Wednesday 3 December 2014

Gita: Chapter 5: Slok 26: श्लोक २६ काम-क्रोधदेखि सर्वथा रहित, आफ्नो मनलाई जितेका र स्वरूपको साक्षात्कार गरेका

No. 162

श्लोक २६ 

काम-क्रोधदेखि सर्वथा रहित, आफ्नो मनलाई जितेका र स्वरूपको साक्षात्कार गरेका सांख्ययोगीहरुलाई सबैतिरवाट (शरीर रहँदा रहँदै अथवा शरीर छुटेपछि) निर्वाण ब्रह्म परिपूर्ण छ ।
यो श्लोकमा भगवान भन्नुहुन्छ, सिद्ध महापुरुषमा काम-क्रोध आदि दोषहरुको गन्ध पनि रहँदैन । काम-क्रोध आदि दोष उत्पत्ति-विनाशशील असत् पदार्थहरु (शरीर, इन्द्रियहरु, मन, बुद्धि) को सम्बन्धले उत्पन्न हुन्छन् । सिद्ध महापुरुषलाई उत्पत्ति-विनाशरहित सत्-तत्वमा आफ्नो स्वाभाविक स्थितिको अनुभव हुन्छ, त्यसैले उत्पत्ति-विनाशशील असत् पदार्थहरुसँग उसको सम्बन्ध रहँदै रहँदैन । उसको अनुभवमा आफ्नो भनिने शरीर -- अन्तःकरणसहित सम्पूर्ण संसारसँग सम्बन्धको पूर्ण अभाव हुन्छ; अतः उसमा काम-क्रोध आदि विकार कसरी उत्पन्न हुन सक्छन् ? सूक्ष्मरूपले पनि काम-क्रोध आफूमा छ भने आफूलाई जीवन्मुक्त मान्नु भ्रम नै हो ।

उत्पत्ति-विनाशशील वस्तुहरुको इच्छालाई 'काम' भन्छन् । काम अर्थात् कामना अभाववाट पैदा हुन्छन् । अभाव सँधै असत् मा रहन्छ । सत्-स्वरूपमा अभाव छँदै छैन । परन्तु स्वरूपले असत् सँग तादात्म्य गरेपछि असत-अंशको अभावलाई व्यक्ति आफूमा मान्छ । आफूमा अभाव मान्दा नै कामना पैदा हुन्छ र कामना पूर्तिमा वाधा लाग्दा क्रोध आउँछ । यसरी स्वरूपमा कामना नहुँदा पनि तादात्म्यले गर्दा आफूमा कामना प्रतीत हुन्छ । परन्तु तादात्म्य नष्ट भएका र स्वरूपमा स्वाभाविक स्थितिको अनुभव भएको व्यक्तिलाई स्वयंमा असत् को अभावको अनुभव कसरी हुन सक्छ र ?

साधन गरे काम-क्रोध कम हुन्छन् भन्ने साधकहरुको अनुभव छ । कम हुने चिज मेटिन्छ पनि । अतः जुन साधनले काम-क्रोध कम हुन्छन्, तिनै साधनले ती मेटिइ पनि हाल्छन् ।

साधन गर्नेको अनुभव यस्तो हुन्छ, (१) काम-क्रोध पहिले जति छिटो आऊँथे, त्यति छिटो अव आउँदैनन् । (२) काम-क्रोध पहिले आउने जति वेगले अव आउँदैनन् । (३) काम-क्रोध पहिले जति वेर अडथे, अव अडदैनन् । कहिले कहिले त साधकहरुलाई यस्तो पनि लाग्छ, काम-क्रोधको वेग साधकलाई पहिले भन्दा पनि धेरै आयो । यसको कारण, (१) साधन गर्दा भोगासक्ति त मेटिदै गए र पूर्णावस्था प्राप्त भएन । (२) अन्तःकरण शुद्ध भएपछि थोरै काम-क्रोध पनि साधकलाई धेरै लाग्छन् । (३) कसैले आफ्नो मनको विरुद्ध काम गरे त्यो काम साधकलाई नराम्रो लाग्छ, तर साधक त्यो कुराको पर्वाह गर्दैन । तर नराम्रो लाग्ने भाव आफू भित्र जम्मा भइरहेको हुन्छ । त्यसपछि अन्तमा सानो कुरामा पनि कडा क्रोध आउँछ; भित्र जम्मा भएको क्रोध एकै चोटि वाहिर निस्कियो । यसो हुँदा अर्को व्यक्तिलाई पनि आश्चर्य हुन्छ, 'यति सानो कुरामा पनि यस्तो क्रोध किन आएको होला' भनेर ।

कहिले कहिले वृत्तिहरु ठीक हुँदा साधकलाई यस्तो लाग्छ, 'मेरो पूर्णावस्था भयो' । तर वास्तवमा पूर्णावस्थाको अनुभव गर्ने वृत्ति रहुन्जेल पूर्णावस्था (व्यक्तित्व वनिरहँदा) पूर्णावस्था भएको छैन ।

असत् सँग सम्बन्ध रहुन्जेल मन वशमा हुँदैन । असत् को सम्बन्ध पूर्णतया नरहे महापुरुषहरुको भनिने मन स्वतः वशमा रहन्छ । 

आफ्नो स्वरूपको वास्तविक बोध भएकोले ती महापुरुषहरुलाई 'विदितात्मनाम्' भनिएको छ । तात्पर्य, जुन उद्देश्य लिएर मनुष्यजन्म भएको छ र मनुष्यजन्मको यति ठूलो महिमा गाइएको छ, त्यही उद्देश्य ती महापुरुषहरुले प्राप्त गरे ।

शरीर रहँदा अथवा शरीर छुटेपछि, नित्य महापुरुषहरु नित्य निरन्तर शान्त ब्रह्ममा नै स्थित रहन्छन् । धेरै किसिमका क्रियाहरु गर्दा साधारण मनुष्यहरुको शरीरको स्थितिको मान्यता निरन्तर रहन्छ । त्यस्तै छुट्टा छुट्टै क्रियाहरु गरेको वेला ती महापुरुषहरुको स्थिति निरन्तर ब्रह्ममा नै रहन्छ । उनीहरुको यो स्वाभाविक स्थितिमा कहिले अलिकति पनि अन्तर आउँदैन; क्रियाहरु हुने बिभाग (असत्) सँग उनीहरुको कुनै सम्बन्ध नै रहँदैन । 

श्लोक २७, २८ 

वाहिरका पदार्थहरुलाई वाहिर नै छोडेर र नेत्रहरुको दृष्टिलाई आँखी भौंको वीचमा स्थित गरेर तथा नासिकामा विचरण गर्ने, प्राण र अपान वायुलाई सम गरेर इन्द्रियहरु, मन र बुद्धि आफ्नो वशमा गरेको मोक्षपरायण तथा इच्छा, भय र क्रोधले सर्वथा रहित मुनि सँधै मुक्त नै छ । 

परमात्मा सिवाय अरु सबै पदार्थ वाहिरी हुन् । वाहिरी पदार्थहरुलाई वाहिर नै छोडिदिने भनेको, मनले वाहिरी विषयहरुको चिन्तन नगर्ने । 

बाहिरी पदार्थहरुको सम्बन्धको त्याग कर्मयोगमा सेवा द्वारा र ज्ञानयोगमा विवेक द्वारा गरिन्छ । यहाँ भगवान ध्यानयोगद्वारा वाहिरी पदार्थहरुसँग सम्बन्ध-विच्छेदको कुरा गरिरहनु भएको छ ।ध्यानयोगमा परमात्माको मात्रै चिन्तन हुने हुनाले पदार्थहरुसँग विमुखता हुन्छ । 

वास्तवमा वाहिरी पदार्थहरु वाधक छैनन् । वाहिरी पदार्थहरुसँग रागपूर्वक मानिएको आफ्नो सम्बन्ध नै वाधक हो । यो मानिएको सम्बन्धको त्याग गर्नमा नै माथिका शब्दहरुको आशय हो ।

ध्यानकालमा नेत्रहरुलाई पूरै वन्द राखियो भने लयदोष अर्थात् निद्रा लाग्न सक्छ, र नेत्रहरु पूरै खोलियो भने पनि (आफ्नो अगाडि दृश्य रहने हुँदा) विक्षेप दोष हुने सम्भावना रहन्छ। यी दुवै प्रकारका दोषहरु हटाउन आधा चिम्लिएका नेत्रहरुको दृष्टिलाई दुवै आँखी भौंको वीचमा राख्न भनिएको हो ।

नासिकावाट वाहिर निस्कने वायुलाई 'प्राण' र नासिकावाट भित्र जाने वायुलाई 'अपान' भन्छन् । 

प्राणवायुको गति लामो र अपान वायुको गति छोटो हुन्छ । यी दुबैलाई सम गर्न पहिले वायाँ नासिकावाट अपान वायुलाई भित्र लगेर दायाँ नासिकाले प्राणवायुलाई वाहिर निकाल्ने । फेरि दायाँ नासिकाले अपान वायुलाई भित्र लगेर वायाँ नासिकाले वाहिर निकाल्ने । यी सबै क्रियाहरुमा वरावर समय लाग्नु पर्छ । यसरी लगातार अभ्यास गरिरहँदा प्राण र अपान वायुको गति सम, शान्त र सूक्ष्म हुन्छ । नासिकाको वाहिर र भित्र तथा कण्ठ आदि देशमा वायुको स्पर्शको ज्ञान भएन भने यो बुझ्नु पर्यो, प्राण-अपानको  गति सम भयो । यी दुबैको गति सम भएपछि (लक्ष परमात्मा भएकोले) मनले स्वाभाविक नै परमात्माको चिन्तन हुन थाल्छ । 
सबै मनुष्यमा एउटा इन्द्रियको ज्ञान रहन्छ र एउटा बुद्धिको ज्ञान हुन्छ । इन्द्रिय र बुद्धि -- यी दुईको वीचमा मनको निवास छ । हामीले विचार गर्नु पर्यो, हाम्रो ज्ञानमा इन्द्रियहरुको ज्ञानको प्रभाव छ कि, बुद्धिको ज्ञानको प्रभाव छ कि दुबैको ज्ञानको प्रभाव छ । इन्द्रियहरुको ज्ञानमा संयोगको प्रभाव पर्छ र बुद्धिको ज्ञानमा परिणामको । मनमा इन्द्रियहरुको ज्ञानको प्रभाव परेका मनुष्यहरू संयोगजन्य सुखभोगमा नै लागिरहन्छन् र मनमा बुद्धिको ज्ञानको प्रभाव परेको व्यक्तिहरु (उनीहरुको दृष्टि परिणामतिर रहेकोले) संयोगजन्य सुखभोग त्याग गर्न समर्थ हुन्छन् । 

प्रायः साधकहरुको मनमा आंशिकरूपले इन्द्रियहरु र बुद्धि -- दुवैको ज्ञानको प्रभाव रहन्छ । उनीहरुको मनमा इन्द्रियहरु तथा बुद्धिको ज्ञानको द्वन्द्व चलिरहन्छ । यसैले उनीहरु आफ्नो विवेकलाई महत्व दिन सक्तैनन् । यही द्वन्द्व ध्यानमा वाधक हो । त्यसैले यहाँ मन, बुद्धि तथा इन्द्रियहरु वशमा गर्ने तात्पर्य हो, मनमा केवल बुद्धिको ज्ञानको मात्रै प्रभाव रहोस्, इन्द्रियहरुको ज्ञानको प्रभाव रहँदै नरहोस् । 

परमात्मप्राप्ति मात्रै लक्ष भएको मननशील साधकलाई यहाँ 'मोक्षपरायण:' भनिएको छ । परमात्मतत्व सबै देश, कालमा परिपूर्ण भएको कारण सदा-सर्वदा सबैलाई प्राप्त छ । तर दृढ निश्चय नभएकोले यस्तो नित्यप्राप्त तत्वको अनुभूतिमा ढिलाइ भैरहेछ । यदि हाम्रो निश्चय एउटा मात्रै र दृढ हुन सक्यो भने तत्वको अनुभव हुन ढिलो हुँदैन । वास्तवमा उद्देश्य पहिले नै वनिसकेको छ, किनभने परमात्मा प्राप्तिकोलागि नै मनुष्य शरीर मिलेको हो हामीलाई । हामीले यो उद्देश्यको पहिचान गर्नु छ । साधकले यो उद्देश्य चिनेपछि परमात्मा प्राप्तिको लालसा हुन्छ उसमा । यही लालसाले सबै संसारका कामनाहरु हटाएर साधकलाई परमात्मतत्वको अनुभव गराइदिन्छ । अतः परमात्मप्राप्तिको उद्देश्यको पहिचान गर्ने व्यक्तिलाई नै 'मोक्षपरायण:' शब्दको प्रयोग भयो यहाँ ।

कर्मयोग, सांख्ययोग, ध्यानयोग, भक्तियोग -- सबै साधनहरुमा दृढ निश्चय या उद्देश्यको ठूलो आवश्यकता छ । आफ्नो कल्याणको मात्रै उद्देश्य नभए साधकलाई सिद्धि कसरी मिल्छ ? यसैले यहाँ 'मोक्षपरायण:' शब्दले ध्यानयोगमा दृढ निश्चयको आवश्यकताको कुरा गरिएको हो । 

आफ्नो इच्छा पूर्ति गर्न वाधा दिने प्राणीलाइ आफू भन्दा वलियो व्यक्तिसँग भय (डर) हुन्छ र आफू भन्दा निर्वल व्यक्तिसँग क्रोध हुन्छ । त्यस्तै, हामीमा वाँच्ने इच्छा छ भने मृत्युसँग डर लाग्छ र अरुसँग आफ्नो इच्छा पूर्ति गराउने तथा अरुमा आफ्नो अधिकार जमाउने इच्छा छ भने त्यो व्यक्तिमा क्रोध हुन्छ । अतः भय र क्रोध हुन इच्छा नै मुख्य छ । मनुष्यमा यदि इच्छापूर्तिको उद्देश्य छैन भने, खालि परमात्मा पाउने मात्रै उद्देश्य छ भने उसमा भय-क्रोधसहित सबै इच्छाहरुको अभाव हुन्छ । समस्त इच्छाहरुको अभाव भएपछि मनुष्य मुक्त हुन्छ । कारण, वस्तुहरुको इच्छा र वाँच्ने इच्छाले नै मनुष्य जन्म-मरणरुप बन्धनमा परेको हो । साधकले गम्भीरतापुर्वक विचार गर्नु पर्यो, के वस्तुहरुको इच्छावाट वस्तुहरु पाइन्छन् ? के वाँच्ने इच्छाले मृत्युसँग वच्न सकिन्छ ?  वास्तविकता यो छ, न त मनुष्यको इच्छाको पूर्ति हुन सक्छ र न मृत्युवाट वच्न नै सकिन्छ । यदि हामीलाई 'मलाई परमात्मा मात्रै चाहिन्छ, अरु केही पनि चाहिंदैन' भन्ने दृढ निश्चय भयो भने हामी अहिले नै मुक्त हुन सक्छौं ।तर यदि वस्तुहरुको र वाँच्ने इच्छा छ भने हाम्रो इच्छा कहिले पनि पूरा हुँदैन र मृत्युको डरवाट पनि वचाउ हुने छैन तथा क्रोधवाट पनि छुटकारा हुने छैन ।यही कारण, मुक्त हुने हो भने इच्छारहित हुनु पर्यो । 

कुनै वस्तु हामीलाई मिल्नु छ भने इच्छा नगरी पनि मिल्छ र मिल्नु छैन भने इच्छा गरे पनि मिल्दैन । त्यसैले वस्तु मिल्नु र नमिल्नु इच्छाको अधीन छैन, कुनै विधानको अधीन छ । इच्छाको अधीन नै नभएको वस्तुलाई छोड्न के गाहारो छ र ? यदि वस्तुको इच्छा पूरा हुने भए त्यो इच्छा पूरा हुने प्रयत्न गर्ने हो र वाँच्ने पूरा हुन्छ भने मृत्यसँग वच्ने प्रयत्न गर्ने हो । तर इच्छा अनुसार न त सबै वस्तुहरु पाइन्छन् र न मृत्युवाट वच्न नै सकिन्छ । वस्तुहरुको इच्छा नभए जीवन आनन्दमय हुन्छ र वाँच्ने इच्छा नभए मृत्यु पनि आनन्दमय हुन्छ । जीवन कष्टमय हुने नै वस्तुहरुको इच्छावाट हो, मृत्यु कष्टमय हुने वाँच्ने इच्छाले हो । यसैले वस्तुहरुको र वाँच्ने इच्छा त्याग गरिदिने व्यक्ति वाँचिरहंदा नै मुक्त हुन्छ, अमर हुन्छ । 

उत्पत्ति-विनाशशील पदार्थहरुसँग आफ्नो सम्बन्ध मान्नु नै बन्धन हो । यो मानिएको सम्बन्ध पूर्णरूपले त्याग गर्नु नै मुक्ति हो । मुक्त व्यक्तिलाई कुनै पनि घटना, परिस्थिति, निन्दा-स्तुति, अनुकूलता-प्रतिकूलता, जीवन-मरणको अलिकति पनि असर पर्दैन । 

वास्तवमा साधक स्वरूपले मुक्त नै छ । खालि उत्पन्न र नष्ट हुने वस्तुहरुसँग  आफ्नो सम्बन्ध मानेको कारण उसलाई आफ्नो मुक्त स्वरूपको अनुभव नभएको हो । संसारसँग मानिएको सम्बन्ध मेटिने वित्तिकै स्वतःसिद्ध मुक्तिको अनुभव हुन्छ । 

वाहिरका पदार्थहरुलाई वाहिर नै छोड्ने भनेको -- स्वयंलाई शरीरवाट अलग गर्ने कि 'शरीर म होइन, शरीर मेरो होइन र मेरोलागि होइन ।' यी तीन कुराहरु सबै साधकले मान्नै पर्छ; चाहे त्यो व्यक्ति कुनै पनि योगमार्गद्वारा साधना गरोस् ।शरीरसँग कुनै सम्बन्ध नमाने मुक्ति स्वतःसिद्ध छ । 

No comments:

Post a Comment