Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 6: श्लोक ६ आफैंले आफूलाई जितेको व्यक्तिकोलागि ऊ आफू नै आफ्नो बन्धु हो र आफूले आफूलाई नजितेको अनात्माको आत्मा नै शत्रुतामा शत्रु

No. 168 

श्लोक ६
आफैंले आफूलाई जितेको व्यक्तिकोलागि ऊ आफू नै आफ्नो बन्धु हो र आफूले आफूलाई नजितेको अनात्माको आत्मा नै शत्रुतामा शत्रु जस्तो व्यवहार गर्ने व्यक्ति हो ।

आफूमा आफ़ू सिवाय अरुको सत्ता छँदै छैन । अतः आफूमा आफू वाहेक अरु (शरीर, इन्द्रियहरु, मन, बुद्धि) कसैको लेश मात्रै पनि आवश्यकता नराखेको अर्थात् असत् पदार्थहरुको आश्रय पूर्णतया छोडेर आफ्नो स्वरूपमा स्थित भएको व्यक्तिले आफूले आफूलाई जितेको छ । 

आफू आफैंमा स्थित भएको व्यक्तिलाई कसरी चिन्ने ? आफूले आफूलाई चिनेको व्यक्तिको अन्तःकरण समतामा स्थित हुन्छ; किनकि ब्रह्म निर्दोष र सम छ । यसैले ब्रह्मको निर्दोषता र समता उसको अन्तःकरणमा आउँछ । यसैवाट थाहा हुन्छ, त्यो व्यक्ति ब्रह्ममा स्थित छ । यसको अर्थ यो भयो, ब्रह्ममा स्थित भएकोले नै उसले आफू द्वारा आफूमा विजय प्राप्त गरेको छ । वास्तवमा, ब्रह्ममा स्थिति त नित्य-निरन्तर थियो नै, केवल मन, बुद्धिलाई आफ्नो मान्नाले नै त्यो स्थितिको अनुभव भइरहेको थिएन । 

संसारमा अरुको सहायता नलिई कोही पनि कसैमाथि विजय गर्न सक्तैन र अरुको सहायता लिनु नै स्वयंलाई पराजित गर्नु हो । यो दृष्टिले स्वयं पहिले पराजित भएर नै अरुलाई विजय गर्न सक्छ । जस्तो, कोही अस्त्र-शस्त्रले अरुलाई पराजित गर्छ भने ऊ अरुलाई पराजित गर्नकोलागि अस्त्र-शस्त्रको आवश्यकता मान्छ; अतः ऊ स्वयं अस्त्र-शस्त्रहरुवाट पराजित हुने भयो । कोही शास्त्र द्वारा, बुद्धि द्वारा शास्त्रार्थ गरेर अरुमा विजय पाउँछ भने ऊ स्वयं पहिले शास्त्र र बुद्धिवाट पराजित भइ नै हाल्छ र हुनै पर्छ । अर्को शब्दमा, कुनै न कुनै साधनले कसै न कसैलाई विजय गर्नेले आफूलाई नै पराजित गर्छ । स्वयं पराजित नभई अरुलाई कहिले कोही विजय गर्न सक्तैन -- यो नियम नै छ । अतः आफ्नोलागि अरुको अलिकति पनि आवश्यकता नमान्ने व्यक्ति आफैंले आफूमा विजय गर्छ र उही स्वयं आफ्नो बन्धु हो ।

जसले आफू सिवाय अरु अर्थात् शरीर, इन्द्रियहरु, मन, बुद्धि, धन, वैभव, राज्य, जमीन, घर, पद, अधिकार, आदिलाई आफ्नो आवश्यकता मान्छ, ऊ नै 'अनात्मा' हो । तात्पर्य, त्यस्तो व्यक्ति आफ्नो स्वरूप नभएको, आत्मा नभएकोलाई आफ़्नोलागि आवश्यक र सहायक सम्झन्छ तथा आफ्नो मान्छ । यस्तो अनात्मा भएर कुनै पनि प्राकृत पदार्थलाई आफ्नो सम्झने व्यक्ति आफैं आफूलाई आफ्नो शत्रु जस्तो व्यवहार गर्छ । उसको धारणा हुन्छ,'मैले तीमाथि आधिपत्य गरेको छु, तीमाथि विजय पाएको छु, तर वास्तवमा, (तिनलाई आफ्नो मान्दा) ऊ आफैं पराजित भइरहेको हुन्छ । अरुवाट पराजित भएर आफ्नो विजय सम्झनु नै आफूप्रति शत्रुताको व्यवहार गर्नु हो ।                       

आफ्नो नभएकोलाई 'म' र 'मेरो' पनको सम्बन्ध मान्नु आफूसँगको शत्रुपनामा मुख्य कारण हो । प्रकृतिजन्य पदार्थहरुसँग आफ्नो सम्बन्ध वनाइयो, यहाँवाट नै शत्रुता शुरु भयो । मनुष्य प्राकृत वस्तुहरुमा जति जति आफ्नो  अधिकार जमाउँदै जान्छ, उति उति उ आफूले आफैंलाई पराधीन वनाउँदै जान्छ । अझ मान, वडाई, कीर्ति आदि खोज्दा ऊ अझ पतनतिर जान्छ । उसलाई आफूले ठीकै गरे जस्तो लाग्छ, आफ्नो उन्नति गरे जस्तो लाग्छ, तर विल्कुल उल्टो भइरहेछ । वास्तवमा ऊ आफूसँग आफैं शत्रुता वढाइरहेछ । 

मानवशरीर जडता पूर्णरूपले छोडेर केवल चिन्मयताको प्राप्तिकोलागि पाइएको हो । त्यो कुरालाई विर्सेर व्यक्ति वर्तमानमा तथा मरेपछि पनि मूर्ति, चित्र आदिको रूपमा आफ्नो नाम-रुप कायम रहोस् भन्ने विचार गरेर जडतालाई महत्व दिन्छ र त्यही जडतालाई अड़ाई राख्न चाहन्छ । यसरी चिन्मय हुँदा पनि जडताको दासतामा फसेर ऊ आफूसँग महान् शत्रुताको व्यवहार गर्छ ।     

मनुष्य शरीर, इन्द्रियहरु, मन, बुद्धि आदिलाई आफ्नो सम्झेर आफूलाई तिनको अधिपति मान्छ, तर वास्तवमा ऊ तिनीहरुको दास हुन्छ । उसको व्यवहार उसको दृष्टिमा आफ्नो अहित गर्ने नभए पनि परिणाममा उसको अहित नै हुन्छ । यसैले भगवानले भन्नु भयो, उसको आफूप्रतिको व्यवहार शत्रु जस्तो नै हुन्छ ।

कुनै पनि मनुष्य उसको दृष्टिवाट आफूसँग शत्रुताको व्यवहार गर्दैन । परन्तु असत् वस्तुको आश्रय लिएर मनुष्य आफ्नो हितको दृष्टिले जे जस्तो व्यवहार गर्छ, त्यो व्यवहार उसकोलागि शत्रुको जस्तो नै हुन्छ; किनकि असत् वस्तुको आश्रय परिणाममा जन्म-मृत्युरूप महान् दुःख दिने हुन्छ । 

शरीरमा म-मेरोपन नरहे आफैं आफ्नो मित्र हो र शरीरलाई म-मेरो माने आफैं आफ्नो शत्रु हो अर्थात् अनात्मालाई सत्ता दिंदा त्यसको परिणाम शत्रु जस्तो हुने भयो ।

शत्रुले गर्ने नोक्सान व्यक्ति आफूले आफूलाई गर्छ । वास्तवमा भोगी मनुष्यले आफूप्रति गर्ने जस्तो नोक्सान उसको शत्रुले पनि गर्न सक्तैन । अझ विचार गर्दा, शत्रुवाट हाम्रो भलो नै हुन्छ । ऊ हाम्रो कुभलो गर्नै सक्तैन । कारण, शत्रु वस्तुहरुसम्म मात्र पुग्छ, स्वयंसम्म पुग्दैन । त्यसैले नाशवान् को नाश वाहेक शत्रुले अरु के गर्न सक्छ ? नाशवान् को नाशले हाम्रो भलो नै हुन्छ । हाम्रो साँचो नोक्सान हाम्रो भाव विग्रंदा नै हुन्छ ।      

श्लोक ७ 

आफूले आफूमा विजय प्राप्त गरेको, शीत-उष्ण, अनुकूलता-प्रतिकूलता, सुख-दुःख तथा मान-अपमानमा निर्विकार मनुष्यलाई परमात्मा नित्यप्राप्त छ ।

यो भन्दा अघिल्लो श्लोकमा 'अनात्मनः' पदले शरीर आदि प्राकृत पदार्थहरुसँग 'म-मेरो'पनको भावनाले आफूसँग नै शत्रुताको व्यवहार गर्नेलाई जनाउँछ र 'जितात्मनः' पदले शरीर आदि प्राकृत पदार्थहरुसँग सम्बन्ध नमानेर आफूसँग मित्रताको व्यवहार गर्ने व्यक्तिको वर्णन गर्छ । यसरी अनात्मा आफ्नो पतन गर्छ र जितात्मा आफ्नो उद्धार गर्छ । जितात्मा शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि कुनै पनि प्राकृत पदार्थहरुको सहायता लिंदैन र तिनसँग आफ्नो सम्बन्ध पनि जोडदैन । जितात्मा मनुष्य आफ्नो त हित गरिहाल्छ, ऊ द्वारा अरुको पनि धेरै ठूलो हित हुन्छ । 

यहाँ प्रस्तुत 'शीत' र 'उष्ण' दुवै पदहरुमा गहिरिएर विचार गर्दा यी सरदी र गर्मीको मात्रै वाचक होइनन्; किनकि यी दुवै शब्द 'त्वचा' (छाला)का विषय हुन् । यदि जितात्मा पुरुष खालि एउटा त्वचाको विषयमा मात्रै शान्त रह्यो भने श्रवण, नेत्र, रसना र घ्राण आदिको विषय त वांकी रहन्छन, अर्थात् यिनमा व्यक्ति प्रशान्त रहन त वांकी नै रहन्छ । यसो हुँदा उसमा पूर्णता आउँदैन । त्यसैले यहाँ 'शीत' र 'उष्ण' अनुकूलता र प्रतिकूलताका वाचक हुन् ।    
शीत अर्थात् अनुकूलता प्राप्त हुँदा भित्र एक किसिमको शीतलता महशूस हुन्छ र उष्ण अर्थात् प्रतिकूलता प्राप्त हुँदा भित्र एक किसिमको सन्ताप महशूस हुन्छ । अर्थ, भित्र न शीतलता होस् र न सन्ताप होस्, खालि शान्ति मात्रै वनिरहोस् अर्थात् इन्द्रियहरुको अनुकूल-प्रतिकूल विषय, वस्तु, व्यक्ति, घटना, परिस्थिति आदि पाइंदा पनि भित्रको शान्ति भंग नहोस् । कारण भित्रको स्वतःसिद्ध शान्ति अनुकूलतामा खुशी हुँदा र प्रतिकूलतामा दिक्क हुँदा भंग हुन्छ । अतः शीत-उष्णमा प्रशान्त रहनेको अर्थ हो, वाहिरवाट हुने संयोग-वियोगको भित्र असर नपरोस् ।

अव यो विचार गर्नुपर्यो, 'सुख' र 'दुःख' पदवाट के अर्थ लिने सुख र दुःख दुई-दुई किसिमका हुन्छन् --  

(१) साधारण लौकिक दृष्टिले धन-सम्पत्ति-वैभव, स्त्री-छोरा आदि अनुकूल सामग्री प्रचुर मात्रामा भयो भने सर्वसाधारण त्यो व्यक्तिलाई सुखी भन्छन् । त्यसको उल्टो, धन-सम्पत्ति-वैभव, स्त्री-पुत्र आदि अनुकूल सामग्री नभएको व्यक्तिलाई 'दुःखी' भन्छन् ।

(२) वाहिरको सुखदायी सामग्री नभएको, कहाँ भोजन गर्ने भन्ने ठेगान पनि नभएको, साथमा शरीर ढाक्न आवश्यक लत्ता-कपडा पनि नभएको, वस्ने वास नभएको, सँगै वस्ने साथी नभएको -- यस्तो अवस्था हुँदा पनि मनमा दुःख, सन्ताप नभएको, कुनै वस्तु, व्यक्ति, परिस्थिति आदिको आवश्यकताको अनुभव नगर्ने, जुनसुकै हालतमा वडो प्रसन्न रहने व्यक्तिलाई 'सुखी' भन्छन् । तर वाहिरका सुखदायी सामग्री पूरा भएको, भोजनकोलागि गतिला पदार्थ भएको, लगाउन राम्रा-राम्रा लुगा भएको, वस्न धेरै राम्रो घर भएको, सेवा गर्न धेरै सहयोगी भएको -- यस्तो अवस्था हुँदा पनि भित्र रात-दिन 'मेरो यो साधन-सामग्री नाश हुन्छन् कि, यी सामग्री कसरी अडिरहलान्, कसरी वढ़लान् ?' भन्ने चिन्ता भइरहने, व्यक्ति, वाहिरका सामग्री हुँदा पनि भित्रैदेखि दुःखी रहनेलाई 'दुःखी' भनिन्छ ।                                 
यसरी दुई किसिमले सुख-दुःखको तात्पर्य, वाहिरको सामग्रीलाई लिएर सुखी-दुःखी हुनु र भित्रको प्रसन्नता र खिन्नतालाई लिएर सुखी-दुःखी हुनु । गीतामा प्रस्तुत सुख-दुःखमा 'सम' हुने कुरामा वाहिरको सामग्रीमा सम रहन भनिएको हो । तर सुख-दुःखदेखि 'रहित' हुने कुरामा भित्रको प्रसन्नता र खिन्नतादेखि रहित हुने कुरा भएको छ । सुख-दुःखमा सम हुने प्रसंगमा सुख-दुःखको सत्ता त छ, तर त्यसको असर पर्दैन र सुख-दुःखदेखि रहित हुने कुरामा सुख-दुःखको सत्ता नै छैन । यसरी,चाहे वाहिरको सुखदायी-दुःखदायी सामग्री पाउँदा भित्रवाट सम हुने भनौं, चाहे भित्रदेखि सुख-दुःखदेखि रहित हुने भनौं -- दुबैको तात्पर्य एकै हो; किनकि सम पनि भित्रै हो र रहित पनि भित्रै हो । 

यहाँ शीत-उष्ण र सुख-दुःखमा प्रशान्त (सम) रहने कुरा भनियो । अनुकूलताले सुख हुन्छ र प्रतिकूलताले दुःख हुन्छ । यसैले शीत-उष्णको अर्थ अनुकूलता-प्रतिकूलता लिइयो भने सुख दुःख भन्नु नै व्यर्थ हुन्छ, किनकि सुख-दुःख पद शीत-उष्ण(अनुकूलता-प्रतिकूलता)को नै वाचक हुन् । त्यसो भए शीत-उष्ण र सुख-दुःख पदहरुको सार्थकता कसरी सिद्ध होला ? यसैले शीत-उष्ण पदले प्रारब्ध अनुसार आउने अनुकूलता-प्रतिकूलता लिइयो र सुख-दुःख पदले वर्तमानमा गरिने क्रियमाण कर्महरुको पूर्ति-आपूर्ति तथा तिनको तात्कालिक फलको सिद्धि-असिद्धि लिइयो भने यी शब्दहरुको सार्थकता सिद्ध हुन्छ । अर्थ यो भयो, चाहे प्रारब्धको अनुकूल-प्रतिकूल परिस्थिति होस्, चाहे क्रियमाणको तात्कालिक सिद्धि-असिद्धि होस् -- यी दुईमा प्रशान्त (निर्विकार) रहनु ।

यसै गरी मान-अपमानमा पनि प्रसन्न रहने कुरो आयो । यहाँ शंका हुन्छ, मान-अपमान पनि प्रारब्धकै फल हो; अतः यो शीत-उष्ण (अनुकूल-प्रतिकूल परिस्थिति) को नै अन्तर्गत आयो । यसको प्रसंग छुट्टै किन चाहियो ? यसको समाधान: मान-अपमानलाई छुट्टै लिइनुको तात्पर्य, शीत-उष्ण त दैवेच्छा (अनिच्छा)ले गरिएको प्रारब्धको फल हो, तर मान-अपमान परेच्छाले गरिएको प्रारब्धको फल हो । यो परेच्छा प्रारब्ध मान-वड़ाईमा पनि हुन्छ निन्दा-स्तुतिमा पनि हुन्छ तात्पर्य, कर्मयोगी अरुद्वारा गरिएको मान-अपमानमा पनि प्रशान्त रहन्छ अर्थात् उसको शान्तिमा अलिकति पनि फरक पर्दैन ।

मान-अपमानमा प्रशान्त रहने उपाय -- साधकलाई कसैले मान-आदर गर्दा उसले यो नमान्ने कि यो मेरो कर्महरुको, मेरो गुणहरुको फल हो । तर यस्तो मान्नु, यो त मान-आदर गर्नेको सज्जनता हो, उदारता हो । उसको सज्जनतालाई आफ्नो गुण मान्नु इमान्दारी होइन । यदि कसैले अपमान गर्छ भने यस्तो मान्नु, यो मेरो कर्महरुको फल हो । यसमा अपमान गर्नेको कुनै दोष छैन, तर ऊ त दयाको पात्र छ; किनकि त्यो विचराले मेरो पापहरुको फल भोगाउन निमित्त वनेर मलाई शुद्ध वनाइदियो। यस्तो मान्दा साधक मान-अपमानमा प्रशान्त, निर्विकार हुनेछ । यदि ऊ आफ्नो मानलाई आफ्नो गुण र अपमानलाई आफ्नो दोष मान्छ भने ऊ मान-अपमानमा प्रशान्त हुन सक्तैन ।  

साधक शीत-उष्ण, सुख-दुःख र मान-अपमान सबैमा निर्विकार रह्यो भने यो सिद्ध हुन्छ, उसलाई परमात्मा प्राप्त छ । किनकि भित्रवाट विलक्षण आनन्द नपाई वाहिरको अनुकूलता-प्रतिकूलता, सिद्धि-असिद्धि र मान-अपमानमा प्रशान्त रहन सकिंदैन । यदि ऊ प्रशान्त रहन्छ भने उसलाई एकरस रहने विलक्षण आनन्द मिलेको छ । यसैले गीताले ठाउँ ठाउँमा भनेको छ, 'जुन पुरुषको मन साम्यावस्थामा स्थित छ, ती पुरुषहरुले यही जीवित अवस्थामा नै संसारलाई जितेका छन्' 'जुन लाभ पाएपछि त्यो भन्दा धेरै ठूलो लाभ हुन सक्तैन र जसमा स्थित भएपछि धेरै ठूलो दुःखले पनि विचलित हुन सकिंदैन' । 

आफ्नो आत्मा आफ्नो मित्र जस्तो भएको अर्थात् शरीरमा 'म-पन र 'मेरो'-पन नभएको व्यक्ति अनुकूलता-प्रतिकूलता, सुख-दुःख र मान-अपमान हुँदा पनि सम, निर्विकार रहन्छ ।यस्तो मनुष्य सिद्ध कर्मयोगी हो अर्थात् उसलाई परमात्माको अनुभव भइसक्यो भन्ने मान्नुपर्छ । कारण, अनुकूलता-प्रतिकूलता, सुख-दुःख र मान-अपमान आउँछन् जान्छन्, तर परमात्मतत्व जस्ता-को-तस्तो रहन्छ । 

No comments:

Post a Comment