Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 32: श्लोक ३२ हे अर्जुन ! जुन भक्त आफ्नो शरीरलाई जस्तै सबै ठाउँमा मलाई नै समान देख्छ र सुख अथवा

No. 186 

श्लोक ३२  

हे अर्जुन ! जुन भक्त आफ्नो शरीरलाई जस्तै सबै ठाउँमा मलाई नै समान देख्छ र सुख अथवा दुःखलाई पनि समान देख्छ, त्यो भक्तलाई परम योगी मानिएको छ । 

साधारण मनुष्य शरीरमा आफ्नो स्थिति देख्दा उसको शरीरको कुनै अंगमा कुनै किसिमको पीडा होस् भन्ने ऊ चाहँदैन, आफ्ना   सबै अंगहरुको आराम समानरूपले चाहन्छ । यही किसिमले त्यो व्यक्ति अरु सबै प्राणीहरुको आराम पनि समानरूपले चाहन्छ । उसको अगाडि दुःखी प्राणी आए भने आफ्नो शरीरको कुनै दुःख अंगको दुःख हटाउने चेष्टा भए जस्तै त्यो व्यक्तिको दुःख हटाउने स्वाभाविक चेष्टा हुन्छ उसलाई। तात्पर्य, साधारण प्राणीलाई आफ्नो शरीरको आरामको चेष्टा भए जस्तै त्यो भक्तलाई पनि अरुको शरीरहरूको आरामकोलागि स्वाभाविक चेष्टा हुन्छ ।

'सर्वत्र' भन्नुको तात्पर्य, ऊ द्वारा वर्ण, आश्रम, देश, वेश, सम्प्रदाय आदिको भेद नराखेर सबैलाई समान रीतिले सुख पुर्याउने स्वाभाविक चेष्टा हुन्छ । त्यस्तै पशु-पक्षी, वृक्ष-लता, आदि स्थावर-जंगम सबै प्राणीहरुलाई पनि समानरीतिले सुख पुर्याउने उसको चेष्टा हुन्छ र साथसाथै उनीहरुको दुःख मेट्ने पनि स्वाभाविक उद्योग हुन्छ । 

आफ्नो शरीरको अंगहरुको दुःख हटाउन समान चेष्टा हुँदा पनि अंगहरुमा भेद दृष्टि त रहन्छ र रहनु पनि पर्छ । जस्तो, हातको काम गोडाले हुँदैन । यदि हातले हात छोइयो भने हात धुनु पर्दैन; तर गोडालाई हातले छोइयो भने हात धुनु पर्छ । यदि मल-मूत्रको अंगहरु हातले सफा गरिंदा हातलाई माटो लगाएर विशेषताले धुनु, सफा गर्नु पर्छ । यस्तै शास्त्र र वर्ण-आश्रमको मर्यादा अनुसार सबैको सुख-दुःखमा समान भाव राख्दै स्पर्श-अस्पर्शको ख्याल राखेर व्यवहार हुनुपर्छ । कसैप्रति किञ्चित् मात्र पनि घृणाको सम्भावना नै हुनु हुँदैन । जस्तो आफ्नो शरीरको पवित्र-अपवित्र अंगहरुको रक्षा गर्न र सुख पुर्याउन कुनै कमी नराख्दा पनि शुद्धिको दृष्टिले उनमा स्पर्श-अस्पर्शको भेद राखिन्छ । त्यस्तै शास्त्र-मर्यादा अनुसार संसारका सबै प्राणीहरुमा स्पर्श-अस्पर्श भेद मान्दा मान्दै पनि भक्त द्वारा उनीहरुको दुःख हटाउने र सुख पुर्याउने चेष्टामा कहिले किञ्चित् मात्र पनि कमी आउँदैन । तात्पर्य, जस्तो आफ्नो शरीरको कुनै अंग अस्पृश्य भएर पनि त्यो अंग अप्रिय हुँदैन, त्यस्तै शास्त्र मर्यादा अनुसार कुनै प्राणी अस्पृश्य हुँदा पनि उसमा प्रियता, हितैषिताको कमी त्यो व्यक्तिमा कहिले पनि आउँदैन ।                        

'सुखम् वा यदि वा दुःखम्' -- आफ्नो शरीरको उपमाले अरुको सुख-दुःखमा समान रहने तात्पर्य यो होइन, अरुको शरीरको कुनै अंगमा पीडा भयो भने त्यो पीडा होस्, आफूलाई पनि त्यो पीडाको अनुभव होस् । यस्तो समता लिइयो भने आफूलाई दुःख धेरै हुन्छ र दुःख हट्दैन; किनकि संसारमा दुःखी प्राणी नै धेरै छन् । 

अर्को कुरा, विरक्त त्यागी महात्माहरु आफ्नो शरीरमा र आफ्नो शरीरका अंगहरुमा हुने पीडालाई उपेक्षा गरिदिन्छन् । त्यस्तै अरुको शरीरहरुको र उनीहरुको शरीरहरूको अंगहरुमा हुने पीडाको उपेक्षा भयो भने अर्थात् जस्तो उनलाई आफ्नो शरीरको सुख-दुःखको असर हुँदैन, त्यस्तै अरुको सुख-दुःखको पनि आफूमा असर नहोस् -- यो पनि उपर्युक्त पदहरुको तात्पर्य होइन ।

उपर्युक्त पदहरुको तात्पर्य हो, शरीरमा आसक्त अज्ञानी पुरुषको शरीरमा पीडा हुँदा त्यो पीडा हटाउन र सुख पुर्याउन उसको जस्तो चेष्टा हुन्छ, तत्परता हुन्छ, त्यस्तै अरुको दुःख हटाउन र सुख पुर्याउन भक्तको स्वाभाविक चेष्टा हुन्छ, तत्परता हुन्छ ।

कुनै व्यक्तिको हातमा चोट लाग्यो भने उसलाई लोक-समुदायमा जानु पर्दा ऊ अर्को हातअगाडि राख्दै छेकेर दुखेको हातको रक्षा गर्छ र त्यो हातलाई धक्का नलागोस् भन्ने उद्योग गर्छ । परन्तु उसको मनमा कहिले पनि 'म यो हातको पीडा हटाइरहेछु, यसलाई सुख पुर्याइरहेछु' भन्ने अभिमान हुँदैन । ऊ त्यो हातलाई यस्तो गुन लगाउँदै भन्दैन पनि, 'हेर् हात ! मैले तेरो पीडा हटाउन कति चेष्टा गरें ।' पीडा शान्त भएपछि उ आफूमा विशेषताको पनि अनुभव गर्दैन । यस्तै भक्तद्वारा दुःखी प्राणीहरुलाई सुख पुर्याउने स्वाभाविक चेष्टा  हुन्छ । उनको स्वभाव नै अरुको दुःख हटाउने, उनलाई सुख पुर्याउने हुन्छ ।

भक्तको आफ्नो शरीरमा पीडा हुँदा उ त्यो पीडालाई सहन सक्छ र ऊ द्वारा त्यो पीडाको उपेक्षा पनि 
हुन सक्छ, तर अरुको शरीरमा पीडा भए ऊ सहन सक्तैन । कारण सर्वत्र भगवदबुद्धि भएको भक्तको अन्तःकरणमा पीडा सहने शक्ति छ, तर अरुको अन्तःकरणको पीडा सहने शक्ति त्यति सामर्थ्य छैन ।अतः उनद्वारा अरुको शरीरको पीडा हटाउन विशेष तत्परता हुन्छ । जस्तो, इन्द्रले कुनै अपराध नै नभई दधीचि ऋषिको  कटाइदिए । पछि अश्वीनिकुमारहरुले उनलाई पुनः जीवित गरिदिए । परन्तु इन्द्रलाई काम पर्दा दधीचिले आफ्नो शरीर छोडेर उनलाई (इन्द्रलाई) वज्र वनाउन आफ्नो हाडहरु दिए ।           

यहाँ शंका हुन सक्छ, आफ्नो शरीरको दुःखको त उपेक्षा हुन्छ र अरुको दुःखको उपेक्षा हुँदैन -- यो त विषमता भयो । यो कसरी समता भयो ? वास्तवमा यो विषमता समताको जनक हो, समता प्राप्त गराउने खालको हो । यो विषमता समता भन्दा पनि माथिल्लो दर्जाको चीज हो । साधक साधन-अवस्थामा यस्तो विषमता गर्छ भने सिद्ध-अवस्थामा उसको यस्तै स्वाभाविक प्रवृत्ति हुन्छ । परन्तु उसको अन्तःकरणमा किन्चिन्मात्र पनि विषमता रहँदैन । 

'स योगी परमो मतः'-- उसको दृष्टिमा परमात्मा सिवाय केही रहेन । ऊ नित्ययोग (परमात्माको नित्य सम्बन्ध) र नित्यसमतामा स्थित रहन्छ । कारण, सर्वत्र भगवदबुद्धि भएकोले परमात्मासँग उसको कहिले वियोग हुँदैन र ऊ सबै अवस्थाहरुमा तथा परिस्थितिहरुमा एकरूप नै रहन्छ । अतः परमयोगी मान्य छ ।

साधारण मनुष्यले मनुष्य शरीरमा आफूलाई देख्छ, शरीरको कुनै पनि अंगको पीडा नचाहेर, कुनै पनि अंगसँग द्वेष नगरेर सबै अंगहरुलाई समानरूपले आफ्नो मान्छ, त्यस्तै भक्त सम्पूर्ण प्राणीहरुमा आफ्नो अंशी भगवानलाई देख्छ र सबैको दुःख हटाउन तथा सुख पुर्याउने स्वाभाविक चेष्टा गर्छ ।ऊ वस्तु, योग्यता र सामर्थ्य आफ्नो नमानेर भगवानको मान्छ । गंगाजलले गंगाको पूजा गरिने र  दीपकले सूर्यको पूजा गरिने जस्तै भक्त भगवानको वस्तु भगवानलाई अर्पित गर्छ -- 'त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये' । 

शरीरको सबै अंगहरुले यथायोग्य व्यवहार गरिरहे पनि तिनीहरुमा अत्मबुद्धि एकै रहन्छ तथा ती अंगहरुको पीडा हटाउने तथा तिनीहरुलाई सुख पुर्याउने चेष्टा पनि समान नै रहन्छ । त्यस्तै, 'जस्तो देवता, त्यस्तै पूजा' अनुसार ब्राह्मण र चाण्डाल, साधु र कसाई, गाइ र कुकुर सबैमा शास्त्र मर्यादा अनुसार यथायोग्य व्यवहार गर्दा गर्दै पनि भक्तलाई भगवदबुद्धिमा तथा तिनीहरुको दुःख हटाउने र तिनलाई सुख पुर्याउने चेष्टामा कुनै अन्तर आउँदैन । 

भक्त सम्पूर्ण प्राणीहरुको आत्मासँग भगवानको एकता मान्छ । त्यस्तै, ऊ सबै शरीरहरुलाई आफ्नो शरीरसँग एकता मान्छ । यसरी अरुको दुःखसँग दुःखी र सुखसँग सुखी हुन्छ । ऊ आफ्नो शरीरको सुख-दुःख जस्तो सबैको सुख-दुःखलाइ आफ्नो नै सुख-दुःख मान्छ । अरुको दुःखवाट दुःखी हुने भनेको आफू दुःखी हुने होइन, अरुको दुःख हटाउने चेष्टा गर्ने हो । यसरी आफू सुखी हुन अरुको दुःख हटाउने होइन, वरु करुणा गरेर अरुलाई सुखी वनाउने चेष्टा गर्ने हो । तात्पर्य, आफूले सुखको भोग गर्ने होइन, 'अरुको दुःख हट्यो, ऊ सुखी भन्ने ठानेर प्रसन्न हुने हो ।

आँखा र गोडाको भेद यत्ति हो, आँखाले देखिन्छ र गोडाले हिंडिन्छ; आँखा ज्ञानेन्द्रिय हो र गोडा कर्मेन्द्रिय हो । यति भेद हुँदा हुँदै पनि अभिन्नता यति छ, काँडा गोडामा विझ्छ, आँसु आँखामा आउँछ र माटो आँखामा पर्छ र गोडा लड्खडाउँछ ! तात्पर्य, हामी शरीरलाई संसारसँग र संसारलाई शरीरसँग छुट्टै गर्न सक्तैनौं । यसैले हामी शरीरको पर्वाह गर्छौं भने संसारको पनि पर्वाह गरौँ र संसारको वेपर्वाह गर्छौं भने शरीरको पनि वेपर्वाह गरौँ । यी दुई कुराहरुमध्ये एउटा कुरा मानौं, यसैमा इमान्दारी छ ।  

No comments:

Post a Comment