Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 27: श्लोक २७ पापहरु सबै नष्ट भएका, रजोगुण शान्त भएका तथा मन सर्वथा शान्त निर्मल भएका (यस्ता)


No. 183 

श्लोक २७ 

पापहरु सबै नष्ट भएका, रजोगुण शान्त भएका तथा मन सर्वथा शान्त निर्मल भएका (यस्ता) ब्रह्मरूप वनेका योगीलाई निश्चित उत्तम (सात्विक) सुख प्राप्त हुन्छ । 

सबै पापहरु नष्ट भएका अर्थात् तमोगुण र तमोगुणको अप्रकाश, अप्रवृत्ति, प्रमाद र मोह जस्ता वृत्तिहरु नष्ट भएका योगीहरूलाई यहाँ 'अकल्मषम्' भनिएको छ । 

रजोगुण र रजोगुणको लोभ, प्रवृत्ति, नयाँ-नयाँ कर्महरुमा मन लाग्नु, अशान्ति र स्पृहा जस्ता वृत्तिहरु शान्त भएका योगीलाई यहाँ 'शान्तरजसम्' भनिएको छ ।   
तमोगुण, रजोगुण तथा तिनका वृत्तिहरु शान्त भएपछि मन स्वाभाविक शान्त हुन्छ अर्थात् सम्पूर्ण प्राकृतिक पदार्थहरुदेखि तथा संकल्प-विकल्पहरुदेखि पनि उपरति भएको स्वाभाविक शान्त मन भएको योगीलाई यहाँ 'प्रशान्तमनसम्' भनिएको छ । 

'प्रशान्त' भन्नुको तात्पर्य, ध्यानयोगीले मनलाई आफ्नो मानुन्जेल मन त अभ्यासले शान्त हुन सक्छ, तर प्रशान्त अर्थात् सर्वथा शान्त हुन सक्तैन । परन्तु ध्यानयोगी मनवाट पनि उपराम भएपछि अर्थात् मनलाई पनि आफ्नो नमानेपछि, मनसँग सम्बन्ध-विच्छेद गरेपछि उसको मनमा राग-द्वेष नहुनाले उसको मन स्वाभाविक नै शान्त हुन्छ ।

केही अघिका श्लोकमा वर्णन गरिएको उपराम हुने व्यक्ति पापरहित, शान्त रजोगुण भएको र प्रशान्त मन भएको हुन्छ । अतः त्यो ब्रह्मरुप वनेको योगीलाई स्वाभाविक नै उत्तम सुख अर्थात् सात्विक सुख प्राप्त हुन्छ । 

सवैवाट उपराम भएको योगीलाई उत्तम सुखको खोज गर्नु पर्दैन, त्यो सुख प्राप्तिकोलागि कुनै उद्योग, परिश्रम गर्नु पर्दैन, वरु त्यो उत्तम योगीलाई उत्तम सुख स्वतःस्वाभाविक प्राप्त हुन्छ ।

श्लोक २८ 

यसरी आफूलाई सँधै (परमात्मामा) लगाउँदै पापरहित योगी सुखपूर्वक ब्रह्मप्राप्तिरूप अत्यन्त सुखको अनुभव गर्छ ।

आफ्नो स्थितिकोलागि वारम्वार गरिने अभ्यासको कुरा यहाँ आएको छैन । यहाँ अनाभ्यास नै अभ्यास हो अर्थात्  आफ्नो स्वरूपलाई आफैंले आफूमा दृढ गर्नु नै अभ्यास हो । यो अभ्यासमा अभ्यासवृत्ति छैन । यस्तो अभ्यासले  त्यो योगी अहंता-ममतारहित हुन्छ । अहंता र ममतादेखि रहित हुनु नै पापहरुदेखि रहित हुनु हो; किनकि संसारसँग अहंता-ममतापूर्वक सम्बन्ध राख्नु नै पाप हो । 

पन्ध्रौँ श्लोकमा 'युञ्जन्नेवम्' पद सगुणको ध्यानकोलागि आएको छ र यहाँ 'युञ्जन्नेवम्' पद निर्गुणको ध्यानकोलागि आएको छ । यस्तै पन्ध्रौँ श्लोकमा 'नियतमानसः' र यहाँ 'विगतकल्मष:' आएको छ; किनकि उहाँ परमात्मामा मन  लगाउने मुख्यता छ र यहाँ जडताको त्याग गर्ने मुख्यता छ । त्यहाँ त परमात्माको ध्यान गर्दा गर्दा मन सगुण परमात्मामा तल्लीन भएपछि संसार स्वतः छुट्यो र यहाँ अहंता-ममतारूप कल्मषवाट अर्थात् संसारदेखि सर्वथा सम्बन्ध-विच्छेद गरेर आफ्नो ध्येय परमात्मामा स्थित भइयो । यसरी तात्पर्य एकै भयो अर्थात् उहाँ परमात्मामा लागेकोले संसार छुट्यो र यहाँ संसारलाई छोडेर परमात्मामा स्थित भइयो ।

त्यो परमात्मामा स्थित हुने व्यक्तिलाई ब्रह्मसँग अभिन्नता हुन्छ, उसमा 'म'पनको संस्कार पनि रहँदैन, सत्ता पनि रहँदैन । यसैलाई सुखपूर्वक ब्रह्मको संस्पर्श गर्ने भनिएको छ । जुन सुखमा अनुभव गर्ने र अनुभवमा आउने दुवै रहँदैनन्, त्यो 'अत्यन्त सुख' हो । यो सुख योगी प्राप्त गर्छ । 'अत्यन्त सुख', 'अक्षय सुख' र 'आत्यन्तिक सुख' -- यी तीनै सुख एकै परमात्मस्वरूप आनन्दका वाचक हुन् ।

श्लोक २९                                   
   
सबै ठाउँमा आफूलाई नै देख्ने, र ध्यानयोगले युक्त अन्तःकरण भएको (सांख्ययोगी) आफ्नो स्वरूपलाई सपूर्ण प्राणीहरुमा स्थित देख्छ र सम्पूर्ण प्राणीहरुलाई आफ्नो स्वरूपमा देख्छ । 

सबै ठाउँमा सच्चिदानन्दघन परमात्मा मात्रै परिपूर्ण हुनुहुन्छ । मनुष्य सक्खरले वनेका अनेक किसिमका खेलौनाहरुको नाम, रुप, आकृति आदि छुट्टै हुँदा पनि तिनमा समानरूपले सक्खरलाई मात्रै, फलामवाट वनेका अनेक तरहका अस्त्र-शस्त्रहरुलाई फलाम मात्रै, माटोवाट बनेका अनेक तरहका भाँडा- कुँडालाई माटो मात्रै र सुनवाट वनेका आभूषणहरुमा सुनलाई मात्रै देख्छ । त्यसै गरी ध्यानयोगी तरह तरहका वस्तु, व्यक्ति आदिमा समरूप परमात्मालाई आफ्नो स्वरूपमा देख्छ ।

ध्यानयोगको ध्यान गर्दा गर्दा ध्यानयोगीको अन्तःकरण आफ्नो स्वरूपमा तल्लीन हुन्छ । तल्लीन भएपछि उसको अन्तःकरणसंग सम्बन्ध-विच्छेद हुन्छ । 

ध्यानयोगी सम्पूर्ण प्राणीहरुमा आफ्नो आत्मालाई, आफ्नो सत्स्वरूपमा स्थित देख्छ । साधारण प्राणी आफ्नो शरीरभरी आफूलाई देख्छ, शरीरको सबै अवयवहरुमा,अंशहरुमा 'म'लाई नै पूर्णरूपले देख्छ । त्यस्तै समदर्शी पुरुष सबै प्राणीहरुमा आफ्नो स्वरूपलाई नै स्थित देख्छ । 

कसैलाई निद्रामा स्वप्न आउँदा ऊ स्वप्नमा स्थावर-जंगम, प्राणी-पदार्थ देख्छ । तर निद्रा खुलेपछि त्यो स्वप्न सृष्टि देखिंदैन; त्यसैले स्वप्नमा स्थावर-जंगम आदि सबै स्वयं आफैं वनिन्छ । जाग्रत-अवस्थामा कुनै जड या चेतन प्राणी-पदार्थको याद आउँदा ती सबै मनले देखिन्छ र याद हट्ने वित्तिकै सबै दृश्य अदृश्य हुन्छन् । अतः यादमा सबै आफ्नो मन नै वनेको छ । त्यस्तै ध्यानयोगी सम्पूर्ण प्राणीहरुमा आफ्नो स्वरूप स्थित भएको देख्छ । स्थित देख्ने भनेको, सम्पूर्ण प्राणीहरुमा सत्तारूपले आफ्नै स्वरूप छ । स्वरूप सिवाय अर्को कुनै सत्ता छँदै छैन; किनकि संसार एक क्षण पनि एकरूप रहँदैन, उल्टै प्रतिक्षण वदलिइरहन्छ । संसारको कुनै पनि रूपलाई एक चोटी देखेपछि कसैले दोस्रो चोटी हेर्न खोजे हेर्न सक्तैन; किनकि त्यो पहिलेको रूप वदलिइसक्यो । त्यस्तै परिवर्तनशील वस्तु, व्यक्ति आदिमा योगी सत्तारूपले अपरिवर्तनशील आफ्नो स्वरूप नै देख्छ । 

त्यो ध्यानयोगी सम्पूर्ण प्राणीहरुलाई आफू अन्तर्गत देख्छ अर्थात् आफू सर्वगत, असीम, सच्चिदानन्दघन स्वरूपमा नै सबै प्राणीहरुलाई तथा सारा संसारलाई देख्छ । एकै प्रकाश अन्तर्गत रातो, पहेंलो, कालो, नीलो आदि रंगहरु देखिन्छन, ती सबै रंगहरु प्रकाशवाट नै वनेका छन् र प्रकाशमा नै देखिन्छन् र जति वस्तुहरु देखिन्छन्, ती सबै सूर्यवाट नै उत्पन्न भएका हुन् र सूर्यको प्रकाशमा नै देखिन्छन् । त्यस्तै त्यो योगी सम्पूर्ण प्राणीहरुलाई आफ्नो स्वरूपवाट नै पैदा भएका, स्वरूपमा नै लीन भइरहेका र स्वरूपमा नै स्थित भएका देख्छ । तात्पर्य, उसलाई जे जति देखिन्छ, त्यो सबै आफ्नो स्वरूप नै देखिन्छ ।

यो श्लोकमा प्राणीहरुमा त आफूलाई स्थित वताइएको छ, तर आफूमा प्राणीहरुलाई स्थित भन्ने वताइएन । यस्तो भन्नुको तात्पर्य, प्राणीहरुमा त आफ्नो सत्ता छ, तर आफ़ूमा प्राणीहरुको सत्ता छैन । कारण, स्वरूप त सदा एकरूप रहने खालको छ, तर प्राणी उत्पन्न र नष्ट हुने खालका छन् । 

यो श्लोकको तात्पर्य  हो, व्यवहारमा प्राणीहरुसँग छुट्टा छुट्टै वर्ताव हुन्छ, तर फरक-फरक वर्ताव हुँदा पनि त्यो समदर्शी योगीको स्थितिमा कुनै फरक पर्दैन ।     

No comments:

Post a Comment