Friday 26 December 2014

Gita: Chapter 7: Slok 8 - श्लोक ८ हे कुन्तीनन्दन ! जलहरुमा रस म हुँ, चन्द्रमा र सूर्यमा प्रभा (प्रकाश) म हुँ,

No. 207

श्लोक ८ 

हे कुन्तीनन्दन ! जलहरुमा रस म हुँ, चन्द्रमा र सूर्यमा प्रभा (प्रकाश) म हुँ, वेदहरुमा प्रणव (ओंकार), आकाशमा शब्द, र मनुष्यहरुमा पुरुषार्थ म हुँ । 

'रसोह्मप्सु कौन्तेय' -- हे कुन्तीनन्दन ! जलहरुमा 'रस' म हुँ । जल रस-तन्मात्राले पैदा हुन्छ, रस-तन्मात्रामा रहन्छ र रस-तन्मात्रामा नै लीन हुन्छ । जलवाट रस निकालिदिने हो भने जल तत्व केही रहँदैन । अतः रस नै जलरूपले छ । त्यो रस म हुँ ।

'प्रभास्मि शशिसूर्ययोः' -- चन्द्रमा र सूर्यमा प्रकाश गर्ने विलक्षण शक्तिलाई 'प्रभा' भन्छन् । त्यो मेरो स्वरूप हो । प्रभा रुप-तन्मात्राले उत्पन्न हुन्छ, रुप-तन्मात्रामा रहन्छ र रुपतन्मात्रामा नै लीन हुन्छ ।यदि चन्द्रमा र सूर्यवाट प्रभा निकालिदिने हो भने चन्द्रमा र सूर्य निस्तत्व हुन्छन् । तात्पर्य, केवल प्रभा नै चन्द्र र सूर्यरूपले प्रकट भैरहेछन् । भगवान भन्नुहुन्छ, त्यो प्रभा पनि म नै हुँ ।

'प्रणव: सर्ववेदेषु' -- सम्पूर्ण वेदहरुमा प्रणव (ओंकार) मेरो स्वरूप हो | कारण, सब भन्दा पहिले प्रणव प्रकट भयो । प्रणववाट त्रिपदा गायत्री र त्रिपदा गायत्रीवाट वेदत्रयी प्रकट भयो । यसैले वेदहरुमा सार 'प्रणव' नै रह्यो । यदि वेदहरुमध्येवाट प्रणव निकालिदिए वेद वेदरूपले रहँदैन । प्रणव नै वेद र गायत्रीरूपले प्रकट भइरहेछ । त्यो प्रणव म नै हुँ । 

'शब्द खे' -- सबै ठाउँमा देखिने खालिपन आकाश हो । आकाश शब्द-तन्मात्राले पैदा हुन्छ, शब्द- । तन्मात्रामा नै र अन्तमा शब्द-तन्मात्रामा नै लीन हुन्छ । अतः शव्द-तन्मात्रा विना आकाश केही पनि होइन । त्यो शब्द म नै हुँ । 
'पौरुषम् नृषु' -- मनुष्यहरुमा सार चीज पुरुषार्थ हो, त्यो मेरो स्वरूप हो । वास्तवमा नित्यप्राप्त परमात्मतत्वको अनुभव गर्नु नै मनुष्यहरुमा सक्कली पुरुषार्थ हो । परन्तु मनुष्यहरुले अप्राप्त्लाई प्राप्त गर्नमा नै आफ्नो पुरुषार्थ मानिराखेका छन्, जस्तो -- निर्धन व्यक्ति धन प्राप्तिमा पुरुषार्थ मान्छ, अपढ़ व्यक्ति पढ्न पुरुषार्थ मान्छ, अप्रसिद्ध व्यक्ति आफ्नो नाम विख्यात गर्न आफ्नो पुरुषार्थ मान्छ । निष्कर्ष भयो, अहिले नभएको वस्तु प्राप्तिमा व्यक्ति आफ्नो पुरुषार्थ मान्छ । तर यी पुरुषार्थहरु  वास्तवमा पुरुषार्थ होइनन् । कारण, पहिले नभएका वस्तुको प्राप्तिको वेला पनि ती वस्तुहरुको निरन्तर सम्बन्ध-विच्छेद भइरहेछ र अन्तमा ती वस्तु 'छैन, हैन'मा भर्ती हुनेछन् । यस्ता वस्तु प्राप्त गर्नु पुरुषार्थ होइन । परमात्मा पहिले पनि मौजूद हुनुहुन्थ्यो, अहिले पनि मौजूद हुनुहुन्छ र पछि पनि सदा मौजूद रहनु हुनेछ, किनकि उहाँको कहिले पनि अभाव छैन । यसैले परमात्मालाई  उत्साहपूर्वक प्राप्त गर्ने प्रयत्न नै वास्तविक पुरुषार्थ हो । परमात्मा प्राप्त गर्नु नै मनुष्यहरुको मनुष्यता हो । त्यो मनुष्यता विना मनुष्य केही पनि होइन। 

छैठौं-सातौँ श्लोकहरुमा भगवानले आफूलाई सम्पूर्ण जगतको कारण वताउनु भयो । यसैले अव भगवान आठौँ श्लोकदेखि वारहौं श्लोकसम्म 'कारण'--रूपले आफ्नो विभूतिहरुको वर्णन गर्नुहुन्छ । कारण भन्दा कार्यको विशेष गुण भए पनि स्वतन्त्र सत्ता करणको नै हुन्छ अर्थात् कारण विना कार्यको स्वतन्त्र सत्ता हुँदैन । जस्तो, माटो कारण हो र कार्य घडा। घडामा जल भर्न सकिन्छ, तर यो काम माटोले गर्न सक्तैन । तर माटो विना घडाको स्वतन्त्र सत्ता छैन । तात्पर्य, कारण नै कार्यरूपमा परिणत हुन्छ ।घडाको रचनामा कर्ता, कारण र कार्य -- तीनै एक हुँदैनन् अर्थात् कारण (माटो) र कार्य (घडा) को त एकै सत्ता हुन्छ, तर कर्ता (कुम्हाले)को अलग (स्वतन्त्र) सत्ता हुन्छ । परन्तु सृष्टिको रचनामा कर्ता, कारण र कार्य -- तीनै भगवान हुनुहुन्छ । अतः रस पनि भगवान हुनुहुन्छ र जल पनि भगवान हुनुहुन्छ । प्रभा पनि भगवान हुनुहुन्छ र चन्द्र-सूर्य पनि भगवान हुनुहुन्छ । ओंकार पनि भगवान हुनुहुन्छ र वेद पनि भगवान हुनुहुन्छ । शब्द पनि भगवान हुनुहुन्छ र आकाश पनि भगवान हुनुहुन्छ । पुरुषार्थ पनि भगवान हुनुहुन्छ र मनुष्य पनि भगवान हुनुहुन्छ ।

माटो त् घडाको रूपमा परिणत हुन्छ, तर परमात्मा संसारको रूपमा परिणत हुनुहुन्न । किनकि परिणत हुने वस्तु विकारी हुन्छ, तर परमात्मा निर्विकार हुनुहुन्छ । अतः अँध्यारोमा डोरी नै सर्परूपमा देखिने जस्तै परमात्मा संसररूपमा देखिनुहुन्छ । तात्पर्य, परमात्मामा कार्य-कारणको भेद छैन; किनकि उहाँ सिवाय अर्को कुनै वस्तु नै छैन । कार्य-कारणको भेद मनुष्यहरूको दृष्टिमा नै छ । यसैले मनुष्यहरुलाई बुझाउन अरु वस्तुको कुनै-न-कुनै सत्ता मानेर नै परमात्माको वर्णन, विवेचन, विचार, चिन्तन, प्रश्नोत्तर आदि गरिन्छ ।      

No comments:

Post a Comment