Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 27: श्लोक २५ सबै भन्दा मुख्य कुरो, परमात्मा सबै ठाउँमा परिपूर्ण हुनुहुन्छ ।

No. 180


२५ श्लोकको प्रसंगमा लेखिएको ध्यान-सम्बन्धी मार्मिक कुरो ।

सबै भन्दा मुख्य कुरो, परमात्मा सबै ठाउँमा परिपूर्ण हुनुहुन्छ । सबै देशमा, सबै कालमा,सम्पूर्ण वस्तुहरुमा, सम्पूर्ण व्यक्तिहरुमा, सम्पूर्ण घटनाहरुमा र सम्पूर्ण क्रियाहरुमा परमात्मा साकार, निराकार सबै रूपमा सँधै जस्ता-को-तस्तो विराजमान हुनुहुन्छ । परमात्मा सिवाय प्रकृतिमा भएका सबै कार्य परिवर्तनशील छन् । परन्तु परमात्मतत्वमा कहिले किञ्चित् पनि परिवर्तन भएन, हुने छैन र हुन पनि सक्तैन। त्यो परमात्माको ध्यान कसरी गर्ने ? कुनै मनुष्य समुद्रमा पौडी खेल्दा, जहाँसम्म उसको दृष्टि पुग्छ, त्यहाँसम्म धेरै तल उसलाई जल-नै-जल देखिन्छ । तल हेर्दा पनि जलै जल देखिन्छ, माथि हेर्दा पनि जलै जल देखिन्छ, चारैतिर जलै जल परिपूर्ण छ । यसरी आफूलाई एक ठाउँमा मानेको अवस्थामा ऊभित्र पनि परमात्मा छ, वाहिर पनि परमात्मा छ, तल पनि परमात्मा छ, चारैतिर परमात्मा नै परमात्मा छ । हाम्रो शरीरको कण कणमा परमात्मा छ । त्यो परमात्मा पाउनु नै सम्पूर्ण मनुष्यको ध्येय र त्यो ध्येय नित्य निरन्तर प्राप्त छ । त्यो परमात्मतत्वदेखि कोही कहिले टाढा हुनै सक्तैन । केवल हाम्रो दृष्टि विनाशी पदार्थहरुतिर रहनाले त्यो सदा, परिपूर्ण, निर्विकार, सम, शान्त रहने परमात्मतत्व देखिंदैन ।

हाम्रो दृष्टि, लक्ष सबै ठाउँमा जस्ता-को-तस्तो परिपूर्ण परमात्मामा भयो भने हामीलाई ध्यान स्वतः लाग्नेछ, ध्यान गर्नु पर्दैन । जस्तो हामी पृथ्वीमा छौं भने हाम्रो भित्र-वाहिर, माथि र चारैतिर आकाश-नै-आकाश छ; तर हाम्रो लक्ष, ध्यान त्यतातिर जाँदैन । वास्तवमा हामी आकाशमा नै रहन्छौं, आकाशमा नै हिंडछौं, आकाशमा नै फिर्छौँ, खान्छौं, पिउँछौं, सुत्छौँ, उठ्छौं । आकाशमा नै हामी सबै काम गरिरहेछौं । परन्तु आकाशतिर ध्यान नहुँदा यो कुरा थाहा नभएको हो । आकाश छ, त्यसमा वादल हुन्छ, वर्षा हुन्छ, त्यसमा सूर्य, चन्द्रमा, नक्षत्र देखिंदा मात्रै हामीलाई आकाशतिर ध्यान जान्छ, नत्र जाँदैन । आकाशतिर ध्यान नहुँदा पनि हाम्रा सबै क्रियाहरु आकाशमा नै हुन्छन् । त्यस्तै, त्यो परमात्मतत्वतिर ध्यान नहुँदा पनि हाम्रा सम्पूर्ण क्रियाहरु त्यही परमात्मामा नै भइरहेछन् । यसैले गीता भन्छ -- धैर्ययुक्त बुद्धिले विस्तारै विस्तारै (संसारवाट) उपराम  हुनु । संसारको कुनै पनि कुरा मनमा आयो भने त्यसवाट उपराम हुने । साधकवाट यो भूल हुन्छ, उसले परमात्माको ध्यान गर्दा, सांसारिक वस्तु सम्झंदा त्यसको विरोध गर्छ । विरोध गर्दा पनि वस्तुको आफूसँग सम्बन्ध रहन्छ र त्यो वस्तुमा राग गर्यो भने त्यो वस्तुसँग सम्बन्ध वनिरहन्छ । अतः न त्यसलाई विरोध गर्ने र न त्यसको राग गर्ने । ती सबैको उपेक्षा गर्ने, त्यसवाट उदासीन हुने, वेपर्वाह हुने । संसारको याद आयो भने आयो, आएन भने आएन -- यो वेपर्वाहीले संसारसँग सम्बन्ध नजोडिने हो । अतः भगवान भन्नुहुन्छ, संसारसँग उदासीन मात्रै हुने होइन, उपराम पनि हुने । 

उत्पन्न हुने हरेक वस्तु नष्ट हुन्छ -- यो नियम हो । त्यसैले संसारको सबै संकल्प-विकल्पहरु नष्ट भइरहेछन् । यसैले ती वस्तुहरु रोक्ने चेष्टा (कोशीश) गर्नु नै गल्ती हो र नष्ट गर्ने उद्योग गर्नु पनि गल्ती हो । संसारमा धेरै चीजहरु उत्पन्न र नष्ट हुन्छन्, तर तिनको पाप हामीलाई लाग्दैन, किनकि तिनीहरुसँग हाम्रो कुनै सम्बन्ध छैन । त्यस्तै, मनमा संकल्प-विकल्प आए, संसारको चिन्तन भए पनि तिनसँग हाम्रो कुनै सम्बन्ध छैन । न त याद आउने वस्तुसँग हाम्रो सम्बन्ध छ र न मनमा याद नआउने वस्तुसँग छ । हाम्रो सम्बन्ध सबै ठाउँमा परिपूर्ण परमात्मासंग छ । यही कारण उत्पन्न र नष्ट हुने संकल्प-विकल्पसँग के राग गर्नु, के द्वेष गर्नु ? यो त उत्पत्ति र विनाशको एक प्रवाह हो । यही कारण यिनीहरुसँग उपराम हुने, विमुख हुने, यसको कुनै परवाह नगर्ने ।

परमात्मा नै परमात्मा परिपूर्ण हुनुहुन्छ । हामीले आफ्नो व्यक्तित्व पक्डंदा 'म छु' भन्ने देखिन्छ । यो व्यक्तित्व 'म-पन' पनि जे अन्तर्गत छ, त्यस्तो अपार, असीम, सम, शान्त, सद्घन, चिद्घन, आनन्दघन परमात्मा हुनुहुन्छ । सम्पूर्ण पदार्थ, क्रियाहरु पनि एक प्रकाशक अन्तर्गत छन् । त्यो प्रकाशको सम्बन्ध यदि कसैसँग छ भने खालि वस्तुहरु, क्रियाहरु र व्यक्तिहरुसँग छ र छैन भने कसैसँग पनि छैन । प्रकाश आफ्नो ठाउँमा जस्ता-को-तस्तो स्थित छ । त्यो प्रकाशमा कति वस्तु आई-गई रहन्छन्, कति क्रियाहरु भइरहन्छन्; तर प्रकाशमा केही फरक पर्दैन । त्यस्तै, प्रकाशस्वरूप परमात्मामासँग कुनै पनि वस्तु, क्रिया आदिको कुनै सम्बन्ध छैन । सम्बन्ध छ भने सम्पूर्णसँग छ, छैन भने कसैसँग पनि छैन । यी वस्तु, क्रिया आदि सबै उत्पत्ति-विनाशी छन् र त्यो परमात्मा अनुत्पन्न तत्व छ । त्यो परमात्मामा स्थित भएर केही पनि चिन्तन नगर्ने । 

एक चिन्तन 'गरिन्छ', एक चिन्तन 'हुन्छ' । आफूले चिन्तन नगर्ने र केही गरी चिन्तन भइहाल्यो  भने पनि त्यो चिन्तनसँग आफ्नो सम्बन्ध नजोड़ने, तटस्थ रहने । वास्तवमा हामी तटस्थ नै छौं; किनकि संकल्प-विकल्प नष्ट हुन्छन्, तर हामी रहन्छौं । यसैले रहिरहने स्वरूपमा नै रहने र संकल्प-विकल्पको उपेक्षा गर्ने । त्यसो गर्न सके ती (संकल्प-विकल्प) हामीमा लागु हुँदैनन् । साधक यस्तो गल्ती गर्छ, उसलाई संसारको याद आउँदा ऊ त्यसको द्वेष गर्छ 'यसलाई हटाऊ, यसलाई मेटाउ' भनेर । यसो गर्दा संसारसँग अझ सम्बन्ध जोडिन्छ । यसैले यसलाई (संकल्प-विकल्प) हटाउने  कुनै उद्योग नगर्ने, वरु यस्तो विचार गर्ने, तिनमा पनि परमात्मतत्व ओतप्रोत छ । जलमा वरफको डल्लो हालिदिए बरफ पनि जलै हो र जल पनि जलै हो र उसको वाहिर पनि जल छ । यस्तै संकल्प-विकल्प जे सुकै आऊन्, ती पनि परमात्मा नै अन्तर्गत छन् र संकल्प-विकल्पको पनि अन्तर्गत परमात्मा-नै-परमात्मा परिपूर्ण छ । समुद्रमा ठूला ठूला लहरहरु  उठ्छन् । एउटा लहर पछि अर्को लहर आउँछ । ती लहरहरुमा पनि जल नै जल छ । देखिंदा लहर छुट्टै देखिन्छ, तर जल सिवाय लहर केही  छैन । यस्तै संकल्प-विकल्पमा परमात्मतत्व सिवाय कुनै तत्व छैन, कुनै वस्तु छैन । 

मानौं, अहिले कुनै पुरानो घटना याद आयो भने त्यो घटना पहिले भएको थियो, अव त्यो घटना छैन ।व्यक्ति जवर्जस्ती त्यो घटना सम्झेर के गरौँ, मन लाग्दैन भनेर  डराउँछ । तर उसले परमात्माको ध्यान गर्दा आउने अनेक तरहका पुराना कुराहरुको याद, पुराना संस्कार नष्ट हुन प्रकट हुन्छन् । परन्तु साधक यो कुरा नबुझेर तिनलाई सत्ता दिएर अरु वलियो वनाउँछ । त्यसैले ध्यान गरेको वेला यस्ता कुराको उपेक्षा गर्नु पर्छ । तिनलाई न राम्रो सम्झने र न नराम्रो नै सम्झने । त्यसो गर्दा तिनीहरु जसरी उत्पन्न हुन्छन्, त्यसै गरी नष्ट हुन्छन् । हाम्रो सम्बन्ध परमात्मासँग छ । हामी परमात्माको र परमात्मा हामो हो । सबै ठाउँमा परिपूर्ण त्यो परमात्मामा हाम्रो स्थिति सबै समयमा छ भन्ने मानेर चुप हुने । आफ्नो तर्फवाट केही चिन्तन नगर्ने । आफैं चिन्तन भयो भने पनि त्योसँग सम्बन्ध नाजोड़ने । त्यसपछि वृत्तिहरु आफैं शान्त हुन्छन् र परमात्माको ध्यान स्वतः हुनेछ । कारण, वृत्तिहरु आउने-जाने हुन् र परमात्मा सँधै रहने हो । स्वतःसिद्धमा के गर्नु पर्छ ? केही गर्नु नै छैन । साधकले 'म ध्यान गर्छु, म चिन्तन गर्छु' भन्नु नै गल्ती हो । सबै ठाउँमा परमात्मा मात्रै छ भने के चिन्तन गर्ने, के ध्यान गर्ने ! समुद्रमा लहरहरु हुन्छन्, तर जल-तत्वमा न लहरहरु छन्, न समुद्र छ । यसै गरी परमात्मतत्वमा न संसार छ, न आकृति छ, न आउनु-जानु छ । त्यो परमात्मतत्व परिपूर्ण छ, सम छ, शान्त छ, निर्विकार छ, स्वतःसिद्ध छ । त्यसको चिन्तन गर्नु पर्दैन । त्यसको चिन्तन के गर्ने ? त्यसमा त हाम्रो स्थिति स्वतः छ, हर समय छ । व्यवहार गर्दा पनि त्यो परमात्मासंग हामी छुट्टै छैनौं, प्रत्युत निरन्तर त्यसमा रहन्छौं । व्यवहारी वस्तुहरुलाई आदर दिंदा नै विक्षेप हुने हो । एकान्तमा वस्यो, केही कुरा याद आयो भने विक्षेप हुन्छ । वास्तवमा विक्षेप त्यो कुराले हुँदैन । त्यो कुरालाई सत्ता र महत्ता दिएर नै विक्षेप हुन्छ ।

आकाशमा वादल आउने र शान्त हुने जस्तै मनमा कति स्फुरणा आउँछन् र शान्त हुन्छन् । आकाशमा कति वादल आउन् या जाउन्, आकाशमा कुनै परिवर्तन हुँदैन, यो जस्ता-को-तस्तो रहन्छ । त्यस्तै ध्यान गर्दा मनमा कुनै कुरा आउन् या नआउन्, परमात्मा जस्ता-को-तस्तो परिपूर्ण रहन्छ । केही याद आयो भने त्यसमा पनि परमात्मा छ र केही याद नआए त्यसमा पनि परमात्मा छ । देख्नमा, सुन्नमा र बुझ्नमा जे जति आउँछन्, ती सबै वाहिर पनि परमात्मा छ र सबै भित्र पनि परमात्मा छ । चर र अचर पनि परमात्मा नै हो । टाढा भन्दा टाढा पनि परमात्मा हो, नजीक भन्दा नजीक पनि परमात्मा हो । परन्तु अत्यन्त सूक्ष्म हुनाले यो हाम्रो बुद्धि अन्तर्गत आउँदैन । यस्तो त्यो परमात्मा सद्घन, चिद्घन, आनन्दघन छ । सबै ठाउँमा पूर्ण आनन्द, अपार आनन्द, सम आनन्द, शान्त आनन्द, घन आनन्द, अचल आनन्द, अटल आनन्द, आनन्द-नै-आनन्द छ । 

एकान्तमा ध्यान गने भन्दा अरु समयमा यस्तो सम्झने, परमात्मा सबैमा परिपूर्ण छ । कार्य गर्दा सावधान भएर परमात्माको सत्ता मान्यौं भने ध्यानको समयमा पनि ठूलो सहायता मिल्नेछ र ध्यानको वेला संकल्प-विकल्पको उपेक्षा गरेर परमात्मामा अटल स्थित रह्यौं भने व्यवहार गर्दा परमात्माको चिन्तनमा वडो सहायता मिल्ने छ । साधक एक दुई घण्टा मात्रै साधक नभई आठै प्रहर साधक हुन्छ । ब्राह्मण आफ्नो ब्राह्मणत्वमा स्थित भए जस्तै समस्त जीव परमात्मामा निरन्तर स्थित रहन्छन् । ब्राह्मण त पैदा हुन्छ, तर परमात्मा पैदा हुँदैन । तर काम-धन्धा गर्दा पदार्थहरु, क्रियाहरु र व्यक्तिहरुतर्फ वृत्ति रहनाले ती सबैमा परिपूर्ण परमात्मा देखिंदैन । यसैले एकान्तमा वसेर ध्यान गर्दा र व्यवहारमा काम गर्दा साधकको दृष्टि सबै देश, काल, वस्तु, व्यक्ति, घटना, क्रिया, आदिमा एक परमात्मतत्व नै जस्ता-को-तस्तो परिपूर्ण छ भन्ने तर्फ रहनु पर्छ । साधकले त्यसैमा स्थित हुने, अरु केही नगर्ने ।

No comments:

Post a Comment