Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 23: श्लोक २३ दुःखहरुको संयोगको वियोगलाई 'योग' भन्ने नामले जान्नु पर्छ ।

No. 178

श्लोक २३

दुःखहरुको संयोगको वियोगलाई 'योग' भन्ने नामले जान्नु पर्छ । त्यो योग नै ध्यानयोगको लक्ष हो । त्यो ध्यानयोगको अभ्यास झर्को नमानी निश्चयपूर्वक गर्नु पर्छ । 

जोसँग हाम्रो सम्बन्ध छँदै छैन, भएकै छैन, हुने छैन र हुन सम्भव पनि छैन, त्यस्तो दुःखरूप संसार-शरीरसँग मानियो, यही 'दुःखसंयोग' हो । यो दुःखसंयोग 'योग' होइन । यदि यो दुःखसंयोग योग हुने भए अर्थात् संसारसँग हाम्रो सम्बन्ध नित्य हुने भए यो दुःखसंयोगको कहिले वियोग (सम्बन्ध-विच्छेद) हुने थिएन । परन्तु बोध भएपछि यसको वियोग हुन्छ । यसवाट सिद्ध हुन्छ, दुःखसंयोग खालि हामीले मानिएको हो, हामीले वनाएको हो, स्वाभाविक होइन । जति नै दृढताले यिनसँग संयोग माने पनि र जति नै लामो समयसम्म संयोग माने पनि त्यसको कहिले संयोग हुन सक्तैन । अतः हामी यो मानिएको आगन्तुक दुःखसंयोगको वियोग गर्न सक्छौं । यो दुःखसंयोग (शरीर-संसार) को वियोग हुने वित्तिकै स्वाभाविक 'योग'को प्राप्ति हुन्छ अर्थात् स्वरूपसँग हाम्रो नित्ययोगको अनुभूति हुन्छ ।स्वरूपसँगको नित्ययोगलाई नै यहाँ 'योग' भन्ने बुझ्नु पर्छ । 

यहाँ दुःखरूप संसारको सर्वथा वियोगलाई 'योग' भनिएको छ । यो कुराले हामीमा यो पर्न सक्छ, आफ्नो स्वरूपसँग पहिले वियोग थियो, अव योग भयो । तर कुरा यसो होइन । स्वरूपसँग हाम्रो नित्ययोग छ ।दुःखरुप संसारको संयोगको त आरम्भ र अन्त हुन्छ तथा संयोगकालमा पनि संयोगको आरम्भ र अन्त भइरहन्छ । तर यो नित्ययोगको कहिले आरम्भ र अन्त हुँदैन । कारण यो योग मन, बुद्धि आदि प्राकृत पदार्थहरुसँग हुँदैन, यिनीहरुसँगको सम्बन्ध-विच्छेदले हुन्छ । यो नित्य-योग स्वतःसिद्ध छ । यो सम्बन्धमा सबैको स्वाभाविक स्थिति छ । परन्तु अनित्य संसारसँग सम्बन्ध मानी रहेको कारण यो नित्य योगको अनुभवको विस्मृति भएको हो । संसारसँग सम्बन्ध-विच्छेद हुने वित्तिकै नित्ययोगको स्मृति हुन्छ । यसैलाई अर्जुनले 'नष्टो मोह: स्मृतिर्लब्धा ' भनेका हुन् । अतः यो योग नयाँ भएको होइन, नित्ययोगको अनुभूति भएको हो । 

भगवानले यहाँ 'योगसंगितम्' पद दिएर दुःखको संयोगको वियोगको नाम योग भन्ने वताउनु भयो र दोस्रो अध्यायमा 'समत्वं योग उच्याते' भनेर समतालाई नै 'योग' वताउनु भयो । यहाँ साध्यरूप समताको वर्णन छ र उहाँ साधनरूप समताको वर्णन छ । यी दुवै कुरा तत्वतः एकै हुन्, किनकि साधनरूप समता नै अन्तमा साध्यरूप समतामा परिणत हुन्छ । 

जसमा दुःखहरुको संयोगको नै अभाव छ, यस्तो योग (साधनरूप समता) को उद्देश्य राखेर साधकले झर्को नमानिकन निष्चयपूर्वक ध्यानयोगको अभ्यास गर्नु पर्छ ।  

योगको अनुभव गर्न सबभन्दा पहिले साधकले आफ्नो बुद्धि एक निष्चय भएको वनाउनु पर्छ अर्थात् 'मलाई त योग नै पाउनु छ' भन्ने एक निष्चय गर्नु पर्छ । यस्तो निष्चय गरेपछि संसारमा कति नै प्रलोभन आए पनि, कति नै भयङ्कर कष्ट आए पनि त्यो निष्चय छोड्नु हुन्न । 

समय धेरै लाग्यो, पुरुषार्थ धेरै गरियो ! यसको सिद्धि कहिले होला ? कसरी होला ? भनेर कहिले पनि नआत्तिने । साधकको भाव यस्तो रहनु पर्छ, चाहे जति सुकै वर्ष लागोस्, जति नै जन्म लागोस्, जति नै भयङ्कर भन्दा भयङ्कर दुःख आओस्, तैपनि मलाई तत्व प्राप्त गर्नै पर्छ । साधकको मनमा स्वतःस्वाभाविक यस्तो विचार आउनु पर्छ, मेरो अनेक जन्म भए, तर ती सबै जन्म निरर्थक भए, ती जन्महरूवाट कुनै लाभ भएन । अनेक चोटी नरकहरुको कष्ट भोगियो, तर ती भोग भोग्दा पनि केही भएन अर्थात् पहिले गरिएका पाप नष्ट भए, तर परमात्मा पाइएन । अव यो जन्मको साराका सारा समय, आयु र पुरुषार्थ परमात्माको प्राप्तिमा लागे कति राम्रो हुन्थ्यो !

सांसारिक संयोगको विभाग छुट्टै छ र योगको विभाग छुट्टै छ । जोसँग हामी सँधै वस्न सक्तैनौं, त्योसँग सम्बन्ध हुन्छ । जोसँग हामी सँधै वस्न सक्छौं र जो हामीसँग सँधै वस्न सक्छ, 'योग' त्योसँग हुन्छ । यसैले संसारमा एक अर्कासँग सम्बन्ध हुन्छ र परमात्मासँग योग हुन्छ । संसारको योग छैन, परमात्माको वियोग छैन अर्थात् संसार हामीलाई पाइएको होइन र परमात्मा हामीसँग छुट्टै छैन । संसार हामीसँग मिलेको मान्नु र परमात्मालाई छुट्टै मान्नु -- यही अज्ञान हो, यही मनुष्यको सबभन्दा ठूलो भूल हो । संसारको संयोगको त वियोग भइ नै हाल्छ, तर परमात्माको योगको वियोग हुँदै हुँदैन । 

मनुष्य चाहन्छ संयोग, तर हुन्छ वियोग, यसैले संसार दुःखरूप छ । केही चाहना रहँदा नै दुःखहरुको संयोग हुन्छ । केही पनि चाहना नरहे दुःखहरुको संयोग हुँदैन, परमात्मासँग योग हुन्छ । 

परमात्मासँग जीवको योग अर्थात् सम्बन्ध नित्य छ । यो स्वतःसिद्ध नित्ययोगको नाम नै 'योग' हो । त्यो नित्ययोग सबै देशमा छ, सबै कालमा छ, सबै क्रियाहरुमा छ, सबै वस्तुहरुमा छ, सबै व्यक्तिहरुमा छ, सबै परिस्थितिहरुमा छ, सबै घटनाहरुमा छ । तात्पर्य, यो नित्ययोगको कहिले वियोग भएकै छैन, छँदै छैन, छँदै छैन, हुने पनि छैन र हुन पनि सक्तैन । परन्तु असत् (शरीर)सँग आफ्नो सम्बन्ध मानेकोले यो नित्ययोगको अनुभव हुँदैन । दुःखरुप असत् संसारसँग मानिएको संयोगको वियोग (सम्बन्ध-विच्छेद) हुने वित्तिकै यो नित्ययोगको अनुभव हुन्छ । यही गीताको मुख्य योग हो र यही योगको अनुभव गर्न गीताले कर्मयोग, ज्ञानयोग, ध्यानयोग, भक्तियोग आदि साधनहरुको वर्णन गरेको हो । तर यी साधनहरुलाई योग त्यही वेला भनिन्छ, जव असत् सँग सर्वथा सम्बन्ध-विच्छेद र परमात्मासँग नित्य सम्बन्धको अनुभव हुनेछ ।

योगको परिभाषा भागावानले दुई किसिमले गर्नुभएको छ --

(१) समताको नाम योग हो ।
(२) दुःखरूप संसारको संयोगको वियोगको नाम योग हो ।

चाहे समता भनौं, चाहे संसारको संयोगको वियोगको भनिदिऊँ, दुवै एकै हुन् । तात्पर्य, समतामा स्थिति भएपछि संसारको संयोगको वियोग हुनेछ र संसारको संयोगको वियोग भएपछि समतामा स्थिति हुनेछ । दुईमध्ये कुनै एउटा भएपछि नित्ययोगको प्राप्ति हुनेछ । परन्तु सूक्ष्म दृष्टिले हेर्दा, दुःखरूप संयोगको वियोग पहिलो स्थिति हो र समता (योग) पछिल्लो स्थिति हो, यो स्थितिमा नैष्ठिकी शान्ति, परम शान्ति अथवा आत्यन्तिक सुखको प्राप्ति छ ।

समताको प्राप्ति पनि स्वतःसिद्ध भइरहेछ र दुःखहरुको निवृत्ति पनि स्वतः भइरहेछ । नित्य प्राप्तको नै प्राप्ति हुन्छ र नित्यनिवृत्तको नै निवृत्ति हुन्छ । नित्यप्राप्तको प्राप्तिको नाम पनि योग हो र नित्यनिवृत्तको निवृत्तिको नाम पनि योग हो । वस्तु, व्यक्ति र क्रियाको संयोगले हुने जति सबै सुख दुःखहरुका कारण हुन् अर्थात् दुःख पैदा गर्ने कारण हुन् । अतः संयोगमा नै दुःख छ, वियोगमा छैन । वियोग (संसारसँगको सम्बन्ध-विच्छेद) मा हुने सुखको वियोग हुँदैन, किनकि त्यो वियोग नित्य छ ।संयोगमा पनि वियोग भए र वियोगमा पनि वियोग भए वियोग नै नित्य भयो । यो नित्य वियोगलाई नै गीता 'योग' भन्छ । 

परमात्मतत्व 'छ' रुप छ र संसार 'छैन' रूप छ । एउटा मार्मिक हो, 'छ' हेर्दा शुद्ध 'छ' देखिंदैन, तर 'छैन' हेर्दा शूद्ध 'छैन' देखिन्छ ! कारण, 'छ' हेर्दा मन-बुद्धि लगाइन्छ, वृत्ति लगाइन्छ, त्यो वेला 'छ' सँग वृत्तिरुप 'छैन' मिलिरहन्छ । परन्तु 'छैन'लाई 'छैन' रूपले हेर्दा वृत्ति पनि 'छैन'मा जान्छ र शूद्ध 'छ' शेष रहन्छ । तात्पर्य, 'परमात्मा सबैमा परिपूर्ण हुनुहुन्छ' -- यसको मनन-चिन्तन गर्दा, बुद्धिले निष्चय गर्दा वृत्तिसँग हाम्रो सम्बन्ध वनिरहन्छ । तर 'संसारको प्रतिक्षण वियोग भइरहेछ' -- यस्तो प्रकारले संसारलाई अभावरूपले देख्दा संसार र वृत्ति -- दुवैसँग सम्बन्ध-विच्छेद हुनेछ र भावरुप शूद्ध परमात्मतत्व स्वतःशेष रहला । 

No comments:

Post a Comment