Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 8: श्लोक ८ ज्ञान-विज्ञानले अन्तःकरण तृप्त, कूट जस्तो निर्विकार,

No. 169

श्लोक ८ 

ज्ञान-विज्ञानले अन्तःकरण तृप्त, कूट जस्तो निर्विकार, जितेन्द्रिय र माटोको थुप्रो, पत्थर तथा स्वर्णमा समबुद्धि भएको योगीलाई युक्त (योगारूढ़) भनिन्छ । 

यो कर्मयोगको प्रकरण भएकोले यहाँ कर्म गर्ने जानकारीको नाम 'ज्ञान' हो र कर्महरुको सिद्धि-असिद्धिमा सम रहनेको नाम 'विज्ञान' हो ।

स्थूलशरीरवाट हुने क्रिया, सूक्ष्म शरीरवाट हुने चिन्तन र कारणशरीरवाट हुने समाधि -- यी तीनै आफ़्नोलागि गर्नु 'ज्ञान' होइन । कारण कि क्रिया, चिन्तन, समाधि आदिमा कर्महरुको आरम्भ र समाप्ति हुन्छ तथा ती कर्महरुवाट पाइने फलको पनि आदि र अन्त हुन्छ । परन्तु स्वयं परमात्माको अंश भएकोले नित्य रहन्छ । अतः अनित्य कर्म र फलवाट यो नित्य रहनेलाई के तृप्ति मिल्ला ? जडवाट चेतनलाई के तृप्ति मिल्ला ? हामीलाई यस्तो अनुभव राम्रोसँग हुनु पर्यो, 'कर्मद्वारा मलाई केही पनि प्राप्त हुँदैन' । यस्तो ज्ञान कर्म गर्ने 'ज्ञान' हो । यस्तो हुँदा साधक कर्महरुको पूर्ति-आपूर्तिमा र पदार्थको प्राप्ति र अप्राप्तिमा सम रहनेछ -- यो 'विज्ञान' हो । यो ज्ञान र विज्ञानले युक्त (योगारूढ़) स्वयं तृप्त हुनेछ । त्यसपछि उसकोलागि गर्न, जान्न र मान्न केही वांकी रहँदैन ।

कूट भन्ने यौटा हुन्छ, जसमा फलाम, सुवर्ण, चाँदी अनेक रूपमा निर्माण गरिन्छन्, तर त्यो फलाम जस्ता को तस्तै रहन्छ । यही किसिमले सिद्ध महापुरुषको अगाडि तरह-तरहका परिस्थितिहरु आउँछन्, तर ऊ कूट जस्तो निर्विकार रहन्छ ।

कर्मयोगीको साधकलाई इन्द्रियहरुमा विशेष ध्यान दिनुपर्छ; किनकि कर्म गर्ने प्रवृत्ति भएको कारण कहिं न कहिं उसको राग-द्वेष हुने पूरा सम्भावना रहन्छ । यसैले गीतामा भनिन्छ, कर्मफलको त्यागमा जितेन्द्रियता मुख्य छ । यसरी साधन-अवस्थामा इन्द्रियहरुतिर विशेष ख्याल राख्ने साधक सिद्ध-अवस्थामा स्वतः 'विजितेन्द्रिय' हुन्छ ।

माटोको थुप्रोमा, पत्थरमा र सुवर्णमा सिद्ध कर्मयोगी सम रहन्छ । उसलाई माटोको थुप्रो, पत्थर र सुवर्णको ज्ञान हुँदैन भन्ने हुँदै होइन । उसलाई यो माटोको थुप्रो हो, यो पत्थर हो र यो सुवर्ण हो भन्ने ज्ञान राम्रोसँग हुन्छ, तिनको व्यवहार पनि त्यो व्यक्तिवाट राम्रोसँग हुन्छ पनि अर्थात् ऊ सुवर्णलाई राम्रोसँग ढुकुटीमा राख्छ र माटोको थुप्रोलाई वाहिर नै रहन दिन्छ । यस्तो हुँदा पनि सुवर्ण हरायो भने, धन हरायो भने उसको मनमा कुनै असर पर्दैन । यस्तै, कुनै वेला सुवर्ण पाइए पनि उसमा कुनै असर पर्दैन, अर्थात् ती वस्तु आउँदा-जाँदा, वन्दा-विग्रिंदा उसलाई हर्ष-शोक हुँदैन । यसैलाई समयोगी सम रहन्छ भनेको हो । उसकोलागि पत्थर जस्तो नै सुवर्ण हो, सुवर्ण जस्तो नै माटोको थुप्रो हो र माटोको थुप्रो जस्तै सुवर्ण हो । यही कारण यी वस्तुहरु हराए भने के भयो त ? वस्तुहरु विग्रिए के भयो ? यी कुराहरु लिएर उसको अन्तःकरणमा कुनै विकार पैदा हुँदैन । यी प्राकृत पदार्थहरुको मूल्य त प्रकृतिसँग सम्बन्ध राखी रहँदा देखिन्छ र त्यही वेलासम्म ती वस्तुहरुको राम्रोपन या नराम्रोपनको असर अन्तःकरणमा हुन्छ । तर वास्तविक बोध भएपछि प्रकृतिसँग सम्बन्ध-विच्छेद हुन्छ, त्यसपछि उसको अन्तःकरणमा यी प्राकृत (भौतिक) पदार्थहरुको कुनै मूल्य रहँदैन अर्थात् गतिला-अगतिला सबै पदार्थमा उसको समभाव हुन्छ ।

सार यो भयो, उसको दृष्टि पदार्थहरु उत्पन्न र नष्ट हुने स्वभावमा रहन्छ अर्थात् उसको दृष्टिमा यी प्राकृत पदार्थहरु उत्पन्न र नष्ट हुनुमा कुनै फरक छैन । सुवर्ण उत्पन्न र नष्ट हुन्छ,पत्थर उत्पन्न र नष्ट हुन्छ तथा माटोको थुप्रो पनि उत्पन्न र नष्ट हुन्छ । ती वस्तुको अनित्यतामा दृष्टि रहँदा उसलाई सुवर्ण, पत्थर र माटोमा तत्वले कुनै फरक पर्दैन । यी तिन वस्तुहरुको नाम लिइनुको कारण, यी वस्तुहरुसंगको व्यवहार यथायोग्य नै हुनुपर्छ र यथायोग्य गर्नु नै उचित छ तथा त्यो कर्मयोगी यथायोग्य व्यवहार गर्छ पनि, तर उसको दृष्टि ती वस्तुहरुको विनाशीपनमा नै रहन्छ । तिनमा रहेको समान परिपूर्ण परमात्मतत्व तत्वको स्वतःसिद्ध समता उसमा रहन्छ ।

यस्तो ज्ञान-विज्ञानले तृप्त, निर्विकार, जितेन्द्रिय, र समबुद्धि भएको सिद्ध कर्मयोगीलाई युक्त अर्थात् योगारूढ़ समतामा स्थित भनिन्छ ।       

श्लोक  ९ 

सुहृद, मित्र, वैरी, उदासीन, मध्यस्थ, द्वेश्य र सम्बन्धीहरुमा तथा साधु-आचरण गर्नेहरुमा र पाप-आचरण गर्नेहरुमा पनि समबुद्धि भएको मनुष्य श्रेष्ठ छ ।

आठौँ श्लोकमा पदार्थहरुमा समता वताइयो, अव यो श्लोकमा व्यक्तिहरुमा कर्मयोगीको समता वताउनुहुन्छ भगवान । व्यक्तिहरुमा समता वताउनुको तात्पर्य हो, वस्तु त आफ्नातर्फवाट कुनै क्रिया गर्दैनन्; त्यसैले वस्तुहरुमा समबुद्धि गर्न सजिलो छ, परन्तु व्यक्ति त आफ़्नोलागि र अरुकोलागि पनि क्रिया गर्छ; अतः व्यक्तिमा समबुद्धि हुन गाहारो छ । यही कारण, व्यक्तिहरुको आचरण देखेर पनि जसको बुद्धिमा, विचारमा कुनै विषमता हुँदैन, यस्तो समबुद्धि पुरुष श्रेष्ठ हो ।

माताले जस्तो, तर ममतारहित भएर विना कुनै कारण सबैको हित चाहने र सबैको हित गर्ने स्वभाव भएको व्यक्तिलाई 'सुहृद' भन्छन् र उपकारको वदलामा उपकार गर्नेलाई 'मित्र' भन्छन् । 

सुहृदको विना कारण अरुको हित गर्ने स्वभाव भए जस्तै विना कारण अरुलाई अहित गर्ने स्वभाव भएको व्यक्तिलाई 'अरि' भन्छन् । आफ्नो स्वार्थले अथवा अन्य कुनै कारणविशेषले अरुलाई अहित, अपकार गर्ने व्यक्ति 'दवेष्य' हुन्छ । 

दुई व्यक्ति आपसमा विवाद गरिरहेको वेला तिनीहरुलाई देख्दा तटस्थ रहने, अलिकति पनि कसैको पक्षपात नगर्ने, आफ्नोतर्फवाट केही पनि नभन्ने व्यक्ति 'उदासीन' भनिन्छ । परन्तु ती दुई वीच लडाई नहोस् र दुबैको हित होस् भन्ने व्यक्ति 'मध्यस्थ' भनिन्छ । 

एउटा बन्धु अर्थात् सम्बन्धी छ र अर्को बन्धु छैन, तर दुवैसँग व्यवहार गर्दा  उसको मनमा कुनै विषम भाव हुँदैन । जस्तो, कुनै व्यक्तिको छोरोले अथवा अरु कसैको छोरोले कुनै खराव काम गर्यो भने त्यस्तोमा समबुद्धि भएको व्यक्ति तिनीहरुको अपराध अनुसार समान दण्ड दिन्छ, त्यस्तै उसको छोरोले अथवा अरुको छोरोले कुनै राम्रो काम गर्यो भने तिनलाई पुरस्कार दिनमा पनि उसको कुनै पक्षपात हुँदैन । 

श्रेष्ठ आचरण गर्नेसँग र पाप-आचरण गर्नेसँग व्यवहार गर्दा अन्तर त हुन्छ र अन्तर हुनु पनि पर्छ, तर ती दुबैको हितैषितामा अर्थात् उनीहरुको हित गर्न, दुःख परेको वेला सहायता गर्न उसको अन्तःकरणमा कुनै विषमभाव, पक्षपात हुँदैन । 'सबैमा उही परमात्मा हुनुहुन्छ' भन्ने भाव स्वयंमा हुन्छ, बुद्धिमा सबैकोलागि हितैषिता हुन्छ, र व्यवहारमा परता-ममता छोडेर सबैको सुखको सम्पादन हुन्छ ।

विषमबुद्धि धेरै रहेको सम्भावना रहेको ठाउँमा पनि समबुद्धि विशेष हुनु पर्छ । त्यस्तो अवस्थामा समबुद्धि भए सबै ठाउँमा समबुद्धि भैहाल्छ । 

यो श्लोकमा भाव, गुण, आचरण आदि भिन्नतालाई लिएर नौ प्रकारका प्राणीहरुको नाम आएको छ । यी प्राणीहरुका भाव, गुण, आचरण आदि भिन्नतालाई लिएर तिनीहरुसँग व्यवहार गर्दा विषमता आयो भने त्यो विषमता दोषी छैन । कारण कि व्यवहार त उनीहरुको भाव, आचरण, परिस्थिति आदि अनुसार नै हो उनीहरुकोलागि नै हो, आफ़्नोलागि होइन । परन्तु परमात्मा सबैमा परिपूर्ण हुनुहुन्छ -- यो भावमा कुनै फरक पर्नु हुँदैन र आफ्नो तर्फवाट सबैको सेवा वनोस् -- यो भावमा पनि कुनै अन्तर आउनु हुँदैन । 

तात्पर्य, जुन मार्गवाट भए पनि तत्वबोध हुने साधकलाई सबै ठाउँमा समबुद्धि हुन्छ अर्थात् कुनै पनि ठाउँमा पक्षपात नभएर समान रीतिले सेवा र हितको भाव रहन्छ । भगवान सम्पूर्ण प्राणीहरुको सुहृद भए जस्तै त्यो सिद्ध कर्मयोगी पनि सम्पूर्ण प्राणीहरुको सुहृद हुन्छ ।

यहाँ सुहृद, मित्र, आदि नाम लिएपछि अन्तमा साधु र पापी भनेको तात्पर्य, श्रेष्ठ आचरण भएका र निकृष्ट आचरण भएका दुवै थरीमा समबुद्धि भएको कर्मयोगीमा सर्वत्र समबुद्धि हुन्छ । कारण, संसारमा नै आचरणहरुको मुख्यता छ, संसारमा आचरणहरुको नै असर पर्छ, आचरणहरुवाट नै मनुष्यको परीक्षा हुन्छ, आचरणहरुले नै श्रद्धा-अश्रद्धा हुन्छ, स्वाभाविक दृष्टि आचरणहरुमा नै पर्छ र आचरणहरुवाट नै सद्भाव-दुर्भाव पैदा हुन्छन् । भगवानले पनि गीताको तेस्रो अध्यायमा आचरणलाई मुख्य भन्नुभएको छ । यसैले श्रेष्ठ आचरण भएका र निकृष्ट आचरण भएकामा समता भयो भने सबै ठाउँमा समता हुन्छ, यी दुईमा पनि श्रेष्ठ आचरण भएका पुरुषहरुमा सद्भाव हुन सजिलो छ, तर पाप आचरण भएका पुरुषहरुमा सद्भाव हुन गाहारो छ ।

यहाँ देखिनेहरु भन्दा देख्नेहरुको स्थितिको वर्णन छ; अतः समबुद्धि भएका व्यक्तिहरुलाई  श्रेष्ठ भनिएको हो । देख्नेहरुमा भएको समबुद्धि हरेकलाई देखिंदैन, तर साधककोलागि त त्यही मुख्य छ; किनकि साधक 'म आफ्नो दृष्टिले कस्तो छु' भनेर आफूले आफैंलाई हेर्छ । यसैले आफैंले आफैंलाई उद्धार गर्नकोलागि भनिएको हो ।

संसारमा प्रायः अरुको आचरणहरुमा नै दृष्टि रहन्छ । साधकले विचार गर्नु पर्छ, 'मेरो दृष्टि आफ्नो भावहरुमा रहन्छ कि अरुको आचरणमा ?' अरुको आचरणहरुमा दृष्टि रहँदा आफ्नो कल्याण हुनु पर्ने दृष्टि बन्द हुन्छ र अँध्यारो हुन्छ । यसैले अरुको श्रेष्ठ र निकृष्ट आचरणहरुमा दृष्टि नरहेर उनीहरुको वास्तविक स्वरूपमा दृष्टि रहनु पर्छ । स्वरूपमा दृष्टि रहँदा उनीहरुको आचरणहरुमा दृष्टि रहँदैन; किनकि स्वरूप सदा जस्ता-को-तस्तो रहन्छ, तर आचरण वदलिइरहन्छन् । सत्य-तत्वमा रहने दृष्टि पनि सत्य हुन्छ । परन्तु केवल आचरणहरुमा दृष्टि रहने व्यक्तिको दृष्टि असत् मा रहने हुँदा असत् नै हुन्छ । यसमा पनि अशुद्ध आचरणहरुमा वढी दृष्टि भएकाहरुको त पतन नै सम्झनु पर्छ । तात्पर्य, आदरणीय आचरणहरुलाई मुख्यता दिने व्यक्ति त आफ्नो पतन नै गर्छ । अतः यहाँ भगवानले अशुद्ध आचरण गर्ने पापीमा पनि समबुद्धि भएकालाई श्रेष्ठ वताउनु भएको छ । कारण, उसको दृष्टि सत्य-तत्वमा रहेकोले उसको दृष्टिमा सबै परमात्मा नै रहन्छ । त्यसपछि अलि अघि वढेपछि 'सबै' पनि रहँदैन, केवल परमात्मतत्व नै रहन्छ । 

गीताको योग समता नै हो । गीताको दृष्टिले यदि समता आयो भने अरु कुनै लक्षणको जरुरत छैन अर्थात् वास्तविक समता प्राप्त भएको व्यक्तिमा सबै सद्गुण- सदाचार स्वतः आउँछन्, उसको संसारमाथि विजय हुन्छ । विष्णुपुराणमा प्रह्लादजीले समता भगवानको आराधना हो भनेका छन् । यो समताको असीम, अपार र अनन्त महिमा छ, यो समताको वर्णन कहिले पनि कोही पनि गर्न सक्तैन । यो समताको प्राप्तिको उपाय हो -- खरावीरहित हुने । खरावीरहित हुने उपाय हो -- (१) कसैलाई खराव नमान्ने, (२) कसैको खरावी नगर्ने, (३) कसैको खराव नसोच्ने, (४) कसैको खरावी नदेख्ने, (५) कसैको खरावी नसुन्ने, (६) कसैको खरावी नभन्ने । यी छ कुराहरु दृढताले पालन गरे हामी खरावीरहित हुन्छौं । खरावीरहित हुने वित्तिकै हामीमा स्वतःस्वाभाविक असलपना आउँछ; किनकि असलपना हाम्रो स्वरूप हो ।

असलपना ल्याउन हामी प्रयत्न गर्छौं, साधन गर्छौं; परन्तु वर्षौंसम्म साधन गर्दा पनि वास्तविक असलपना हामीमा आउँदैन र साधक आफैंलाई सन्तोष हुँदैन । उसलाई अझ विचार हुन्छ, 'यति साधन गर्दा पनि ममा सद्गुण-सदाचार आएनन् ।' अतः यी सद्गुण-सदाचार आउँदै आउँदैनन् भनेर हामी हताश पनि हुन्छौं । हामी हताश हुने मुख्य कारण हो, हामीले असलपनालाई उद्योगसाध्य मानेका छौँ र खरावीलाई पूर्णरूपले छोडेका छैनौं । खरावीलाई पूरापूर नछोडी आंशिक असलपनाले खरावीलाइ वल दिइरहन्छ । कारण, आंशिक असलपनाले असलपनाको अभिमान हुन्छ र सबै खरावीहरु असलपनाको अभिमानमा नै टिकेका छन् । पूर्ण असलपना भएपछि असलपनाको अभिमान हुँदैन र खरावी पनि हुँदैनन् । अतः खरावीको त्याग गर्यो भने असलपना कुनै उद्योग नगरी र खोज्दै नखोजी स्वतः आउँछ । हामीमा असलपना आएपछि मात्रै हामी असल हुन्छौं । हामी असल भएपछि हामीद्वारा स्वाभाविक नै असल काम हुन थाल्छन् । असल काम हुन लागेपछि सृष्टिद्वारा स्वाभाविक नै हाम्रो जीवन-निर्वाह हुन थाल्छ अर्थात् जीवन-निर्वाहकोलागि हामीलाई परिश्रम गर्नु पर्दैन र अरुको आश्रय पनि लिनु पर्दैन ।यस्तो अवस्थामा हामी संसारको आश्रयसँग पूर्ण मुक्त हुन्छौं । संसारको आश्रयवाट मुक्त हुने वित्तिकै हामीलाई समता प्राप्त हुन्छ र हामी कृतकृत्य हुन्छौं, जीवन्मुक्त हुन्छौं ।

समताको बिभाग अलग छ र विषमताको बिभाग अलग छ । परमात्मतत्व सम छ र संसार विषम छ । सिद्ध कर्मयोगीको विषम व्यवहारमा पनि समबुद्धि रहन्छ । व्यवहारमा कहिले पनि एकता हुन नसक्ने, एकता गर्न पनि नहुने र एकता गर्न पनि नसकिने माटोको थुप्रो, पत्थर तथा सुवर्ण र सुहृद, मित्र, वैरी, उदासीन, मध्यस्थ, द्वेश्य, साधु तथा पापी व्यक्तिहरुमा पनि उसको समबुद्धि रहन्छ । कारण, उसलाई 'एक परमात्मा सिवाय अरु केही छैन' भन्ने अनुभव भएको हुन्छ ।

सुवर्णवाट वनेको विष्णुभगवानको मूर्ति र सुवर्णले नै वनेको कुकुरको मूर्ति छ भने तौलमा वरावर भएको कारण दुबैको मूल्य वरावर नै हुन्छ । विष्णुभगवान परमपूज्य हुनुहुन्छ र कुकुर नीच (अस्पृश्य) एवं अपूज्य छ -- यसरी वाहिरी रूपलाई हेर्दा त धेरै फरक छ, तर स्वर्णलाई हेर्दा दुबैमा कुनै फरक छैन । यसै तरह संसारमा कोही मित्र छन्, कोही शत्रु छन्; कोही महात्मा छ, कोही दुरात्मा छ; कोही राम्रो छ, कोही मद्दा छ; कोही सज्जन छ, कोही दुर्जन छ; कोही सदाचारी छ, कोही दुराचारी छ; कोही धर्मात्मा छ, कोही पापी छ; कोही विद्वान् छ, कोही मूर्ख छ -- यी सबै भेद वाहिरी दृष्टिले छन्, तर तत्वले हेर्दा सबै भगवान नै हुन् । एक भगवान नै अनन्त रुपहरुमा प्रकट हुनुभएको छ । जानकार मनुष्य उहाँलाई चिन्छ, अर्को चिन्न सक्तैन ।

पाँचौं अध्यायमा कर्मयोगी श्रेष्ठ छ भनिएको थियो, त्यही कुरो यहाँ समबुद्धि श्रेष्ठ छ भन्ने भयो । समबुद्धिवाला मनुष्य निर्लिप्त रहन्छ । निर्लिप्त रहँदा 'योग' हुन्छ, लिप्तता हुने वित्तिकै 'भोग' हुन्छ । समबुद्धि तीनै योगहरुमा (कर्मयोग, ज्ञानयोग र भक्तियोग) छ, तर कर्मयोगमा विशेष छ; कर्मयोग भौतिक साधना भएकोले यसमा विषमता धेरै आउँछ । 

No comments:

Post a Comment