Friday 26 December 2014

Gita: Chapter 13: Slok 13 - श्लोक १३ यी तीनै गुणरूप भावहरुले मोहित यो सम्पूर्ण जगत (सम्पूर्ण प्राणीहरु)

No. 211

श्लोक १३ 

यी तीनै गुणरूप भावहरुले मोहित यो सम्पूर्ण जगत (सम्पूर्ण प्राणीहरु) यी गुणहरुदेखि अतीत अविनाशी मलाई जान्दैनन् । 

सत्व,रज र तम -- तीनै गुणहरुका वृत्तिहरु उत्पन्न र लीन भइरहन्छन् । ती गुणहरुसँग तादात्म्य गरेर मनुष्य आफूलाई सात्विक, राजस र तामस मान्छ अर्थात् ती गुणहरु आफूमा आरोप गर्छ,  'म सात्त्विक, राजस र तामस छु' भनेर । यसरी तीनै गुणहरुले मोहित मनुष्य 'म परमात्माको अंश हुँ भन्ने कुरा           
मान्नै सक्तैन । त्यो मनुष्य आफ्नो अंशी परमात्मातिर नहेरेर उत्पन्न र नष्ट हुने वृत्तिहरुसँग आफ्नो सम्बन्ध मान्दछ । ऊ मोहित हुने भनेको यही हो । यसरी मोहित भएको हुनाले ऊ 'मेरो परमात्मासँग नित्य सम्बन्ध छ' भन्ने कुरो बुझ्नै सक्तैन । 

यहाँ जगत शब्द 'जीवात्मा'को वाचक हो । निरन्तर परिवर्तनशील शरीरसँग तादात्म्य भएको कारण नै यो जीव 'जगत' नामले भनिएको छ । तात्पर्य, शरीर जन्मँदा आफू जन्मने, शरीर आफू मर्ने, शरीर विरामी हुँदा आफू विरामी हुने  र शरीर स्वस्थ हुँदा आफू स्वस्थ हुने भन्ने मान्दछ त्यस्तो व्यक्तिलाई 'जगत' नाम दिइएको हो । शरीरसँग आफ्नो तादात्म्य रहुन्जेल यो जीव जगत नै रहनेछ अर्थात् जन्मने र मर्ने नै गरिरहन्छ, कहीं पनि स्थायी रहँदैन  । 

गुणहरुलाई भगवानदेखि छुट्टै सत्ता मानुन्जेल प्राणी मोहित हुन्छन् । यदि उनीहरु गुणहरुलाई पनि भगवतस्वरूप नै मान्छन् भने उनीहरु कहिले पनि मोहित हुन सक्तैनन् । 

तीनै गुणहरुको कार्य शरीरलाई चाहे आफ्नो मानौं, चाहे आफूलाई शरीर मानौं -- दुवै मान्यताहरुवाट मोह हुन्छ । शरीरलाई आफ्नो मान्नु 'ममता' भयो र आफूलाई शरीर मान्नु 'अहंता' भयो । शरीरसँग अहंता-ममता गर्नु नै मोहित हुनु हो। मोहित भएपछि गुणहरुदेखि अतीत भगवत्तत्व जान्न सकिंदैन । त्रिगुणात्मिका शरीरसँग अहंता-ममता मेटिएपछि नै व्यक्ति भगवानलाई जान्न सक्छ । यो सिद्धान्त नै छ, मनुष्य संसारसँग पूर्णरूपले छुट्टै भएपछि नै संसारलाई जान्न सक्छ र परमात्मासँग पूर्णरूपले अभिन्न भएपछि नै परमात्मालाई जान्न सक्छ । यसको कारण हो, त्रिगुणात्मक शरीरसँग स्वयं सर्वथा भिन्न छ र परमात्मासँग यो स्वयं सर्वथा अभिन्न छ ।

अस्वाभाविकमा स्वाभाविक भाव हुनु नै मोहित हुनु हो । प्रतिक्षण नष्ट हुने तीन गुण भन्दा पर (श्रेष्ठ), अत्यन्त निर्लिप्त र नित्य-निरन्तर एक रूपले रहने परमात्मा 'स्वाभाविक' हुनुहुन्छ । परमात्माको यो स्वाभाविकता वनाइएको होइन, कृत्रिम होइन, अभ्याससाध्य होइन, स्वतः स्वाभाविक छ । परन्तु शरीर तथा संसारमा अहंता-ममता अर्थात् 'म' र 'मेरो' भाव उत्पन्न भएको छ र नष्ट हुन्छ, यो त केवल मानिएको छ । यही कारण यो 'अस्वाभाविक' हो । यो अस्वाभाविकलाई स्वाभाविक मान्नु नै मोहित हुनु हो । यसले गर्दा मनुष्य  स्वाभाविकतालाई बुझ्नै सक्तैन । 

जीव पहिले परमात्मासँग विमुख भयो कि परमात्मा उसँग विमुख हुनुभयो ? यसमा दार्शनिकहरुको मत छ, परमात्मासँग विमुख हुनु र संसारसँग सम्बन्ध जोड्नु दुवै अनादि हुन्, यिनको आदि छैन । अतः यहाँ पहिले र पछि भन्ने कुरा छैन । मनुष्यले आफूले पाएको स्वतन्त्रताको दुरुपयोग नगरे, त्यो स्वतन्त्रलाई खालि भगवानमा मात्रै लगाउन शुरु गरे ऊ यो संसारदेखि माथि उठ्छ अर्थात् यसको जन्म-मरण छुट्छ । यसवाट सिद्ध हुन्छ, मनुष्य भगवानले दिनुभएको स्वतन्त्रताको दुरुपयोग गरेर नै बन्धनमा परेको हो । आफ्नो स्वतन्त्रताको दुरुपयोग गरेर नष्ट हुने पदार्थहरुमा अल्झिएकोले उसले परमात्मतत्व जान्न नसकेको हो ।

'परमव्ययम्' पदले भगवान भन्नुहुन्छ, म यी गुणहरु भन्दा श्रेष्ठ छु अर्थात् म यी गुणहरुदेखि सम्बन्ध-रहित, असम्बद्ध, निर्लिप्त छु । म न कुनै गुणले बाँधिएको छु र न गुणहरुको परिवर्तनमा मेरो कुनै परिवर्तन हुन्छ । मेरो यस्तो वास्तविक स्वरूपलाई गुणहरुले मोहित प्राणी जान्न सक्तैनन् ।

भगवानलाई नदेखेर सात्विक, राजस र तामस भावहरुलाई देख्ने, तिनको भोग गर्ने, तिनवाट सुख लिने व्यक्ति ती भावहरुसँग मोहित हुन्छ अर्थात् भगवानको दुरत्यय गुणमयी मायाले बाँधिन्छ र फलस्वरूप फेरि फेरि जन्मन्छ र मर्छ ।तात्पर्य, सात्विक, राजस र तामस भाव (कर्म, पदार्थ, काल, स्वभाव, गुण आदि ) अनित्य छन् र भगवान नित्य हुनुहुन्छ । अनित्यको भोग गर्नेहरु अनित्यसँग बाँधिन्छन्; परन्तु अनित्यलाई छोडेर नित्यस्वरूप भगवानको आश्रय लिनेहरु मुक्त हुन्छन् । 

यो श्लोकमा जीवात्मालाई 'जगत' शब्द आएको छ । सत्ता विद्यमान नै नभएकोलाई सत्ता र महत्ता दिएर त्योसँग सम्बन्ध जोडेकोले जीव पनि जगत भइदिन्छ । चेतन पनि (चेतनताको दुरुपयोग गरेर) जड हुन्छ । उत्कृष्ट परा प्रकृति पनि निकृष्ट अपरा प्रकृति भइदिन्छ । जीव जगतको उत्पत्ति-विनाशलाई आफ्नो उत्पत्ति विनाश, जगतको लाभ-हानिलाई आफ्नो लाभ-हानि मान्छ । मनुष्य कामनासँग अभिन्न भएर 'कामात्मानः' अर्थात् कामनारुप हुन्छ र भगवानसँग अभिन्न भएर 'मन्मया:' हुन्छ । फरक यही हो, भगवतरूपले ऊ नित्य छ, तर कामनारुप या जगत-रूपले ऊ अनित्य छ ।

जीवले भगवान वाहेक अर्को सत्ता मान्यो, सत्ता मानेर त्यो सत्तालाई महत्व दियो, महत्व दिएर त्योसँग सम्बन्ध जोडेर आफ्नो स्वतन्त्र सत्ताको लोप गर्यो, त्यसैले ऊ जगत वन्यो । केवल जगतको सत्तालाई आफ्नो सत्ता मान्ने व्यक्ति आफ्नो सत्तावाट विमुख भएर जगत हुन्छ, जुन (जगत) अवास्तविक छ र खालि भगवानको सत्ता मान्ने व्यक्ति आफ्नो स्वतन्त्र सत्ताको मान्यता मेटाएर भगवान हुन्छ -- 'मम साधर्म्यमागताः', जुन वास्तविक छ ।

जीवलाई 'जगत' भन्ने तात्पर्य, कामनाग्रस्त व्यक्तिको ध्यान चेतानतातिर जाँदैन, जड शरीरलाई नै 'म' (आफ्नो स्वरूप) र 'मेरो' मान्न लाग्यो ऊ । जीव स्वरूपले निर्गुण तथा अव्यय हुँदा हुँदै पनि 'जगत' भएकोले सात्विक, राजस र तामस गुणहरुले बाँधिन्छ -- 'निबध्नन्ति महावाहो देहेदेहिनमव्ययम्' ।
वास्तवमा अलौकिक परमात्माको अंश भएकोले जीव पनि अलौकिक नै छ, तर लौकिक जगतलाई समातेर ऊ पनि लौकिक भइदिन्छ । अहंदेखि लिएर पृथ्वीसम्म सबै अपरा प्रकृति हो । त्यसैले पृथ्वी जड भए जस्तै अहम् पनि जड हो । जीव अहम् लाई दृढताले समातेर 'अहंकारविमूढात्मा' हुन्छ अर्थात् अहम् लाई आफ्नो स्वरूप मान्छ । त्यसपछि उसको पतन हुँदा हुँदा ऊ पनि जड जगत नै बन्छ अर्थात् उसको चेतनपना लुप्त (विस्मृत) हुन्छ, उसलाई चेतनपनाको अनुभव नै हुँदैन । 

गुणहरुमा आसक्त नभएकालाई जडता नै रहँदैन । यसैले उनीहरुलाई सबै ठाउँमा भगवान-नै-भगवान देखिन्छ -- 'वासुदेवः सर्वम्'। परन्तु गुणहरुमा आसक्त हुनेलाई भगवान नै देखिंदैन, संसार नै संसार देखिन्छ । ती गुणहरुले अतीत भगवानलाई पनि गुणहरुले बाँधिएको देख्छन्, अविनाशी भगवानलाई पनि जन्मने मर्ने देख्छन् । भक्तको दृष्टि त भगवान छोडेर अर्को तर्फ जाँदै जाँदैन ।तर गुणहरुमा आसक्त संसारीहरुको दृष्टि संसारलाई छोडेर अरुतिर जाँदै जाँदैन ।यसैले भगवानको भक्तलाई आनन्द-नै-आनन्द प्राप्त हुन्छ र संसारी मनुष्यलाई दुःखै दुःख -- 'दुःखालयम्' ।    

No comments:

Post a Comment