Friday, 26 December 2014

Gita: Chapter 7: अर्थार्थी, आर्त, जिज्ञासु र ज्ञानी-- यी चारै भक्त भगवन्निष्ठ हुन् ।

No 215 

एउटा कुरा भन्न मन लाग्यो -- आजकल टिभीको 'संस्कार' च्यानलमा विहान करिव ५. १०  
वजे शांकरभाष्यको आधारमा एउटा स्वामीजीको प्रवचन आउँछ । त्यो प्रवचनले हामीलाई धेरै फाइदा हुन्छ ।

लेख्दा लेख्दै send भइदियो !!!

यही तरिकाले अर्थार्थी भक्त भगवानसँग अनुकूलता माग्छ, आर्त भक्त भगवानद्वारा प्रतिकूलता हटाउन खोज्छ, जिज्ञासु भक्त भगवान जान्न चाहन्छ र ज्ञानी अर्थात् प्रेमी भक्त भगवानसँग केही पनि माग्दैन । 

अर्थार्थी, आर्त, जिज्ञासु र ज्ञानी-- यी चारै भक्त भगवन्निष्ठ हुन् । अतः यिनलाई योगभ्रष्ट पुरुषहरुमा लिन सकिंदैन । त्यस्तै अर्थार्थी र आर्त -- यी दुवै भक्त सकाम पुरुषहरु भन्दा छुट्टै छन्;  किनकि यी दुई भक्तहरुमा भगवानको आश्रय मुख्य छ । सकाम पुरुष कामना पूर्तिमा नै लागिरहनाले 'हृतज्ञानाः' हुन्, यसैले उनीहरुलाई आसुरी पुरुषहरुमा लिइएको छ । अर्थार्थी र आर्त भक्तहरुमा केही कमी भए पनि त्यो कमी कामनाको कारण नै हो, परन्तु कामना हुँदा हुँदै पनि उनीहरु 'हृतज्ञानाः' होइनन् । उनीहरुलाई त भगवानले 'सुकृतिन:' र 'उदाराः' भन्नु भयो र  ज्ञानी भक्तलाई आफ्नो स्वरूप भन्नुभयो -- 'ज्ञानी त्वात्मैव मे मतम्'। 

भगवानसँग आफ्नोपन मान्नु जस्तो अर्को कुनै साधन छैन, अर्को कुनै योग्यता छैन, कुनै वल छैन, कुनै अधिकारिता छैन । सम्पूर्ण प्राणीहरुमा भगवानको आफ्नोपन सँधै छ र  रहनेछ । त्यो आफ्नोपनलाई केवल प्राणीले नै विर्सेको छ र उसले भूलले संसारसँग आफ्नोपन मानेको छ । अतः यो भूलले गरिएको आफ्नोपन हटाउनु छ र प्रभुसँग आफ्नो स्वतःसिद्ध आफ्नोपन मान्नु छ । प्रभुलाई आफ्नो मान्न अरु साधनमा जस्तो मन, बुद्धि, केहीको सहायता लिनु पर्दैन ।

भगवानसँग आफ्नोपन भएपछि अर्थात् 'म केवल भगवानको नै हुँ र मेरो खालि भागावान मात्रै हो' भन्ने दृढताले मानेपछि साधक भक्तलाई आफ्नो भनिने अन्तःकरणमा भावहरुको, गुणहरुको कमी देखिएला, तर भगवानसँग आफ्नोपन भएपछि ती कमीहरु टिक्तैनन् । अर्को कुरो, साधक भक्तमा कुनै गुणहरुको कमी रहँदा पनि भगवानको दृष्टि खालि आफ्नोपनमा मात्रै जान्छ, गुणहरुको कमीमा जाँदैन । कारण भगवानसँग हाम्रो आफ्नोपन वास्तविक छ । 

भगवानको आफ्नोपन त दुष्ट-भन्दा-दुष्ट मनुष्यमा पनि त्यस्तै रहन्छ । यसैले सोह्रौं अध्यायमा आसुरी प्रकृतिका मनुष्यहरुको वर्णन गर्दै भगवान भन्नुहुन्छ, 'क्रूर, द्वेष गर्ने, नराधम दुष्टहरुलाई म आसुरी योनिहरुमा गिराइदिन्छु ।' यसारी भगवान तिनीहरुलाइ  गिराएर शुद्ध गर्नुहुन्छ । एउटा आमाले आफ्नो वालकलाई स्नान गराउँदा उसको अनुमति नलिए जस्तै भगवान ती आसुरी प्रकृतिका मनुष्यहरुको अनुमति लिनुहुन्न, किनकि भगवानको उनीहरुसँग आफ्नोपन छ ।

भगवानसँग हाम्रो आफ्नोपनको सम्बन्ध पहिलेदेखि नै छ । तैपनि कुनै कामना उत्पन्न भयो भने भक्तको भगवानसँग आफ्नोपनको सम्बन्ध मुख्य हुन्छ  र कामना गौण हुन्छ । त्यसैले हालै वर्णन भइरहेका भक्त पहिला श्रेणीका हुन् ।

भगवानको सम्बन्ध त पहिलेदेखि नै छ, तर वेला वेलामा कामना उत्पन्न हुन्छ । तर हामी त्यो कामना पूर्ति गर्न अरुवाट खोज्छौं । अरुवाट कामना पूर्ति नभएपछि अन्तमा हामी भगवानवाट खोज्छौं । यसरी अनन्यताको कमीले यी भक्त दोस्रो श्रेणीका हुन् ।

केवल कामना पूर्तिकोलागि नै भगवानसँग सम्बन्ध जोडिएमा कामना मुख्य हुन्छ र भगवानको सम्बन्ध गौण हुन्छ । यो दृष्टिले यी भक्त तेस्रो श्रेणीका हुन् । 

कामना दुई किसिमका हुन्छन् -- पारमार्थिक र लौकिक ।

(१) पारमार्थिक कामना -- पारामार्थिक कामना दुई किसिमका हुन्छन् -- (मुक्ति) कल्याणको र भक्ति (भगवत्प्रेम )को ।

मुक्तिको कामनामा तत्व जान्ने इच्छा हुन्छ, त्यसलाई जिज्ञासा पनि भन्छन् । यस्तो जिज्ञासा भएको व्यक्तिलाई नै जिज्ञासु भन्ने हो । जिज्ञासा कामना होइन; किनकि यो कामनाले  आफ्नो स्वरूप अर्थात् तत्व जान्न चाहन्छ । यो जिज्ञासा वास्तवमा हाम्रो साँचो आवश्यकता हो । आवश्यकता पूरा हुन्छ र यो जिज्ञासाको आवश्यकता पूरा भएपछि अर्को आवश्यकता पैदा हुँदैन । यो आवश्यकता सत् विषयको नै हुन्छ । 

अर्को कामना प्रभु प्रेम-प्राप्तिको हुन्छ । तर यो प्रेम-प्राप्तिको कामना आफ़्नोलागि नभएर प्रभुको प्राप्तिकोलागि हुन्छ । त्यसमा आफ्नो अलिकति पनि प्रयोजन रहँदैन; प्रभुमा समर्पित हुनलाई नै हुन्छ । प्रेमी आफूले आफूलाई प्रभुमा समर्पित गरिदिन्छ । किनकि प्रेमी प्रभुकै अंश हो । 

उपर्युक्त दुवै पारमार्थिक कामनाहरु वास्तवमा कामना होइनन् । 

लौकिक कामना -- लौकिक कामना पनि दुई किसिमका हुन्छन् -- सुख पाउने र दुःख हटाउने । 

शरीरले आराम पाओस्, वाँच्दा वाँच्दै मलाई आदर सत्कार मिलिरहोस् र मरेपछि मेरो नाम अमर होस्, मेरो स्मारक वनोस्, कसैले पुस्तक लेखिदिओस्, त्यो पुस्तक सबैले सँधै पढिरहून् र थाहा पाउन् कि यस्तो कुनै विलक्षण व्यक्ति पुरुष रहेछ भनेर, मरेपछि स्वर्ग आदिको भोग भोग्न पाइरहियोस् भन्ने धेरै लौकिक सुख-प्राप्तिको कामनाहरु भइरहन्छन् । यस्ता कामनाहरुले वासना झन् झन् वढिरहन्छन् ।यो कामना आसुरी सम्पत्ति हो, यसैले यो छोड्नु पर्छ ।                

अर्को दुःख हटाउने कामना हो । दुःख तीन प्रकारका छन् -- आधिदैविक, आधिभौतिक र आध्यात्मिक । 

अतिवृष्टि, अनावृष्टि, सर्दी-गर्मी, वायु आदिवाट हुने दुःखलाई 'आधिदैविक' दुःख भन्छन् । यो दुःख देवताहरुको अधिकारवाट हुन्छ । 

सिंह, सर्प, चोर आदि प्राणीहरुवाट हुने दुःखलाई 'आधिभौतिक' दुःख भन्छन् ।

शरीर र अन्तःकरणलाई लिएर हुने दुःख 'आध्यात्मिक' दुःख हो ।  

यी दुःखहरु हटाउने र सुख प्राप्त गर्ने कामना सर्वथा निरर्थक छ; किनकि ती कामनाहरुको पूर्ति हुँदैन । पूर्ति भइहाले पनि अर्को कामना तुरुन्तै पैदा हुन्छ र अन्तमा अपूर्ति नै वांकी रहन्छ । यसैले दुवै कामनाहरुको पूर्ति कुनै पनि मनुष्यको कहिले पनि भएको छैन, न हुन्छ र भविष्यमा नै पूरा हुनेछ ।

चौधौं श्लोकमा भगवानले भन्नुभएको छ, मेरो शरण लिने भक्त गुणमयी माया तर्छन् । ती शरण लिने भक्त को हुन् -- यो कुरालाई अव यो श्लोकमा वताउनु हुन्छ । 

यो भन्दा पहिलो श्लोकमा 'दुष्कृती' मनुष्यहरुको र यो श्लोकमा 'सुकृती' मनुष्यहरूको कुरा आएको छ । हामीवाट छुट्टै संसारलाई आफ्नो मान्नु सब भन्दा ठूलो दुष्कृत अर्थात् पाप हो । हामीदेखि अभिन्न भगवानलाई आफ्नो मान्नु आफ्नोलागि मान्नु नै सुकृत अर्थात् पुण्य हो । संसारलाई आफ्नो मान्ने दुष्कृती  हुन् र भगवानलाई आफ्नो मान्ने सुकृती हुन् । 

भोगी मनुष्य भगवानमा मन लगाउँदैन, यसैले 'अर्थार्थी' त भगवानको भक्त हुन सक्छ तर 'भोगार्थी' भगवानको भक्त हुन सक्तैन । कारण, भोगार्थीमा संसारको लिप्तता धेरै हुन्छ र अर्थार्थीमा लिप्तता कम हुन्छ । तथा भगवानको मुख्यता हुन्छ । 

कुनै अंशमा भगवान सिवाय अन्य सत्ताको मान्यता भएको कारण नै भक्त अर्थार्थी, आर्त अथवा जिज्ञासु हुन्छ । अर्को सत्ताको मान्यता छैन भने उ ज्ञानी (प्रेमी') हुन्छ । तात्पर्य, भगवान सिवाय अर्को सत्ता मान्दा नै चार भेद हुन्छन् । वास्तवमा भगवानको सत्ता सिवाय अर्को सत्ता सम्भव नै छैन । 

विज्ञानसहित ज्ञान अर्थात् परमात्मालाई समग्ररूपले जान्न चाहने व्यक्ति 'जिज्ञासु' हो । जिज्ञासु भगवानको ऐश्वर्य, प्रभाव, सामर्थ्य जान्न चाहन्छ , यसैले भगवानको लीला-कथामा उसलाई विशेष रस आउँछ ।  भगवानले 'मुमुक्षु' पद नदिएर 'जिज्ञासु' पद दिनुभयो; किनकि मुमुक्षु त केवल तत्वज्ञान चाहन्छ, तर 'जिज्ञासु' ज्ञान चाहने पनि हुन सक्छ, भक्ति चाहने पनि हुन सक्छ । मुमुक्षुमा आफ्नो कल्याणको कुरो मुख्य हुन्छ र जिज्ञासु भक्तलाई 'वासुदेवः सर्वम्' को ज्ञान हुन्छ । तत्वज्ञानीलाई त ब्रह्मको ज्ञान हुन्छ, तर भक्तलाई समग्रको ज्ञान हुन्छ । 

अर्थार्थी, आर्त र जिज्ञासुमा क्रमश संसारको सम्बन्ध घट्दै जान्छ र परमात्माको सम्बन्ध वढ्दै जान्छ । जीवले जगतलाई धारण गरुन्जेल अर्थार्थी, आर्त र जिज्ञासु रहन्छन् । जगतलाई धारण नगरेपछि केवल 'ज्ञानी' रहन्छ ।

'सबै वासुदेव नै हो' -- भन्ने परमात्माको समग्ररूपको ज्ञान हुनेलाई यहाँ 'ज्ञानी' भनिएको छ । यही ज्ञानी भक्तलाई पछि आउने उन्नाइसौं श्लोकमा 'ज्ञानवान्' भनिएको छ । 

'अर्थार्थी' प्राप्त परिस्थितिमा सन्तोष नगरेर धन खोज्छ । 'आर्त' प्राप्त परिस्थितिमा सन्तोष त गर्छ, तर दुःख आउँदा त्यसवाट दुःख सहन सकिंदैन । 'अर्थार्थी' मा अर्थको मुख्यता छैन, भगवानको मुख्यता छ । उसमा धनको इच्छा त रहन्छ र ऊ त्यो इच्छा भगवान द्वारा पूरा गराउन चाहन्छ । परन्तु 'मलाई त भगवान मात्रै प्यारो लाग्छ' भन्ने अभिलाषा भक्तमा प्रकट भयो भने उसमा अर्थार्थीपन, आर्तपन र जिज्ञासुपन रहँदैन र ऊ ज्ञानी अर्थात् प्रेमी हुन्छ ।

'अर्थार्थी'को अर्थसँग निरन्तर सम्बन्ध रहन्छ; किनकि अर्थको वासना हरदम रहन्छ । परन्तु 'आर्त'लाई दुःखको निरन्तर सम्बन्ध रहँदैन; किनकि दुःख हरदम रहँदैन । 'जिज्ञासु'लाई सुख-दुःखको पर्वाह हुँदैन; त्यसैले ऊ न सुख आउने इच्छा गर्छ र न दुःख जाने इच्छा गर्छ । अर्थार्थी र आर्त -- दुवै जिज्ञासु भएर ज्ञानी हुन्छन् । 

'अर्थार्थी' भक्तलाई अर्थ मिलेपछि उसलाई आफ्नो भूलमा पछुतो हुन्छ । तर 'आर्त' भक्तलाई त्यति पश्चाताप हुँदैन ।त्यो भक्तमा यो भाव रहन्छ, भगवानले दुःख हटाउनु हुन्छ । 'आर्त' भक्त आएको दुःख सहन सक्तैन -- यो उसको कमजोरी हो । 

'जिज्ञासु' भक्तमा भगवानलाई जान्ने कमजोरी रहन्छ । उसलाई मुक्ति, तत्वज्ञान हुँदा पनि सन्तोष हुँदैन, उसमा प्रेम पाउने भोक रहन्छ । परन्तु 'ज्ञानी' भक्तको दृष्टिमा एउटा वासुदेव सिवाय अर्को सत्ता लेशमात्र पनि हुँदैन; उसमा कुनै कमी कसरी रहन सक्छ ? यसैले भगवानले ज्ञानी भक्तलाई आफ्नो स्वरूप वताउनु भएको हो -- 'ज्ञानी त्वात्मैव मे मतम्'  

No comments:

Post a Comment