Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 27: श्लोक २५ ध्यानयोगका दुई किसिम छन् -- (१) मन एकाग्र गर्ने र (२) विवेकपूर्वक मनसँग सम्बन्ध विच्छेद

No. 181 

अझ पनि श्लोक २५ कै वांकी 

ध्यानयोगका दुई किसिम छन् -- (१) मन एकाग्र गर्ने र (२) विवेकपूर्वक मनसँग सम्बन्ध विच्छेद गर्ने । विवेकपूर्वक सम्बन्ध-विच्छेदले तत्काल मुक्ति हुन्छ । संसारमा कति पाप-पुण्य हुन्छन्, तर तिनीहरुसँग हाम्रो सम्बन्ध नै छैन । त्यस्तै शरीर-इन्द्रियहरु-मन, बुद्धिसँग पनि हाम्रो सम्बन्ध छैन । यसैलाई 'उपरति' भन्छन् । चिन्तन गर्ने वृत्तिसँग पनि सम्बन्ध रहनु हुँदैन ।

सम्पूर्ण देश, काल, क्रिया, वस्तु, व्यक्ति, अवस्था, परिस्थिति, घटना आदिमा एक नै परमात्मतत्व सत्तारुपले जस्ता-को-तस्तो परिपूर्ण छ । देश, काल आदिको त अभाव छ, तर परमात्मतत्वको नित्य भाव छ । यसरी साधकले पहिले मन-बुद्धिदेखि  निश्चय गर्ने, 'परमात्मतत्व छ' भनेर । अनि त्यो निश्चय पनि छोडिदिने, र चूप हुने अर्थात् केही पनि चिन्तन नगर्ने । आत्माको, अनात्माको, परमात्माको, संसारको, संयोगको, वियोगको केहीको पनि चिन्तन नगर्ने । कुनै चिन्तन गर्यो भने संसार आइहाल्छ । कारण कि कुनै पनि चिन्तन गरे चित्त (करण) साथमा रहनेछ । करण साथमा रहँदा संसारको त्याग हुँदैन, किनकि करण पनि संसार हो ।

यसैले 'न किञ्चिदपि चिन्तयेत्' मा करणसँग सम्बन्ध-विच्छेद छ; किनकि करण सँगै नरहेपछि सक्कली ध्यान हुन्छ । सूक्ष्म भन्दा सूक्ष्म चिन्तन गर्दा पनि वृत्ति रहन्छ, वृत्तिको अभाव हुँदैन । परन्तु केही पनि चिन्तन गर्ने भाव नरहँदा वृत्ति स्वतः शान्त हुन्छ । अतः साधकले चिन्तनको पूर्णतया उपेक्षा गर्नु पर्छ । जस्तो जल स्थिर (शान्त) रहन त्यसमा मिसिएको माटो विस्तारै विस्तारै आफैं तल वस्छ, त्यस्तै चुप भएपछि सबै विकार शनै: शनैः आफैं शान्त हुन्छन, अहम् गल्छ । र वास्तविक तत्व (अहंरहित) सत्ताको अनुभव हुन्छ । 

यहाँ, यो श्लोकमा, वृत्तिको अभाव गर्न नै 'शनैः शनैः' पदहरुको प्रयोग भएको छ । 'शनैःशनैः' भन्नुको तात्पर्य हो, जवर्दस्ती नगर्ने, हतार नगर्ने; किनकि जन्म-जन्मान्तरको संस्कार हतार गरेर हट्दैन । हतारले त चंचलतालाई अझ स्थिर, स्थायी वनाउँछ, तर 'शनैः शनैः' चन्चलताको नाश गर्छ । 

प्रकृतिको सम्बन्ध विना तत्वको चिन्तन, मनन आदि हुन सक्तैन । अतः साधक तत्वको चिन्तन गर्छ भने चित्त साथैमा रहन्छ, मनन गर्छ भने मन साथैमा रहन्छ, निष्चय गर्छ भने बुद्धि साथैमा रहन्छ, दर्शन गर्छ भने दृष्टि साथैमा रहन्छ, श्रवण गर्छ भने श्रवणेन्द्रिय साथैमा रहन्छ, वोल्छ भने वाणी साथैमा रहन्छ । त्यस्तै 'हो' या 'छ' मान्छ भने मान्यता तथा मान्ने व्यक्ति रहन्छ र 'छैन' या 'होइन'को निषेध गर्छ भने निषेध गर्ने रहन्छ । कर्तृत्वाभिमानको त्याग गर्दा 'म कर्ता होइन' -- यो सूक्ष्म अहंकार रहन्छ अर्थात् त्याग गरे त्याज्य वस्तु र त्यागी (त्याग गर्ने) रहन्छ । यसैले साधकले उपराम हुने, अर्थात् न मान्यता गर्ने, न निषेध गर्ने, न ग्रहण गर्ने, त त्याग गर्ने, प्रत्युत स्वतःसिद्ध स्वाभाविक वस्तुलाई स्वीकार गर्ने र वाहिर, भित्रदेखि नै चुप रहने । 'मलाई चुप हुनुपर्छ' भन्ने आग्रह (संकल्प) पनि नराख्ने, नभए कर्तृत्व आइदिन्छ; किनकि चुप स्वतःसिद्ध छ । 

साधकले म, तिमी, यो र त्यो -- यी चारैलाई छोड्छ भने एउटा 'छ' (सत्ता मात्र) रहन्छ । त्यो स्वतःसिद्ध 'छ'लाई स्वीकार गर्ने तथा आफूतर्फवाट केही पनि चिन्तन नगर्ने । यदि कुनै चिन्तन आफैं आइहालेछ भने पनि त्योसँग न राग गर्ने, न द्वेष गर्ने; न खुसी हुने, न रिसाउने; न त्यसलाई ठीक मान्ने, न वेठीक मान्ने र न आफूमा मान्ने, चिन्तन गर्नु छैन, तर चिन्तन भयो भने कुनै दोष छैन । आफैं हावा वहन्छ, सर्दी-गर्मी आउँछ, वर्षा हुन्छ भने त्यसको दोष हामीलाई लाग्दैन; किनकि त्योसँग हाम्रो सम्बन्ध नै छैन । दोष त जडतासँग सम्बन्ध जोड्दा नै हुने हो । अतः चिन्तन भयो भने त्यसको उपेक्षा गर्ने, त्योसँग आफूलाई नमिलाउने अर्थात् म चिन्तन गर्छु र चिन्तन ममा हुन्छ भन्ने पनि नमान्ने । चिन्तन मनमा हुने हो र मनसँग मेरो कुनै पनि सम्बन्ध छैन । 

'आत्मसंस्थम् मन: कृत्वा' मा 'मन' शब्द बुद्धिको वाचक हो; किनकि चंचलता मनमा र स्थिरता बुद्धिमा हुन्छ । अतः 'आत्मसंस्थम्' भन्नुको तात्पर्य, चंचलता नरहोस्, प्रत्युत स्थिरता रहोस् । जस्तो 'फलानो गाउँ छ' भन्ने मान्यता दृढ भएपछि यसको चिन्तन गर्नु पर्दैन, त्यस्तै 'परमात्मा छ' भन्ने मान्यता दृढ रह्यो भने फेरि यसको चिन्तन गर्नु पर्दैन । स्वतःसिद्धको चिन्तन के गर्ने ? यसैले आत्मचिन्तन गर्दा आत्मबोध हुँदैन; किनकि आत्मचिन्तन गर्दा चिन्तक रहन्छ र अनात्माको सत्ता रहन्छ । अनात्माको सत्ता मान्छौं, त्यसैले त अनात्माको त्याग र आत्माको चिन्तन गर्छौं ।   

'न किञ्चिदपि चिन्तयेत्' -- यसलाई 'चुप साधन', मूक् सत्संग' र 'अचिन्त्यको ध्यान' पनि भन्छन् । यसमा न त स्थूल शरीरको क्रिया छ, न सूक्ष्म शरीरको चिन्तन छ र न कारण शरीरको स्थिरता छ । यसमा इन्द्रियहरु पनि चुप छन्, मन पनि चुप छ, बुद्धि पनि चुप छ अर्थात् शरीर-इन्द्रियहरु-मन-बुद्धिको कुनै क्रिया छैन । सबै चुप छन्, कोही वोल्दैनन् ! जे हेर्नु थियो त्यो हेरियो, सुन्नु थियो त्यो सुनियो, वोल्नु थियो वोलियो, गर्नु थियो गरियो, अव केही हेर्ने, सुन्ने, वोल्ने र गर्ने आदिको रुचि रहेन -- यस्तो हुँदा 'चुप साधन' हुन्छ । यो 'चुप साधन' समाधि भन्दा पनि माथि छ; किनकि यसमा बुद्धि र अहम् सँग सम्बन्ध विच्छेद छ । समाधिमा त लय, विक्षेप, कषाय र रसास्वाद -- चार दोष (विघ्न)   रहन्छन्, तर चुप साधन वृत्तिरहित छ ।

No comments:

Post a Comment