Friday 26 December 2014

Gita: Chapter 17: Slok 15 - श्लोक १५ मायाद्वारा आफ्नो ज्ञान हरिएका, आसुर भावको आश्रय लिने र मनुष्यहरुमा महान्

No. 212 

श्लोक १५  

मायाद्वारा आफ्नो ज्ञान हरिएका, आसुर भावको आश्रय लिने र मनुष्यहरुमा महान् नीच तथा पाप-कर्म गर्ने मूढ मनुष्य मेरो शरण लिंदैनन् । 

'म मां दुष्कृतिनो मूढा: प्रपद्यन्ते नराधमा:' -- दुष्कृती र मूढ़हरु भगवानको शरण लिंदैनन् । आफूले पाएका नाशवान्, परिवर्तनशील पदार्थमा 'ममता' राख्ने र नपाइएका पदार्थहरुमा कामना राख्नेहरु नै दुष्कृती हुन् । कामना पूरा भएपछि 'लोभ' हुन्छ र कामनामा वाधा परेपछि 'क्रोध' हुन्छ । 'कामना'मा फसेर व्यभिचार आदि शास्त्र निषिद्ध विषयहरुको सेवन गर्ने, लोभमा फसेर झूठ, कपट, विश्वासघात वेइमानी आदि पाप गर्ने र क्रोधमा फसेर द्वेष, वैर, आदि दुर्भावपूर्वक हिँसा आदि पाप गर्नेहरु दुष्कृती हुन् । 

भगवानको सत्तालाई वाहेक अर्को सत्ता मानेर त्यो सत्तालाई महत्व दिएपछि कामना पैदा हुन्छ । कामना पैदा भएपछि मनुष्य मायाले मोहित हुन्छ र 'म वाँचिरहूँ र भोग भोगिरहूँ' भन्ने कुरा उसलाई लाग्न थाल्छ । यसैले त्यस्ता व्यक्ति भगवानको शरण हुँदैनन् र विनाशी वस्तु, पदार्थ आदिको शरण हुन्छन् । 

तमोगुणको अधिकताले सार-असार, नित्य-अनित्य, सत्-असत्, कर्तव्य-अकर्तव्य आदितिर ध्यान नदिने भगवद्विमुख मनुष्यलाई 'मूढ' भनिन्छ । दुष्कृती र मूढ मनुष्य परमात्मा तर्फ लाग्ने निश्चय नै गर्न सक्तैनन्; त्यस्ता व्यक्ति परमात्माको शरण कसरी पर्न सक्छन् र ? 

'नराधमाः' भन्नुको अर्थ, ती दुष्कृती र मूढ मनुष्य पशुहरु भन्दा पनि नीच हुन् ।पशु त आफ्नो मर्यादामा रहन्छन्, तर यी मनुष्य भएर पनि आफ्नो मर्यादामा रहँदैनन् । पशु आफ्नो योनि भोगेर मनुष्ययोनितिर आइरहेका छन् र यी मनुष्य भएर (जसलाई परमात्मा प्राप्ति गर्न मनुष्य शरीर दिइएको छ) पनि पाप, अन्याय आदि गरेर नरकहरु र पशुयोनिहरुतिर गइरहेका छन् । यस्तो   मूढ़तापूर्वक पाप गर्ने प्राणी नरकहरुका अधिकारी हुन्छन् । यस्तै प्राणीहरुकोलागि भगवानले भन्नुभएको छ, 'द्वेष राख्ने मूढ, क्रूर र संसारमा नराधम पुरुषहरुलाई म फेरि-फेरि आसुरी योनिहरुमा गिराइदिन्छु । ती व्यक्तिहरु आसुरी योनिहरु पाएर घोर नरकमा जान्छन् ।' 

'माययापहृतज्ञाना आसुरं भावमाश्रिता:' -- भगवानको तीन गुणमयी मायाले विवेक ढाकिएको कारण आसुरी भावका व्यक्तिहरु, अर्थात् शरीर, इन्द्रियहरु, अन्तःकरण र प्राणहरुका पोषण गर्नमा लागेका व्यक्तिहरु मसँग सर्वथा विमुख नै रहन्छन् । यसैले तिनीहरु मेरो शरण हुँदैनन् ।

अर्को भाव हो, मायाले ज्ञान ढाकिएकाहरुको वृत्ति पदार्थहरुको आदि र अन्ततिर जाँदै जाँदैन । उत्पत्ति-विनाशशील पदार्थहरुलाई प्रत्यक्ष नश्वर देख्दा देख्दै पनि उनीहरु रुपियाँ-पैसा, सम्पत्ति आदिको संग्रहमा र मान, योग्यता, प्रतिष्ठा, कीर्ति आदिमा नै आसक्त रहन्छन् र तिनको प्राप्ति गर्नमा नै आफ्नो वहादुरी र उद्योगको सफलता मान्छन् । यसैले उनीहरु यो कुरा बुझ्नै सक्तैनन्, अहिले नभएकोलाई प्राप्त गरे पनि अन्तमा त्यो 'छैन' नै रहनेछ र त्योसँग हाम्रो सम्बन्ध रहने छैन । 

'असु' नाम प्राणहरुको हो । प्राणहरु प्रत्यक्ष आउने-जाने, क्रियाशील र नाशवान् देख्दा देख्दै पनि आसुरी व्यक्तिहरु प्राणहरुको पोषण गर्नमा लागिरहन्छन्, जीवन-निर्वाहमा काम आउने सांसारिक वस्तुहरुलाई नै महत्व दिन्छन् । ती वस्तुहरु भन्दा पनि बढी उनीहरु रुपियाँ-पैसालाई महत्व दिन्छन्, जुन (रुपियाँ- पैसा) स्वयं काममा आउँदैनन्, खालि वस्तुहरु द्वारा काममा आउँछन् । त्यस्ता व्यक्तिहरु केवल रुपियाँलाई मात्रै आदर दिने नभएर त्यसको संख्यालाई पनि  धेरै आदर दिन्छन् । रुपियाँको संख्याले अभिमान वढाउने काम गर्छ । अभिमान सम्पूर्ण आसुरी सम्पत्तिको आधार र सम्पूर्ण दुःखहरुको र पापहरुको कारण हो ।
अभिमान द्वारा आफूलाई मुख्य मान्नेलाई नै आसुरी भन्छन् । 

भगवान भन्नुहुन्छ, दुष्कृती मनुष्य मेरो शरण हुन सक्तैनन् भन्दै सुदुराचारी मनुष्य पनि यदि अनन्यभावले मेरो भजन गर्छ भने त्यो व्यक्ति धेरै चांडै धर्मात्मा हुन्छ तथा निरन्तर रहने शान्ति पाउन सक्छ । यो कसरी ? यसको समाधान, दुराचारीको प्रवृत्ति परमात्मातिर स्वाभाविक हुँदैन, परन्तु यदि उ भगवानको शरण भयो भने उसकोलागि भगवानले निषेध गर्नुभएको छैन । भगवानले कुनै पनि जीवलाई अलिकति मात्र पनि वाधा गर्नुभएको छैन; किनकि भगवान सम्पूर्ण प्राणीहरुकोलागि सम हुनुहुन्छ । उहाँलाई कुनै पनि प्राणीसँग राग-द्वेष हुँदैन । दुराचारी-भन्दा-दुराचारी मनुष्य पनि भगवानको द्वेषको विषय होइन । सबै प्राणीहरुमा भगवानको प्रेम र कृपा समानरूपले नै छ ।

वास्तवमा भन्दा, दुराचारी धेरै दयाको पात्र छ । कारण, ऊ आफ्नो नै महान् अहित गरिरहेको छ, भगवानलाई केही पनि विगारेको छैन उसले । यसैले कुनै कारणवशले कुनै आपत आयो भने, धेरै ठूलो संकट आयो भने र उसको कुनै सहारा भएन भने ऊ भगवानलाई पुकार्छ । त्यस्तै, उसले कुनै सन्तलाई दुःख दियो भने र सन्तको हृदयमा दया लाग्यो भने सन्तको कृपाले ऊ भगवानमा लाग्यो अथवा  धेरै ठूला ठूला महात्मा विलक्षण दयालु महात्मा निवास गरेको ठाउँमा जाँदा त्यहाँ उसको भाव वदलियो भने अथवा कुनै कारणले उसको कुनै पुरानो विलक्षण पुण्यको उदय भयो भने ऊ अचानक चेत्न सक्छ र भगवानको शरण पर्न सक्छ । यस्तो पापी पुरुष यदि भगवानमा लाग्यो भने वडो दृढताले लाग्छ । कारण उसमा कुनै गुण नभएको हुँदा उसलाई गुणको अभिमान हुँदैन ।

तात्पर्य, सम्पूर्ण प्राणीहरुमा भगवानको व्यापकता र कृपा समान हो । सदाचार र दुराचार त ती प्राणीहरुवाट भएका कार्यहरु हुन् । मूलमा त ती प्राणी भगवानका नै शुद्ध अंश हुन् । केवल दुराचारले गर्दा नै उनीहरुलाई भगवानमा रूचि नभएको हो ।यदि कुनै कारणले रूचि भयो भने भगवान उनीहरुवाट भएको गल्तिहरुलाई नहेरेर उनीहरुलाई स्वीकार गर्नुहुन्छ । 

आमाको हृदय आफ्नो सम्बन्धले वालकहरु प्रति समान नै रहन्छ । ती वालकहरुको सदाचार-दुराचारले उनीप्रति आमाको व्यवहार त विषम हुन्छ तर हृदय विषम हुँदैन । आमाले त एउटा जन्मको एउटा शरीरको मात्रै जन्म दिन्छिन् तर प्रभु त सदा रहने आमा हुनुहुन्छ । प्रभुको हृदय त सम्पूर्ण प्राणीहरुप्रति सदैव द्रवित रहन्छ । प्राणीले उहाँको शरण पर्यो भने प्रभु विशेषरूपले द्रवित हुनुहुन्छ ।             
चराचर जगतसँग नै द्वेष गर्ने व्यक्ति पनि यदि ऊ कहिं पनि आश्रय नपाउँदा,   भयभीत भएर सर्वथा मेरो नै आश्रय लिएर मेरो नै शरण हुन्छ भने उसमा हुने मद्, मोह, कपट, अनेक प्रकारका छलतिर नहेरेर केवल उसको भावतिर हेरेर म उसलाई धेरै छिटो साधु वनाइदिन्छु भन्नुहुन्छ भगवान ।

धर्मको आश्रय रहँदा धर्मात्मा पुरुष भित्र अनन्यभाव हुन कठिनता रहन्छ । परन्तु दुरात्मा पुरुष कुनै पनि कारणले भगवानको सम्मुख हुन्छ भने उसमा कुनै पनि प्रकारको शुभ कर्मको आश्रय हुँदैन र उसमा केवल भगवतपरायणताको नै वल रहन्छ । यो वलले साधकलाई निकै चांडै पवित्र गर्छ । कारण, यो वल उसको आफ्नै हुन्छ अर्थात् कुनै तरहको आश्रय नरहँदा उसको आफ्नो पुकार हुन्छ । यो पुकार हुनमा पुण्यात्मा-पापात्मा, विद्वान-मूर्ख, सुजाति-कुजाति आदि हुनु कारण छैन, संसारतिरवाट सर्वथा निराश हुनु नै खास कारण हो । यो निराशा हरेक मनुष्यको हुन सक्छ ।

अर्को कुरो, भगवानको कथनको तात्पर्य, दुष्कृती पुरुष मेरो शरण हुँदैनन्, किनकि उनको स्वभाव मेरो विपरीत हुन्छ । ती मध्ये कोही मेरो शरण भयो भने म उसलाई प्रेम गर्न हरदम तयार छु । भगवानको कृपालुता यति विलक्षण छ, भगवान पनि आफ्नो कृपा परवश भएर जीवलाई शीघ्र कल्याण गरिदिनु हुन्छ ।अतः त्यहाँको र यहाँको प्रसंगमा विरोध छैन, यसमा भगवानको कृपालुता नै प्रकट हुन्छ । 

सुकृती र दुष्कृती हुनु उनीहरुको क्रियामा निर्भर नभएर भगवानको सम्मुख र विमुख हुनमा निर्भर छ । भगवानका सम्मुख हुने सुकृती हुन् र विमुख हुने दुष्कृति हुन् । भगवानका सम्मुख हुनुको जस्तो माहात्म्य सकामभावपूर्वक गरिएका यज्ञ, दान, तप, तीर्थ, व्रत आदि शुभ कर्महरुको पनि छैन । यज्ञ, दान, तप जस्ता क्रियाहरु पनि पवित्र हुन्, तर आफूलाई सर्वथा अयोग्य सम्झेर र आफूमा कुनै प्रकारको पवित्रता नदेखेर आर्तभावले भगवानको सम्मुख हुनेको पवित्रता भगवतकृपाले धेरै छिटो हुन्छ । भगवतकृपाले हुने पवित्रता अनेक जन्महरुमा गरिएका शुभ कर्महरु भन्दा धेरै नै विलक्षण हुन्छ । यही प्रकारले शुभ कर्म गर्ने सुकृती पनि शुभ कर्महरुको आश्रय छोडेर भगवानलाई पुकार्छन् भने उनीहरुको आश्रय पनि शुभ कर्महरुको नरहेर खालि भगवानको मात्रै हुन्छ ।   भगवानको मात्रै आश्रय हुनाको कारण उनीहरु पनि भगवानका प्यारा भक्त हुन्छन् । 

एउटा कृति हुन्छ र एउटा भाव हुन्छ । कृतिमा वाहिरको क्रिया हुन्छ र भाव भित्र हुन्छ । भावको पछाडि उद्देश्य हुन्छ र उद्देश्यको पछाडि भगवानतिर अनन्यता हुन्छ । त्यो अनन्यता कृतिहरु र भावहरु भन्दा वहुत विलक्षण हुन्छ; किनकि यो स्वयंको हुन्छ । त्यो अनन्यताको अगाडि कुनै पनि दुराचार टिक्नै सक्तैन । त्यो अनन्यताले दुराचारी भन्दा दुराचारी व्यक्तिलाई छिट्टै पवित्र गरिदिन्छ ।वास्तवमा जीव परमात्माको अंश हुनाले पवित्र त छँदै छ । खालि दुर्भावहरु र दुराचारहरुले गर्दा नै यसमा अपवित्रता आउने हो ।

भगवानका आश्रय नलिनेहरु आसुरी, राक्षसी र मोहिनी प्रकृतिको आश्रय लिन्छन् । उनीहरुको दृष्टि संसार (पदार्थ र क्रिया) छोडेर अरुतर्फ जाँदै जाँदैन । उनीहरुको दृष्टिमा भगवानको सत्ता नै हुँदैन । यसो हुँदा भगवानको शरण लिने प्रश्न नै उठ्दैन । भोग भोग्नु र संग्रह गर्नु नै उनीहरुको अन्तिम लक्ष हुन्छ -- 'कामोपभोगपरमा एतावदिति निश्चिताः' । उनीहरुको ज्ञान माया द्वारा अपहृत भएकोले उनीहरु मायाको वशमा हुन्छन् । मायाको वशमा हुनाले उनीहरु मायालाई तर्नै सक्तैनन् । 

'माययापहृतज्ञानाः' पदको तात्पर्य हो, मायाको कारण ती मनुष्यहरुको विवेकशक्ति तिरस्कृत भएको हुन्छ । ती मनुष्यहरू मायामा भिजिरहेका हुन्छन् अर्थात् भोग भोग्न र संग्रह गर्न, शरीर सिंगार्न, घरको सजावट गर्नमा नै लागिरहन्छन् । उनीहरु शरीरलाई सुख-आराम दिने वस्तुहरुको नयाँ-नयाँ आविष्कारहरू गरिरहन्छन् र त्यसैलाई विशेष महत्व दिन्छन् । यस्तो अनित्य, परिवर्तनशील वस्तुहरुलाई मात्रै जान्ने व्यक्तिहरु नित्य, अपरिवर्तनशील तत्वलाई कसरी जानून् ? किनकि उनीहरुको दृष्टि त्यतातिर जानै सक्तैन ।  

No comments:

Post a Comment