Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 4: श्लोक ४ कारण, जव मनुष्य न इन्द्रियहरुका भोगहरुमा र न कर्महरुमा नै आसक्त हुन्छ, त्यो वेला ऊ सम्पूर्ण संकल्पहरुको त्यागी मनुष्य योगरूढ़ हुन्छ ।

No. 166 

श्लोक ४ 

कारण, जव मनुष्य न इन्द्रियहरुका भोगहरुमा र न कर्महरुमा नै आसक्त हुन्छ, त्यो वेला ऊ सम्पूर्ण संकल्पहरुको त्यागी मनुष्य योगरूढ़ हुन्छ । 

साधकले इन्द्रियहरुको अर्थहरुमा अर्थात प्रारब्ध अनुसार प्राप्त हुने शब्द, स्पर्श, रुप, रस र गन्ध -- यी पाँच विषयहरुमा, अनुकूल पदार्थ, परिस्थिति, घटना, व्यक्तिमा र शरीरको आराम, मान, वड़ाई आदिमा आसक्ति नगर्ने, यिनीहरुलाई भोगबुद्धिले भोग नगर्ने, यिनमा खुशी नहुने । यस्तो अनुभव गर्ने  कि,यी सबै विषय, पदार्थ, आदि आएका छन् र प्रतिक्षण अभावमा  गइरहेका छन् । यी विषयहरु र पदार्थहरु आउने-जाने र अनित्य छन्, यिनमा के खुशी हुनु भन्ने अनुभव गरेर यिनसँग निर्लिप्त रहने ।

इन्द्रियहरुको भोगहरुमा आसक्त नहुने साधन हो -- इच्छापूर्तिको सुख नलिने । जस्तो, आफूलाई मन परेको कुरो पुगे, मन परेको वस्तु, व्यक्ति, परिस्थिति, घटना आफूलाई मिले र नचाहेको कुरो नभए मनुष्य त्यसमा खुशी (प्रसन्न) हुन्छ तथा सुख लिन्छ । त्यस्तो सुख लिएपछि  भोगहरुमा इन्द्रियहरुको आसक्ति वढ्छ । अतः साधकले अनुकूल वस्तु, पदार्थ, व्यक्ति आदि पाउने इच्छा नगर्नु र इच्छा नगरेको अनुकूल वस्तु पाइए पनि तिनसँग खुशी नहुनु । यसो हुँदा इन्द्रियहरुको भोगहरुमा आसक्ति हुँदैन ।

अर्को कुरो, मनुष्यसँग अनुकूल चीजहरु नहुँदा ऊ ती चीजहरूको अभावको अनुभव गर्छ र ती वस्तुहरु पाइंदा ती वस्तुहरुको ऊ अधीन हुन्छ । ती वस्तुहरुको अभावको अनुभव भएको वेला पनि व्यक्तिलाई परतन्त्रता थियो र अव ती चीजहरु पाइंदा पनि 'यिनीहरु छुट्ने हुन् कि' भन्ने परतन्त्रता हुन्छ उसमा । त्यसैले वस्तुहरु पाइंदा र नपाइंदा यति नै फरक रह्यो कि वस्तु नपाइंदा त परतन्त्रताको अनुभव हुन्थ्यो, तर वस्तु पाउँदा परतन्त्रताको अनुभव हुँदैन, उल्टै त्यसमा मनुष्यलाई स्वतन्त्रता देखिन्छ -- यही धोखा हुन्छ मनुष्यलाई । जस्तो, कसैले कसैलाई विश्वासघात गर्छ, त्यस्तै अनुकूल परिस्थितिमा राजी भयो भने मनुष्य आफूले आफैंसँग विश्वासघात गर्छ । कारण कि यो मनुष्य अनुकूल परिस्थितिको अधीन हुन्छ, तिनको भोग गर्दा गर्दा उसको स्वभाव धेरै विग्रन्छ र उसमा फेरि फेरि त्यही सुख भोग्ने कामना हुन थाल्छ । यो सुखभोगको कामना नै उसको जन्म-मरणको कारण वन्छ । छोटोमा भन्नु पर्दा, अनुकूलताको इच्छा गर्नु, आशा गर्नु र अनुकूल विषयमा खुशी हुनु नै सम्पूर्ण अनर्थहरुको मूल हो । यसवाट कुनै पनि अनर्थ, कुनै पाप वांकी रहँदैन । यस्तो अनर्थको त्याग गरियो भने मनुष्य योगारूढ़ हुन्छ ।

अर्को कुरो, हामीसँग रहेका निर्वाहको निमित्तका वस्तु सिवाय अरु अनुकूल भोग्य वस्तुहरु हाम्रा होइनन् । तिनीहरु कसका हुन् भन्ने हामीलाई थाहा हुँदैन ; तर कुनै अभावग्रस्त प्राणी भेटियो भने ती सामग्री त्यही प्राणीको हो भन्ने सम्झेर हामीले उसैलाई अर्पण गरिदिनु पर्छ । त्यो प्राणीलाई ('यो हजुरको हो') चाहिं भनिरहनु पर्दैन; तर उसलाई ती वस्तुहरु दिएपछि हामीले यस्तो मान्नुपर्छ, निर्वाह भन्दा वढी मसँग भएका वस्तुहरुको ऋणदेखि म मुक्त भएको छु । अर्को शब्दमा, निर्वाह भन्दा वाहेक वस्तुहरु आफ्नो र आफ़्नोलागि नमान्दा व्यक्तिलाई भोगहरुमा आसक्ति हुँदैन । 

इन्द्रियहरुको अर्थमा आसक्ति नभए जस्तै कर्महरुमा पनि आसक्ति हुनु हुँदैन । किनकि कर्म गर्न पनि राग हुन्छ । राम्रोसँग भएको कर्मवाट एउटा सुख हुन्छ,  नराम्रोसँग भएको कर्मवाट दुःख हुन्छ । यो सुख-दुःख हुनु कर्मको आसक्ति हो । त्यसैले, साधकले कर्म त विधिपूर्वक र तत्परताले गर्ने, तर त्यो कर्ममा आसक्त नभएर सावधानीपूर्वक निर्लिप्त रहने कि यी त आउने-जाने हुन् र म नित्य निरन्तर रहने छु, अतः यिनको हुनु-नहुनुमा, आउनु-जानुमा, मलाई के फरक पर्छ ?

कर्महरुमा आसक्ति भएको कसरी थाहा हुने ? यदि वर्तमानमा गरिएका कर्महरुको पूर्ति-अपूर्तिमा र तिनवाट पाइने तात्कालिक फलको प्राप्ति-अप्राप्तिमा अर्थात् सिद्धि-असिद्धिमा मनुष्य निर्विकार रहँदैन, वरु उसको अन्तःकरणमा हर्ष-शोक आदि विकार हुन्छन् भने यस्तो सम्झनु पर्छ, त्यो व्यक्तिको कर्महरुमा र तिनका तात्कालिक फलमा आसक्ति छ ।

इन्द्रियहरुका अर्थहरूमा र कर्महरुमा आसक्त नहुने तात्पर्य यो भयो, स्वयं (स्वरूप) चिन्मय परमात्माको अंश भएकोले नित्य अपरिवर्तनशील छ र पदार्थ तथा क्रियाहरु प्रकृतिका कार्य भएकाले नित्य-निरन्तर वदलिइरहन्छन् । परन्तु स्वयं ती परिवर्तनशील पदार्थहरु र क्रियाहरुमा आसक्त भएर तिनीहरुको अधीन हुन्छ र फेरि फेरि जन्म-मरणरूप महान् दुःखहरुको अनुभव गरिरहन्छ । ती पदार्थहरुसँग र क्रियाहरुसँग अर्थात् प्रकृतिसँग पूर्णरूपले मुक्त हुन भगवानले दुई विभाग वताउनु भएको छ कि न त इन्द्रियहरुको अर्थहरुमा अर्थात् पदार्थहरुमा आसक्ति गर्ने र न कर्महरुमा (क्रियाहरुमा) आसक्ति गर्ने । यसो गर्दा मनुष्य योगारूढ़ हुन्छ ।                      
                                   
बुझ्नु पर्ने कुरा, क्रियाहरुमा प्रियता धेरै जसो फललाई नै लिएर हुन्छ र फल हुन्छ -- इन्द्रियहरुको भोग । अतः इन्द्रियहरुको भोगहरुको आसक्ति सर्वथा मेटियो भने क्रियाहरुको आसक्ति पनि मेटिन्छ । तैपनि भगवानले क्रियाहरुको आसक्ति मेटाउने कुरा छुट्टै किन भन्नुभयो ? यसको कारण, क्रियाहरुमा पनि स्वतन्त्र आसक्ति हुन्छ । फलेच्छा नहुँदा पनि मनुष्यमा गर्ने वेग हुन्छ । यही वेग नै क्रियाहरुको आसक्ति हो । यो आसक्तिले गर्दा व्यक्ति केही नगरी वस्न सक्तैन, ऊ केही न केही गरी नै रहन्छ । यो आसक्ति मेटिने एक मात्र उपाय हो -- खालि अरुकोलागि कर्म गर्ने अथवा भगवानकोलागि कर्म गर्ने । यसैले भगवानले वारहौं अध्यायमा पहिले अभ्यासयोग वताउनु भयो । तर आफू भित्र गर्ने वेग रहि रहने हुनाले अभ्यासमा मन लाग्दैन । अतः गर्ने वेग मेटाउन भगवानले वताउनु भयो, 'साधकले मेरोलागि नै कर्म गर्नु ।'  यसको अर्थ, पारमार्थिक अभ्यास आदि गर्न मन नलाग्ने र भित्र कर्म गर्ने वेग (आसक्ति) रहेको त्यस्तो भक्तियोगको साधक केवल भगवानकोलागि नै कर्म गरोस् । यसो गर्दा व्यक्तिको आसक्ति मेटिन्छ । यसै गरी कर्मयोगको साधकले       
केवल संसारकोलागि नै कर्म गर्यो भने उसको गर्ने वेग (आसक्ति) मेटिन्छ ।

कर्म गर्ने आसक्ति जस्तै कर्म नगर्ने पनि आसक्ति हुन्छ । कर्म नगर्ने आसक्ति हुनु हुँदैन । किनकि कर्म नगर्ने आसक्तिले प्रमाद र आलस्य हुन्छ । यस्तो आसक्ति तामसी वृत्ति हो र कर्म गर्ने आसक्ति व्यर्थ चेष्टाहरुमा लगाउँछ । कर्म गर्ने आसक्ति, यही कारण, राजसी वृत्ति भयो ।

यहाँ प्रश्न छ: योगारूढ़ हुन कति दिन, कति महिना अथवा वर्ष लाग्ला ? यो विषयमा भगवान भन्नुहुन्छ, मनुष्य इन्द्रियहरु र तिनका अर्थहरूमा सर्वथा आसक्तिरहित भएपछि योगारूढ़ हुन्छ । जस्तो, कसैले 'म आजदेखि कहिले पनि इच्छापूर्तिको सुख लिन्न' भन्ने   निश्चय (प्रतिज्ञा) गर्छ भने ऊ तुरुन्तै योगारूढ़ हुन्छ । 

पदार्थहरुमा र क्रियाहरुमा आसक्ति गर्न र नगर्नमा भगवानले सबै मनुष्यलाई स्वतन्त्रता दिनु भएको छ । उहाँ हामीलाई भन्नुहुन्छ, तिमी साक्षात् मेरो अंश हौ र यी पदार्थ र क्रियाहरु प्रकृतिजन्य (प्रकृतिवाट उत्पन्न) हुन् । यिनमा पदार्थ पनि उत्पन्न र नष्ट हुने स्वभावका हुन् र क्रियाहरुको पनि आरम्भ र अन्त हुन्छ । अतः यी नित्य रहने स्वभावका होइनन् र तिमी नित्य रहने स्वभावका हौ । तिमी नित्य हुँदा हुँदै पनि अनित्यमा फस्छौ, अनित्यमा आसक्ति र प्रियता गर्छौ । यसो हुँदा केही पनि तिम्रो हात पर्दैन, केवल दुःखै-दुःख पाइरहन्छौ । अतः तिमी आजैदेखि यस्तो विचार गर, 'हामी पदार्थ र क्रियाहरुमा सुख लिंदैनौं ।' यसो गर्न सके तिमीहरु आजै योगारूढ़ हुन सक्छौ; किनकि योग अर्थात् समता तिमीहरुको आफ्नो चीज हो । समता तिम्रो स्वरूप हो र स्वरूप सत् छ । सत् को कहिले अभाव हुँदैन र असत् को कहिले भाव हुँदैन । यसैले सत्-स्वरूप तिमी असत् पदार्थहरु र क्रियाहरुमा आसक्ति गर्दैनौ भने तिमीलाई स्वतःसिद्ध योगारूढ़ अवस्थाको अनुभव हुनेछ । 

हाम्रो मनमा हुने अनेकौं स्फूरणाहरुमा हामीलाई सुखबुद्धि हुने स्फूरणालाई लिएर हामीलाई विचार हुन्छ, ' यस्तो पाइयो भने हामी सुखी हुने थियौं' ।' यसरी स्फूरणामा लिप्तता हुनाले त्यो स्फूरणाको नाम 'संकल्प' हुन्छ । त्यो संकल्प नै अनुकूलता-प्रतिकूलताको कारण सुखदायी र दुःखदायी हुन्छ । सुखदायी संकल्प लिप्तता (राग-द्वेष) गर्छ, दुःखदायी संकल्प पनि लिप्तता गर्छ । त्यसैले दुवै संकल्प बन्धन पार्ने खालका छन् । ती संकल्पवाट हामीलाई हानि सिवाय कुनै लाभ छैन; किनकि संकल्प न त स्वरूपको बोध हुन दिन्छ; न अरुको सेवा गर्न दिन्छ, न भगवानमा प्रेम हुन दिन्छ, न भगवानमा मन लाग्न दिन्छ, न आफ्ना नजीकका कुटुम्बीहरुको अनुकूल नै बन्न दिन्छ । तात्पर्य, आफ्नो संकल्प राख्दा न आफ्नो हित हुन्छ, न संसारको हित हुन्छ, न कुटुम्बीहरुको कुनै सेवा हुन्छ, न भगवानको प्राप्ति हुन्छ र न आफ्नो स्वरूपको बोध नै हुन्छ । यसवाट खालि हानि नै हानि हुन्छ । यस्तो बुझेर साधकहरु संकल्पहरुदेखि रहित हुनु पर्छ ।

मनमा हुने स्फूरणाले संकल्पको रूप धारण नगरे त्यो स्फूरणा स्वतः नष्ट हुन्छ । स्फूरणा मात्रै हुँदा व्यक्तिलाई त्यति हानि र पतन हुँदैन; तर समय त नष्ट भइहाल्छ । त्यसैले स्फूरणा पनि त्याज्य (छोड्नु पर्ने) नै छ । तर संकल्पहरुको त्याग साधकले जरूर गर्नु पर्छ ।कारण, संकल्पको त्याग नगरी अर्थात् मनले भनेको जस्तो गर्न नछोडी साधक योगारूढ़ हुँदैन र योगारूढ़ नभई परमात्माको प्राप्ति हुँदैन, कृतकृत्यता हुँदैन, मनुष्य जन्म सार्थक हुँदैन, भगवानमा प्रेम हुँदैन, दुःखहरुको पूर्णतया नष्ट हुँदैन । 

दोस्रो श्लोकमा भगवान व्यतिरेक-रीतिले भन्नुहुन्छ, संकल्पहरु नछोडी कुनै पनि मनुष्य योगी हुँदैन र यहाँ अन्वय-रीतिले भन्नुहुन्छ, संकल्पहरू छोडे मनुष्य योगारूढ़ हुन्छ । यसको तात्पर्य, साधकले कुनै पनि प्रकारको संकल्प राख्नु हुँदैन । 

संकल्पहरु त्याग्ने उपाय: (१) भगवानले हाम्रोलागि आफ्नो तर्फवाट अन्तिम जन्म (मनुष्यजन्म) दिनु भएको छ, कि तिमी यो जन्मले आफ्नो उद्धार गर भनेर। अतः हामीले मनुष्य-जन्मको अमूल्य, मुक्तिदायक समयलाई निरर्थक संकल्पहरुमा वरवाद गर्नु हुन्न भन्ने विचार गरेर संकल्पहरु हटाउनु पर्छ । 

(२) कर्मयोगको साधकले आफ्नो कर्तव्य पालन गर्ने हो । कर्तव्यको सम्बन्ध वर्तमानसँग छ, भूत-भविष्यत् कालसँग छैन । तर संकल्प-विकल्प भूत र भविष्यत् कालका  हुन्छन्, वर्तमानको हुँदैन । अतः साधकले आफ्नो कर्तव्यको त्याग गरेर भूत-भविष्यत् कालका संकल्प-विकल्पहरुमा फस्नु हुन्न, आसक्तिरहित भएर कर्तव्य-कर्ममा लागिरहनु पर्छ । 

(३) ज्ञानयोगको साधकले यो कुरामा दृढ रहनुपर्छ, वास्तवमा सत्ता परमात्मतत्वको मात्रै हो । संकल्पहरुको, संसारको सत्ता नै छैन । यसैले कुनै संकल्प भयो भने त्योसँग उदासीन रहने; त्यसमा राग पनि नगर्ने, द्वेष पनि नगर्ने । 

(४) भक्तियोगको साधकले विचार गर्नु पर्छ, मनमा आउने जति संकल्प धेरै जसो भूतकालका हुन्छन्, जुन अहिले छैन अथवा भविष्यत् कालका हुन्छन्, जुन पछि आउने होलान्, तर अहिले छैनन् । अतः अहिले नभएको चिन्तनमा समय वरवाद गर्नु र अहिले भएको, आफूमा भएको र आफ्नो भगवानको चिन्तन नगर्नु कति ठूलो गल्ति हो । यस्तो विचार गरेर संकल्पको त्याग गर्नुपर्छ हामीले ।             
   
सिद्धि-असिद्धिमा सम रहनु 'योग' हो । यो योग अर्थात् समतामा आरूढ़ हुनु, स्थित हुनु नै योगारूढ़ हुनु हो । योगारूढ़ भएपछि परमात्माको प्राप्ति हुन्छ । 

यही अध्यायको दोस्रो श्लोकमा भगवानले भन्नुभएको थियो, संकल्पको त्याग नगरी कुनै पनि योग सिद्ध हुँदैन र यहाँ भन्नुहुन्छ, संकल्पहरुको सर्वथा त्याग गरिदिए व्यक्ति योगारूढ़ हुन्छ । यसवाट सिद्ध हुन्छ, सबै किसिमका योगहरुद्वारा योगारूढ़ अवस्था प्राप्त हुन्छ । यो प्रकरण कर्मयोगको हो, तर संकल्पहरु पूर्णतः त्याग्न सके योगारूढ़ अवस्थामा सबै एक नै हुन्छन् ।      

योगारूढ़ व्यक्ति कसरी चिन्ने ? यसकोलागि यहाँ तीन कुराहरु वताइयो -- पदार्थहरु (वस्तुहरु तथा व्यक्तिहरु) मा आसक्ति नहुनु, क्रियाहरुमा आसक्ति नहुनु र सम्पूर्ण संकल्पहरुको त्याग हुनु अर्थात् मनले भनेको गर्ने इच्छाको त्याग हुनु । तात्पर्य, इन्द्रियहरुका भोगहरुमा र क्रियाहरुमा आसक्ति नहोस् तथा भित्रैदेखि यो आग्रह पनि नहोस् कि यस्तो हुनु पर्छ, यस्तो हुनुहुँदैन भन्ने । पदार्थहरुमा आसक्ति नभएको, पदार्थहरुको अभावमा पनि आसक्ति नभएको, क्रियाहरुमा आसक्ति नभएको, क्रियाहरुको अभावमा पनि आसक्ति नभएको तथा कुनै संकल्प नभएको व्यक्ति 'योगारूढ़' हो । अर्को शब्दमा, पदार्थ मिलोस् या नमिलोस्, व्यक्ति मिलून् या नमिलून्, क्रिया होस् या नहोस् -- यसको कुनै आग्रह हुनु हुँदैन । 

साधकले विचार गर्नु छ, सँधै हामीसँग रहने र हामी सँधै त्योसँग रहन सक्ने वस्तु कुन होला ? सँधै हामीसँग रहने र हामी सँधै त्योसँग रहने व्यक्ति कुन होला ? हामीले सँधै गरिरहने र हामीवाट सँधै भैरहने क्रिया कुन होला ? सँधैकोलागि हामीसँग न कुनै वस्तु रहला, न कुनै व्यक्ति रहला, न कुनै क्रिया रहला । एक दिन हामीलाई वस्तु, व्यक्ति र क्रियादेखि रहित हुनु नै पर्ला । यदि हामीले वर्तमानमा नै ती वस्तु, व्यक्ति र क्रियासँग रहित हुन सक्यौं भने, अथवा अहिले नै तिनको वियोग स्वीकार गर्यौं भने, तिनसँग असंग भयौं भने जीवन्मुक्ति स्वतःसिद्ध छ । अर्को शब्दमा, वस्तु, व्यक्ति र क्रियाको संयोग अनित्य छ, तर वियोग नित्य छ । नित्य स्वीकार गरे नित्य-तत्वको प्राप्ति हुन्छ र कुनै अभाव शेष रहँदैन ।

इन्द्रियहरुका भोगहरुमा र कर्महरुमा आसक्ति नहुने भनेको -- कामनारहित र कर्तृत्वरहित हुने । इन्द्रियहरु पदार्थहरुमा, भोगहरुमा आसक्त नभए साधक कामनारहित हुन्छ र क्रियाहरुमा आसक्त नभए ऊ  कर्तृत्वरहित हुन्छ । कामनारहित र कर्तृत्वरहित भएपछि स्वरूपमा स्वतः स्थिति हुन्छ । वास्तवमा स्थिति हुने होइन, स्थिति छ । परन्तु कामनारहित र कर्तृत्वरहित नभएकोले यसको अनुभव हुँदैन । कामना र कर्तृत्वको अभाव भएपछि स्वरूपमा स्वतःसिद्ध स्थितिको अनुभव हुन्छ । 

साधकले काम गर्दा शरीरलाई काममा लिने र काम सकिने वित्तिकै त्यसलाई जस्ता को तस्तै राखिदिने अर्थात् शरीरवाट सर्वथा असंग हुने । यसरी प्रत्येक क्रियापछि साधकको स्थिति योग (समता)मा हुन्छ । यदि क्रियासँग पूरै सम्बन्ध-विच्छेद भयो भने ऊ योगारूढ़ हुन्छ । 

क्रिया (भोग) र पदार्थ (ऐश्वर्य)को आसक्तिले पतन हुन्छ । यसैले क्रियामा आसक्ति नहोस् र न फलमा नै आसक्ति होस् । संकल्पजन्य सुखको भोग पनि नहोस् अर्थात् संकल्पपूर्तिको सुख पनि नलिइयोस् । आफ्नो मुक्तिको पनि संकल्प नहोस्; किनकि मुक्तिको संकल्पले बन्धनको सत्ता दृढ हुन्छ । अतः कुनै पनि संकल्प नगरेर उदासीन रहने । 

No comments:

Post a Comment