Friday 26 December 2014

Gita: Chapter 7: Slok 16 - श्लोक १६ हे भरतवंशिहरुमा श्रेष्ठ अर्जुन ! पवित्र कर्म गर्ने अर्थार्थी, आर्त, जिज्ञासु र ज्ञानी अर्थात् प्रेमी --

No. 213 

श्लोक १६ 

हे भरतवंशिहरुमा श्रेष्ठ अर्जुन ! पवित्र कर्म गर्ने अर्थार्थी, आर्त, जिज्ञासु र ज्ञानी अर्थात् प्रेमी -- यी चार किसिमका मनुष्य मेरो भजन गर्छन् अर्थात् मेरो शरण हुन्छन् । 

'चतुर्विधा भजन्ते मां जना: सुकृतिनोर्जुन'-- सुकृती पवित्रात्मा मनुष्य अर्थात् भगवान सम्बन्धी काम गर्ने मनुष्य चार किसिमका हुन्छन् । यी चारै मनुष्य मेरो भजन गर्छन् अर्थात् स्वयं मेरो शरण हुन्छन् । 

पहिलो श्लोकमा 'दुष्कृती' पदले भगवानमा नलाग्ने मनुष्यको चार कुराहरु आएका थिए ।अव यहाँ 'सुकृतिनः' पदले भगवानमा लाग्ने मनुष्यहरूको कुरा गर्नुहुन्छ । यस्ता सुकृती मनुष्य शास्त्रीय सकाम पुण्य-कर्म गर्ने खालका हैनन्, भगवानसँग आफ्नो सम्बन्ध जोडेर भगवतसम्बन्धी कर्म गर्ने खालका छन् । सुकृती मनुष्य दुई प्रकारका हुन्छन्, एक थरी त यज्ञ, दान, तप, आदि र वर्ण-आश्रमको शास्त्रीय कर्म भगवानकोलागि गर्छन् अथवा उनीहरुवाट भएका यज्ञ, दान, तप भगवानलाई नै अर्पण गर्छन् र अर्का थरी भगवन्नामको जप तथा कीर्तन गर्नु, भगवानको लीला सुन्नु तथा भन्नु आदि केवल भगवतसम्बन्धी कर्म गर्छन् ।

भगवानमा रूचि भएका नै भाग्यशाली व्यक्ति हुन्, उनीहरु नै श्रेष्ठ हुन् र उनीहरु नै मनुष्य भनिन योग्य हुन् । त्यो रूचि चाहे कुनै पूर्व पुण्यवाट भएको होस्, चाहे कुनै आपतको वेला अरुको सहारावाट छुटेको होस्, चाहे कुनै विश्वसनीय मनुष्य द्वारा कुनै वेला धोका पाएर अथवा सत्संग, स्वाध्याय अथवा विचारले भएको होस्, कुनै पनि कारणले भगवानमा रूचि हुनाले ती सबै मनुष्य सुकृती नै हुन् ।

भगवानतिर रूचि भएको दिन नै पवित्र दिन हो, त्यही समय निर्मल समय हो त् त्यही नै सम्पत्ति हो । भगवानतिर रूचि नभएको दिन नै कालो दिन हो, त्यही विपत्ति हो ।

भगवानले कृपा गरेर जुन उद्देश्य लिएर जसलाई मानव शरीर दिनुभएको छ, ती मनुष्य भनिन योग्य छन् । भगवानको संकल्प मनुष्यको उद्धारकोलागि वनेको छ; अतः सबै मनुष्य भगवान प्राप्तिका अधिकारी छन् । तात्पर्य, त्यो संकल्पमा भगवानले मनुष्यलाई आफ्नो उद्धारकोलागि स्वतन्त्रता दिनुभएको छ, । यो स्वतन्त्रता अरु प्राणीहरुलाई छैन; किनकि अरु शरीरहरू भोगयोनि हुन् र मानव शरीर कर्मयोनि हो । वास्तवमा केवल भगवतप्राप्तिकोलागि भएकोले मानव शरीर साधन योनि मान्नुपर्छ । यसैले यो स्वतन्त्रताको सदुपयोग गरेर मनुष्य शास्त्र-निषिद्ध कर्महरु छोडेर भगवान प्रप्तिकोलागि मात्रै लाग्यो भने उसलाई भगवतकृपाले आफैं भगवतप्राप्ति हुन सक्छ । परन्तु आफूले पाएको स्वतन्त्रताको दुरुपयोग गरेर उल्टो वाटोमा हिंड्नेहरु नरकहरु र चौरासी लाख योनिहरुमा जान्छन् । यसरी सबैको उद्धारको भाव लिएर भगवानले कृपा गरेर दिनुभएको मानव शरीर पाएर भगवानको भजन गर्ने सुकृती मनुष्य नै 'जनाः' अर्थात् मनुष्य भनिन योग्य छन् । 

'आर्तो जिज्ञासुरथार्थी ज्ञानी च भरतर्षभ' -- अर्थार्थी, आर्त, जिज्ञासु, ज्ञानी अर्थात् प्रेमी -- यी चार प्रकारका भक्त भगवानको भजन गर्छन् अर्थात् भगवानको शरण हुन्छन् । 

(१) अर्थार्थी भक्त -- आफ्नो न्याययुक्त सुख-सुबिधाको इच्छा भएको अर्थात् धन-सम्पत्ति, वैभव आदिको इच्छा भएको र ती इच्छा पूरा गर्न अरुवाट होइन, भगवान नै पुकार्ने भक्त अर्थार्थी हुन्छन् । 

चार प्रकारका भक्तहरुमा अर्थार्थी भक्त आरम्भिक भक्त हुन्छ । पूर्व संस्कारहरुवाट उसलाई धनको इच्छा रहन्छ र उ धनकोलागि चेष्टा (कोशीस) पनि गर्छ, तर ऊ सम्झन्छ, भगवान समान धनको इच्छा पूरा गर्ने अरु कोही छैन । यस्तो बुझेर ऊ धनप्राप्तिकोलागि तत्परताले भगवननामको जप-कीर्तन, भगवात्स्वरूप्को ध्यान आदि गर्छ । धन प्राप्त गर्न उसको भगवानमा मात्रै विश्वास, निष्ठा हुन्छ ।                                                                         
धनको इच्छा हुनेले धन प्राप्तिकोलागि सांसारिक उपायहरुको सहारा लिन्छ र कहिले धनकोलागि भगवान पनि सम्झन्छ  । ऊ केवल अर्थार्थी हो अर्थात् अर्थको भक्त हो, भगवानको भक्त होइन । किनकि त्यो व्यक्तिमा धनको इच्छा नै मुख्य छ । तर भगवानतिर मुख्यता  हुने व्यक्ति क्रमशः भगवानतिर नै वढ्दै जान्छ । भगवानमा लागिरहनाले उसलाई धनको इच्छा धेरै कम हुन्छ र समय पाउँदा मेटिन्छ पनि । यस्तो भक्त भगवानको अर्थार्थी भक्त हो ।

खालि भगवानको परायण, भगवानसँग आफ्नोपन गरेर भजन गर्ने  व्यक्ति कहिले कहिले पूर्व संस्कारहरुले अथवा कुनै कारणले आफ्नो शरीर आदिकोलागि अनुकूल परिस्थितिको इच्छा भए पनि तिनीहरु अर्थार्थी भक्त नै भनिन्छन् । 

(२) 'आर्त भक्त' -- प्राण-संकट आउँदा, आपत आउँदा, मनको प्रतिकूल घटना घट्दा दुःखी भएर आफ्नो दुःख हटाउन भगवानलाई पुकार्ने र केवल भगवानवाट मात्रै  आफ्नो दुःख छुटाउन चाहने र अरु कुनै पनि काममा नलिने भक्तलाई आर्त भक्त भन्छन् । सकाम भाव रहँदा पनि आर्त भक्त आफ्नो इच्छाको पूर्ति केवल भगवानवाट मात्रै चाहन्छन् ।

(३) जिज्ञासु भक्त -- आफ्नो स्वरूप, भगवततत्व, वास्तवमा मेरो स्वरूप के हो ? भगवततत्व के हो ? भन्ने कुरा जान्ने तीव्र इच्छा जाग्रत भएको साधकलाई जिज्ञासु साधक भनिन्छ ।

No comments:

Post a Comment