Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 24: श्लोक २४ संकल्पवाट उठ्ने सबै कामनाहरुलाई पूर्णतया छोडेर र मनले इन्द्रिय-समूहलाई सबैतिरवाट हटाएर ।

No. 179

श्लोक २४ 

संकल्पवाट उठ्ने सबै कामनाहरुलाई पूर्णतया छोडेर र मनले  इन्द्रिय-समूहलाई सबैतिरवाट हटाएर ।

कर्मफल त्याग्ने कर्मयोगीको स्थिति जस्तो सगुण-साकार भगवानको ध्यान गर्नेको अर्थात् आफ्नो स्वरूपको ध्यान गर्ने व्यक्तिको पनि हुन्छ । यो श्लोकमा निर्गुण-निराकरको ध्यान गर्ने व्यक्तिको स्थिति पनि त्यही हो भन्ने कुरा अव भगवान भन्नुहुन्छ ।

सांसारिक वस्तु, व्यक्ति, पदार्थ, देश, काल, घटना, परिस्थितिलाई लिएर मनमा हुने किसिम किसिमका स्फूरणाहरुमध्ये कुनै कुनैमा हुने प्रियता, सुन्दरता र आवश्यकता नै 'संकल्प' को रूप धारण गर्छ । त्यस्तै 'यी वस्तु, व्यक्ति आदि धेरै नराम्रा छन्, यी मेरालागि उपयोगी छैनन्' भन्ने विपरीत भावना उठे पनि 'संकल्प' हुन्छ । संकल्पले यस्तो हुनु पर्यो, त्यस्तो हुनु पर्यो भन्ने कामना उठ्छ । यो संकल्पवाट उठ्ने कामनालाई पूर्णतया छोड्नु पर्छ । त्यति मात्रै होइन, कुनै पनि र जुसुकै किसिमको कामना हामीमा रहनु हुन्न ।

कामनाको बीज (सूक्ष्म अहंकार) पनि रहनु हुन्न । एउटा सानो बीजले कति ठूलो जंगल वन्छ । अतः बीजरूप कामनाको पनि त्याग हुनु पर्छ ।

यहाँ भनिन्छ, इन्द्रियहरु द्वारा शब्द, स्पर्श, रूप, रस र गन्धको अनुभव हुन्छ, भोग भोगिन्छ । त्यही इन्द्रिय-समूहलाई मन द्वारा राम्रो किसिमले नियन्त्रण गर्ने अर्थात् मनलाई इन्द्रियहरुको आफ्नो आफ्नो विषयवाट हटाउने । मनवाट शब्द, स्पर्श आदि विषयहरुको चिन्तन नहोस् र सांसारिक मान, वड़ाई, आराम आदितिर अलिकति मात्रै पनि आकर्षण नहोस् । 

अर्को शब्दमा, ध्यानयोगीले इन्द्रियहरु र अन्तःकरण द्वारा प्राकृत पदार्थहरुसँग सर्वथा सम्बन्ध-विच्छेदको निष्चय गर्नु पर्छ । 

पहिले स्फुरणा हुन्छ, त्यसपछि संकल्प हुन्छ । स्फुरणामा सत्ता, आसक्ति र आग्रह हुँदा नै संकल्प हुने हो । यही संकल्प नै बन्धनकारक हुन्छ । संकल्पले कामना उठ्छ । 'स्फुरणा' दर्पण (ऐना)को काँच जस्तो हो, जुन काँचमा प्रतिबिम्ब आउँदैन । परन्तु 'संकल्प' केमराको काँच जस्तो हो, जसमा चित्र पक्डिइन्छ । साधकले सावधान हुनु पर्छ, स्फुरणा भए पनि संकल्प नहोस् । 

श्लोक २५ 

धैर्ययुक्त बुद्धिद्वारा (संसारदेखि) उपराम हुने र मन (बुद्धि) लाई परमात्मस्वरूपमा राम्रोसँग स्थापना गरेर त्यसपछि केही पनि चिन्तन नगर्ने ।

साधन गर्दा गर्दा धेरै जसो साधकलाई झर्को लाग्छ, ध्यान गर्दा गर्दा, विचार गर्दा गर्दा यति दिन वितिसके, तर तत्व प्राप्ति भएन अव के गर्ने भन्ने निराशा हुन्छ । यो कुरालाई लिएर भगवान ध्यानयोगको साधकलाई सावधान गर्दै भन्नुहुन्छ, साधकले ध्यानयोगको अभ्यास गर्दा आत्तिनु हुँदैन, धैर्य राख्नु पर्छ । सिद्धि पाउँदा, सफलता हुँदा धैर्य रहे जस्तै साधनामा वर्षौं वर्ष वितोस्, शरीर नै छुटे पनि वास्ता छैन, तत्व त मैले पाउनै पर्छ भन्ने धैर्य विफलता हुँदा पनि रहनु पर्छ । किनकि यो भन्दा ठूलो हाम्रो कुनै काम नै छैन । यही काम सकियो भने अर्को के काम गर्ने ? यसरी बुद्धिलाई वशमा गरेर अर्थात् मान, वड़ाई, आराम आदिको महत्व आफ्नो मनवाट हटाउने । तात्पर्य, पूर्वश्लोकमा त्याग गर्ने भनिएको विषयहरुसँग धैर्ययुक्त बुद्धि ती विषयहरुसँग उपराम हुने । 

उपराम हुन हतार नगर्ने; तर विस्तारै -विस्तारै उपेक्षा गरी गरी विषयहरुदेखि उदासीन हुने र उदासीन भएपछि ती विषयहरुदेखि विल्कुल उपराम हुने । 
                                                    
कामनाहरुको त्याग र मनले इन्द्रिय-समूहको संयमन गरेपछि पनि उपराम भन्ने कुराको तात्पर्य, कुनै त्याज्य वस्तुको गरे पनि त्यो त्यगिएको वस्तुसँग आंशिक द्वेषको भाव रहन सक्छ । त्यो द्वेष भाव हटाउन यहाँ उपराम हुने कुरा भनियो । अर्थ यो हो, संकल्पसँग न राग गर्ने, न द्वेष गर्ने; तर तिनसँग पूर्णतया उपराम हुने ।

यहाँ उपराम हुने भन्नुको तात्पर्य, परमात्मतत्व मनको कव्जामा आउँदैन; किनकि मन प्रकृतिको कार्य हो । प्रकृतिको कार्य मनले आफ्नो कारण प्रकृतिलाई कसरी पक्डला ? प्रकृतिभन्दा पनि अतीत परमात्मालाई यो मनले पक्ड़ने कुरा नै आउँदैन । अझ भन्न खोजिएको कुरो, परमात्माको चिन्तन गर्दा गर्दा मनले परमात्मालाई पक्डन हाम्रो हातको कुरा होइन । जुन परमात्माको शक्तिले मन आफ्नो काम गर्छ भने त्यो परमात्मालाई मन कसरी पक्डन सक्छ ? जस्तो, सूर्यको प्रकाशले दीपक, बिजुली प्रकाशित हुन्छन् । ती दीपक, बिजुली परमात्मालाई कसरी प्रकाशित गर्लान् ? किनकि ती दीपक, बिजुलीमा प्रकाश सूर्यवाट नै आउँछ । त्यस्तै मन, बुद्धि आदिमा भएको शक्ति पनि परमात्मावाट नै आउँछ । अतः ती मन, बुद्धि त्यो परमात्मालाई कसरी पक्डन सक्छन् ?

अर्को कुरा, संसारतिर चल्दा सुख पाइएन, केवल दुःख नै पाइयो । अतः संसारको चिन्तनसँग प्रयोजन रहेन । अव के गर्ने ? तिनवाट उपराम हुने ।

सबै ठाउँमा एक सच्चिदानन्द परमात्मा नै पूर्ण हुनुहुन्छ । संकल्पहरुमा पहिले र पछि (अन्तमा) उनै परमात्मा हुनुहुन्छ । संकल्पहरुमा पनि आधार र प्रकाशकरूपले एक परमात्मा नै परिपूर्ण हुनुहुन्छ ।ती संकल्पहरुमा अरु कुनै सत्ता पैदा भएको छैन । किन्तु तिनमा सत्तारूपले उही परमात्मा नै हुनुहुन्छ । यस्तो बुद्धिको दृढ निष्चय, निर्णय रहनु पर्यो । मनमा कुनै तरंग भइहाले पनि त्यो तरंगलाई परमात्माको नै स्वरूप मान्ने । 

अर्को भाव यो हो, परमात्मा, देश, काल, वस्तु, व्यक्ति, घटना, परिस्थिति आदि सबैमा परिपूर्ण हुनुहुन्छ । यी देश, काल आदि त उत्पन्न हुन्छन् र मेटिन्छन्; परन्तु परमात्मतत्व वन्ने र विग्रने होइन । त्यो त सँधै जस्ता-को-तस्तो रहन्छ । त्यो परमात्मामा मनलाई स्थिर गरेर अर्थात् सबै ठाउँमा एक परमात्मा नै हुनुहुन्छ, त्यो परमात्मा सिवाय अर्को कुनै सत्ता छँदै छैन भन्ने पक्का निष्चय गरेर केही पनि चिन्तन नगर्ने ।

संसारको चिन्तन नगर्ने भन्ने कुरा त पहिले पनि आएकै हो । अव 'परमात्मा सबै ठाउँमा परिपूर्ण छ' भन्ने चिन्तन पनि नगर्ने । कारण मनलाई परमात्मामा स्थापन गरेपछि चिन्तन गरे सविकल्प वृत्ति हुनेछ अर्थात् मनसँग सम्बन्ध वनिरहनेछ । यसले गर्दा संसारवाट सम्बन्ध-विच्छेद हुँदैन । 'मेरो यस्तै स्थिति वनिरहोस्' भन्ने चिन्तन गर्छौं भने पनि परिच्छिन्नता वनिरहने छ । अतः 'सबै ठाउँमा एक परमात्मा नै परिपूर्ण छ' भन्ने दृढ निष्चय गरेपछि कुनै प्रकारको पनि चिन्तन नगर्ने । यसरी उपराम भएपछि स्वतःसिद्ध स्वरूपको अनुभव हुनेछ ।                  

  
यो प्रसंगको पहिलेका मेलहरु हेर्ने लिंक हो 

No comments:

Post a Comment