Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 1: श्लोक १ कर्मफलको आश्रय नलिएर कर्तव्य-कर्म गर्ने व्यक्ति संन्यासी तथा योगी

अव छैठौं अध्याय शुरु हुन्छ ।

No. १६४ 

श्रीभगवानले भन्नुभयो ।
  
श्लोक १

कर्मफलको आश्रय नलिएर कर्तव्य-कर्म गर्ने व्यक्ति संन्यासी तथा योगी हो र अग्निको मात्रै त्याग गर्ने व्यक्ति संन्यासी हुँदैन । तथा क्रियाहरुको मात्रै त्याग गर्ने योगी हुँदैन । 

मनुष्यले कुनै उत्पत्ति-विनाशशील वस्तु, व्यक्ति, घटना, परिस्थिति, क्रिया आदिको आश्रय राख्नु हुँदैन । किनकि जीव स्वयं परमात्माको अंश भएकोले नित्य निरन्तर रहन्छ र उसले आश्रय लिने वस्तु, व्यक्ति उत्पत्ति-विनाशशील र प्रतिक्षण वदलिने स्वभावका छन् । ती वस्तु र व्यक्ति प्रतिक्षण वदलिइरहने कारण नष्ट हुन्छन् र यो जीव रित्तो को रित्तो रहन्छ । खालि रित्तो मात्रै भए त हुन्थ्यो, उल्टो उसले राग पक्डिरहेको हुन्छ । वस्तु, व्यक्तिको राग पक्डिरहुन्जेल उसको कल्याण हुँदैन अर्थात् त्यो राग उसलाई ऊँच-नीच योनिहरुमा लगिरहन्छ । कुनै व्यक्तिले यदि राग छोड्छ भने ऊ स्वतः मुक्त नै छ, खालि रागले गर्दा उसलाई यसको (मुक्तिको) अनुभव हुँदैन । यही क्रममा भगवान भन्नुहुन्छ, मनुष्य कर्मफलको आश्रय नलिएर कर्म गरोस् । कर्मफलको आश्रय छोड्नेलाई नैष्ठिकी शान्ति प्राप्त हुन्छ, तर कर्मफलको आश्रयले व्यक्ति बाँधिन्छ । 

स्थूल, सूक्ष्म र कारण -- यी तीनै शरीरहरु 'कर्मफल' हुन् । यी तीनैहरुमध्ये कुनैको पनि आश्रय नलिएर यी शरीरहरुलाई सबैको हितमा लगाउनु पर्छ । जस्तो, स्थूल शरीरवाट हुने क्रियाहरुलाई र पदार्थहरुलाई संसारको नै मानेर ती क्रिया र पदार्थहरुको उपयोग संसारको सेवा (हित)मा लगाओस्, सूक्ष्म शरीरवाट अरुको हित कसरी होस्, सबै व्यक्ति कसरी सुखी होऊन्, सबैको उद्धार कसरी होस् -- यस्तो चिन्तन गर्नु कारण शरीरवाट हुने स्थिरता (समाधि) को फल पनि संसारको हितकोलागि नै अर्पण गरोस् । कारण, यी तीनै शरीरहरू आफ्ना (व्यक्तिगत) होइनन् र आफ्नालागि पनि होइनन्, वरु संसारका र संसारको सेवाकोलागि नै हुन् । यी तीनै शरीरहरूको संसारसँग अभिन्नता र आफ्नो स्वरूपसँग भिन्नता छ । यस्तो किसिमले यी तीनै शरीरहरुको आश्रय नलिनु नै 'कर्मफलको आश्रय नलिनु' हो र यी तीनैद्वारा संसारको हितकोलागि कर्म गर्नु नै 'कर्तव्य-कर्म गर्नु' हो । 

आश्रय नलिने तात्पर्य, साधनरूपले त शरीर आदिलाई अरुको हितकोलागि काममा ल्याउने, तर स्वयं यिनको आश्रय नलिने अर्थात् यिनीहरुलाई आफ्नो र आफ्नोलागि नमान्ने । किनकि मनुष्य-जन्ममा शरीर आदिको होइन, शरीर आदि द्वारा गरिने साधनको महत्व छ । अतः संसारवाट पाइएका चिज संसारलाई नै दियौं भने हामी 'संन्यासी' भयौं र पाइएका चिजमा आफ्नोपन छोड्यौं भने हामी 'त्यागी' भयौं । 

प्रश्न छ: कर्मफलको आश्रय नलिएर कर्तव्य-कर्म गरे के होला ? आफ्नोलागि कर्म नगरे नयाँ आसक्ति वन्दैन र खालि अरुको हितकोलागि कर्म गरे पुरानो आसक्ति मेटिन्छ तथा कर्म गर्ने वेग पनि मेटिन्छ । आसक्ति पूर्णरूपले मेटिए मुक्ति स्वतःसिद्ध छ । उत्पत्ति-विनाशशील वस्तुहरुवाट छुट्ने उपाय हो -- कर्मफलको आश्रय नलिने अर्थात् तिनसँग ममता नगर्ने र आफ्नो जीवनलाई तिनको आश्रित नमान्ने ।  

सबै कर्तव्य-कर्मको नाम कार्य हो । कार्य र कर्तव्य -- यी दुवै पर्यायवाची हुन् । कर्तव्य-कर्म त्यही हो, जसलाई हामी सजिलोसँग गर्न सक्छौं, जसलाई जरूर गर्नुपर्छ र जसको त्याग कहिले गर्नु हुँदैन । 

कार्य कर्म अर्थात् कर्तव्य-कर्म असम्भव त हुँदै हुँदैन; कठिन पनि हुँदैन । गर्न नहुने काम कर्तव्य-कर्म नै हुँदैन । त्यो त अकर्तव्य हुन्छ । त्यस्तो अकर्तव्य पनि दुई किसिमका हुन्छन् -- (१) जुन हामी गर्न सक्तैनौं अर्थात् जुन हाम्रो सामर्थ्य वाहिर छ र (२) जुन गर्नु हुँदैन अर्थात् जुन शास्त्र र लोकमर्यादा विरुद्ध छ । यस्तो अकर्तव्य कहिले पनि गर्नु हुँदैन । तात्पर्य, कर्मफलको आश्रय नलिएर शास्त्रविहित र लोकमर्यादा अनुसार पाइएको कर्तव्य-कर्म निष्कामभावले गर्ने र अरुको हितकोलागि नै गर्ने । 

कर्म दुई किसिमले गरिन्छन् -- कर्म तथा तिनको फलको आसक्ति मेटाउनकोलागि । यहाँ, यो श्लोकमा कर्म तथा कर्मफलको आसक्ति मेटाउने प्रेरणा गरिएको छ । 

माथि भनिएको तरिकाले कर्म गर्ने नै संन्यासी र योगी हो । ऊ कर्तव्य-कर्म गरिरहँदा पनि निर्लिप्त रहन्छ, त्यसैले ऊ 'संन्यासी' हो र ती कर्तव्य-कर्महरु गरिरहँदा ऊ  सुखी-दुःखी हुँदैन अर्थात् कर्महरुको सिद्धि-असिद्धिमा सम रहन्छ, यही कारण ऊ 'योगी हो । 

तात्पर्य, कर्मफलको आश्रय नलिएर कर्म गर्दा उसको कर्तृत्व र भोक्तृत्वको नाश हुन्छ अर्थात् न त कर्मसँग उसको सम्बन्ध रहन्छ र न फलसँग नै सम्बन्ध रहन्छ । यसैले ऊ 'संन्यासी'  हो । ऊ कर्म गर्नमा र कर्मफलको प्राप्ति-अप्राप्तिमा सम रहन्छ । यसैले ऊ 'योगी' हो । 

यहाँ पहिले 'संन्यासी' पद भन्नमा यस्तो भाव देखिन्छ, अर्जुन स्वरूपले नै कर्महरुको त्यागलाई श्रेष्ठ भन्ने सम्झन्थे । यसैले अर्जुनले 'युद्ध गर्नु भन्दा भिक्षा मागेर खानु श्रेष्ठ छ' भनेका थिए भगवानलाई । यसैले यहाँ भगवान पहिले 'संन्यासी' शब्दले अर्जुनलाई भनिरहनु भएको छ, 'हे अर्जुन ! तिमीले भन्ठानेको संन्यास वास्तवमा साँचो संन्यास होइन, वरु कर्मफलको आश्रय छोडेर आफ्नो कर्तव्य-कर्म खालि अरुको हितकोलागि कर्तव्य-बुद्धिले गर्ने व्यक्ति नै साँचो संन्यासी हो ।          

अग्निरहित भएर मात्रै संन्यासी भइंदैन अर्थात् वाहिरवाट यज्ञ, हवनको त्याग गरेको छ र पदार्थहरुको त्याग गरेको छ, तर भित्र मनमा क्रियाहरु र पदार्थहरुमा राग छ, महत्व छ, प्रियता छ भने त्यो व्यक्ति कहिले साँचो संन्यासी हुन सक्तैन ।

सर्व साधारणमा यस्तो पनि धारणा छ, कुनै पनि क्रिया नगर्ने, स्वरूपले नै क्रियाहरु र पदार्थहरु छोडेर वनमा जाने अथवा निष्क्रिय भएर समाधिमा वसिरहने व्यक्ति योगी हो । परन्तु भगवान भन्नुहुन्छ, मनुष्यले उत्पत्ति-विनाशशील वस्तुहरुको आश्रय नछोडुन्जेल र मनले ती क्रियाहरु र पदार्थहरुसँग सम्बन्ध जोडुन्जेल ऊ कति नै अक्रिय होस्, चित्तको वृत्तिहरु जति नै निरोध गरोस्, ऊ योगी हुन सक्तैन । हो, चित्तको वृत्तिहरुको निरोध हुँदा उसलाई किसिम किसिमका सिद्धिहरु त मिल्न सक्लान् तर उसको कल्याण हुन सक्तैन । तात्पर्य, केवल वाहिरवाट अक्रिय हुँदा कोही योगी हुँदैन । उत्पत्ति-विनाशशील वस्तुहरु (कर्मफल)को आश्रय नराखेर कर्तव्य-कर्म गर्ने व्यक्ति नै योगी हुन सक्छ । 

मनुष्यहरुमा कर्म गर्ने वेग रहन्छ । यो वेग कर्मयोगको विधिले कर्म गरेर नै मेटिन्छ, नभए त्यो वेग शान्त हुँदैन । प्रायः देखिनमा आउँछ, सम्पूर्ण क्रियाहरुसँग उपरत भएर एकान्तप्रिय, गतिला साधकहरुमा पनि अरुको उद्धार गर्ने प्रवृत्ति धेरै जोडले आउँछ र उनीहरु एकान्तमा  वसेर साधना गर्न छोडेर अरुको उद्धार गर्ने क्रियाहरुमा लाग्छन् । 

सकामभावले अर्थात् आफ़्नोलागि कर्म गर्दा कर्म गर्ने वेग वढ़छ । साधकले आफ़्नोलागि कहिले पनि अलिकति पनि कुनै कर्म नगरेर सम्पूर्ण कर्म खालि लोकहितकोलागि गरे कर्म गर्ने वेग शान्त हुन्छ । यसरी केवल निष्कामभावले अरुकोलागि कर्म गर्दा कर्मको वेग शान्त हुन्छ र समताको प्राप्ति हुन्छ । समताको प्राप्ति भएपछि समरूप परमात्मतत्वको अनुभव हुन्छ ।

शरीर-संसारमा अहंता-ममता गर्नु कर्मको फल होइन । यो अहंता-ममता त व्यक्तिले मानेको हो; त्यसैले अहंता-ममता वदलिइरहन्छ । जस्तो, मनुष्य कहिले गृहस्थ हुन्छ, त्यो वेला ऊ आफूलाई 'म गृहस्थ हुँ' भन्ने मान्छ । तर त्यही मनुष्य साधु भयो भने उसले आफूलाई साधु नै मान्छ अर्थात् उसको 'म गृहस्थ हुँ' भन्ने अहंता मेटिन्छ । त्यस्तै, 'यो मेरो वस्तु हो' भनेर मान्दा व्यक्तिको त्यो वस्तुमा ममता रहन्छ र त्यही वस्तु उसले अरु कसैलाई दियो भने उसको त्यो वस्तुमा ममता रहँदैन । अव सिद्ध भयो, अहंता-ममता मानिएको हो, वास्तविक होइन । यदि यो वास्तविक हुँदो हो त कहिले पनि मेटिनु नपर्ने र यदि मेटिन्छ भने त्यो ममता वास्तविक होइन ।                       

अहंता-ममताको आधार, आश्रय त साक्षात् परमात्माको अंश हो । उसको कहिले अभाव हुँदैन । उसको सबै ठाउँमा व्यापक परमात्मासँग एकता छ । त्यो परमात्माको अंशमा अहंता-ममताको गन्ध पनि छैन । अहंता-ममता त प्राकृत पदार्थहरुसँग तादात्म्य गरेर नै प्रतीत हुन्छ ।  यस्तो तादात्म्य गर्न र नगर्नमा मनुष्य स्वतन्त्र छ । जस्तो -- 'म गृहस्थ हुँ', 'म साधु हुँ' भन्ने मान्न र 'वस्तु मेरो हो', 'वस्तु मेरो होइन' भन्ने मान्न अर्थात् अहंता-ममतासँग सम्बन्ध जोड्न र छोड्न व्यक्ति स्वतन्त्र र समर्थ छ । यसो गर्न ऊ पराधीन र असमर्थ छैन; किनकि शरीर आदिसँग सम्बन्ध स्वयं चेतनले जोडेको हो, शरीर-संसारले होइन । अतः सम्बन्ध जोड्न जान्नेलाई सम्बन्ध छोड्न पनि आउँछ । 

सम्वन्ध जोड्न भन्दा छोड्न सजिलो हुन्छ । जस्तो, मनुष्य वालककालमा 'म वालक हुँ' भन्ने मान्छ र जवानीमा 'म जवान हुँ' भन्ने मान्छ । यसै गरी ऊ वाल्यावस्थामा 'खेलौनाहरु मेरा हुन्' भन्ने मान्छ र युवावस्थामा 'रुपियाँ पैसा मेरा हुन्' भन्ने मान्छ । यसरी व्यक्तिलाई वाल्यावस्था र युवावस्थासँग र खेलौना र रुपियाँ पैसासँग आफैं सम्बन्ध जोड्नु पर्छ । तर यिनीहरुसँग सम्बन्ध तोड्नु पर्दैन, त्यो सम्बन्ध आफैं टुट्दै जान्छ । तात्पर्य, वाल्यावस्था आदिको अहंता शरीर रहँदा अथवा नरहँदा निर्भर हुँदैन, स्वयंको मान्यतामा निर्भर छ ।त्यस्तै, खेलौना आदिको ममता वस्तु रहँदा अथवा नरहँदा निर्भर छैन, मान्यतामा निर्भर छ । यसैले कर्मफल (शरीर, वस्तु आदि) रहँदा पनि तीसँगको आश्रय सजिलोसँग छुट्न सक्छ ।

स्वयं नित्य छ र शरीर-संसार अनित्य छ । नित्यसँग अनित्यको सम्बन्ध कहिले टिक्न सक्तैन, रहन सक्तैन । तर स्वयंले अहंता-ममता समातेपछि त्यो अहंता-ममता पनि नित्य देखिन थाल्छ । त्यसपछि उसलाई त्यो अहंता-ममता छोड्न कठिन लाग्छ, किनकि उसले नित्य स्वरूपमा अनित्य अहंता-ममताको आरोप गर्यो । वास्तवमा हेर्दा शरीरसँग आफ्नो सम्बन्ध मानिएको हो, वास्तवमा सम्बन्ध छैन । कारण, शरीर प्रकाश्य हो र स्वयं प्रकाशक हो ।शरीर एकदेशीय हो र स्वरूप सर्वदेशीय हो अथवा देशातीत हो । शरीर जड हो र स्वरूप चेतन हो । शरीर ज्ञेय हो र स्वरूप ज्ञाता हो । स्वरूपको त्यो ज्ञातापन पनि शरीरको दृष्टिले नै हो । यदि शरीरको दृष्टि हटाइयो भने स्वरूप ज्ञातृत्वरहित चिन्मात्र हो अर्थात् केवल चितिरूपले रहने हो ।त्यो चिति स्वरूपमा 'म' र 'मेरो' पन छैन । उसमा अहंता-ममताको अभाव छ । त्यो चिति ब्रह्म स्वरूप हो र ब्रह्ममा 'म' र 'मेरो' पनि कहिले भएन, छँदै छैन र हुन पनि सक्तैन । 
                                         
कमिलादेखि लिएर ब्रह्मलोकसम्म सम्पूर्ण संसार कर्मफल हो । संसारको स्वरूप हो -- वस्तु, व्यक्ति र क्रिया । सम्पूर्ण वस्तुको प्राप्ति र अप्राप्ति हुन्छ, सम्पूर्ण व्यक्तिसँग संयोग र वियोग हुन्छ तथा सम्पूर्ण क्रियाको आरम्भ र अन्त हुन्छ । वस्तु, व्यक्ति र क्रिया -- तीनैसँगको आश्रय त्यागेर प्राप्त कर्तव्य-कर्मको पालन गर्ने व्यक्ति साँचो संन्यासी तथा योगी हो । कर्मफलको त्याग नगरेर केवल अग्निको त्याग गर्ने साँचो संन्यासी होइन र खालि क्रियाहरुको त्याग गर्ने पनि साँचो योगी होइन । कारण, मनुष्य कर्मफलसँग बाँधिन्छ, अग्नि अथवा क्रियाहरुले होइन ।    

No comments:

Post a Comment