Wednesday 3 December 2014

Gita: Chapter 5: Slok 24: श्लोक २४ खालि परमात्मामा सुख लिने र परमात्मामा मात्रै रमण गर्ने तथा परमात्मामा मात्रै छ ज्ञान

No161 

श्लोक २४

खालि परमात्मामा सुख लिने र  परमात्मामा मात्रै रमण गर्ने तथा परमात्मामा मात्रै छ ज्ञान भएको र ब्रह्ममा आफ्नो स्थितिको अनुभव गर्ने ब्रह्मरूप वनेको सांख्ययोगी निर्वाण ब्रहम पाउँछ । 

प्रकृतिजन्य वाहिरी पदार्थहरुमा सुख प्रतीत देखिंदैन ,परमात्मामा मात्रै सुख हुन्छ भन्ने  साधकलाई यहाँ 'अन्तःसुख' भनिएको छ । त्यस्तो साधकलाई परमात्मतत्व सिवाय कहिं पनि सुख-बुद्धि  रहँदैन । परमात्मतत्वमा सुखको अनुभव उसलाई हरवखत भइरहन्छ; किनकि उसको सुखको आधार बाहिरी पदार्थहरुको संयोग हुँदै होइन ।

स्वयं आफ्नो सत्तामा निरन्तर स्थित रहन वाहिरको आवश्यकता अलिकति पनि छैन । स्वयंलाई स्वयंसँग दुःख हुँदैन, स्वयंलाई स्वयंसँग अरुचि हुँदैन -- यो अन्त:सुख हो ।

सँधैलाई नमिल्ने र सबैलाई नमिल्ने वस्तु वाहिरी हो । परन्तु सँधै मिल्ने र सबैलाई मिल्ने भित्री हो ।

भोगहरुमा रमण नगर्ने, परमात्मतत्वमा मात्रै  रमण गर्ने र व्यवहार कालमा पनि एक मात्र परमात्मतत्वमा नै व्यवहार गर्ने साधकलाई यहाँ 'अन्तराराम' भनिएको छ । 

इन्द्रियजन्य (इन्द्रियवाट) हुने ज्ञान, बुद्धिजन्य (बुद्धिद्वारा हुने) ज्ञान जस्ता सांसारिक ज्ञानको प्रकाशक र आधार परमात्मतत्वको ज्ञान हो भनिन्छ । यो ज्ञान जुन वेला पनि जाग्रत भएको व्यक्तिलाई 'अन्तरज्योति' भनिएको छ । 

सांसारिक ज्ञानको त आरम्भ हुन्छ, तर परमात्मतत्वको ज्ञानको न आरम्भ हुन्छ न अन्त । त्यो ज्ञान नित्य-निरन्तर रहन्छ । यसैले 'सबैमा परमात्मतत्व नै परिपूर्ण छ' भन्ने ज्ञान सांख्ययोगीमा नित्य-निरन्तर र स्वतःस्वाभाविक रही रहन्छ ।

सांख्ययोगको माथिल्लो साधक ब्रह्ममा आफ्नो स्थितिको अनुभव गर्छ भने त्यो अनुभव परिच्छिन्नताको द्योतक हो । कारण साधकमा 'म स्वाधीन छु'; 'म मुक्त छु'; 'म ब्रह्ममा स्थित छु' भन्दा परिच्छिन्नताको संस्कार रहन्छ । ब्रह्मभूत साधकलाई आफूमा परिच्छिन्नताको अनुभव हुँदैन । अलिकति परिच्छिन्नता या व्यक्तित्व शेष रहुन्जेल व्यक्ति तत्वनिष्ठ भएको छैन । त्यसैले यस्तो अवस्थामा सन्तोष गर्नु हुँदैन । 

'ब्रह्मनिर्वाणम्' शब्दको अर्थ हो -- जसमा कहिले कुनै हलचल भएन, छँदै छैन, हुने नै छैन र हुन पनि सक्तैन, त्यस्तो निर्वाण अथवा शान्त ब्रह्म । 

ब्रह्भूत सांख्ययोगीको व्यक्तित्व निर्वाण ब्रह्ममा लीन भएपछि निर्वाण ब्रह्म मात्रै शेष रहन्छ अर्थात् साधक परमात्मतत्वसँग अभिन्न हुन्छ, तत्वनिष्ठ हुन्छ । यो अभिन्नता, तत्वनिष्ठता स्वतःसिद्ध छ । ब्रह्मभूत अवस्थामा त साधक ब्रह्ममा आफ्नो स्थितिको अनुभव गर्छ, तर व्यक्तित्वको नाश भएपछि अनुभव गर्ने कोही रहँदैन । साधक ब्रह्म नै भएर ब्रह्म प्राप्त गर्छ । 

यो श्लोकमा 'अन्तः' पदले 'परमात्मा' भन्ने बुझाउँछ । किनकि अन्तःकरणमा सुख लिने अथवा अन्तःकरणमा रमण गर्ने या अन्तःकरणमा ज्ञान भएको मनुष्यलाई ब्रह्मको प्राप्ति हुन सक्तैन । ब्रह्मको प्राप्ति त अन्तःकरणसँग सम्बन्ध-विच्छेद भएपछि नै हुन्छ ।

श्लोक २५ 

शरीर मन-बुद्धि-इन्द्रियहरुसहित वशमा भएको, सम्पूर्ण प्राणीहरुको हितमा रत, सम्पूर्ण संशयहरू नष्ट भएको, समस्त दोषहरु नष्ट भएको विवेकीले  साधक निर्वाण ब्रह्म पाउँछ ।                                                
नित्य सत्यतत्वको प्राप्तिको दृढ लक्ष भएको हुनाले  साधकहरुको शरीर-इन्द्रियहरु-मन-बुद्धि वशमा गर्नु पर्दैन, ती शरीर इन्द्रिय आदि स्वाभाविक नै सजिलैसँग उनीहरुको वशमा हुन्छन् । वशमा भएको कारण  ती शरीर इन्द्रिय आदिमा राग-द्वेष आदि दोषहरुको अभाव हुन्छ र यी द्वारा हुने प्रत्येक क्रिया अरुको हित गर्ने हुन्छ । 

शरीर-इन्द्रियहरु-मन-बुद्धि आफ्नो र आफ़्नोलागि मानी रहँदा नै यी आफ्ना वशमा हुँदैनन् र यिनमा राग-द्वेष, काम-क्रोध आदि दोष रहन्छन् । यस्ता दोष रहुन्जेल साधक स्वयं शरीर-मन-बुद्धिको वशमा रहन्छ । यसैले साधकले शरीर आदिलाई कहिले आफ्नो र आफ़्नोलागि मान्नुहुन्न । यसो गर्दा शरीर-इन्द्रियहरु-मन-बुद्धि आदिको आग्रह गर्ने स्वभाव समाप्त हुन्छ र यिनीहरु आफ्नो वशमा हुन्छन् । अतः शरीर-इन्द्रियहरु-मन-बुद्धिमा आफ्नोपनको भाव नभएका तथा यी शरीर आदिलाई कहिले पनि आफ्नो स्वरूप नमान्ने सावधान साधकहरुलाई यो श्लोकमा 'यतात्मानः' भनिएको छ ।

सांख्ययोगको सिद्धिमा व्यक्तित्वको अभिमान मुख्य वाधा हो । यो व्यक्तित्वको अभिमान मेटेर तत्वमा आफ्नो स्वाभाविक स्थितिको अनुभव गर्न सम्पूर्ण प्राणीहरुको हितको भाव हुनु आवश्यक छ । आफ्नो भनिने शरीरमा आकृति, अवयव, कार्य, नाम आदि छुट्टा-छुट्टै हुँदा पनि सबै अंगहरुलाई आराम पुगोस्, कुनै अंगलाई कष्ट नहोस् भन्ने भाव रहन्छ । यस्तै वर्ण, आश्रम, सम्प्रदाय, साधन-पद्धति छुट्टा-छुट्टै हुँदा पनि सम्पूर्ण प्राणीहरुको हितमा स्वाभाविक नै रति हुनु पर्छ कि सवैलाई सुख होस्, सबैको हित होस्, कहिले कसैलाई अलिकति पनि कष्ट नहोस् । कारण कि वाहिरवाट भिन्नता रहँदा पनि भित्रवाट परमात्मतत्व नै समानरूपले परिपूर्ण छ । अतः सम्पूर्ण प्राणीहरुको हितमा प्रीति हुँदा व्यक्तिगत स्वार्थभाव सजिलै नष्ट हुन्छ र परमात्मतत्वसँग आफ्नो अभिन्नताको अनुभव हुन्छ । 

तत्वप्राप्तिको निश्चय दृढ नहुन्जेल राम्रा-राम्रा साधकहरुको अन्तःकरणमा कुनै न कुनै द्विविधा भइरहन्छ । दृढ निश्चय भएपछि साधकहरुलाई आफ्नो साधनामा कुनै संशय, विकल्प, भ्रम आदि रहँदैन र उनीहरु निश्चिन्तरूपले तत्परतापूर्वक आफ्नो साधनामा लाग्छन् । 

प्रकृतिसँग मानिएका सबै सम्बन्ध कल्मष नै हुन्; किनकि प्रकृतिसँग मानिएको सम्बन्ध नै सम्पूर्ण कल्मषहरु अर्थात् पापहरु, दोषहरु, विकारहरुको हेतु हो । प्रकृति तथा प्रकृतिको कार्य शरीर, इन्द्रियहरु, मन, बुद्धिदेखि स्पष्टतया आफ्नो स्वरूपको छुट्टै अनुभव गर्दा साधकमा निर्विकारता स्वतः आउँछ । 

माथि भनिएको ज्ञान (विवेक)लाई महत्व दिनेलाई ऋषि भनिन्छ । प्राचीनकालमा ऋषिहरुले गृहस्थीमा रही रही परमात्मतत्व पाएका थिए । यो श्लोकमा पनि सांसारिक व्यवहार गरी गरी परमात्मतत्व प्राप्तिकोलागि साधन गर्ने साधकहरुको वर्णन छ । अतः आफ्नो विवेकलाई महत्व दिने यी साधक पनि ऋषि नै हुन् ।

ब्रह्म त सबैलाई सँधै प्राप्त नै छ, तर परिवर्तनशील शरीर आदिसँग आफ्नो एकता मानेको कारण नै मनुष्य ब्रह्मदेखि विमुख रहेको हो । शरीर आदि उत्पत्ति-विनाशशील वस्तुहरुसँग सम्बन्ध-विच्छेद भएपछि सम्पूर्ण विकारहरु र संशयहरूको नाश भएर सर्वत्र परिपूर्ण ब्रह्मको अनुभव हुन्छ । 

समुद्रका लहरहरु समुद्रमा विलीन भए जस्तै सांख्ययोगी निर्वाण ब्रह्ममा लीन हुन्छन् । जल-तत्वमा समुद्र र लहरहरुमा दुई भेद हुँदैनन्, निर्वाण ब्रह्ममा पनि आत्मा र परमात्मामा दुई भेद छैन ।

No comments:

Post a Comment