Wednesday 3 December 2014

Gita: Chapter 5: Slok 29: श्लोक २९ म परमात्मालाई, सबै यज्ञहरुको र तपहरुको भोक्ता, सम्पूर्ण लोकहरुको महान् ईश्वर तथा

No163

श्लोक २९ 

म परमात्मालाई, सबै यज्ञहरुको र तपहरुको भोक्ता, सम्पूर्ण लोकहरुको महान् ईश्वर तथा सम्पूर्ण प्राणीहरुको सुहृद् (स्वार्थरहित दयालु र प्रेमी) जानेर (भक्त) शान्ति पाउँछ । 

कुनै व्यक्तिले शुभ कर्म गर्दा ऊ कर्म गर्ने उपकरण, शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थहरुलाई आफ्नो मान्छ र जसकोलागि शुभ कर्म गर्छ उसलाई त्यो कर्मको भोक्ता मान्छ । जस्तो, कुनै देवताको पूजा गर्दा ऊ त्यो देवतालाई पूजारूप कर्मको भोक्ता मान्छ । कसैको सेवा गरियो भने त्यो सेवा पाउने व्यक्तिलाई सेवारूप कर्मको भोक्ता मान्छ । कुनै भोको व्यक्तिलाई अन्न दिइयो भने अन्न पाउने व्यक्तिलाई भोक्ता मान्छ । यो मान्यता हटाउन भगवान भन्नुहुन्छ, सम्पूर्ण शुभ कर्महरुको भोक्ता म हुँ।' कारण सम्पूर्ण प्राणीहरुको हृदयमा भगवान नै विद्यमान हुनुहुन्छ । कसैको पूजन गर्नु, कसैलाई अन्न-जल दिनु, कसैलाई वाटो देखाउनु जस्ता शुभ कर्महरुको भोक्ता भगवानलाई नै मान्नु पर्छ । लक्ष भगवानको नै हुनुपर्छ, प्राणीको होइन ।

नवौं अध्यायमा पनि भगवानले आफूलाई सम्पूर्ण यज्ञहरुको भोक्ता वताउनु भएको छ । 

अर्को कुरा, शुभ कर्म गर्ने शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थ आदि आफ्ना होइनन्, भगवानका नै हुन् । तिनलाई आफ्नो मान्नु भूल हो । तिनलाई आफ्नो मानेर आफ्नोलागि शुभ कर्म गर्दा मनुष्य स्वयं ती कर्महरुको भोक्ता वन्छ । अतः भगवान भन्नुहुन्छ, 'तिमी सम्पूर्ण शुभ कर्महरु आफ्नोलागि कहिले पनि नगर, केवल मेरोलागि गर ।' यसो गरे तिमी कर्महरुको फलभागी वन्दैनौ र कर्महरुसँग तिम्रो सम्बन्ध विच्छेद हुन्छ । 

सबै अशुभ कर्म कामनावाट नै हुन्छन् । कामना त्यागेर खालि भगवानकोलागि नै सबै कर्म गरे अशुभ कर्म त स्वरूपवाट हुँदैनन् तथा शुभ कर्महरुसँग आफ्नो सम्बन्ध रहंदैन । यसरी सम्पूर्ण कर्महरुसँग सर्वथा सम्बन्ध-विच्छेद भएपछि परमशान्ति प्राप्त हुन्छ ।

भिन्न-भिन्न लोकहरुको भिन्न-भिन्न ईश्वर हुन सक्छन्; किन्तु ती ईश्वरहरु पनि भगवानकै अधीन छन् । भगवान सम्पूर्ण लोकहरुको ईश्वरहरूको पनि ईश्वर हुनुहुन्छ, यसैले उहाँलाई 'सर्वलोकमहेश्वर' पद दिइएको हो । तात्पर्य, सम्पूर्ण सृष्टिको एक मात्र स्वामी भगवान नै हुनुहुन्छ; फेरि कुनै इमान्दार व्यक्ति सृष्टिको कुनै पनि वस्तुलाई आफ्नो कसरी मान्न सक्छ र ? 

शरीर, इन्द्रियहरु, मन, बुद्धि,प्राण, स्त्री, धन, जमीन, घर आदिलाई आफ्नो मानी मानी व्यक्तिहरु भन्छन्, 'भगवान नै सारा संसारको मालिक हुनुहुन्छ ।' तर यस्तो भन्नु समझदारी होइन; मनुष्यले शरीर, इन्द्रियहरु, मन आदि आफ्नो मानी मानी भगवानलाई सारा संसारको स्वामी मान्नु आफूले आफैंलाई धोखा दिनु हो। कारण, यदि सबैले शरीर आदि पदार्थहरुलाई आफ्नो आफ्नो भन्ने मानी रहे के वांकी रहन्छ र ? अनि भगवानलाई कसरी संसारको स्वामी मान्ने ? अर्थात् भगवानको भागमा केही पनि वांकी भएन । यही कारण, शरीर आदि पदार्थलाई आफ्नो नमान्ने व्यक्ति नै 'सबै भगवानको हो' भन्न सक्छ । कुनै पनि वस्तुलाई आफ्नो मान्ने व्यक्ति भगवानलाई यथार्थरूपले आफ्नो मान्दैन । 

शरीर आदि पदार्थहरुको सदुपयोग गर्ने अधिकार मनुष्यलाई छ, आफ्नो मान्ने अधिकार विल्कुलै छैन । यी पदार्थहरुलाई आफ्नो नमानेर केवल भगवानको मान्दै उहाँकै सेवामा लगाइदिए परमशान्ति प्राप्त हुन्छ ।

सम्पूर्ण लोकहरुको ईश्वरहरूको पनि ईश्वर, विना कारण स्वभावैले सम्पूर्ण प्राणीहरुको हित गर्ने, सम्पूर्ण प्राणीहरुको रक्षा गर्ने तथा सम्पूर्ण प्राणीहरुको प्रेम गर्ने हुनुहुन्छ र यस्तो हितैषी, रक्षक तथा प्रेमी अरु कोही पनि छैन भन्ने जाने  र  दृढतापूर्वक माने परमशान्ति प्राप्त हुन्छ; किनकि भगवान वास्तवमा यस्तै हुनुहुन्छ । महान् शक्तिशाली भगवान विना कुनै प्रयोजन हाम्रो परम सुहृद् हुनुहुन्छ, अनि हामीमा भय, चिन्ता, उद्वेग, अशान्ति कसरी हुन सक्छन् ? 

सबै जीवलाई विना कारण हित गर्ने दुई जना हुन्छन् -- भगवान र उहाँको भक्त । भगवानलाई कसैसँग केही पनि पाउनु छैन । यसैले उहाँ सबैको सुहृद् हुनुहुन्छ । भक्त पनि आफ़्नोलागि कसैसँग केही चाहँदैन र सबैको हित चाहन्छ र हित गर्छ । यसैले भक्त पनि सबैको सुहृद् हो । भक्तमा आउने सुहृत्ता भगवानवाट नै आएको हो । 

भगवान सम्पूर्ण यज्ञहरु र तपहरुको भोक्ता हुनुहुन्छ, सम्पूर्ण लोकहरुको महान् ईश्वर हुनुहुन्छ तथा हाम्रो परम सुहृद् हुनुहुन्छ -- यी तीन कुराहरुमध्ये एउटा मात्रै कुरा पनि दृढताले मानियो भने भगवत्प्राप्तिरुप परमशान्तिको प्राप्ति हुन्छ, यदि तीनै कुराहरु माने त भन्नै के पर्यो र ?

आफ्नोलागि केही चाहने, कुनै पनि वस्तु आफ्नो मान्ने र भगवानलाई आफ्नो नमान्ने -- यी तीनै कुराहरु भगवत्प्राप्तिमा मुख्य वाधक हुन् । भगवान भन्नुहुन्छ, आफ्नोलागि केही पनि नचाहनु र केही पनि नगर्नु, आफ्नो केही पनि नमान्नु अर्थात् सुखको इच्छाको त्याग गर्नु र व्यक्ति, वस्तुहरुको अधिकार त्याग्नु तथा खालि मलाई नै आफ्नो मान्नु, अरु कुनै वस्तु-व्यक्ति आदिलाई आफ्नो नमान्नु । यी कुरा मध्ये एउटा कुरा मात्रै माने अरु कुराहरु स्वतः आउँछ र भगवत्प्राप्ति हुन्छ ।

आफ्नो सुखको इच्छाको त्याग त्यही वेला हुन्छ, जव मनुष्य कुनै पनि प्राणी-पदार्थलाई आफ्नो मान्दैन । कुनै पनि पदार्थलाई आफ्नो मानुन्जेल व्यक्तिले वदलामा सुख खोजिहाल्छ । सुखको इच्छाको त्यागले ममताको त्याग हुन्छ र ममताको त्यागले सुखको इच्छाको त्याग हुन्छ । सबै वस्तु, व्यक्तिहरुमा ममताको त्याग भएपछि एक मात्र भगवान आफ्नो रहनुहुन्छ । अरु कसैलाई आफ्नो मान्नेले भगवानलाई पूर्णरूपले आफ्नो मान्दैन, चाहे 'भगवान मेरो हो' भनेर जतिसुकै भनोस् । मानिएका सम्बन्धहरुको अभाव भएपछि भगवानसँग आफ्नो साँचो आत्मीयता जाग्रत हुन्छ । तात्पर्य,चाहे सुखको इच्छाको त्याग होस्, चाहे ममताको अभाव होस् र चाहे भगवानसँग साँचो आत्मीयता होस्, यिनीहरु हुने वित्तिकै परमशान्तिको अनुभव हुन्छ । कारण, एउटा मात्रै भाव दृढ भए अरु भाव पनि सँगै आउँछन् ।

पहिले त कर्म गर्नु पर्छ, त्यसपछि कर्म गर्ने विद्या आउनु पर्छ ।मनुष्य कर्म त गर्छ, तर कर्म गर्ने विद्या जान्दैन भने अथवा कर्म गर्ने विद्या त जान्दछ तर कर्म गर्दैन भने उ द्वारा सुचारुरूपले कर्म हुँदैनन् । यही कारण, भगवानले तेस्रो अध्यायमा कर्म गर्नमा विशेष जोड दिनुभएको हो र साथसाथै कर्महरु जान्ने कुरा पनि गर्नु भयो। अझ चौथो अध्यायमा कर्महरुको तत्व जान्नमा विशेष जोड दिनुभयो र साथै कर्म गर्ने कुरा पनि गर्नुभयो । पाँचौं अध्यायमा     सांख्ययोग र कर्मयोग -- दुबैद्वारा कल्याण हुने कुरा आएको छ, तथापि भगवानले सांख्ययोग भन्दा कर्मयोग श्रेष्ठ वताउनु भयो ।यो अध्यायमा भगवानले क्रमपूर्वक कर्मयोग र सांख्ययोगको वर्णन गरेर फेरि संक्षेपले ध्यानयोगको वर्णन गर्नुभयो र अन्तमा संक्षेपले भक्तियोगको वर्णन गर्नु भयो । यही भगवानको मुख्य ध्येय हो ।  

No comments:

Post a Comment