि पैदा हुँदा पनि त्यो बीजमा कुनै फरक पर्दैन; किनकी त्यो बीज अव्यय छ -- 'वीजमव्ययम्' । त्यो एउटा बीजले अनेक प्रकारका सृष्टि हुन्छन् । बीजलाई जति नै सूक्ष्म दृष्टिले हेरे पनि त्यो बीजमा फल-फूल-पातहरु देखिंदैनन्; किनकि तिनीहरु त्यो बीजमा कारणरूपले विद्यमान छन् । त्यो बीजवाट पैदा हुने दुई पातहरु पनि एक अर्कासँग मिल्दैनन् -- यस्तो अनेकता पनि त्यही बीजमा रहन्छ । 

सृष्टिका एक एक वस्तुमा अनेक भेद छन् । विभिन्न देशहरुमा मनुष्यहरुका अनेक जातिहरु छन् । तिनमा यदि भेद छ कि एउटा मनुष्यको औंलाका रेखाहरु पनि अर्कोसँग मिल्दैनन् । तिनका रुप, स्वभाव, रूचि, प्रकृति, मान्यता, भाव आदि पनि परस्पर मिल्दैनन् । गाइ, भैंसी, भेंडा, वाख्रा, घोडा, ऊँट, कुकुर आदिका अनेक जातिहरु छन् र तिनका एक एक जातिमा पनि अनेक भेद छन् । वृक्षहरुमा पनि एक एक वृक्षको अनेक जातिहरु हुन्छन् । एक एक विद्या हेर्यौं भने पनि तिनमा यति भेद छ कि तिनको अन्त छैन । मूल रंग तीन छन्, तर ती तीन रंगको मिश्रणले अनेक रंग वन्छन् । तिनमा पनि एक एक रंगमा यति भेद छ कि दुई व्यक्तिलाई एकै रंग पनि समानरूपले देखिंदैनन् । यसरी सृष्टिमा एक समान देखिने दुई चीजहरु पनि वास्तवमा समान हुँदैनन् । यति अनेकता हुँदा पनि सृष्टिको बीज एकै हो । तात्पर्य, एक नै भगवान अनेक रुपहरुमा प्रकट हुनुहुन्छ र अनेक रुपहरुमा प्रकट भए पनि एक नै रहनु हुन्छ । 

भगवान देश, काल, आदि सबै दृष्टिहरुले अनन्त हुनुहुन्छ । भगवानले वनाएका सृष्टिहरुको पनि अन्त आउन सक्तैन भने भगवानको अन्त कसरी आउने ? आजसम्म भगवानको विषयमा जे जे सोचियो, जे जे भनियो, जे जे लेखियो, जे जे मानियो, त्यो पूरा-का-पूरा मिलेर पनि अधूरो नै छ । यति मात्रै होइन, भगवान स्वयं आफ्नो वारेमा पूरा कुरो भन्न सक्नुहुन्न, यदि सक्नुहुन्छ भने उहाँ अनन्त कसरी रहने ? 

No comments:

Post a Comment