Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 21: श्लोक २१ आत्यन्तिक, अतीन्द्रिय र बुद्धिग्राह्य सुखको अनुभव गरेर त्यो सुखमा स्थित भएको ध्यानयोगी

No. 176
श्लोक २१ 

आत्यन्तिक, अतीन्द्रिय र बुद्धिग्राह्य सुखको अनुभव गरेर त्यो सुखमा स्थित भएको ध्यानयोगी तत्वदेखि फेरि कहिले पनि विचलित हुँदैन ।  

ध्यानयोगीले आफूले आफैंमा अनुभव गर्ने सुख प्राकृत संसारमा त्यो सुख भन्दा ठूलो अरु कुनै सुख हुन सम्भव नै छैन । कारण, यी  सुख तीनै गुणहरुदेखि अतीत र स्वतःसिद्ध छ । यो सुख सम्पूर्ण सुखको आखीरी हद हो । यही सुखलाई अक्षय सुख, अत्यन्त सुख र एकान्तिक सुख भनिएको छ । 

यसलाई 'आत्यन्तिक' भनिनुको कारण, यो सुख सात्विक सुखदेखि विलक्षण छ । किनकि सात्विक सुख परमात्मविषयक बुद्धिको प्रसन्नताले उत्पन्न हुन्छ । परन्तु यो आत्यन्तिक सुख उत्पन्न हुने होइन, यो सुख स्वतःसिद्ध अनुत्पन्न सुख हो । 

यो सुखलाई इन्द्रियहरुदेखि अतीत भन्नुको तात्पर्य, यो सुख राजस सुख भन्दा विलक्षण छ । राजस सुख सांसारिक वस्तु, व्यक्ति, पदार्थ, परिस्थिति, घटनाको सम्बन्धले पैदा हुन्छ र इन्द्रियहरु द्वारा भोगिन्छ । वस्तु, व्यक्ति आदि पाइनु हाम्रो हातको कुरो होइन र पाइएपछि त्यो सुखको भोग त्यही विषय (वस्तु, व्यक्ति) आदिको अधीन हुन्छ । अतः राजस सुखमा पराधीनता हुन्छ । तर आत्यन्तिक सुखमा पराधीनता छैन । किनकि आत्यन्तिक सुख इन्द्रियहरुको विषय होइन । इन्द्रियहरुको के कुरा गर्नु, त्यहाँ मनको पनि पहुँच छैन ।                 
यो सुख त स्वयं द्वारा नै अनुभवमा आउने हो । त्यसैले यो सुखलाई अतीन्द्रिय भनिएको हो । 

यो सुख बुद्धिग्राह्य भनिनुको तात्पर्य, यो सुख तामस सुख भन्दा विलक्षण छ । तामस सुख निद्रा, आलस्य र प्रमादले हुन्छ । गाढ़ निद्रा (सुषुप्ति) मा सुख त पाइन्छ, तर यसमा बुद्धि लीन हुन्छ । आलस्य, प्रमादमा पनि सुख हुन्छ, तर त्यो सुखमा बुद्धि ठीक-ठीक जाग्रत रहँदैन तथा विवेक-शक्ति लुप्त हुन्छ । परन्तु यो आत्यन्तिक सुखमा बुद्धि लीन हुँदैन र विवेकशक्ति पनि ठीक जाग्रत रहन्छ । तर यो आत्यन्तिक सुखलाई बुद्धि पक्डन सक्तैन; किनकि प्रकृतिको कार्य बुद्धि प्रकृतिदेखि अतीत स्वरूपभूत सुख कसरी पक्डन सक्छ र ?

यो श्लोकमा सुखलाई आत्यन्तिक, अतीन्द्रिय र बुद्धिग्राह्य वताउने तात्पर्य, यो सुख सात्विक, राजस र तामस सुखदेखि विलक्षण अर्थात् गुणातीत स्वरूपभूत छ ।

ध्यानयोगी आफैं द्वारा आफैं आफ्नो सुख अनुभव गर्छ र यो सुखमा स्थित भएर कहिले अलिकति मात्रै पनि विचलित हुँदैन । अर्थात् यो सुखको अखण्डता निरन्तर स्वतः वनिरह्न्छ । जस्तो, मुलमानहरुले धोकाले शिवाजीको पुत्र संभाजीलाई कैद गरे र उनलाई मुस्लिम-धर्म स्वीकार गर्न दवाव दिए । तर संभाजीले त्यो प्रस्ताव अस्वीकार गरे, मुसलमानहरुले संभाजीको आँखाहरु निकालिदिए, छाला तानिदिए । तैपनि उनी आफ्नो हिन्दु धर्मदेखि विचलित भएनन् । तात्पर्य, मनुष्यले आफ्नो मान्यता आफैं नछोडुन्जेल त्यो मान्यतालाई अरु कोहीले पनि छुटाउन सक्तैन । आफ्नै मान्यतालाई कोही अरु छुटाउन सक्तैन भने वास्तविक सुख पाउनेको सुख अरु कसैले छुटाउन सक्छ त र ऊ स्वयं पनि त्यो सुखवाट कसरी विचलित हुन् सक्छ ? 

मनुष्य त्यो वास्तविक सुखदेखि, ज्ञानदेखि, आनन्ददेखि कहिले पनि विचलित हुँदैन । यसवाट सिद्ध हुन्छ, मनुष्य सात्विक सुखवाट पनि चलायमान हुन्छ; समाधिवाट उसको व्युत्थान हुन्छ । तर आत्यन्तिक सुखदेखि अर्थात् तत्वदेखि ऊ कहिले पनि विचलित र व्युत्थित हुँदैन; किनकि त्यो सुखसँग उसको दूरी, भेद, भिन्नता सबै मेटिए र अव केवल ऊ-नै-ऊ वांकी भयो । अव ऊ विचलित र व्युत्थित कसरी हुने ? जडतासँग अलिकति पनि सम्बन्ध रहुन्जेल विचलित र व्युत्थित भइन्छ । जडतासँग सम्बन्ध रहुन्जेल एकरस हुन सकिंदैन; किनकि प्रकृति सँधै क्रियाशील रहन्छ ।

स्वरूपको अनुभव भएपछि ध्यानयोगीलाई त्यो अविनाशी, अखण्ड सुखको अनुभूति हुन्छ । यो सुख 'आत्यन्तिक' अर्थात् सात्विक सुखदेखि विलक्षण, 'अतीन्द्रिय' अर्थात् राजस सुखदेखि विलक्षण र 'बुद्धिग्राह्य' अर्थात् तामस सुखदेखि विलक्षण छ ।

अविनाशी सुखलाई 'बुद्धिग्राह्य' भन्ने तात्पर्य यो होइन कि त्यो सुख बुद्धिको पकडमा आउने खालको हो । कारण, बुद्धि त प्रकृतिको कार्य हो, फेरि त्यो बुद्धि प्रकृतिदेखि अतीत सुखलाई कसरी पक्डन सक्छ ? यसैले अविनाशी सुखलाई बुद्धिग्राह्य भन्ने तात्पर्य त्यो सुखलाई तामस सुख भन्दा विलक्षण वताउनमा नै छ । निद्रा, आलस्य र प्रमादवाट उत्पन्न हुने सुख तामस हुन्छ । गाढ़ निद्रा (सुषुप्ति)मा बुद्धि अविद्यामा लीन हुन्छ र आलस्य तथा प्रमादमा पूरापूर जाग्रत रहँदैन । परन्तु स्वतःसिद्ध अविनाशी सुखमा बुद्धि अविद्यामा लीन हुँदैन, वरु पूर्णरूपले जाग्रत रहन्छ । अतः बुद्धिको जागृतिको दृष्टिले नै यो सुखलाई  'बुद्धिग्राह्य' भनिएको हो । वास्तवमा बुद्धि त्यहाँसम्म पुग्नै सक्तैन ।

दर्पणमा सूर्य आउँदैन, तर सूर्यको बिम्ब आउँछ, त्यस्तै बुद्धिमा त्यो अविनाशी सुख आउँदैन, त्यो सुखको बिम्ब, आभास आउँछ; यसैले यो सुखलाई 'बुद्धिग्राह्य' भनिन्छ । तात्पर्य, स्वयंको अखण्ड सुख सात्विक, राजस र तामस सुख भन्दा पनि अत्यन्त विलक्षण अर्थात् गुणातीत छ । त्यो सुखलाई बुद्धिग्राह्य भन्दा पनि वास्तवमा त्यो बुद्धिदेखि सर्वथा अतीत छ ।

बुद्धियुक्त (प्रकृतिसँग मिलेको) चेतन नै बुद्धिग्राह्य छ, शुद्ध चेतन होइन । वास्तवमा स्वयं प्रकृतिसँग मिल्नै सक्तैन, तर ऊ आफूलाई प्रकृतिसंग मिलेको मान्छ ।  

No comments:

Post a Comment