Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 2: श्लोक २ हे अर्जुन ! संन्यासलाई तिमी योग भन्ने बुझ; किनकि संकल्पहरुको त्याग नगरी कुनै पनि मनुष्य योगी हुन सक्तैन ।

No. 165 

श्लोक २ 

हे अर्जुन !  संन्यासलाई तिमी योग भन्ने बुझ; किनकि संकल्पहरुको त्याग नगरी कुनै पनि मनुष्य योगी हुन सक्तैन । 

पाँचौं अध्यायमा भगवानले भन्नु भयो, संन्यास (सांख्ययोग) र योग (कर्मयोग) -- यी दुवै स्वतन्त्रताले कल्याण गर्छन्, तथा दुबैको फल पनि एक नै छ अर्थात् संन्यास र योग दुई होइनन्, एक नै हुन् । त्यही कुरा भगवान यहाँ भन्नुहुन्छ, संन्यासी पूर्णरूपले त्यागी भए जस्तै कर्मयोगी पनि पूर्णरूपले त्यागी हुन्छ । 

गीताकै अठारौँ अध्यायमा भगवान भन्नुहुन्छ, सम्पूर्ण फल र आसक्तिको त्याग गरेर केवल कर्तव्य मात्रै भनेर गरिने नियत कर्म 'सात्विक त्याग हो' । यसो गरे पदार्थहरु र क्रियाहरुसँग पूरै सम्बन्ध-विच्छेद हुन्छ र मनुष्य त्यागी तथा योगी हुन्छ । त्यस्तै संन्यासी पनि कर्तृत्वाभिमानको त्यागी हुन्छ । अतः दुवै त्यागी हुन् । तात्पर्य, योगी र संन्यासीमा कुनै भेद छैन । भेद नरहेकोले नै भगवान पाँचौं अध्यायमा भन्नुहुन्छ, राग-द्वेषको त्याग गर्ने योगी 'संन्यासी' नै हो ।                   

मनमा स्फूरणाहरु उठ्छन् अर्थात् किसिम किसिमका कुराहरु सम्झिइन्छन् । तिनमा पनि जुन स्फूरणासँग मन टाँसिन्छ, जुन स्फूरणामा प्रियता-अप्रियता हुन्छ, त्यही संकल्प हुन्छ ।त्यो संकल्प नछोडी कुनै पनि मनुष्य योगी हुँदैन, प्रत्युत भोगी नै हुन्छ । कारण, परमात्मासँगको सम्बन्धको नाम 'योग' हो । जसलाई भित्रैदेखि पदार्थहरुमा महत्व, सुन्दर तथा सुख-बुद्धि छ, ऊ (भित्रवाट पदार्थहरुसँग सम्बन्ध मानेको कारणले) भोगी नै होला, योगी त हुनै सक्तैन । असत् पदार्थहरुमा महत्व, सुन्दर तथा सुखबुद्धि नरहेपछि मात्रै व्यक्ति योगी हुन्छ । त्यसपछि ऊ सबै संकल्पहरुको त्यागी हुन्छ तथा उसलाई भगवानसँग आफ्नो नित्य-सम्बन्धको अनुभव हुन्छ । 

संकल्पको त्याग नगरी कुनै पनि मनुष्य, चाहे त्यो योगी अर्थात् कर्मयोगी, ज्ञानयोगी, भक्तियोगी, हठयोगी लययोगी हुँदैन । कारण, उसको सम्बन्ध उत्पन्न-नष्ट हुने जड पदार्थहरुसँग छ । त्यसैले ऊ कसरी योगी होला ? ऊ त भोगी नै होला । यस्ता भोगी मनुष्य मात्रै होइनन्, पशु पक्षी पनि भोगी नै हुन्, किनकि उनीहरुले पनि संकल्पहरुको त्याग गरेका छैनन् 

तात्पर्य, असत् पदार्थहरुसँग किञ्चित् मात्र पनि सम्बन्ध रहुन्जेल अर्थात् आफूले आफूलाई  केही न केही मानुन्जेल कुनै पनि व्यक्ति योगी हुन सक्तैन अर्थात् पदार्थहरुसँग सम्बन्ध राखुन्जेल ऊ जति नै अभ्यास गरोस्, जति नै समाधि लगाओस् जुन सुकै पहाडको  
गुफामा जाओस्, तैपनि गीताको सिद्धान्त अनुसार त्यो व्यक्ति योगी हुन सक्तैन । 

यसो हेर्दा संन्यास र योगको साधना छुट्टा-छुट्टै भए पनि संकल्पको त्यागमा दुवै साधन एकै हुन् ।

श्लोक ३ 

योग (समता) मा आरूढ़ हुन चाहने मननशील योगीकोलागि कर्तव्य-कर्म गर्नु कारण भनिएको छ र त्यही योगारूढ़ मनुष्यको शम (शान्ति) परमात्मप्राप्तिमा कारण भनिएको छ ।


योग (समता)मा आरूढ़ हुन चाहने मननशील योगीलाई निष्कामभावले कर्तव्य-कर्म गर्नु कारण मानिन्छ । तात्पर्य हो, गर्ने वेग मेट्न प्राप्त कर्तव्य-कर्म गर्नु कारण हो । व्यक्ति जन्मेको, वाँचेको र पालिएको कारण उसको जीवन अरुको सहायता नभई चल्न नसक्ने भएर हो । उसका शरीर, इन्द्रियहरु, मन, बुद्धि र अहंसम्म पनि प्रकृतिका नै हुन् । यसैले व्यक्तिले यी प्राकृत चिजहरुलाई संसारको सेवामा नलगाउञ्जेल ऊ योगारूढ़ हुन सक्तैन अर्थात् समतामा स्थित हुन सक्तैन; किनकि सबै प्राकृत वस्तुहरुको एकता संसारसँग छ, हामीसँग छँदै छैन । 

प्राकृत वस्तुहरु आफ्नो देखिनुको तात्पर्य हो, ती वस्तुहरुलाई अरुको सेवामा लगाइदिने दायित्व हाम्रो हो । अतः ती सबैलाई अरुको सेवामा लगाउने भाव हुँदा सम्पूर्ण क्रियाहरुको प्रवाह संसारतिर हुन्छ र व्यक्ति स्वयं योगारूढ़ हुन्छ । यही कुरा भगवानले अरु ठाउँमा पनि भन्नु भएको छ, यज्ञकोलागि अर्थात् अरुको हितकोलागि कर्म गर्नेहरुको सम्पूर्ण कर्म लीन हुन्छन् अर्थात् उनीहरुवाट हुने कर्म बन्धनकारक हुँदैनन् र यज्ञ भन्दा वाहेक आफ्नोलागि गरिएका कर्म बन्धनकारक हुन्छन् । 

योगारूढ़ हुन कर्म किन कारण छ ? किनकि फलको प्राप्ति-अप्राप्तिमा हाम्रो समता छ कि छैन,  हामीमा त्यसको असर के पर्छ -- यो कुरो त्यही वेला थाहा हुन्छ, जव हामी कर्म गर्छौं । समताको पहिचान कर्म गर्दा नै हुन्छ । तात्पर्य, कर्म गर्दा हामीमा समता रह्यो भने, राग-द्वेष भएन भने त ठीकै छ, किनकि त्यो कर्म 'योग'मा कारण भयो । तर हामीमा समता रहेन, राग-द्वेष भयो भने जडतासँग हाम्रो सम्बन्ध भएर त्यो कर्म 'योग'मा कारण भएन ।                    
असत् सँग सम्बन्ध राख्दा नै अशान्ति हुन्छ । यसको कारण हो, असत् पदार्थहरु (शरीर आदि)सँग स्वयंको सम्बन्ध एक क्षण पनि रहन सक्तैन र रहँदा पनि रहँदैन; किनकि स्वयं सँधै रहने खालको छ र शरीर आदि पदार्थ प्रतिक्षण अभावमा गइरहेछन् । ती प्रतिक्षण अभावमा गइरहनेसँग यो स्वयं सम्बन्ध जोड्छ र तिनीहरुसँग आफ्नो सम्बन्ध राख्न चाहन्छ । तर तिनीहरुसँग सम्बन्ध सँधै रहँदैन र ती वस्तु, व्यक्ति जाने डरले र तिनीहरु जानाले अशान्ति हुन्छ । तर शरीर आदि असत् पदार्थहरुलाई संसारको सेवामा लगाएर तिनीहरुसँग आफ्नो सम्बन्ध-विच्छेद गरेपछि असत् को त्यागले व्यक्तिलाई स्वतः शान्ति मिल्छ । यदि साधकले त्यो शान्तिमा सुख लियो भने ऊ बाँधिन्छ । यदि उसले त्यो शान्तिमा राग नगरे, त्यसवाट सुख नलिए त्यो शान्ति परमात्मतत्व प्राप्तिमा कारण हुन्छ । 

योगारूढ़ हुने इच्छा भएका साधककोलागि योगारूढ़ हुन निष्कामभावले कर्म गर्नु कारण हो र त्यो निष्काम कर्मवाट प्राप्त हुने शान्ति परमात्मप्राप्तिमा कारण हो । तात्पर्य, परमात्मप्राप्तिमा कर्म कारण छैन, कर्महरुको सम्बन्ध-विच्छेदवाट हुने शान्ति कारण हो । यो शान्ति साधन हो, सिद्धि होइन । 

विवेकपूर्वक कर्म गर्दा नै कर्महरुको राग मेटिन्छ, किनकि राग मेटाउने शक्ति कर्ममा छैन, विवेकमा छ । योगारूढ़ हुने लालसा भएको व्यक्ति सबै कर्म विवेकपूर्वक नै गर्छ । साधकले कामना पूर्तिमा परतन्त्रता र अपूर्तिमा अभावको अनुभव गरेपछि उसमा विवेक विकसित हुन्छ । परतन्त्रता र अभाव कोही पनि खोज्दैन, तर कामना गरे यी दुवै छुट्दैनन् ।                                            
  
योगारूढ़ अवस्थामा खुशी हुनु हुँदैन, त्यसो गरे साधक त्यहिं अड्किन्छ । यसले गर्दा परमात्मप्राप्ति हुन धेरै समय लाग्छ । जस्तो, वालकको पहिले खेलमा रुचि रहन्छ । तर त्यही वालक ठूलो भएपछि उसको रुचि रुपियाँ पैसामा हुन्छ, वालक वेलाको खेलको रुचि आफैं मेटिन्छ । परमात्मप्राप्तिको अनुभव नहुन्जेल शान्तिमा रुचि रहन्छ अर्थात् शान्ति धेरै राम्रो लाग्छ । परन्तु त्यो शान्तिको उपभोग गरिएन भने, त्यो शान्तिवाट उपराम भइयो भने त्यसको रुचि आफैं मेटिन्छ र धेरै छिटो परमात्मप्राप्तिको अनुभव हुन्छ ।

योगारूढ़ हुन कर्म गर्नु कारण हो अर्थात् निःस्वार्थभावले अरुको हितकोलागि कर्म गर्दा गर्दा सबैसँग वियोग भएपछि साधक योगारूढ़ हुन्छ । कर्महरुको समाप्ति हुन्छ र योग नित्य रहन्छ । 

कर्मी (भोगी) पनि कर्म गर्छ र कर्मयोगी पनि कर्म गर्छ । तर ती दुईको उद्देश्यमा धेरै ठूलो अन्तर रहन्छ । एउटा आसक्ति राख्न अथवा कामनापूर्तिकोलागि कर्म गर्छ र अर्को आसक्ति छुट्नकोलागि कर्म गर्छ । भोगी आफ्नोलागि कर्म गर्छ र कर्मयोगी अरुकोलागि कर्म गर्छ । अतः आसक्तिपूर्वक कर्म गर्नमा समान हुँदा पनि आसक्ति-त्यागको उद्देश्यले अरुकोलागि कर्म गर्ने योगी (योगारूढ़) हुन्छ । कर्म गर्दा नै योगीको पहिचान हुन्छ ।

यहाँ उल्लेख गरिएको 'शम' (शान्ति) लाई दोस्रो अध्यायमा 'प्रसाद' (अन्तःकरणको प्रसन्नता) भनिएको छ । यो शान्तिमा रमण नगरे 'निर्वाणपरमा शान्ति' पाइन्छ । त्यागले शान्ति पाइन्छ । तर यो शान्तिमा पनि रमण नगरे अखण्डरस (तत्वज्ञान) पाइन्छ  र अखण्डरसमा पनि सन्तोष नगरे अनन्तरस (परमप्रेम) पाइन्छ ।   

No comments:

Post a Comment