Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 11: श्लोक ११ शुद्ध भूमिमा, कुश, मृगछाला र वस्त्र विछयाइएको,

No. 171 

श्लोक ११ 

शुद्ध भूमिमा, कुश, मृगछाला र वस्त्र विछयाइएको, धेरै ऊँचो र धेरै नीचो पनि नभएको, आसनलाई स्थिर गरेर स्थापना गर्ने । 

भूमिको शुद्धि दुई किसिमले हुन्छ -- (१) स्वाभाविक शुद्द स्थान; जस्तो गंगाजीको किनारा, जंगल, तुलसी, अमला, पीपल आदि पवित्र वृक्षहरु नजीकैको स्थान र (२) शुद्ध गरिएको स्थान; जस्तो भूमिलाई गाईको गोवरले लिपेर अथवा जल छम्केर शुद्ध गरियोस्; माटो भएको ठाउँमा चार पाँच अमल माटो हटाएर भूमिलाई शुद्ध गर्नु पर्छ । यस्तो स्वाभाविक अथवा शुद्ध गरिएको समतल भूमिमा काठ अथवा पत्थरको चौकी आदि राख्ने ।

आसन वनाउँदा पहिले कुश विछ्याउने, कुश माथि आफैं मरेको मृगको चर्म विछ्याउने; किनभने मारिएको मृगको छाला अशुद्ध हुन्छ । यदि यस्तो मृगछाला पाइंदैन भने टाटको बोरा अथवा उनको कम्बल विछ्याउने । त्यसपछि त्यसमाथि कोमल सूती कपडा ओच्छ्याउने । 

समतल शुद्ध भूमिमा वनेको आसन धेरै अग्लो पनि हुन नहुने र धेरै होचो हुन नहुने । किनकि धेरै ऊँचो भयो भने ध्यान गर्दा अचानक निद्रा लाग्यो भने लडिने डर हुन्छ र धेरै नीचो भयो भने भूमिमा घुम्ने जन्तुहरुले शरीर टोके भने विक्षेप हुन्छ । 

भूमिमा राखिएको आसन हल्लिने हुनु हुँदैन । ध्यान गरिने आसन व्यक्तिगत हुनुपर्छ, अरुको होइन; किनकि अरुको आसन प्रयोग गर्दा त्यसमा त्यस्तै परमाणु रहन्छन् । त्यसैले आफ्नै आसनको विधान गरिएको हो । 

श्लोक १२ 

त्यो आसनमा वसेर चित्त र इन्द्रियहरुका क्रियाहरुलाई वशमा राख्दै मनलाई एकाग्र गरेर अन्तःकरणको शुद्धिकोलागि योगको अभ्यास गर्ने । 

त्यसरी ओछ्याइएको आसनमा सिद्धासन, पद्मासन, सुखासन आदि जुन सुकै आसनले वस्न सकिन्छ, त्यही आसनमा वस्ने । आसनको विषयमा यस्तो छ, जुनसुकै आसनमा वसे पनि त्यही आसनमा लगातार तीन घण्टासम्म वसिरहने । त्यति समयसम्म हिंडन र डुल्न नहुने । यसरी वस्ने अभ्यास भएपछि मन र प्राण स्वतः स्वाभाविक शान्त (चंचलतारहित) हुन्छन् । कारण कि मनको चंचलताले शरीरलाई स्थिर हुन दिंदैन । यसैले ध्यानको वेला शरीर स्थिर रहनु पर्छ ।                 

आसनमा वसेको वेला चित्त र इन्द्रियहरुका क्रियाहरु वशमा रहनुपर्छ । व्यवहार गर्दा पनि शरीर, मन, इन्द्रियहरुको क्रियाहरुमा आफ्नो अधिकार रहनु पर्छ । कारण, व्यवहारकालमा चित्त र इन्द्रियहरुका क्रियाहरु वशमा रहेनन् भने ध्यानको वेला वेला पनि ती क्रियाहरु छिट्टै वशमा हुन सक्तैनन् । अतः व्यवहारकालमा पनि चित्त आदिका क्रियाहरुलाई वशमा राख्नु आवश्यक छ । तात्पर्य, आफ्नो जीवन ठीक तरिकाले संयत हुनु पर्छ । 

मनलाई संयत गर्ने अर्थात् मनमा संसारको चिन्तन विल्कुल हुन नदिने । यसकोलागि विचार गर्ने, '  म ध्यान गर्न आसनमा वसेको छु । यदि अहिले मैले संसारको चिन्तन गरें भने संसारको काम त हुँदै हुँदैन र संसारको चिन्तन हुँदा परमात्माको चिन्तन, ध्यान पनि हुँदैन । यसरी दुबैतिर म रित्तो हुनेछु र ध्यानको समय वितिहाल्छ । यसैले अहिले मलाइ संसारको चिन्तन गर्नु छैन, प्रत्युत मनलाई केवल परमात्मामा नै लगाउनु छ ।' यस्तो निश्चय गर्दा पनि संसारको कुनै कुरो आयो भने यस्तो सम्झनु, 'यो चिन्तन मेरो होइन, आफैं आएको हो । चिन्तन आफैं आउँदा हामीले त्यो चिन्तन नसमात्ने अर्थात् न त त्यसको अनुमोदन गर्ने, न त्यसको विरोध गर्ने । त्यसो गर्दा त्यो चिन्तन आफैं निर्जीव भएर नष्ट हुनेछ अर्थात् जसरी आयो, त्यसरी नै जानेछ । संसारमा धेरै राम्रा-नराम्रा कार्यहरु भैरहन्छन्, ती कार्यहरुसँग हामीले आफ्नो सम्बन्ध जोडेनौं भने हामीमा तिनीहरुको कुनै असर पर्दैन अर्थात् हामीलाई पाप-पुण्य लाग्दैनन् । त्यस्तै आफैं आउने चिन्तनसँग हामीले सम्बन्ध जोडेनौं भने हामीमा त्यो ,आराम चिन्तनको कुनै असर पर्दैन, त्यो चिन्तनसँग हाम्रो मन टाँसिंदैन । मन नै टाँसिंदैन भने मन स्वतः एकाग्र, शान्त हुनेछ ।

अन्तः करणको शुद्धिकोलागि नै ध्यानयोगको अभ्यास गर्नु पर्ने हो । सांसारिक पदार्थ, भोग, मान, वड़ाई, आराम, यश-प्रतिष्ठा, सुख-सुबिधा आदिको उद्देश्य राख्नु अर्थात् यिनीहरुको कामना गर्नु नै अन्तःकरणको अशुद्धि हो र सांसारिक पदार्थ आदिको प्राप्तिको उद्देश्य, कामना नराखेर केवल परमात्मप्राप्तिको उद्देश्य राख्नु नै अन्तःकरणको शुद्धि हो । 

ऋद्धि, सिद्धि आदिको प्राप्तिकोलागि र अरुलाई देखाउन पनि योगको अभ्यास गर्न सकिन्छ, तर तिनवाट अन्तःकरणको शुद्धि चाहिं हुंदैन । 'यो' एउटा शक्ति हो, यो शक्तिलाई  सांसारिक भोगहरुको प्राप्तिमा  लगाइयो भने भोग -- ऋद्धिहरु र सिद्धिहरु प्राप्त होलान् र परमात्माको प्राप्तिमा लगाइयो भने परमात्मप्राप्तिमा त्यो शक्ति सहायक वन्ने छ ।  

No comments:

Post a Comment