Friday 26 December 2014

Gita: Chapter 7: Slok 2 - श्लोक २ तिम्रोलागि म यो विज्ञानसहित ज्ञान सम्पूर्णताले भन्नेछु ।

No. 200 

श्लोक २ 

तिम्रोलागि म यो विज्ञानसहित ज्ञान सम्पूर्णताले भन्नेछु । यो ज्ञान जानेपछि फेरि यो विषयमा अन्य (केही पनि) शेष रहने छैन । 

'ज्ञानं तेहं सबिज्ञानमिदं वक्ष्याम्यशेषतः' -- भगवान भन्नुहुन्छ, 'भैया अर्जुन ! अव म विज्ञानसहित ज्ञान भन्नेछु, तिमीलाई भन्नेछु र म आफैं भन्नेछु तथा सम्पूर्णताले भन्नेछु । त्यसो त हरेक व्यक्ति हरेक गुरुसँग मेरो स्वरूपको वारेमा सुन्छ र त्यसवाट लाभ पनि लिन्छ; परन्तु तिमीलाई म स्वयं भनिरहेछु । स्वयं को ? समग्र परमात्मा म स्वयं । मैले स्वयं मेरो स्वरूपको वर्णन गर्ने जस्तो अरुले गर्न               
सक्तैन ; किनकि उनीहरु त अरुवाट सुनेर र आफ्नो बुद्धि अनुसार विचार गरेर नै भन्ने हुन् । उनीहरुको बुद्धि समष्टि बुद्धिको एउटा सानो अंश हो । त्यो सानो अंशले जान्न नै कति सक्छ र ? उनीहरु (ती भन्नेहरु) अन्जान वनेर पछि जानकार वनेका त हुन् नि ! तर म सँधै अलुप्तज्ञान हुँ । ममा न अन्जानपना छ, न कहिले थियो, न कहिले होला र न हुन सम्भव नै छ । यसैले म तिम्रोलागि त्यो तत्वको वर्णन गर्नेछु, जुन जानेपछि अरु केही जान्न वांकी रहँदैन ।'     

दसौं अध्यायको सोह्रौं श्लोकमा अर्जुन भन्छन्,  'हजुर आफ्ना सबै विभूतिहरु भन्न समर्थ हुनुहुन्छ' -- 'वक्तुमर्हस्यशेषेण दिव्या ह्यात्मविभूतयः ।' यसको उत्तरमा भगवान भन्नुहुन्छ, 'मेरो विस्तारको अन्त छैन, यसैले म प्रधानताले भन्नेछु' -- 'प्राधान्यत: कुरुश्रेष्ठ नास्त्यन्तो विस्तारस्य मे' । फेरि अन्तमा भन्नु हुन्छ, 'मेरो विभूतिहरूको अन्त छैन' -- नान्तोस्ति मम दिव्यानाम् विभूतीनाम् परन्तप' । यहाँ भगवान भन्नुहुन्छ, 'विज्ञानसहित ज्ञान म संम्पूर्णताले भन्नेछु, केही वांकी नराखी कन -- 'अशेषतः'।' यसको तात्पर्य, 'म तत्वले भन्नेछु ।' तत्वले भनेपछि भन्न र जान्न केही शेष रहँदैन । 

दसौं अध्यायमा विभूति र योगको कुरा आएको छ कि भगवानको विभूतिहरू र योगको अन्त छैन । अभिप्राय हो, विभूतिहरू अर्थात् भगवानका छुट्टा छुट्टै शक्तिहरुको र भगवानको योगको अर्थात् सामर्थ्य, ऐश्वर्यको अन्त छैन । 

अर्को शब्दमा, सगुण भगवानको प्रभाव, ऐश्वर्यको अन्त छैन । अन्त नै नभएकोलाई जान्न मनुष्यको बुद्धि वाहिरको कुरो हो ।  परन्तु वास्तविक तत्व मनुष्य सुगमताले बुझ्न सक्छ । जस्तो, सुनका गहना कति धेरै हुन्छन् । यिनलाई मनुष्यले जानेर साध्य छैन, तर ती सबै गहनामा रहेको तत्व सुवर्ण नै हो भन्ने कुरालाई त मनुष्य जान्न सक्छ । यस्तै, परमात्माका सबै विभूतिहरू र सामर्थ्यहरु त कसैले जान्न सक्तैन; तर ती सबैमा तत्वले एउटा परमात्मा मात्रै हुनुहुन्छ भन्ने कुरा तत्वले मनुष्य जान्न सकिहाल्छ । परमात्मा तत्वले जानेपछि उसको बुद्धि तत्वले परिपूर्ण हुन्छ, वांकी रहँदैन । परमात्मालाई तत्वले बुझेपछि परमात्मतत्वको अन्त भएको छैन, तर हाम्रो आफ्नो समझ, जिज्ञासा पूर्ण भयो, त्यसको अन्त भयो, खालि परमात्मतत्व मात्र वांकी रह्यो । 

दसौं अध्यायको दोस्रो श्लोकमा भगवान भन्नुहुन्छ, 'म प्रकट हुने कुरा देवता र महर्षि पनि जान्दैनन्' र तेसो श्लोकमा भन्नुहुन्छ, 'मलाइ अज र अनादि जान्ने व्यक्ति मनुष्यहरूमा असम्मूढ़ हो र ऊ सम्पूर्ण पापहरुदेखि मुक्त हुन्छ । देवता र महर्षिले नजान्नेलाई मनुष्यले जान्ने कुरा कसरी हुन्छ र ? भगवान अज र अनादि हुनुहुन्छ भन्ने कुरा दृढताले मान्नु र जान्नु छ । मनुष्य भगवानलाई अज र अनादि मान्न मात्रै सक्छ ।  वालकले आफ्नो आमाको विवाहको जन्ती देख्न नसक्ने जस्तै सबै प्राणीहरुको आदि तथा स्वयं अनादि भगवानलाई देवता, ऋषि, महर्षि, तत्वज्ञ, जीवन्मुक्त जान्न सक्तैनन् । यसै गरी, भगवानको लीला, ऐश्वर्य कोही जान्न सक्तैन, किनकि उहाँ अपार हुनुहुन्छ, अगाध हुनुहुन्छ, अनन्त हुनुहुन्छ । परन्तु उहाँलाई तत्वले जान्न सकिन्छ । 

परमात्मतत्व जान्नकोलागि 'ज्ञानयोग'मा जानकारी (जान्ने) को प्रधानता रहन्छ र 'भक्तियोग'मा मान्यता (मान्ने) प्रधानता रहन्छ । वास्तविक मान्यता धेरै दृढ हुन्छ । त्यो मान्यतालाई कोही यताउति गर्न सक्तैन अर्थात् मान्ने व्यक्तिले स्वयं नछोडुन्जेल उसको मान्यतालाई कोही पनि छुटाउन सक्तैन ।जस्तो, मनुष्यले संसार र संसारका पदार्थहरुलाई आफ्नोलागि मानिराखेको छ भने यो मान्यतालाई मनुष्य आफैंले नछोडिकन अरुले त्यो मान्यता छुटाउन सक्तैन । परन्तु व्यक्ति स्वयंले सबै पदार्थ उत्पन्न र नष्ट हुने स्वभावका छन् भन्ने मान्यतालाई जान्यो भने ऊ आफैं यो मान्यता असत्य रहेछ, झूठ रहेछ भनेर छोड्न सक्छ । असत्य मान्यता त अरुले छुटाउन सक्तैन भने वास्तविक परमात्मा सबैको मूलमा हुनुहुन्छ भन्ने कोही व्यक्ति मान्छ भने त्यो मान्यता कसरी छुट्छ र ? किनकि यथार्थ  मान्यता ज्ञान भन्दा कम हुँदैन, वरु ज्ञान जस्तै दृढ हुन्छ । 

भक्तिमार्गमा मान्नु मुख्य हुन्छ । दसौं अध्यायको पहिलो श्लोकमा भगवानले अर्जुनसँग भन्नुभयो, 'हे महावाहो अर्जुन ! म तिम्रो हितकोलागि परम (सर्वश्रेष्ठ) वचन भन्नेछु, तिमी सुन अर्थात् तिमी यो वचनलाई मान ।' भक्तिको यो प्रकरणमा मान्ने कुरो भनियो । ज्ञानमार्गमा जान्नु मुख्य हुन्छ । चौधौं अध्यायको पहिलो श्लोकमा भगवानले भन्नुभएको छ, 'म फेरि ज्ञानहरुमा उत्तम र सर्वोत्कृष्ट ज्ञान भन्नेछु, जुन ज्ञान जानेर सबै ऋषि मुनिहरूले परम सिद्धि पाए ।' यहाँ ज्ञानको प्रकरण मुख्य भएकोले जान्ने कुरा आयो । भक्तिमार्गमा मनुष्य मानेर जान्दछ, र ज्ञानमार्गमा मनुष्य जानेर मान्दछ । अतः पूर्ण भएपछि दुबैको एकता हुन्छ ।      

संसार भगवानवाट नै पैदा हुन्छ र उहाँमा नै लीन हुन्छ, यसैले भगवान यो संसारको महाकारण हुनुहुन्छ -- यसो मान्नु 'ज्ञान' हो । भगवान सिवाय अरु कुनै चीज छँदै छैन, सबै भगवान नै हुनुहुन्छ, स्वयं भगवान नै सबै वन्नुभएको छ -- यस्तो अनुभव हुनु 'विज्ञान' हो । 

'अपरा र पारा प्रकृति मेरा हुन्; यिनको संयोगले सम्पूर्ण प्राणीहरुको उत्पत्ति हुन्छ र म यो सम्पूर्ण जगतको महाकारण हुँ'' भनेर भगवानले 'ज्ञान' वताउनु भयो 'म सिवाय अरु कोही छँदै छैन, सूतको धागोमा सूतले वनेका मणिहरु जस्तो सबै कुरा ममा नै ओतप्रोत छ -- भनेर 'विज्ञान' वताउनु भयो ।

'जलमा रस, चन्द्र-सूर्यमा प्रभा म हुँ; सम्पूर्ण भूतहरुको सनातन वीज म हुँ; सात्विक, राजस र तामस भाव मवाट नै हुन्छन्' भनेर भगवानले 'ज्ञान' वताउनु भयो । यी ममा छन् र म यिनमा छैन, अर्थात् सबै म नै म हुँ; किनकि यिनको स्वतन्त्र सत्ता छैन -- यसो भनेर 'विज्ञान' वताउनु भयो । 

'म वाहेक गुणहरुको स्वतन्त्र सत्ता मान्ने व्यक्ति मोहित हुन्छ । तर गुणहरुसँग मोहित नभएर अर्थात् गुणहरुसँग मोहित नभएर अर्थात् 'यी गुण भगवानवाट नै हुन्छन् र भगवानमा नै लीन हुन्छन् -- यस्तो मानेर मेरो शरण हुने व्यक्ति गुणमयी माया तर्छ । त्यस्तै मेरो शरण हुने चार प्रकारका भक्त हुन्छन् -- अर्थार्थी, आर्त, जिज्ञासु र ज्ञानी (प्रेमी) । यी सबै उदार छन्, तर ज्ञानी अर्थात् प्रेमी मलाई अत्यन्त प्रिय हो र मेरो आत्मा नै हो' -- यस्तो भगवानले ज्ञान वताउनु भयो । 'सबै वासुदेव नै हो' भन्ने अनुभव हुने महात्मा अति दुर्लभ छ' -- यस्तो भनेर 'विज्ञान' वताउनु भयो । 

'मलाई नमानेर कामनाहरुको कारण देवताहरुमा शरण हुनेलाई अन्त हुने फल (जन्म-मरण) पाइन्छ र मेरो शरण हुने व्यक्तिलाई म पाइन्छु । मलाई अज-अविनाशी भन्ने नजान्ने व्यक्तिको सामुन्ने म प्रकट हुन्न ।' 'म भूत, भविष्य र वर्तमान -- तीनै कालहरुमा र तिनमा रहने सम्पूर्ण प्राणीहरु जान्दछु तर मलाई कोही जान्दैनन् ।' 'द्वन्द्व-मोहले मोहित हुने व्यक्तिहरु वारम्वार जन्म-मरण पाउँछन् ।एक निश्चय गरेर मेरो भजनमा लाग्नेको पाप नष्ट हुन्छन् तथा उनीहरु निर्द्वन्द्व हुन्छन्' -- भनेर 'ज्ञान' वताउनुभयो भगवानले । 'मेरो आश्रय लिनेहरु ब्रह्म, अध्यात्म, कर्म, अधिभूत, अधिदैव र अधियज्ञ जान्दछन् अर्थात् चार-अचर सबै कुरा म नै हुँ भन्ने अनुभव हुन्छ' -- भनेर 'विज्ञान' वताउनु भयो ।

'यज्ज्ञात्वा नेह भूयोन्योज्ज्ञातव्यमवशिष्यते' -- विज्ञानसहित ज्ञान जानेपछि जान्न वांकी रहँदैन ।तात्पर्य, 'म सिवाय संसारको मूल अर्को हुने छैन, खालि म नै म हुँ' -- 'मत्ततरं किन्चिदस्ति धनन्जय' र सबै वासुदेव नै हो -- 'वासुदेवः सर्वम्' अरु केही छँदै छैन -- यस्तो जानियो भने जान्न के वांकी हुन्छ र ? किनकि यो सिवाय कुनै जान्नु पर्ने छँदै छैन । परमात्मालाई नजानेर संसारको धेरै विद्याहरु जान्यो नै भने पनि वास्तवमा केही जानेको छैन, कोरा परिश्रम मात्रै गरेको छ । 

'केही जान्न वांकी रहँदैन' -- यसको तात्पर्य, इन्द्रियहरुले, मनले, बुद्धिले परमात्मा जान्नु वास्तवमा पूर्ण जान्नु होइन । कारण, यी इन्द्रियहरु, मन, र बुद्धि प्राकृत हुन्, यसैले यिनीहरु प्रकृति भन्दा अतीत तत्व जान्न सक्तैनन् । स्वयं परमात्माको शरण भएपछि स्वयं नै परमात्मा जान्दछ । यसैले परमात्मालाई स्वयंले नै जान्न सकिन्छ, मन-बुद्धिले होइन ।

परा र अपरा प्रकृतिको स्वतन्त्र सत्ता छैन -- यो 'ज्ञान' हो र परा-अपरा सबै भगवान नै हो -- यो 'विज्ञान' हो । अतः अहम् सहित सबै भगवान नै हो -- यही विज्ञानसहित ज्ञान हो । 

'ज्ञातव्यम्' -- जसलाई अवश्य जान्नु पर्छ र जे जान्न सकिन्छ, त्यसलाई 'ज्ञातव्य' भनिन्छ ।

विज्ञानसहित ज्ञान अर्थात् भगवानको समग्ररूप जानेपछि फेरि जान्नु पर्ने केही पनि शेष रहँदैन अर्थात् यथार्थ तत्व जान्न चाहनेकोलागि कुनै पनि कुरा जान्न शेष रहँदैन । कारण, भगवान सिवाय जान्न केही वांकी नरहेपछि अरु जान्न नै के वांकी रह्यो र ! 

कोही भन्न सक्छ, 'विज्ञानसहित ज्ञान' भन्दा ज्ञानको मुख्यता र विज्ञानको गौणता भयो । परन्तु वास्तवमा यस्तो कुरा होइन । केवल 'ज्ञान'ले मुक्ति त हुन्छ, तर प्रेमको अनन्त आनन्द त्यही वेला पाइन्छ जव ज्ञानसँग विज्ञान पनि होस् । 'ज्ञान' धन जस्तो हो र 'विज्ञान' धनको आकर्षण जस्तो हो । धनको आकर्षणमा हुने सुख धनमा छैन । त्यस्तै 'विज्ञान' (भक्ति)मा हुने आनन्द 'ज्ञान'मा छैन । 'ज्ञान' मा त अखण्डरस छ, तर 'विज्ञान'मा प्रतिक्षण वर्धमान रस छ । यसैले 'विज्ञानसहित ज्ञान' भन्न भगवानको लक्ष मुख्यरूपले 'विज्ञान' तर्फ नै छ र त्यसैलाई भगवान श्रेष्ठ वताउनु हुन्छ; किनकि 'विज्ञान' समग्रताको वाचक हो ।  

No comments:

Post a Comment