Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 17: श्लोक १७ दुःखहरुको नाश गर्ने योग त यथायोग्य आहार र विहार गर्नेलाई, कर्महरुमा यथायोग्य चेष्टा

No.174 

श्लोक १७   

दुःखहरुको नाश गर्ने योग त यथायोग्य आहार र विहार गर्नेलाई, कर्महरुमा यथायोग्य चेष्टा गर्नेलाई  तथा यथायोग्य सुत्ने र उठ्नेलाई नै सिद्ध हुन्छ । 

भोजन सत्य र न्यायपूर्वक धनवाट प्राप्त, सात्विक, अपवित्र नभएको हुनु पर्छ । भोजन स्वादबुद्धि र पुष्टिबुद्धिले नगरिई साधनबुद्धिले गरियोस् । भोजन धर्मशास्त्र र आयुर्वेदको दृष्टिले खाइनु पर्छ र आफूलाई सजिलोसँग पच्न सक्ने मात्रै खानु पर्छ । भोजन शरीर अनुकूल होस् तथा हल्का र सानो मात्रामा (आफूलाई रुच्ने भन्दा अलिकति कम) हुनुपर्छ । यस्तो भोजन गर्ने व्यक्ति नै युक्त (यथोचित आहार गर्ने व्यक्ति) हो । 

विहार पनि यथायोग्य होस् अर्थात् धेरै घुम्ने फिर्ने नहोस्, तर स्वास्थ्यकोलागि हितकर हुने गरी मात्रै घुम-फिर होस् । व्यायाम, योगासन आदि पनि धेरै मात्रामा पनि होइन, विल्कुलै नगर्ने पनि होइन । यी सबै यथायोग्य होऊन् । यस्तो गर्ने व्यक्तिलाई यथायोग्य युक्त विहार गर्ने व्यक्ति भनिन्छ । 

आफ्नो वर्ण-आश्रम अनुकूल पाइएको देश, काल, परिस्थिति अनुसार शरीरको निर्वाहकोलागि कर्म गरियोस् र आफ्नो शक्ति अनुसार कुटुम्बीहरुको एवं समाजको हितबुद्धिले सेवा गरियोस् तथा परिस्थिति अनुसार आफ्नो अगाडि आएको शास्त्रविहित कर्तव्य-कर्म वडो प्रसन्नतापूर्वक गर्ने -- यसरी कर्महरुमा यथोचित चेष्टा भएको व्यक्तिको नाम 'युक्तचेष्ट' हो ।            
विहान उठेपछि निद्रा-आलस्यले दुःख नदिने जति मात्रामा सुत्नु पर्छ । दिउँसो बिउँझिरहने  र राती पनि शुरुको र अन्तिम भागमा उठ्ने । फेरि राति ढिलोसम्म नसुत्दा विहान छिट्टै निद्रा खुल्दैन । अतः चांडै सुत्ने र चांडै उठ्ने । तात्पर्य, जति सुत्दा र जति उठ्दा स्वास्थ्यमा वाधा पर्दैन, योगमा बिघ्न आउँदैन, त्यति नै समय सुत्नु र उठ्नु पर्छ ।      
यहाँ ध्यानयोगीको आहार, विहार, चेष्टा, सुत्नु र उठ्नु -- यी पाँचैलाई (यथायोग्य) भन्नुको तात्पर्य, वर्ण, आश्रम, देश, काल, परिस्थिति, जीविका आदि लिएर सबैको नियम एक समान चल्न सक्तैनन्, अतः जसलाई जस्तो उचित हुन्छ, त्यसो गरियो भने दुःखहरुको नाश गर्ने योग सिद्ध हुन्छ । 

यस्तो प्रकारले यथोचित आहार, विहार आदि गर्ने ध्यानयोगीलाई दुःखहरुको अत्यन्त अभाव गर्ने योग सिद्ध हुन्छ । योग र भोगमा विलक्षण अन्तर छ । योगमा त भोगको अत्यन्त अभाव छ, तर भोगमा योगको अत्यन्त अभाव छैन । कारण भोगवाट हुने सुखको अनुभूति पनि असत् को संयोगको वियोग हुँदा हुन्छ । परन्तु मनुष्यलाई त्यो वियोगतिर दृष्टि नरहेर असत् को संयोगतिर नै दृष्टि रहन्छ । अतः मनुष्य भोगको सुखलाई संयोगजन्य नै मान्छ र यस्तो मान्दा नै भोगासक्ति पैदा हुन्छ । यसैले उसलाई दुःखहरुको नाश गर्ने योगको अनुभव हुँदैन । भोगको अत्यन्त अभाव भएपछि मात्रै योगको अनुभव हुन्छ ।
यो श्लोक ध्यानयोगीकोलागि भनिए पनि यसमा वर्णन गरिएको साधन सबै साधकले काममा लिनु पर्छ र जीवन (सफल) वनाएर आफ्नो उद्धार गर्न सक्नु पर्छ । यो श्लोकमा मुख्य रूपले चार कुराहरु वताइएका छन् -- युक्त आहार-विहार, युक्त कर्म, युक्त सुत्नु र युक्त उठ्नु । यी चार कुराहरुलाई कसरी काममा ल्याउने ?

एक दिनमा हामीसँग चौविस घण्टा छन् र हाम्रो अगाडि चार काम छन् । चौविस घण्टालाई चार भाग लगाउँदा एक कामकोलागि छ छ घण्टा पाइन्छ । जस्तो -- (१) आहार-विहार अर्थात् भोजन गर्ने र घुम्ने-फिर्ने यी शारीरिक आवश्यक कार्यहरुकोलागि छ घण्टा; (२) कर्म अर्थात् खेती, व्यापार, नोकरी आदि जीविका सम्बन्धी कार्यहरुकोलागि छ घण्टा; (३) सुत्न छ घण्टा र (४) उठ्न अर्थात् भगवत्प्राप्तिकोलागि जप, ध्यान, साधन-भजन, कथा-कीर्तन आदिकोलागि छ घण्टा ।

यी चार कुराहरुमा पनि दुई-दुई कुराहरुको विभाग छन् -- एक विभाग 'उपार्जन' अर्थात् कमाउनेको हो र अर्को विभाग विभाग 'व्यय' अर्थात् खर्चको हो । युक्त कर्म र युक्त उठ्नु -- यी दुई कुरा उपार्जनका हुन् । युक्त आहार-विहार र युक्त सुत्नु -- यी दुई कुरा व्ययका हुन् । उपार्जन र व्यय -- यी दुई विभागकालागि हामीसँग दुई प्रकारका पूँजी छन् -- (१) सांसारिक धन-धान्य र (२) आयु । 

पहिलो पूँजी -- धन-धान्यको विचार गर्दा उपार्जन अधिक गर्न त ठीकै छ, तर उपार्जन भन्दा धेरै खर्च गरियो भने काम चल्दैन । यसैले आहार-विहारमा छ घण्टा नलगाएर चार घण्टामा नै काम चलाउने र खेती, व्यापार आदिमा आठ घण्टा लगाउने । तात्पर्य, आहार-विहारको समय कम गरेर जीविका-सम्बन्धी कार्यहरुमा धेरै समय लगाउने । 

अर्को पूँजी -- आयुको विचार गर्ने हो भने सुत्दा आयु व्यर्थ खर्च हुन्छ । अतः सुत्न धेरै समय नलगाएर चार घण्टामा नै काम चलाउने र भजन-ध्यान, आदिमा आठ घण्टा लगाउने । तात्पर्य, जति सुतेर काम चल्छ त्यति मात्रै सुत्ने र सुतेर वचेको समय भगवानको भजन-ध्यान आदिमा लगाउने । यो उपार्जन (साधन-भजन) को समय प्रतिदिन वढिरहनु पर्छ; किनकि हामी यहाँ सांसारिक धन-वैभव आदि कमाउन आएका होइनौं, परमात्मा प्राप्ति गर्न आएका हौँ । यसैले अरु समय निकालेर अधिक-भन्दा अधिक भजन-ध्यान गर्नुपर्छ । 

अर्को कुरो, जीविका-सम्बन्धी कर्म गर्दा पनि भगवानको याद गर्ने र सुत्ने वेलामा पनि भगवानको याद गर्ने । सुत्दा यस्तो विचार गर्ने, अवसम्म हिंडेर, डुलेर, वसेर भजन गरियो, अव विछ्यौनामा पल्टेर भजन गर्ने हो । विछ्यौनामा पल्टी पल्टी भजन गर्दा निद्रा लाग्यो भने लाग्यो तर सुत्नकोलागि सुत्ने होइन । यसरी पल्टेर भगवत्स्मरण गर्ने समय पूरा भयो, अव उठेर भजन-ध्यान, सत्संग-स्वाध्याय गर्नु र भगवत्स्मरण गरी गरी काम-धन्धामा लागियो भने पनि भजन हुनेछ ।

श्लोक १८ 

वशमा गरिएको चित्त जुन वेला आफ्नो स्वरूपमा स्थित हुन्छ र स्वयं सम्पूर्ण पदार्थहरुसँग निःस्पृह हुन्छ, त्यो वेला त्यो व्यक्ति योगी भनिन्छ ।                        

राम्रो किसिमले वशमा गरिएको चित्त अर्थात् संसारको चिन्तनदेखि रहित चित्त स्वतःसिद्ध आफ्नो स्वरूपमा स्थित हुन्छ । तात्पर्य, कुनै कुरा नभएको वेला पनि त्यो थियो, अहिले सबै कुरा रहेको वेला पनि त्यो छ र सबै कुरा नहुँदा पनि त्यो रहन्छ तथा सबै उत्पन्न हुनु भन्दा पहिले पनि त्यो थियो, सबैको लय भएपछि पनि त्यो रहनेछ र अहिले पनि जस्ता-को-तस्तै छ, त्यस्तो आफ्नो स्वरूपमा चित्त स्थित हुन्छ । आफ्नो स्वरूपमा भएको रस, आनन्द यो मनलाई कहीं पनि कहिले पनि मिलेको छैन । अतः त्यो रस, आनन्द मिल्ने वित्तिकै मन त्यही रस, आनन्दमा तल्लीन हुन्छ । 

अहिले हामीले वर्णन गरिरहेको योगी प्राप्त-अप्राप्त, दृष्ट-अदृष्ट, ऐहलौकिक-पारलौकिक, श्रुत-अश्रुत सम्पूर्ण पदार्थहरुवाट, भोगहरुवाट निःस्पृह भएपछि अर्थात् उसलाई कुनै पनि पदार्थको, भोगको अलिकति पनि परवाह रहँदैन । त्यो वेला त्यो व्यक्तिलाई योगी भनिन्छ । 

योगमा स्थित हुन यति दिन, यति महिना, यति वर्ष लाग्छ भन्ने कुरा होइन, तर चित्त स्वरूपमा स्थित भएको क्षणमा नै त्यो सम्पुर्ण पदार्थहरुसँग निःस्पृह हुनेछ, त्यही क्षण ऊ योगी हुनेछ । 
                                    
यो श्लोकमा मुख्य दुई कुराहरु छन् -- एक त चित्त स्वरूपमा स्थित हुने, अर्को, सम्पूर्ण पदार्थहरुवाट निःस्पृह हुने । तात्पर्य, स्वरूपमा लाग्दा लाग्दा मन स्वरूपमा स्थित भएपछि मनमा कुनै वस्तु, व्यक्ति, परिस्थिति आदिको चिन्तन हुँदैन, मन स्वरूपमा तल्लीन हुन्छ । यसरी स्वरूपमा नै मन लागिरहँदा ध्यानयोगी वासना, कामना, आशा, तृष्णावाट पूरापूर रहित हुन्छ ।  यति मात्रै होइन, ऊ जीवन निर्वाहकोलागि उपयोगी पदार्थहरुवाट पनि निःस्पृह हुन्छ । उसको मनमा कुनै पनि वस्तु आदिको अलिकति मात्र पनि स्पृहा रहँदैन, त्यो वेला ऊ सक्कली योगी हुन्छ ।

सम्झनु पर्ने कुरो, कर्मयोगी अरुको सेवाकोलागी नै कर्म गर्छ, त्यसो गर्दा क्रियाहरु र पदार्थहरुसँग उसको राग हट्छ, अनि ऊ योगारूढ़ हुन्छ र यहाँ ध्यानयोगी चित्तलाई स्वरूपमा लगाउँछ, अनि उसको चित्त केवल स्वरूपमा नै स्थित हुन्छ । त्यसपछि ऊ क्रियाहरु र पदार्थहरुवाट निःस्पृह हुन्छ । अर्को शब्दमा, कर्मयोगीका वासनाहरु पहिले मेटिन्छन्, त्यसपछि ऊ योगारूढ़ हुन्छ र ध्यानयोगीको चित्त पहिले आफ्नो स्वरूपमा स्थित हुन्छ, त्यसपछि उसका कामनाहरु मेटिन्छन् । कर्मयोगीको मन संसारको सेवामा लाग्छ र स्वयं स्वरूपमा स्थित हुन्छ र ध्यानयोगी स्वयं मनसँग स्वरूपमा स्थित हुन्छ । 

No comments:

Post a Comment