Friday 26 December 2014

Gita: Chapter 7 : Slok 6 - श्लोक ६ सम्पूर्ण प्राणीहरु (उत्पन्न हुन) अपरा -- अपरा र परा --

No 205 

श्लोक ६ 

सम्पूर्ण प्राणीहरु (उत्पन्न हुन) अपरा -- अपरा र परा -- प्रकृतिहरूको संयोग नै कारण हो भन्ने सम्झ तिमी । म सम्पूर्ण जगतको प्रभव तथा प्रलय हुँ ।

'एतद्योनीनि भूतानि' देवता, मनुष्य, पशु, पक्षी, आदि जंगम र वृक्ष, लता, घास आदि स्थावर प्राणी हुन् । यी सबै का सबै मेरो अपरा र परा पकृतिको सम्बन्धले नै उत्पन्न हुन्छन् । तेर्हौं अध्यायको छव्विसौं श्लोकमा पनि भगवानले क्षेत्र र क्षेत्रज्ञको सम्बन्धले सम्पूर्ण स्थावर-जंगम प्राणीहरुको उत्पत्ति वताउनुभयो । यही कुरो सामान्य रीतिले चौधौं अध्यायको चौथो श्लोकमा पनि वताउनुभयो, स्थावर, जंगम योनिहरुमा उत्पन्न हुने समस्त शरीर सबै प्रकृतिका हुन्, र ती शरीरहरुमा वीज जीवात्मा मेरो अंश हो । त्यही वीज अर्थात् जीवात्मालाई भगवानले 'परा प्रकृति' र 'आफ्नो अंश' भन्नुभयो ।

'सर्वाणीत्युपधारय'-- स्वर्गलोक, मृत्युलोक, पाताललोक आदि सम्पूर्ण लोकहरुका समस्त स्थावर-जंगम प्राणीहरु परा र अपरा प्रकृतिको संयोगले नै उत्पन्न हुन्छन् । तात्पर्य, परा प्रकृतिले अपरा प्रकृतिलाई आफ्नो मानेको छ, त्यसको संग गरेको छ, यसैवाट सबै प्राणी पैदा हुन्छन् -- यो कुरालाई तिमी धारण गर, मनमा लिऊ अर्थात् ठीक किसिमले बुझ। 

'अहं कृत्स्नस्य जगतः प्रभवः प्रलयस्तथा' -- सबै वस्तुहरुलाई सत्ता-स्फूर्ति परमात्मावाट नै मिल्छ, यसैले भगवान भन्नुहुन्छ, म सम्पूर्ण जगतको प्रभव उत्पन्न गर्ने) र प्रलय (लीन गर्ने ) हुँ । 

'प्रभवः'को तात्पर्य हो, म नै यो जगतको उपादान-कारण हुँ; किनकि सम्पूर्ण सृष्टि मेरो संकल्पले पैदा भएका छन् । 

घडा वनाउँदा कुम्हाले र सुवर्णको गहना वनाउँदा सुनार निमित्तकारण हो, सम्पूर्ण संसारको उत्पत्तिमा भगवान नै निमित्तकारण हुनुहुन्छ ।

'प्रलय:' भन्नुको अर्थ, यो जगतको उपादान-कारण पनि म नै हुँ; किनकि सबै कार्य उपादान कारणले उत्पन्न हुन्छ; उपादान-कारणरूपले नै रहन्छ र अन्तमा उपादान कारणमा नै लीन हुन्छ ।

घडा वनाउँदा माटो उपादान-कारण भए जस्तै सृष्टिको रचना गर्नमा भगवान नै उपादान-कारण हुनुहुन्छ । घडा माटोवाट नै पैदा हुन्छ, माटोरुप नै रहन्छ र अन्तमा फुटेर, खिइएर माटो नै वन्छ । सुवर्णका सबै गहनाहरु सुवर्णवाट नै उत्पन्न हुन्छन्, सुवर्णरूप नै रहन्छन् र अन्तमा सुवर्ण नै रहन्छन् । त्यस्तै संसार भगवानवाट नै उत्पन्न हुन्छ, भगवानमा नै रहन्छ र अन्तमा भगवानमा नै लीन हुन्छ । यस्तो जान्नु 'ज्ञान' हो । सबै भगवानको स्वरूप हो, भगवान वाहेक अर्को केही, कुनै छैन -- यस्तो अनुभव हुनु 'विज्ञान' हो ।

'कृत्स्नस्य जगतः' पदहरुमा भगवानले आफूलाई जड-चेतनात्मक सम्पूर्ण जगतको प्रलय वताउनुभयो । यसमा (जड) (अपरा प्रकृति)लाई प्रभव र प्रलय वताउनु त ठीक छ, तर चेतन (परा प्रकृति अर्थात् जीवात्मा) को उत्पत्ति र विनाश कसरी भयो ? किनकि त्यो (जीवात्मा) त नित्य तत्व हो -- 'नित्यः सर्वगत: स्थाणुरचलोयम् सनातनः' । परिवर्तनशीललाई जगत भन्छन् । तर यहाँ जगत शब्द जड-चेतनात्मक सम्पूर्ण संसारको वाचक हो । यसमा जड अंश त परिवर्तनशील छ र चेतन अंश सदा-सर्वदा परिवर्तनरहित तथा निर्विकार छ । निर्विकार तत्वले जडसँग तादात्म्य गरेपछि त्यो तत्व जड (शरीर) को उत्पत्ति-विनाशलाई आफ्नो उत्पत्ति-विनाश मान्छ । यसैले उसको जन्म-मरण भनिएको हो । यसैले भगवानले आफूलाई सम्पूर्ण जगत अर्थात् अपरा र परा प्रकृतिको प्रभव र प्रलय भन्नुभएको हो ।

यदि यहाँ 'जगत' शब्दले केवल नाशवान परिवर्तनशील र विकारी संसारलाई नै लिने हो भने, चेतनलाई लिएन भने धेरै वाधा हुनेछ । भगवानले 'कृत्स्नस्य जगतः' पदहरुले आफूलाई सम्पूर्ण जगतको कारण वताउनु भयो । अतः सम्पूर्ण जगत अन्तर्गत स्थावर-जंगम, जड-चेतन, सबै लिइन्छ । यदि खालि जड मात्रै लिइयो भने चेतन-भाग छुट्नेछ । यसले गर्दा 'म सम्पूर्ण जगतको कारण हुँ' भन्न सकिंदैन र अझ वाधा लाग्नेछ । कारण, यही अध्यायको तेर्हौं श्लोकमा भगवानले भन्नुभएको छ, तीनै गुणले मोहित जगत मलाई जान्दैन । त्यसैले यहाँ जान्ने र नजान्ने चेतनको नै हुन सक्छ, जडको जान्ने र नजान्ने चेतनलाई नै हुन सक्छ, जडलाई जान्ने र नजान्ने हुँदै हुँदैन । यसैले 'जगत' शब्दले केवल जडलाई मात्रै होइन, चेतनलाई पनि लिनुपर्छ । यस्तै सोह्रौं अध्यायको आठौँ श्लोकमा पनि आसुरी सम्पत्ति भएका व्यक्तिको मान्यता अनुसार 'जगत' शब्दले जड र चेतन -- दुवैलाई नै लिनु पर्छ, किनकि आसुरी सम्पदा सम्पत्ति भएका व्यक्ति सम्पूर्ण शरीरधारी जीवहरुलाई असत्य मान्छन्, खालि जडलाई होइन । यसैले यहाँ जगत शब्दले केवल जड, संसारलाई मात्रै लिइयो भने जगतलाई (जड संसारलाई) असत्य, मिथ्य र अप्रतिष्ठित भन्ने अद्वैत सिद्धान्ती पनि आसुरी सम्पत्ति भएका व्यक्तिहरुमा पर्छन् । तर यसो भन्नु सर्वथा अनुचित छ । यस्तै आठौँ अध्यायको छव्विसौं श्लोकमा आएको 'शुक्लकृष्णे गती ह्येते जगतः' पदहरुमा 'जगत' शब्द केवल जडको नै वाचक मानियो भने जडको शुक्ल र कृष्ण गतिको के तात्पर्य होला ? गति त चेतनको नै हुन्छ । जडसँग तादात्म्य गरेको कारणले नै चेतनलाई 'जगत' नामले भनिएको हो । 

यी सबै कुराहरुमा विचार गर्दा यो निष्कर्ष निस्कन्छ, जडसँग एकात्मता गर्नाले जीव 'जगत' भनिन्छ । परन्तु जडदेखि विमुख भएर चिन्मय तत्वसँग आफ्नो एकताको अनुभव गरेपछि ऊ 'योगी' भनिन्छ । यो कुराको वर्णन गीतामा ठाउँ ठाउँमा भएको छ ।

आफूलाई पनि जान्न नसक्ने र अरुलाई पनि जान्न नसक्ने 'अपरा प्रकृति' हो ।आफूलाई पनि जान्ने र अरुलाई पनि जान्ने 'परा' प्रकृति हो । यी परा र अपरा -- दुवैसँग मानिएको संयोगले नै सम्पूर्ण स्थावर-जंगम प्राणी पैदा हुन्छन् ।

मूल दोष एक नै हो र यो दोष स्थानभेदले अनेकरुपले देखिन्छ । त्यो हो -- अपराको सम्बन्ध । यसरी एउटा दोषले नै सम्पूर्ण दोष उत्पन्न हुन्छन् । यो एउटा दोष आयो भने सम्पूर्ण दोष आउँछन् र यो एउटा दोष हट्यो भने सम्पूर्ण दोष हट्छन् । यही तरिकाले मूल गुण पनि एक नै हुन्छ, र यो मूल गुणवाट नै सम्पूर्ण गुण प्रकट हुन्छन् । त्यो हो -- भगवानसँगको सम्बन्ध ।

अपरालाई चाहे नित्य मानौं, चाहे अनित्य मानौं, तर अपरासँग हाम्रो सम्बन्ध अनित्य छ -- यो सर्वसम्मत कुरो हो । यो सम्बन्ध नै जन्म-मरणको कारण हो ।यही संसारको वीज हो ।

म सम्पूर्ण जगतको प्रभव र प्रलय हुँ -- यसको तात्पर्य, यो स्थावर-जंगमरुप जगतलाई म नै उत्पन्न गर्ने हुँ र म नै उत्पन्न हुने हुँ; म नै नाश गर्ने हुँ र म नै नाश हुने हु; किनकि म सिवाय संसारको अर्को कुनै पनि कारण तथा कार्य छैन अर्थात् म नै यसको निमित्त तथा उपादान कारण हुँ । अतः जगत-रूपले म नै म हुँ । नवौं अध्यायको उन्नाइसौं श्लोकमा पनि भगवानले भन्नुभएको छ, -- अमृतं चैव मृत्युश्च ससच्चाहमर्जुन' अर्थात् 'अमृत र मृत्यु तथा सत् र असत् पनि म नै हुँ ।' 

तात्पर्य, अपरा र परा प्रकृति तथा तिनको संयोगले पैदा हुने सम्पूर्ण प्राणी -- यी सबै एक भगवान मात्रै हुनुहुन्छ । कारण पनि भगवान हुनुहुन्छ र कार्य पनि । 

No comments:

Post a Comment