No. 218
श्लोक १९
धेरै जन्महरुको अन्तिम जन्ममा अर्थात् मनुष्यजन्ममा सबै परमात्मा मात्रै हो -- यस्तो प्रकारले मेरो शरण हुने ज्ञानवान् भक्त महात्मा हो; त्यस्तो महात्मा पाउन अति नै दुर्लभ छ ।
'बहूनां जन्मनामन्ते' -- मनुष्यजन्म सम्पूर्ण जन्महरुको अन्तिम जन्म हो । भगवानले जीवलाई मनुष्य शरीर दिएर उसलाई जन्म-मरणको प्रवाहवाट छुट्टिएर आफ्नो प्राप्तिको पूरा अधिकार दिनुभएको छ । परन्तु यो मनुष्य भगवानलाई प्राप्त नगरेर रागले गर्दा फेरि पुरानै प्रवाहमा अर्थात् जन्म-मरणको चक्करमा जान्छ । यसैले भगवान भन्नुहुन्छ -- 'अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवर्त्मनि' । भगवान भन्नुहुन्छ, आसुरी योनिहरु र नरकहरुको अधिकारीहरुको वर्णन गर्दा दुर्गुण-दुराचारहरुको कारण भगवतप्राप्तिको सम्भावना न देखिंदा पनि 'मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम्' अर्थात् मलाई नपाएर नै यी प्राणी अधम गतिमा गए अर्थात् तिनीहरु मरेपछि मनुष्य योनिमा गए त कम से कम मनुष्य त रहन्थे; तर तिनीहरु मेरो प्राप्तिको पूरा अधिकार प्राप्त गरेर पनि अधम गतिमा गए ।
सन्तहरुको वाणीमा र शास्त्रमा आउँछ, मनुष्यजन्म केवल आफ्नो कल्याण गर्न पाइएको छ; विषयहरुको सुख भोग्न तथा स्वर्ग पाउनलाई पनि होइन । यसैले गीताले स्वर्गको प्राप्ति चाहनेहरुलाई मूढ र तुच्छ बुद्धि भएका व्यक्ति भन्छ --'अविपश्चितः', र 'अल्पमेधसाम्'।
यो मनुष्य जन्म सम्पूर्ण जन्महरुको आदि जन्म पनि हो र अन्तिम जन्म पनि हो । सम्पूर्ण जन्महरुको आरम्भ मनुष्यजन्ममा गरिएका पाप चौरासी लाख योनिहरु र नरकहरुमा भोगेर पनि समाप्त हुँदैन, वांकी नै रहन्छन्, यसैले यो सम्पूर्ण जन्महरुको आदि जन्म हो । मनुष्यजन्ममा सम्पूर्ण पापहरुको नाश गरेर, सम्पूर्ण वासनाहरुको नाश गरेर आफ्नो कल्याण गर्न सकिन्छ, भगवान पाउन सकिन्छ, यसैले यो जन्म सम्पूर्ण जन्महरुको अन्तिम जन्म हो ।
भगवानले आठौँ अध्यायको छैठौं श्लोकमा भन्नुभएको छ, 'मनुष्यले अन्तिम समयमा जस्तो भावले स्मरण गर्दै शरीर छोडेर जान्छ, ऊ त्यही भाव पाउँछ ।' यसरी मनुष्यलाई जुन कुनै भावको स्मरण गर्न दिइएको स्वतन्त्रतावाट थाहा हुन्छ, भगवानले मनुष्यलाई पूरा अधिकार दिनुभएको छ अर्थात् मनुष्यको उद्धारकोलागि भगवानले आफ्नो तर्फवाट यो अन्तिम जन्म दिनुभएको हो । अव उसले नयाँ जन्मको तयारी गर्ने हो कि अथवा आफ्नो उद्धार गर्ने हो -- यसमा ऊ सर्वथा स्वतन्त्र छ । यही कुरालाई लिएर गीता सम्पूर्ण मनुष्यलाई परमात्म प्राप्तिको अधिकारी मान्छ र खुला शब्दहरुमा भन्छ, वर्तमानको दुराचारी भन्दा दुराचारी पनि पूर्व जन्मको पापहरुले गर्दा नीच योनिहरुमा जन्मिएको पाप योनि र चारै वर्णका स्त्री-पुरुष -- यी सबै भगवानको आश्रय लिएर परमगति प्राप्त गर्न सक्छन् ।
गीताले भनेको 'पापयोनि'लाई शुद्र भन्दा पनि नीच भनियो र यसमा हामीले मानिएको चांडाल, यवन आदि पशु-पक्षी, कीट-पतंग, वृक्ष-लता, आदि सबैलाई लिन सकिन्छ । फरक यति मात्रै हो, पशु-पक्षी आदि प्राणीमा परमात्मातिर लाग्ने योग्यता छैन, परमात्माको अंश भएकोले उनीहरुकोलागि परमात्मातर्फवाट निषेध पनि छैन । ती मध्ये धेरै प्राणी परमात्माको कृपाले तथा तीर्थ र भगवदधामको प्रभावले परमगति पाउन सक्छन् । देवता भोगयोनि हुन्, उनीहरु भोगहरुमा नै लागिरहन्छन, यसैले उनीहरुलाई 'आफ्नो उद्धार गर्नु छ' भन्ने विचार नै आउँदैन परन्तु उनीहरु यदि कुनै कारणले भगवानमा लागे भने उनीहरुको पनि उद्धार हुन्छ । इन्द्रलाई पनि ज्ञान भयो भन्ने कुरो शास्त्रमा आउँछ ।
भगवानतर्फवाट सम्पूर्ण मनुष्यको जन्म अन्तिम जन्म हो । कारण, भगवानको यो संकल्प छ, मैले दिएको यो शरीरवाट मनुष्यले आफ्नो कल्याण गरोस् । अतः आफ्नो कुनै पनि संकल्प नराखेर केवल निमित्त वनियो भने भगवानको संकल्पले साधकलाई कल्याण हुन्छ । भगवानले एघारौँ अध्यायमा अर्जुनलाई भन्नुहुन्छ -- 'मद्वारा मारिएकालाई तिमी मार' -- 'मया हतास्त्वं जहि । तिमी चिन्ता नगर -- 'मा व्यथिष्ठा ।' तिमी युद्ध गर, तिम्रो विजय हुनेछ -- 'युद्ध्यस्व जेतासि ।' यही तरहले भगवानले कृपा गरेर हामीलाई मनुष्यशरीर दिनुभएको छ । यदि मनुष्य भगवानदेखि विमुख भएर संसारको रागमा नफसे भगवानको त्यो संकल्पवाट अनायास नै मुक्त होइन्छ ।
साधकको इच्छा नभई कल्याण गर्ने भन्ने भगवानको संकल्प होइन । त्यसो भए त्यो संकल्प कस्तो हो ? भगवानले मनुष्यलाई आफ्नो कल्याण गर्ने स्वतन्त्रता यही जन्ममा नै दिनुभएको छ । उहाँले दिनुभएको यो स्वतन्त्रता दुरुपयोग हामी ले नगरौँ अर्थात् भगवान र शास्त्र विपरीत नचलौं, कम-से-कम आफ्नो विवेक विरुद्ध नचलौं । यस्तो आचरण गरे साधकलाई भगवान र शास्त्रहरू अनुकूल जीवन विताउन सजिलो हुन्छ । कारण, भगवान र शास्त्रहरु विपरीत नचल्दा दुई अवस्थाहरु मध्ये एक अवस्था स्वाभाविक हुनेछ -- या त ऊ शरीर-इन्द्रियहरु-मन-बुद्धिले केही नगर्नेछ या केवल खालि भगवान र शास्त्र अनुकूल नै गर्ने छ ।
केही नगर्ने अवस्थामा अर्थात् केही नगर्ने रूचि नरहने अवस्थामा मन, बुद्धि, इन्द्रियहरुसंग सम्बन्ध-विच्छेद हुन्छ । कारण, केही न केही गर्ने इच्छाले नै कर्तृत्वाभिमान उत्पन्न भएर अन्तःकरण र इन्द्रियहरुसँग सम्बन्ध जोडिन्छ र आफ्नोलागि कर्म गर्दा फलसँग सम्बन्ध जोडिन्छ । केही पनि नगर्दा न कर्तृत्व- अभिमान हुनेछ र न फलेच्छा हुनेछ, तर स्वरूपमा स्वतः स्थिति हुनेछ ।
शास्त्रको आज्ञा अनुसार निष्कामभावपूर्वक कर्म गर्ने अवस्थामा गर्ने प्रवाह मेटिन्छ र क्रिया तथा पदार्थसँग सम्बन्ध विच्छेद हुन्छ । क्रिया र पदार्थसँग सम्बन्ध विच्छेद भएपछि नयाँ कामना हुँदैन र पुरानो राग मेटिएपछि स्वतः बोध हुन्छ -- 'तत्स्वयं योगसंसिद्ध: कालेनात्मनि विन्दति' ।
गीतामा आएको छ -- निष्कामभावले विधिपूर्वक आफ्नो कर्तव्यकर्मको पालन गरियो भने अनादिकालदेखि वनेका सम्पूर्ण कर्म नष्ट हुन्छन् । ज्ञानयोगले मनुष्य सम्पूर्ण पापहरुवाट तर्छ । भगवान भक्तलाई सम्पूर्ण पापहरुदेखि मुक्त गर्नुहुन्छ । भगवानलाई अज-अनादि भन्ने जान्ने व्यक्ति सबै पापहरुदेखि तर्छ ।यसरी कर्मयोग, ज्ञानयोग र भक्तियोग -- तीनै योगहरुले पाप नष्ट हुन्छन् ।तात्पर्य, अन्तिम मनुष्य जन्म खालि कल्याणकोलागि नै मिलेको छ ।मनुष्यजन्ममा सत्संग पाइयोस्, गीता जस्ता ग्रन्थसँग परिचय होस्, भगवान्नामसँग परिचय होस् । त्यसपछि साधकले यो बुझ्नु पर्यो कि भगवानले धेरै विशेषताले कृपा गर्नुभयो; अव मेरो उद्धार भइहाल्छ, अव मेरो अर्को जन्म नहोला । कारण, मेरो उद्धार नहुने भए यस्तो मौका आउँदैनथ्यो । परन्तु 'भगवानको कृपाले उद्धार त भइहाल्छ' -- यस्तो भरोसा गरेर साधन छोड्नु हुँदैन; झन् तत्परता र उत्साहपूर्वक साधनमा लागिरहनु पर्छ । समय सार्थक वनोस्, कुनै समय खालि नजाओस् -- यस्तो सावधानी हरदम राख्नु पर्छ । तर आफ्नो कल्याणको चिन्ता गर्नुहुँदैन; किनकि अवसम्म हाम्रो प्रवन्ध गर्नेले पछि पनि गरिहाल्ने छ । भगवानले हामीलाई मनुष्य शरीर दिनुभएको छ र उद्धारको सबै सामग्री (सत्संग, भगवान्नाम) आदि जुटाइदिनुभएको छ भने हाम्रो उद्धार भइहाल्छ । अव म संसार-समुद्रको किनारमा आइपुगेको छु -- यस्तो दृढ निश्चय गरेर निमित्त मात्रै भएर साधन गर्नुपर्छ । पूर्वजन्मको पुण्यले मात्रै भगवानतिर लाग्न सकिन्छ ।
No comments:
Post a Comment