Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 22: श्लोक २२ जुन लाभ भएपछि त्यो भन्दा धेरै कुनै अर्को (लाभ) त्यो ध्यानयोगीको विचारमा आउँदैन र

No.177 


श्लोक २२ 

जुन लाभ भएपछि त्यो भन्दा धेरै कुनै अर्को (लाभ) त्यो ध्यानयोगीको विचारमा  आउँदैन र जसमा स्थित भएपछि उसलाई धेरै ठूलो दुःखले पनि विचलित गर्न सक्तैन ।

मनुष्य आफूले पाइरहेको भन्दा धेरै सुख देखेर त्यो सुखको लोभमा विचलित हुन्छ । जस्तो, कसैको काममा एक घन्टाको सय पाइन्छ । यदि उति नै समयमा अर्को ठाउँमा हजार रुपियाँ मिल्छ भए त्यो व्यक्ति सय रुपियाँको स्थितिवाट विचलित हुन्छ र हजार रुपियाँको स्थितिमा जान्छ ।  निद्रा, आलस्य र प्रमादको तामस सुख पाउँदा पनि व्यक्तिलाई विषयजन्य सुख राम्रो लाग्छ र ऊ आफूले पाइरहेको तामस सुख छोडेर विषयजन्य सुख लिन झम्टेर जान्छ । त्यस्तै मनुष्य विषयजन्य सुखदेखि माथि उठेपछि ऊ सात्विक सुखकोलागि विचलित हुन्छ । परन्तु आत्यन्तिक सुख पाएपछि ऊ अव त्यो सुखवाट विचलित हुँदैन; किनकि आत्यन्तिक सुखदेखि ठूलो अर्को कुनै सुख, कुनै लाभ छँदै छैन । आत्यन्तिक सुखमा सुखको हद हुन्छ । यस्तो सुख पाएपछि ध्यानयोगी यो सुखवाट कसरी विचलित होला ?

विचलित भइने अर्को कारण, लाभ त धेरै होला, तर त्यो लाभ सँगसँगै महान् दुःख पनि भयो भने मनुष्य त्यो लाभवाट विचलित हुन्छ । जस्तो, हजार रुपियाँ पाइने ठाउँमा प्राणको खतरा हुन्छ भने मनुष्य हजार रुपियाँदेखि विचलित हुन्छ । त्यस्तै, जुन कुनै स्थितिमा स्थित हुँदा त्यहाँ कुनै भयंकर आपत आयो भने त्यो व्यक्तिले त्यो स्थिति छोडिदिन्छ । तर यहाँ भगवान भन्नुहुन्छ, आत्यन्तिक सुखमा स्थित भएपछि योगीलाई ठूलो भन्दा ठूलो दुःखले पनि विचलित गर्न सक्तैन । जस्तो, कुनै कारणले उसलाई फाँसी दिइयो भने, शरीरलाई टुक्रा टुक्रा गरियो भने, त्यस्तै यस्ता महान् ठूला ठूला भयंकर दुःखहरु एकै चोटी आउँदा पनि ऊ विचलित हुँदैन । 

उसलाई किन विचलित गर्न सकिंदैन ? कारण जति पनि दुःख आउँछन्, ती सबै प्रकृतिका राज्यमा नै हुने हुन् अर्थात् शरीर, इन्द्रियहरु मन, बुद्धिमा नै आउँछन् । तर आत्यन्तिक सुख स्वरूप-बोध प्रकृतिभन्दा अतीत तत्व हो । परन्तु पुरुष प्रकृतिस्थ भएपछि अर्थात् शरीरसँग तादात्म्य गरेपछि ऊ प्रकृतिजन्य अनुकूल-प्रतिकूल परिस्थितिमा आफूलाई सुखी या दुःखी मान्न थाल्छ । तर उसले प्रकृतिसँग सम्बन्ध-विच्छेद गरेर आफ्नो स्वरूपभूत सुखको अनुभव गरेपछि, त्यही स्वरूपमा स्थित भएपछि त्यो प्राकृतिक दुःख त्यहाँसम्म पुग्नै सक्तैन, त्यो स्वरूपको स्पर्श पनि गर्न सक्तैन । यसैले शरीरमा जति नै दुःख हुँदा पनि उसलाई उसको स्थितिवाट विचलित गर्न सकिन्न ।

यो श्लोक सबै साधनहरुको कसौटी हो । कर्मयोग, ज्ञानयोग, ध्यानयोग, भक्तियोग आदि कुनै पनि साधनले यो कसौटी प्राप्त हुनुपर्छ । आफ्नो स्थिति जान्नकोलागि यो श्लोक साधककोलागि धेरै उपयोगी छ । सम्पूर्ण जीवको ध्येय यही हो, मेरो दुःख हटोस् र सुख पाइयोस् । अतः यो श्लोकमा वर्णन गरिएको स्थिति सबै साधकले पाउनु पर्छ, नभए साधना पूर्ण भएको छैन । साधक वीचमा नै नअडकोस्, आफ्नो अपूर्ण स्थितिलाई नै पूर्ण नमानोस्, यसैले यो श्लोक आफ्नो अगाडि हुनु पर्छ । 

लाभको अन्त नभएको र हानिको लेश पनि नभएको दुर्लभ पद सम्पूर्ण मनुष्यलाई मिल्न सक्छ । परन्तु ऊ भोग र संग्रहमा लागेर कति अनर्थ गर्छ, भनेर साध्य छैन ।                      

No comments:

Post a Comment