Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 31: श्लोक ३१ यो भन्दा अघिल्लो श्लोकमा भगवानले वताउनु भयो, सबैमा मलाई र सबैलाई ममा देख्ने

No. 185

श्लोक ३१

यो भन्दा अघिल्लो श्लोकमा भगवानले वताउनु भयो, सबैमा मलाई  र सबैलाई ममा देख्ने व्यक्तिकोलागि म अदृश्य हुन्न र ऊ मेरोलागि अदृश्य हुँदैन । अदृश्य किन हुँदैन भन्ने कारण सम्पूर्ण प्राणीहरुमा स्थित मसँग उसको अभिन्नता भएको छ अर्थात् मसँग उसलाई अत्यधिक प्रेम छ । 

अद्वैत सिद्धान्तले त स्वरूपसँग एकता हुन्छ, तर यहाँको एकता त्यस्तो होइन । यहाँ द्वैत हुँदा हुँदै पनि अभिन्नता छ, अर्थात् भगवान र भक्त देखिंदा दुई छन् तर वास्तवमा एक नै छन् । (ज्ञानमा दुई भएर एक हुन्छन्, तर भक्तिमा प्रेमको विलक्षण आदान-प्रदान गर्न, प्रेमको विस्तार गर्न एक भएर दुई हुन्छन्; जस्तो, भगवान श्रीकृष्ण र श्रीजी (राधाजी) एक भएर पनि दुई छन्) । जस्तो पति र पत्नी दुई शरीर हुँदा पनि आफूलाई अभिन्न मान्छन्, दुई मित्र आफूलाई एक नै मान्छन्; किनकि अत्यन्त स्नेह भएको कारण त्यहाँ द्वैतपना रहँदैन । त्यस्तै भगवान प्राप्त भक्तियोगको साधकलाई भगवानमा अत्यन्त स्नेह भएको हुँदा भगवानसँग उसको अभिन्नता हुन्छ । यही अभिन्नतालाई यहाँ 'एकत्वमास्थितः' शब्दले वताइएको छ । 

सबै देश, काल, वस्तु, व्यक्ति, घटना, परिस्थितिमा भगवान नै परिपूर्ण हुनुहुन्छ अर्थात् सम्पूर्ण चराचर जगत भगवतस्वरूप नै हो -- 'वासुदेवः सर्वम्' -- यही उसको भजन हो । 

यस्तो लाग्छ, भगवान केवल प्राणीहरुमा मात्रै स्थित हुनुहुन्छ । परन्तु वास्तवमा यस्तो कुरा होइन । भगवान केवल प्राणीहरुमा मात्रै स्थित हुनुहुन्न, उहाँ संसारको कण-कणमा परिपूर्णरूपले स्थित हुनुहुन्छ । जस्तो, सुवर्णको आभूषण सुवर्णवाट नै वनेका हुन्छन्, सुवर्णमा नै स्थित रहन्छन्, र सुवर्णमा उनीहरुको पर्यवसान हुन्छ, अर्थात् सबै समय सुवर्ण नै सुवर्ण छ । परन्तु सर्व साधारणको दृष्टिमा आभूषणको दृष्टिमा आभूषणहरुको सत्ता छूट्टा-छुट्टै देखिंदा उनीहरुलाई सम्झाउन भनिन्छ, आभूषणहरुमा सुवर्ण मात्रै छ । त्यस्तै सृष्टि भन्दा पहिले, सृष्टिको वेला र सृष्टिपछि प्राणीहरु र पदार्थहरुको सत्ता अलग देखिंदा साधकलाई बुझाउन पनि भनिन्छ, सबै प्राणीहरुमा यौटा परमात्मा मात्रै हुनुहुन्छ, अर्को कुनै छैन । यही वास्तविकतालाई 'सर्वभूतस्थितं माम्' पदहरुले भनिएको छ यहाँ । 

यो व्यक्ति शास्त्र र वर्ण-आश्रमको मर्यादा अनुसार खाने-पिउने, सुत्ने-उठ्ने, वस्ने-उठ्ने आदि सबै क्रियाहरु गर्ने हुनाले  ममा नै व्यवहार गर्छ, ममा नै रहन्छ । कारण उसको दृष्टिमा म सिवाय अर्को कुनै सत्ता नै रहेन भने ऊ सबै व्यवहार कहाँ गर्छ त ? ममा नै गर्छ ।

तेर्हौं अध्यायमा ज्ञानयोगको प्रकरणमा भगवानले यो वताउनु भयो, सबै व्यवहार गर्दा पनि त्यो योगीको फेरि जन्म हुँदैन -- सर्वथा वर्तमानोपि न स भूयोभिजायते' र यहाँ भगवान भन्नुहुन्छ, सबै वर्ताव गर्दा पनि ऊ  ममा नै रहन्छ । यसको मतलव हो, उहाँ (तेरहौं अध्यायमा) संसारसँग सम्बन्ध विच्छेद हुने कुरो छ र यहाँ भगवानसँग अभिन्नता हुने कुरो छ । संसारसँग सम्बन्ध-विच्छेद भएपछि ज्ञानयोगी मुक्त हुन्छ र भगवानसँग अभिन्नता भएपछि भक्त प्रेमको एक विलक्षण रसको आस्वादन गर्छ । यो आनन्द अनन्त र प्रतिक्षण वर्धमान छ । 

भगवानले भन्नु भएको कथन -- त्यो योगी ममा वर्ताव गर्छ अर्थात् ममा नै रहन्छ -- भन्ने कुरामा शंका हुन्छ, के अरु प्राणी भगवानमा रहँदैनन् भनेर । यसको समाधान हो, वास्तवमा सम्पूर्ण प्राणी भगवानमा नै व्यवहार गर्छन्, भगवानमा नै रहन्छन्; परन्तु उनीहरुको अन्तःकरणमा संसारको सत्ता र महत्ता रहनाले उनीहरु भगवानमा आफ्नो स्थिति जान्दैनन्, मान्दैनन् । अतः भगवानमा नै वर्ताव गरिरहँदा पनि, भगवानमा रहिरहँदा पनि यस्ता व्यक्तिहरुको वर्ताव संसारमा नै भइरहेछ अर्थात् उनीहरुले जगतमा अहंता-ममता गरेर जगतलाई धारण गरिराखेका छन् -- 'ययेदम् धार्यते जगत' । उनीहरु जगत भगवानको आश्रयमा छ भन्ने नबुझेर, जगत नै हो भन्ने व्यवहार गर्छन् । उनीहरु भन्छन् पनि, हामी त संसारी मान्छे हौँ, हामी त संसारमा नै वस्ने हौँ । तर भगवानको भक्त यो कुरा जान्दछ, यो सबै संसार वासुदेवरूप हो । अतः त्यो भक्त हरदम भगवानमा नै रहन्छ र भगवानमा नै वर्ताव गर्छ । 

भक्त सम्पूर्ण जगतलाई परमात्माको स्वरूप देख्छ । उसको दृष्टिमा एक परमात्मा सिवाय अरु कसैको सत्ता रहँदैन ।उसकोलागि द्रष्टा, दृश्य र दर्शन -- तीनै परमात्मस्वरूप हुन्छन् -- 'वासुदेवः सर्वम्' । गंगाजलले गंगाको पूजन गरिएको जस्तो त्यो भक्तको सवै वर्ताव परमात्मामा नै हुन्छन् । शरीरमा तादात्म्य हुने व्यक्ति सबै क्रियाहरु गर्दा शरीरमा नै रहन्छ, त्यस्तै भक्त पनि सबै क्रियाहरु गर्दा पनि परमात्मामा नै रहन्छ ।

ज्ञानमार्गमा त जन्म-मरण मेटिन्छ, मुक्ति हुन्छ, तर भक्तिमार्गमा जन्म-मरण मेटिएर भगवानसँग अभिन्नता हुन्छ, आत्मीयता हुन्छ । ज्ञानमार्गमा सूक्ष्म अहंकारको गन्ध रहनाले दार्शनिक मतभेद रहन सक्छ, तर भक्तिमार्गमा भगवानसँग आत्मीयता भएपछि सूक्ष्म अहम् को गन्ध तथा त्यसमा रहने दार्शनिक मतभेद रहँदैन । स्वरूपमा स्थितिको अनुभव भएपछि केवल स्वयं (स्वरूप) रहन्छ र खालि भगवान रहनु हुन्छ, स्वयं (योगी) रहँदैन अर्थात् स्वयं योगीरूप रहँदैन, खालि भगवतस्वरूप रहन्छ । 

No comments:

Post a Comment