Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 15: श्लोक १५ मनलाई वश गरेको योगी आफ्नो मनलाई यसरी सँधै परमात्मामा लगाउँदै ममा सम्यक् स्थिति,

No.173

श्लोक १५ 

मनलाई वश  गरेको योगी आफ्नो मनलाई यसरी सँधै परमात्मामा लगाउँदै ममा सम्यक् स्थिति, निर्वाणपरमा शान्ति पाउँछ ।

मनमा अधिकार हुने मनुष्य 'नियतमानस' हो । साधकको उद्देश्यमा केवल परमात्मा नै रहँदा  ऊ 'नियतमानस' हुन सक्छ । उसको सम्बन्ध परमात्मासँग भन्दा अरुसँग रहँदैन । कारण, मन संसारमा रहुन्जेल उसको मन नियत हुन सक्तैन । 

साधकवाट ठूलो गल्ति हुन सक्छ, ऊ आफूलाई गृहस्थ मान्छ र साधन ध्यानयोगको गर्छ । यसो गर्दा ध्यानयोगको सिद्धि चांडै हुन सक्तैन । अतः साधकले आफूलाई गृहस्थ, साधु, ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र आदि कुनै वर्ण-आश्रमको नमानेर यस्तो मान्ने, 'म त खालि ध्यान गर्ने व्यक्ति हुँ । ध्यानवाट परमात्माको प्राप्ति गर्नु मेरो काम हो । सांसारिक ऋद्धि-सिद्धि पाउने उद्देश्य मेरो होइन ।' यसरी अहंताको परिवर्तन भएपछि मन स्वाभाविक नै नियत हुनेछ । किनकि अहंतामा नै अन्तःकरण र वहिःकरणको प्रवृत्ति स्वाभाविक हुन्छ । तात्पर्य, मनलाई संसारवाट हटाएर परमात्मामा लगाइरहनु पर्छ । 

ध्यानयोगको अभ्यास प्रतिदिन नियमितरूपले हुनुपर्छ । कहिले योगको अभ्यास गर्ने, कहिले नगर्ने गर्दा ध्यानयोगको सिद्धि चांडै हुँदैन । अर्को कुरो, परमात्माको प्राप्तिको लक्ष्य एकान्तमा अथवा व्यवहारमा निरन्तर वनिरहनु पर्छ ।

भगवानमा हुने वास्तविक स्थितिलाई 'निर्वाणपरमा' शान्ति भनिएको छ । यस्तो स्थिति पाएपछि अरु केही पाउनु वांकी रहँदैन । ध्यानयोगीलाई निर्वाणपरमा शान्ति प्राप्त हुन्छ ।

'निर्विकल्प स्थिति' र 'निर्विकल्प बोध'मा पहिले निर्विकल्प स्थिति हुन्छ, त्यसपछि निर्विकल्प बोध हुन्छ । यही निर्विकल्प बोधलाई यहाँ 'निर्वाणपरमा शान्ति' भनिएको हो ।

शान्ति दुई प्रकारका हुन्छन् -- शान्ति र परमशान्ति । संसारको त्याग (सम्बन्ध-विच्छेद)ले 'शान्ति' हुन्छ र परमात्मतत्वको प्राप्ति भएपछि 'परमशान्ति' हुन्छ । यही परमशान्तिलाई गीतामा 'नैष्ठिकी शान्ति', शश्वच्छान्ति' आदि नामहरुले र यहाँ निर्वाणपरमा शान्ति नामले भनिएको छ । 

श्लोक १६  

हे अर्जुन ! यो योग न धेरै खानेलाई र न विल्कुल नखानेलाई सिद्ध हुन्छ तथा न धेरै सुत्नेलाई र न विल्कुल नसुत्नेलाई नै सिद्ध हुन्छ ।

धेरै खाने व्यक्तिलाई योग सिद्ध हुँदैन । कारण अन्न धेरै खानाले अर्थात् भोक नलागी खानाले अथवा भोक भन्दा धेरै खानाले, तिर्खा धेरै लाग्नाले पानी धेरै पिउनु पर्छ । धेरै अन्न खाएर धेरै पानी पिउँदा पेट भारी (गह्रुँगो) हुन्छ । पेट भारी हुँदा शरीर पनि भारी जस्तो लाग्छ । शरीरमा आलस्य हुन्छ । यसो हुँदा कुनै काम गर्न अथवा साधन, भजन, जप, ध्यान गर्न मन लाग्दैन । न सजिलोसँग वस्न सकिन्छ र न सुखपूर्वक सुत्न सकिन्छ, न यता-उति हिंड्न-डुल्न नै मन लाग्छ । अजीर्ण आदि हुँदा शरीरमा रोग लाग्छ । यसैले धेरै खाने व्यक्तिको योग कसरी सिद्ध हुन सक्छ ?

त्यस्तै विल्कुल नखानेलाई पनि योग सिद्ध हुँदैन । किनकि भोजन नगर्दा मनमा वेला वेलामा भोजनको चिन्तन हुन्छ । शरीरमा शक्ति कम हुन्छ । शरीर निर्धो भई हिंड्न-डुल्न पनि गाह्रो हुन्छ, सुतिरहन मन लाग्छ । वाँच्न पनि असहज हुन्छ । वसेर गर्ने अभ्यास पनि गर्न सकिंदैन । चित्त परमात्मामा लाग्दैन । अतः यस्तो व्यक्तिको योग कसरी सिद्ध होला ?

धेरै सुत्ने स्वभाव भएकोलाई पनि योग सिद्ध हुँदैन । कारण, धेरै सुत्दा वानी विग्रन्छ अर्थात् वेला वेलामा निद्रा लागिरहन्छ । यसै वसिरहन सजिलो लाग्छ । यसो हुँदा मनमा संकल्प-विकल्प भइरहन्छन् । शरीर अल्छी हुन्छ । आलस्यले गर्दा वस्न पनि कठिन हुन्छ । अतः ऊ योगको अभ्यास गर्न सक्तैन, अनि योगको सिद्धि कसरी होला ?  

हे अर्जुन ! धेरै सुत्ने व्यक्तिलाई योगको सिद्धि नभएपछि विल्कुल नसुत्नेलाई कसरी योगको सिद्धि होला ? किन कि आवश्यकता अनुसार ननिदाएर, धेरै समय विउँझदा पनि निद्राले सताउँछ । यसरी योगको अभ्यास हुन सक्तैन ।                           
सात्विक मनुष्यहरुमा पनि कहिले सत्संगको, सात्विक गहिरो कुराहरुको, भगवानका कथाहरुको अथवा भक्तहरुको चरित्रहरुको प्रसंग आउँदा, कथा भन्दा, सुन्दा रस, आनन्द आउँछ, त्यो वेला उनीहरुलाई निद्रा लाग्दैन । तर उनीहरुको  विउंझनु अर्कै किसिमको हुन्छ अर्थात् राजसी-तामसी वृत्ति भएकाहरुको जस्तो विउंझनु सात्विक वृत्ति भएकाहरुको हुँदैन । त्यसरी विउंझदा सात्विक मनुष्यहरुले पाउने आनन्दमा निद्राको विश्रामको खुराक हुन्छ । अतः कति रात विउंझिरहंदा पनि उनीहरुलाई अरु समयमा निद्राले दुःख दिंदैन । यति मात्रै होइन, उनीहरुको यस्तो जागा रहनु पनि उनीहरुलाई गुणातीत रहन सहायता गर्छ । तर राजसी र तामसी वृत्ति भएकाहरुले राति यसरी जागा रहँदा उनीहरुलाई अरु वेला निद्राले दुःख दिन्छ र रोग पैदा हुन्छ । 

त्यस्तै भक्तहरु भगवानको नाम-जपमा, कीर्तनमा, भगवानको विरहमा भोजन गर्न विर्सन्छन्, उनीहरुलाई भोकले दुःख दिंदैन ।  उनीहरुलाई भोक नलागे पनि 'अनश्नत:' हुँदैनन् । किनभने, भगवानतिर लाग्दा उनीहरुवाट जे जस्तो हुन्छ, त्यो 'सत्' नै हुन्छ ।

No comments:

Post a Comment