Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 30: श्लोक ३० सबैमा मलाई देख्ने र ममा सबैलाई देख्ने भक्तलाई म अदृश्य हुन्न र ऊ पनि मेरोलागि अदृश्य

No. 184 

श्लोक ३०
  
सबैमा मलाई देख्ने र ममा सबैलाई देख्ने भक्तलाई म अदृश्य हुन्न र ऊ पनि मेरोलागि अदृश्य हुँदैन ।

सबै देश, काल, वस्तु, व्यक्ति, पशु, पक्षी देवता, यक्ष, राक्षस, पदार्थ, परिस्थिति, घटनामा भक्तले मलाई  देख्छ । जस्तो, ब्रह्माजीले वाछा, र गोठालाहरु चोरेर लगेपछि भगवान श्रीकृष्ण स्वयं नै वाछा र गोठालाहरु वन्नु भयो । वाछा र गोठाला मात्र होइन, तिनीहरुको वेत, सींग, बाँसुरी, वस्त्र, आभूषण आदि पनि भगवान स्वयं नै बन्नुभयो । यो लीला एक वर्षसम्म चलिरह्यो, तर कसैलाई यो कुरा थाहा भएन । वाछाहरुमा पनि कुनै वाछा त केवल दूध मात्रै पिउने थिए, त्यसैले उनीहरु घरमा नै रहने खालका थिए र ठूला वाछाहरुलाई भगवान श्रीकृष्ण आफूसँग वनमा लैजानु हुन्थ्यो । एक दिन वलरामजीले देख्नु भयो, साना वाछाका गाईहरु पनि आफ्ना पहिलेका (ठूला) वाछाहरु देखेर उनीहरुलाई दूध पिलाउन हुंकार मार्दै दौडेर आए । ठूला गोपीहरुले ती गाईहरुलाई धेरै रोके, तर तिनीहरु रोकिएनन् । यस्तो देख्दा ती गोपीहरुलाई ती गाईसँग धेरै रिस उठ्यो । तर ती गोपीहरुले ती आफ्ना आफ्ना छोराहरुलाई देख्दा उनीहरुको रिस शान्त भयो र तिनीहरुप्रति स्नेह उमडिएर आयो । उनीहरुले ती वालकहरुलाई अँगालो मारे र तिनीहरुको टाउको सुँघ्न लागे । यो लीला देखेर वलरामजीले यसको रहस्य के हो भनेर सोच्नु भयो । उहाँले ध्यान लगाएर हेर्दा ती वाछाहरु र गोठालाहरुलाई भगवान श्रीकृष्ण नै देख्नु भयो । यस्तै भगवानको सिद्ध भक्त सबै ठाउँमा भगवानलाई नै देख्छ अर्थात् उसको दृष्टिमा भगवतसत्ता सिवाय अर्को सत्ता किञ्चित् पनि रहँदैन ।            

भक्तले देश, काल, वस्तु, व्यक्ति, घटना, परिस्थिति आदिलाई मेरै अन्तर्गत देख्छ । जस्तो, गीताको उपदेश दिने वेला अर्जुनद्वारा भएको प्रार्थना अनुरूप आफ्नो विश्वरुप देखाउँदै भगवान भन्नु हुन्छ, 'चराचर सारा संसारलाई मेरो एक अंशमा स्थित भएको हेर।' त्यस्तै अर्जुन पनि भन्छन्, 'म हजुरको शरीरमा सम्पूर्ण प्राणीहरु देखिरहेछु ।' संजयले पनि भने कि अर्जुनले भगवानको शरीरमा सारा संसार नै देखे । तात्पर्य, अर्जुनले भगवानको शरीरमा सबै भगवतस्वरूप नै देखे । त्यस्तै, भक्त देख्ने, सुन्ने, समझमा आउने जे सुकैमा भगवान नै देख्छ र भगवतस्वरूप नै देख्छ ।

भगवान भन्नुहुन्छ -- भक्तले सबै ठाउँमा मलाई नै देख्छ भने म उसवाट कसरी लुकौं, कहाँ लुकौं र कसको पछाडि लुकौं ?  यही कारण, म भक्तकोलागि अदृश्य रहन्न अर्थात् निरन्तर उसको अगाडि नै रहन्छु । 

भक्त भगवानलाई सबै ठाउँमा देख्छ भने भगवान पनि भक्तलाई सबै ठाउँमा देख्नुहुन्छ; किनकि भगवानको नियम छ; 'जो जसरी मेरो शरण लिन्छन्, म पनि उही प्रकार उनीहरुलाई आश्रय दिन्छु । तात्पर्य, भक्त भगवानसँग घुलमिल गर्छ, भगवानसँग उसको आत्मीयता, एकता हुन्छ; त्यसैले भगवान आफ्नो स्वरूपमा उसलाई सबै ठाउँमा देख्नु हुन्छ । यही दृष्टिले भक्त पनि भगवानकोलागि कहिले अदृश्य हुँदैन ।       

यहाँ शंका हुन्छ -- भगवानलाई कोही पनि अदृश्य छैन, अनि यहाँ केवल भक्तकोलागि मात्रै 'ऊ मेरोलागि अदृश्य हुँदैन ।' किन भनियो ? यसको समाधान हो, भगवानकोलागि कोही पनि अदृश्य छैनन्, तैपनि भगवानलाई सबै ठाउँमा देख्ने भाव भएकोले भगवान पनि उसलाई सबै ठाउँमा देख्नुहुन्छ | तर भगवानसँग विमुख भएर संसारमा आसक्त व्यक्तिकोलागि भगवान अदृश्य नै रहनु हुन्छ । अतः (उसको भावनाको कारण) त्यो व्यक्ति पनि भगवानकोलागि अदृश्य नै रहन्छ । यही कुरा भगवान नवौं अध्यायमा भन्नुहुन्छ, 'म सबै प्राणीहरुमा समान छु । न त मेरो कुनै दोषी छ र  न प्रिय छैन । परन्तु भक्तिपूर्वक मेरा भजन गर्नेहरु ममा छन् र म तिनमा छु ।

यो भन्दा अघिल्लो श्लोकमा आत्मज्ञानको कुरा भनेर अव भगवान परमात्मज्ञानको कुरा भन्नुहुन्छ । ध्यानयोगको कुनै साधक्मा ज्ञानको संस्कार रहँदा विवेकको मुख्यता रहन्छ र कुनै साधकमा भक्तिको संस्कार श्रद्धा-विश्वासको मुख्यता रहन्छ । अतः ज्ञानको संस्कार भएको ध्यानयोगी विवेकपूर्वक आत्माको अनुभव गर्छ र भक्तिको संस्कार भएको ध्यानयोगी श्रद्ध-विश्वासपूर्वक परमात्माको अनुभव गर्छ । 

सबै ठाउँमा वरफ परेको छ भने वरफ कसरी लुक्छ र ? वरफको पछाडि वरफ राख्दा पनि वरफ नै देखिन्छ । त्यस्तै सबै रुपहरुमा भगवान नै हुनुहुन्छ भने फेरि उहाँ कसरी छोपिनु र कसको पछाडि छोपिनु ? किनकि एक परमात्मा सिवाय अर्को सत्ता छँदै छैन । परमात्मामा शरीर र शरीरी, सत् र असत् जड र चेतन, ईश्वर र जगत, सगुण र निर्गुण, साकार र निराकार आदि कुनै विभाग नै छैन । त्यो एकमा नै अनेक विभाग छन् र अनेक विभागहरुमा त्यो एक नै छ । त्यो (परमात्मा) विवेक विचारको विषय होइन, प्रत्युत श्रद्धा-विश्वासको विषय हो । अतः 'सबै भगवान नै हुनुहुन्छ' भन्ने कुरालाई साधकले मान्ने र विश्वास गर्ने । दृढताले मानेपछि त्यस्तै अनुभव हुनेछ ।

साधक पहिले परमात्मालाई पर देख्छ, फेरि नजीकै देख्छ र फेरि परमात्मालाई नै देख्छ । कर्मयोगी परमात्मालाई नजीक देख्छ, ज्ञानयोगी परमात्मालाई आफूमा देख्छ र भक्तियोगी सबै ठाउँमा परमात्मालाई मात्रै देख्छ । 

No comments:

Post a Comment