Friday 26 December 2014

Gita: Chapter 7: Slok 1,2 पहिला दुई श्लोकको नै वांकी अंश चेतनले अपरा प्रकृतिसँग तादात्म्य गर्छ अर्थात् 'अहं'सँग मिलेर आफूमा 'म हुँ' मानेर ऊ जीवरूप वनेको 'परा प्रकृति' हुन्छ । '

No 204 

पहिला दुई श्लोकको नै वांकी अंश 

चेतनले अपरा प्रकृतिसँग तादात्म्य गर्छ अर्थात् 'अहं'सँग मिलेर आफूमा 'म हुँ' मानेर ऊ जीवरूप वनेको 'परा प्रकृति' हुन्छ । 'अहम्' (म) भन्दा एकातिर जगत् (अपरा प्रकृति) छ र अर्कोतिर परमात्मा छ । परन्तु जीव परमात्मालाई स्वीकार गर्दैन र उहाँको अपरा प्रकृतिलाई स्वीकार गरेर त्यसलाई जगत् रूपले धारण गर्छ र जन्म-मरणरूप बन्धनमा पर्छ ।

'अपरेयमितस्त्वन्याम्' -- अपरादेखि अर्को परा छ र परादेखि अर्को अपरा छ
 'अपरा' अर्को अथवा विजातीय हो । अर्कोलाई समातेर नै 'परा' जीव वनेको हो -- 'जीवभूताम्'। 

अपरा (परिवर्तनशील) र परा (अपरिवर्तनशील) -- दुवै भगवानका प्रकृतिहरु अर्थात् शक्तिहरु हुन्, स्वभाव हुन् । भगवानको शक्ति भएकोले दुवै भगवानदेखि अभिन्न छन्; किनकि शक्तिमान् विना शक्तिको स्वतन्त्र सत्ता हुँदैन । हाम्रो शरीरको नङ र केशको प्राण नभए पनि यिनीहरु हाम्रा शरीरदेखि छुट्टै छैनन्, त्यस्तै अपरा प्रकृति जड भए पनि चेतन परमात्मा भन्दा छुट्टै छैन -- 'सदसच्चाहमर्जुन'। यसरी परा र अपरा -- दुबै प्रकृतिहरु भगवानका स्वरूप हुन् भने भगवान सिवाय वांकी नै के रह्यो र ? केही पनि वांकी रहेन -- 'वासुदेवः सर्वम्'। तात्पर्य, अपरा र परा -- दुवै प्रकृतिहरु सहित भगवानको स्वरूप 'समग्र' हो अर्थात् परा-अपरा, सत्-असत्, जड-चेतन सबै भगवान नै हो । 

'ययेदम् धार्यते जगत्' को तात्पर्य, संसार न त भगवानको दृष्टिमा छ र न महात्माको दृष्टि (मान्यता)मा छ । भगवानको दृष्टिमा सत्-असत् सबै उहाँ आफू नै हुनुहुन्छ -- 'सदसच्चाहम्' र महात्माको दृष्टिमा सबै भगवान नै हो --'वासुदेवः सर्वम्' ।  जीवले नै राग-द्वेषले गर्दा जगत् लाई आफ्नो बुद्धिमा धारण गरिराखेको छ । यही कुरालाई पछि पन्ध्रौँ अध्यायको सातौँ श्लोकमा 'मनः षषठानि इन्द्रियाणि प्रकृतिस्थानि कर्षति' पदहरुले भनिएको छ । जगत् लाई सत्ता दिंदा नै राग-द्वेष हुने हो । 

जीवले संसारको सत्ता मान्यो र सत्ता मानेर त्यसलाई महत्व दियो । महत्ता दिनाले कामना अर्थात् सुखभोगको इच्छा पैदा भयो । यही इच्छावाट जीव जन्म-मरणमा पर्यो । तात्पर्य यो भयो, एउटा भगवान वाहेक अर्को सत्ता मान्नाले नै जीव संसार-बन्धनमा परेको हो । अतः अर्को सत्ता नमान्ने जिम्मेवारी जीवको नै हो । यदि ऊ संसारको सत्ता मान्दैन भने संसार नै कहाँ छ र ?

भगवानले पृथ्वी, जल, तेज, वायु, आकाश, मन, बुद्धि र अहम् -- यी आठलाई अपरा (जड) प्रकृति भन्नुभयो । अतः पृथ्वी जड र जान्नमा आउने भए जस्तै अहम् पनि जड र जान्नमा आउने छ । तात्पर्य हो पृथ्वी, जल आदि आठै एकै जातिका हुन् । अतः जुन जातिको पृथ्वी छ, त्यही जातिको अहम् छ अर्थात् अहम् पनि माटोको थुप्रो जस्तै जड र दृश्य छ । अतः भगवानले अहम् लाइ एतत्ताले भन्नुभएको छ; जस्तो -- 'एतद् यो वेत्ति' । 'एतत्' (यो) कहिले 'अहम्' हुँदैन; अतः अहम् लाई एतत्ताले भन्नुको तात्पर्य हो, यो हाम्रो स्वरूप होइन । परन्तु जव चेतन (जीव) यो अहम् सँग आफ्नो तादात्म्य मान्छ, त्यो वेला ऊ वाँधिन्छ -- 'अहंकारविमूढात्मा कर्ताहमिति मन्यते'। यसैलाई चिज्जडग्रन्थि भन्छन् ।

'अहङ्कार इतीयं मे' -- अहंकार अपरा प्रकृतिको जड हो, तर 'म हुँ' -- यो ग्रन्थिरूप अहङ्कार केवल अपरा प्रकृतिको मात्रै होइन, यसमा परा प्रकृति (चेतन) पनि जोडिएको छ । तत्वज्ञान भएपछि जन्म-मरण दिने ग्रन्थिरूप अहंकार रहँदैन तर अपरा प्रकृतिको धातुरूप अहंकार रहन्छ ।

क्रिया र पदार्थ न त परा प्रकृतिमा छन् र न परमात्मामा छ, खालि अपरामा छ ।अपरा प्रकृति क्रियारूप र पदार्थरूप छ । परमात्मा प्रकृतिको सहायताले नै सृष्टि-रचना गर्नुहुन्छ । परा प्रकृति अर्थात् जीव क्रिया र पदार्थरूप अपरा प्रकृतिसँग आसक्ति गरेर र त्यसको आश्रय लिएर बाँधिन्छ । अपरासँग आसक्ति गर्नु र त्यसको आश्रय लिनु नै जगत् लाई धारण गर्नु हो । यसैले भगवानले सातौँ अध्यायको आरम्भमा नै 'मय्यासक्तमना: पार्थ योगं युञ्जन मदाश्रयः' पदहरुले आफूमा आसक्ति (प्रेम) गर्ने र आफ्नो आश्रय लिने कुरा गर्नुभएको हो । यदि जीवले अपरा प्रकृतिमा आसक्ति नराखे र त्यसको आश्रय नलिए उ 'मुक्त' हुनेछ । यदि ऊ भगवानमा आसक्ति (प्रेम) गर्छ भने र उहाँमा आसक्ति (प्रेम) गर्छ भने र उहाँको आश्रय लिन्छ भने ऊ 'भक्त' हुनेछ ।

जगत् को स्वतन्त्र सत्ता छैन । बाँध्ने जगत् त् जीवले न वनाइराखेको हो, यसैले सुख-दुःख हुन्छन्, बन्धन हुन्छ, चौरासी लाख योनिहरु, भूत, प्रेत, पिशाच, देवता योनिहरु र नरकहरुको प्राप्ति हुन्छ । सत्व, रज र तम -- यी तीनै गुणहरु कुनै वाधा दिंदैनन, परन्तु यिनको संग गरे जीव ऊर्ध्वगति, मध्यगति अथवा अधोगतिमा जान्छ -- 'कारणम् गुणसंगोस्य सदसद्योनिजन्मसु' । गुणहरुको संग जीव आफैं गर्छ । अपरा प्रकृति कसैसँग कुनै सम्बन्ध गर्दैन । सम्बन्ध न प्रकृति गर्छ, न गुण गर्छन्, न इन्द्रियहरु गर्छन्, न मन गर्छ, न बुद्धि गर्छ । जीव स्वयम् नै सम्बन्ध गर्छ, यसैले सुखी-दुःखी भइरहेछ, जन्म-मरणमा गइरहेछ ।जीव स्वतन्त्र छ, किनकि यो 'परा' अर्थात् उत्कृष्ट हो । अपरा प्रकृति त केही गर्दैन, किनकि उसमा चेतना र कामना छैन । अपरा प्रकृतिसँग सम्बन्ध जोडेर, त्यसको सदुपयोग-दुरुपयोग गरेर जीव ऊँच-नीच योनिहरुमा जान्छ, भड्किन्छ ।तात्पर्य, अपरिवर्तनशील हुँदा हुँदै पनि जीव विजातीय जगतसँग सम्बन्ध जोडेर परिवर्तनशील जगतरुप हुन्छ । उसको दृष्टि शरीर तर्फ मात्रै रहन्छ, आफ्नो स्वरूपको स्फुरणा नै हुँदैन ।                                                                                           
हामीसँग पूर्णरूपले अलग जगत अर्थात् शरीर-इन्द्रियहरु-मन-बुद्धि अहम् सँग आफ्नो एकता मानियो -- यही जगत् लाई धारण गर्नु हो । वास्तवमा जगत् हाम्रो हुँदै होइन । हाम्रो चीज हामीलाई भेटिएको भए हाम्रा कामनाहरु सँधैकोलागि मेटिने थिए, हामी निर्मम, निर्भय, निश्चिन्त, निष्काम हुने थियौं । परन्तु जगतले हामीलाई हामीवाट कहिले पनि नछुट्टिने चीज दिन सक्तैन । हाम्रो वास्तविक चीज हामी जगतवाट प्राप्त गर्न सक्तैनौं, जगतसँगको सम्बन्ध-विच्छेदले प्राप्त गर्न सक्छौं । हाम्रो वस्तु हो -- परमात्मा । हामी परमात्माको नै अंश हौँ -- 'ममैवांशो जीवलोके' ।  त्यो प्राप्तिको उपाय (कर्मयोगको दृष्टिले) हो, जगतवाट मिलेका वस्तुहरु (शरीर आदि) लाई जगतको नै सेवामा लगाइदिने र त्यसको वदलामा संसारसंग केही पनि आशा (फलको इच्छा) नराख्ने । त्योसँग कुनै पनि सम्बन्ध नाजोड़ने, न क्रियासँग, न पदार्थसँग । सेवा गर्नु भन्दा पनि कसैलाई दुःख नदिनु श्रेष्ठ छ । कसैलाई पनि दुःख नदिनाले, कसैको पनि अहित नगर्नाले सेवा आफैं हुन थाल्छ, गर्नु पर्दैन । आफैं हुने क्रियाको अभिमान हुँदैन र त्यो क्रियाको फलको इच्छा पनि हुँदैन । अभिमान र फलेच्छाको त्याग भएपछि हामीलाई हाम्रो आफ्नो वास्तविक वस्तु मिल्छ ।

वास्तवमा अपरा प्रकृतिको परमात्मा सिवाय छुट्टै सत्ता छँदै छैन -- 'नासतो विद्यते भाव:' । अपरा प्रकृतिलाई विशेष सत्ता जीवले नै दिएको हो । जस्तो, रुपियाँको कुनै महत्ता छैन, हामी नै लोभको कारण यसलाई महत्ता दिन्छौं ।हामीले महत्ता दिएको वस्तुमा नै हाम्रो आकर्षण हुन्छ । महत्ता दिंदा दोषहरु पनि स्वीकारिन्छ । कामरुप दोषको कारण नै स्त्री (पुरुष)मा आकर्षण हुन्छ, लोभरूप दोषको कारण नै धनमा आकर्षण हुन्छ, मोहरूप दोषको कारण नै कुटुम्ब-परिवारमा आकर्षण हुन्छ । तर दोषहरुसँग तादात्म्य हुँदा नै दोष दोषरूपले देखिंदैन र हामीलाई यो कुराको पत्ता नै लाग्दैन, हामी नै तिनलाई (अपरा प्रकृतिलाई) सत्ता र महत्ता दिइरहेछौं । तादात्म्य मेटिएपछि दोष  रहँदैनन् र गुण देखिंदैनन् । अनन्त ब्रह्माण्डहरुमा तीन लोक, चौध भूवन, जड-चेतन, स्थावर-जंगम, थलचर-नभचर-जलचर, जरायुज-अन्डज-स्वेदज-उद्भिज्ज, सात्विक-राजस-तामस, मनुष्य, देवता, पितृ, गन्धर्व, पशु, पक्षी, कीट, पतंग, भूत-प्रेत-पिशाच, ब्रह्म-राक्षस आदि देख्न. सुन्न, पढ्न तथा कल्पना गर्नमा आउने जे सुकैमा पनि 'परा' र 'अपरा' -- यी दुई प्रकृतिहरु सिवाय केही पनि छैन ।जे सुकै देख्न, सुन्न, पढ्न तथा कल्पना गर्नमा आउने र जुन शरीर-इन्द्रियहरु, मन, बुद्धि-अहम् द्वारा देखियो, सुनियो, पढियो, ती सबै सबै अपरा हुन् । तर देख्ने, सुन्ने, पढ्ने, सोच्ने, जान्ने, मान्ने चाहिं 'पर' हो ।परा र अपरा -- यी दुवै भगवानका शक्ति भएकाले भगवानदेखि अभिन्न अर्थात् भगवतस्वरूप नै हुन् ।त्यसैले अनन्त ब्रह्माण्डहरुको भित्र तथा वाहिर र अनन्त ब्रह्माण्डहरुको रूपमा भगवान सिवाय किञ्चित् पनि, केही पनि छैन -- 'वसुदेवः सर्वम्', 'सदसच्चाहमर्जुन'। संसारका सबै दर्शन मत-मतान्तर आचार्यलाई लिएर छन्, तर 'वासुदेवः सर्वम्' कुनै आचार्यको दर्शन, मत होइन, साक्षात् भगवानको अटल सिद्धान्त हो। यही सिद्धान्त अन्तर्गत सबै दर्शन, मत-मतान्तर आउँछन् ।
                                              
अपरा (जगत् )लाई स्वतन्त्र सत्ता जीवले नै दिएको हो -- 'ययेदम् धार्यते जगत्' । 'अपरा' भगवानको हो, तर त्यसलाई अर्थात् शरीर-इन्द्रियहरु-मन-बुद्धि-अहमलाई आफ्नो र आफ़्नोलागि मान्दा नै जीव बन्धनमा परेको हो । अतः साधकलाई जगत देखिन्छ भने त्यो उसको व्यक्तिगत दृष्टि हो । व्यक्तिगत दृष्टि सिद्धान्त होइन । देखिनु सीमित हुन्छ, तर तत्व असीम छ । जस्तो, सूर्य थाल जस्तो देखिन्छ, तर वास्तवमा सूर्य थालको आकारको छैन, पृथ्वी भन्दा कति गुना धेरै ठूलो छ ।

साधकलाई जगत देखिन्छ भने उसले निष्कामभावपूर्वक सेवा गर्नु पर्छ । जगतलाई आफ्नो र आफ़्नोलागि मान्नु तथा त्यसवाट सुख लिनु नै असाधन हो, बन्धन हो । कारण, हामीसँग शरीर-इन्द्रियहरु-मन-बुद्धि आदि सबै जगतका हुन् र जगतकालागि हुन् । अतः जगतको वस्तु जगतको सेवामा लागाइदिए जगत जगतरूपले देखिंदैन, भगवतरूपले देखिनेछ । सत्य वास्तवमा त्यही हो । तात्पर्य, साधक चाहे जगतलाई मानोस् , चाहे आत्मालाई मानोस्, यी मध्ये जुनलाई पनि मानेर ऊ साधना गर्न सक्छ र अन्तिम तत्व 'वासुदेवः सर्वम्' को अनुभव गर्न सक्छ । 

No comments:

Post a Comment