Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 5: श्लोक ५ आफू द्वारा आफ्नो उद्धार गर्ने, आफ्नो पतन आफैं नगर्ने, किनकि आफू नै आफ्नो मित्र (साथी) हो र आफू नै आफ्नो शत्रु (वैरी) हो ।

No. 167 

श्लोक ५ 

आफू द्वारा आफ्नो उद्धार गर्ने, आफ्नो पतन आफैं नगर्ने, किनकि आफू नै आफ्नो मित्र (साथी) हो र आफू नै आफ्नो शत्रु (वैरी) हो ।

आफैंले आफूद्वारा आफ्नो उद्धार गर्ने भन्ने अर्थ, शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण आदि भन्दा माथि आफूलाई उठाउने । आफ्नो स्वरूपमा एकदेशीय 'म'-पना देखिन्छ, त्यो 'म'-पनादेखि पनि आफूलाई माथि उठाउने । शरीर, इन्द्रियहरु, मन, बुद्धि र 'म'-पना -- यी सबै प्रकृतिका कार्य हुन्; आफ्नो स्वरूप होइन । आफूलाई आफ्नो स्वरूप नभएको भन्दा माथि उठाउनु पर्ने भयो ।

आफ्नो स्वरूप परमात्मासँग एक छ र शरीर, इन्द्रियहरु आदि तथा 'म'-पना प्रकृतिसँग एक छन् । यदि व्यक्ति आफ्नो उद्धार गर्न आफूलाई माथि उठाउन शरीर, इन्द्रियहरु, मन, बुद्धि आदिको सहायता मान्छ भने, यिनीहरुको सहारा लिन्छ भने  जडतादेखि उसको त्याग कसरी होला ? किनकि जड वस्तुहरुसँग सम्बन्ध मान्नु, उनीहरुको आवश्यकता सम्झनु, उनीहरुको सहारा लिनु अनि बन्धन हो । जो आफ्नो हो, आफूमा छ, अहिले छ र यहीं छ, त्यस्तो परमात्माकोलागि शरीर, इन्द्रियहरू, मन, बुद्धिको आवश्यकता छैन । कारण कि असत् द्वारा सत् को प्राप्ति हुँदैन, असत् को त्यागले सत् को प्राप्ति हुन्छ । 

अर्को कुरो, प्राकृत पदार्थ, क्रिया र संकल्पमा आसक्त नहुने, तिनमा नफस्ने, वरु तिनवाट आफूले आफूलाई उठाउने । पदार्थ, क्रिया र संकल्पको आरम्भ तथा अन्त हुन्छ, तिनको संयोग तथा वियोग हुन्छ, तर आफ्नो (स्वयं) अभावको र परिवर्तनको अनुभव कसैलाई  हुँदैन । स्वयं सँधै एकरूप रहन्छ । त्यसैले उत्पन्न-नष्ट हुने पदार्थ आदिमा नफस्नु, उनको अधीन नहुनु, तिनवाट निर्लिप्त रहनु नै आफ्नो उद्धार गर्नु हो । 

सबै मनुष्यमा विचारशक्ति छ, यसलाई काममा ल्याउँदा ऊ आफ्नो उद्धार गर्न सक्छ । 'ज्ञानयोग'को साधक त्यो विचारशक्तिले जड-चेतनलाई  अलगाउ गरेर चेतन (आफ्नो स्वरूप)मा स्थित हुन्छ । 'भक्तियोग'को साधक त्यही विचारशक्तिले 'म भगवानको हुँ र भगवान मेरो हो' भन्ने विचारले भगवानसँग आत्मीयता गरेर आफ्नो उद्धार गर्छ । 'कर्मयोग'को साधक त्यही विचारशक्तिले आफूले पाएको शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि पदार्थहरुलाई संसारको नै मान्दै संसारको सेवामा लगाएर ती पदार्थहरुसँग आफ्नो सम्बन्ध-विच्छेद गर्छ, आफ्नो स्वरूपमा स्थित हुन्छ । यो दृष्टिले मनुष्य आफ्नो विचारशक्तिलाई काममा लगाएर कुनै पनि योग-मार्ग द्वारा आफ्नो कल्याण गर्न सक्छ ।        

विचार गर्नु पर्यो, 'म शरीर हैन; किनकि शरीर वदलिइरहन्छ र म उही नै रहन्छु । यो शरीर 'मेरो' होइन, किनकि शरीरमा मेरो वश चल्दैन अर्थात् शरीरलाई मैले जस्तो राख्न चाहन्छु, यो त्यस्तो रहन सक्तैन; म जस्तो राख्न चाहन्छु, यो शरीर त्यस्तो रहन सक्तैन; यसलाई जति दिन राख्न चाहन्छु, त्यति दिन यो शरीर रहन सक्तैन; यसलाई जति वलियो वनाउन चाहन्छु, त्यस्तो वन्न सक्तैन ।' 'यो शरीर 'मेरोलागि' पनि होइन; किनकि यदि यो शरीर मेरोलागि भएको भए यो पाएपछि मेरो कुनै इच्छा वांकी हुनु नपर्ने । अर्को कुरा, यो परिवर्तनशील छ र म अपरिवर्तनशील छु । परिवर्तनशील अपरिवर्तनशीललाई कसरी काम लाग्छ ? लाग्नै सक्तैन । फेरि अर्को कुरा, यदि यो शरीर मेरोलागि हुने भए यो सँधै मसँग रहनु पर्ने, तर यो मसँग वस्दैन । यस्तो किसिमले शरीर म होइन, मेरो होइन र मेरोलागि होइन -- यो वास्तविकतामा मनुष्य दृढ रह्यो भने ऊ आफूले आफ्नो उद्धार गर्नेछ । 

सन्देह रहन्छ, ईश्वर, सन्त-महात्मा, गुरु, शास्त्र -- यीवाट पनि मनुष्यको उद्धार हुन्छ; तर आफूले आफ्नो उद्धार गर्नु किन भनेको ? यसको समाधान, हाम्रो श्रद्धा भए मात्रै ईश्वर, सन्त-महात्मा आदिले हाम्रो उद्धार गर्छन् । त्यो श्रद्धा हामी आफैंले गर्नु पर्छ । हामीले श्रद्धा नगरी के उनीहरु (सन्त-महात्माहरु) हामीलाई श्रद्धा गराउन सक्छन्  ? यदि ईश्वर, सन्तहरुले हामीमा श्रद्धा नभई हामीमा श्रद्धा गराएर हाम्रो उद्धार गर्ने भए हाम्रो उद्धार उहिले नै भइसक्थ्यो ! कारण, आजसम्म भगवानका अनेक अवतार भइसके, कति किसिमका सन्त-महात्मा, जीवन्मुक्त, भगवतप्रेमी भइसके ; परन्तु अहिलेसम्म हाम्रो उद्धार भएन । हामी स्वयं उहाँहरुको सम्मुख भएनौं, हामी स्वयं उहाँहरुको सम्मुख भएनौं, हामी स्वयंले उहाँहरुको कुरा मानेनौं, त्यसैले हाम्रो उद्धार भएन । तर ती सन्त महात्मालाई श्रद्धा गर्ने, उहाँहरुको सम्मुख हुने, उहाँहरुको कुरा मान्नेहरुको उद्धार भयो । अतः साधकले शास्त्र, भगवान, गुरुमा श्रद्धा-विश्वास गरेर तथा उहाँहरुको आज्ञा अनुसार जीवन विताएर आफ्नो उद्धार गर्नुपर्छ ।

भगवान, सन्त-महात्मा रहँदा रहँदै पनि हाम्रो उद्धार नभएको कारण हामीमा उद्धारको सामग्रीको कमी भएर अथवा हामी आफ्नो उद्धार गर्न असमर्थ भएर होइन । वास्तवमा, हामी आफ्नो उद्धार गर्न तयार नै भएनौं । त्यसैले हामीलाई आवश्यक साधन सामग्री हुँदा हुँदै हामी आफ्नो उद्धार गर्न समर्थ भएनौं । हामी आफ्नो उद्धार गर्न तयार हुने हो भने, ईश्वर, सन्त-महात्माको सम्मुख हुने हो भने मनुष्यजन्म जस्तो सामाग्री र कलियुग जस्तो मौका पाएर हामी कति चोटि आफ्नो उद्धार गर्न सक्छौं ! तर हाम्रो उद्धार त्यही वेला होला, जव हामी स्वयं आफ्नो उद्धार गर्न चाहन्छौं ।     
           
अर्को कुरो, स्वयंले नै आफ्नो पतन गरेको हो अर्थात् यसैले संसारको सम्बन्धलाई समातेको हो, संसारले स्वयंलाई समातेको छैन । जस्तो, स्वयंले वाल्यावस्था छोडेन, यो स्वाभाविक नै छुट्यो । फेरि यही स्वयंले 'म जवान हुँ' भनेर जवानीसँग सम्बन्ध जोड्यो, तर जवानीसँग यसको सम्बन्ध पनि रहने छैन । तात्पर्य, स्वयंले नयाँ सम्बन्ध 
नजोडे पुरानो सम्बन्ध स्वाभाविक नै छुट्ने छ, जुन सम्बन्ध स्वतः छुटिरहेछ । पुरानो सम्बन्ध रहँदैन र नयाँ सम्बन्ध यही स्वयं जोड्छ । यसवाट सिद्ध भयो, सम्बन्ध जोड्न र तोड्नमा यो (स्वयं) स्वतन्त्र र समर्थ छ । यदि यो (स्वयंले) नयाँ सम्बन्ध जोड्दैन भने ऊ आफ्नो उद्धार आफैं गर्न सक्छ । 

शरीर-संसारसँगको संयोग प्रतिक्षण स्वतः वियोग भइरहेछ । त्यो स्वतः भइरहेको वियोगलाई संयोग-अवस्थामा नै स्वीकार गर्यो भने यो (स्वयं) आफूले आफूलाई नै उद्धार गर्न सक्छ ।             

यसले (स्वयं) आफूले आफुलाई पतनतिर नलग्नु -- परिवर्तनशील प्राकृत पदार्थहरुसँग आफ्नो सम्बन्ध नजोडनु अर्थात् तिनलाई महत्व दिएर तिनको दास नवन्नु, आफूलाई त्यो सम्बन्धको अधीन नमान्नु, आफ्नोलागि तिनीहरुको आवश्यकता छ भनेर नठान्नु । उदाहरणकोलागि, कसैलाई धन मिल्यो, पद मिल्यो, अधिकार मिल्यो भने त्यो आफूलाई ठूलो, श्रेष्ठ र स्वतन्त्र मान्छ, तर विचार गरेर हेर्यो भने उ स्वयं  ठूलो भयो कि धन, पद, अधिकार ठूला भए ? स्वयं चेतन र एकरूप रहँदा पनि ऊ यी प्राकृत चीजहरुसँग पराधीन हुन्छ र आफ्नो पतन गर्छ । झन् गजवको कुरा, यो पतनमा पनि ऊ आफ्नो उत्थान मान्छ र ती वस्तुको अधीन भएर पनि आफूलाई स्वाधीन मान्छ ।  

यो (स्वयं) आफू नै आफ्नो बन्धु हो। आफू वाहेक अरु कोही यसको बन्धु छैन । अतः स्वयंलाई अरु कसैको जरुरत छैन, यसलाई आफ्नो उद्धारकोलागि कुनै योग्यताको जरुरत छैन र कुनै वस्तु, व्यक्ति र परिस्थितिको पनि जरुरत छैन । अर्को शब्दमा, प्राकृत पदार्थ यसको (स्वयंको) साधक (सहायक) अथवा वाधक छैनन् । यो स्वयं नै आफ्नो उद्धार गर्न सक्छ, यसैले यो स्वयं नै आफ्नो बन्धु (मित्र) हो ।

हाम्रा सहायकहरु, रक्षकहरु र उद्धारकहरुसँग हामीले श्रद्धा-भक्ति गर्यौं भने, उहाँहरुको कुरा मान्यौं भने नै उहाँहरु हाम्रा बन्धु, सहायक हुनुहुन्छ । अतः मूलमा हामी नै हाम्रा बन्धु हौँ; किनकि हामीले नमानी, हामीले श्रद्धा-विश्वास नगरी उहाँहरु हाम्रो उद्धार गर्न सक्नु हुन्न -- यो नियम हो ।              
     
यो (स्वयं) आफू नै आफ्नो शत्रु हो अर्थात् आफूले नै आफ्नो उद्धार नगर्ने व्यक्ति आफू नै आफ्नो शत्रु हो । आफू सिवाय यसको कुनै अर्को शत्रु छैन । प्रकृतिको कार्य शरीर, इन्द्रियहरु, मन, बुद्धि पनि यसको अपकार गर्न समर्थ छैनन् । शरीर, इन्द्रियहरु, मन, बुद्धिले यसको उपकार गर्न नसक्ने जस्तै यसको उपकार पनि गर्न सक्तैनन् । स्वयंले नै ती शरीर आदिलाई आफ्नो मानेपछि स्वयं नै आफ्नो शत्रु भयो । तात्पर्य, ती प्राकृत पदार्थहरुसँग आफ्नोपनको स्वीकृति नै आफूसँग आफ्नो शत्रुता हो 

अर्को शब्दमा, आफ्नो मित्र शत्रु आफैं हो, अरु कोही मित्रु र शत्रु हुनै सक्तैन र हुन सम्भव पनि  छैन । प्रकृतिका कार्यसँग किञ्चित् मात्र पनि सम्बन्ध नमानेकोले यो आफ्नो मित्र आफैं हो र प्रकृतिका कार्यसँग अलिकति मात्रै पनि सम्बन्ध मान्दा नै यो आफू नै आफ्नो शत्रु हो । 

आफ्नो उद्धारमा र पतनमा मनुष्य स्वयं नै आफ्नो कारण हुन्छ, अरु कोही छैन । भगवानले मनुष्य-शरीर दिनुभएको छ भने हाम्रो कल्याणको सामग्री पनि पूरा दिनुभएको छ । यसैले आफ्नो कल्याणकोलागि अरुको जरुरत छैन । हाम्रो पतन पनि अरु गर्न सक्तैन । जीव स्वयं नै गुणहरुको संग गरेर जन्म-मरणमा पर्छ । 

मनुष्यले गुरु, सन्त र भगवानमा विश्वास गरेपछि, उहाँहरुलाई विश्वास गरेपछि, उहाँहरुलाई श्रद्धा-विश्वास गरेपछि, उहाँहरुको सम्मुख भएपछि, उहाँहरुको शरण भएपछि, उहाँहरुको आज्ञा मानेपछि नै उहाँहरुले हाम्रो उद्धार गर्नुहुन्छ । यदि मनुष्यले उहाँहरुलाई स्वीकार नगरे उहाँहरुले कसरी हाम्रो उद्धार गर्ने ? गर्न सक्नुहुन्न । आफैं शिष्य नवने गुरु के गर्ला ? जस्तो, अरुले हामीलाई भोजन त देलान् तर हामीलाई नै भोक लाग्नु पर्यो । आफूलाई भोक लागेन भने अरुले दिएको भोजनको के काम ? यसै गरी, आफूलाई नै लगन नभए गुरुको, सन्त-महात्माहरुको उपदेश के काम ?

गुरु, सन्त-महात्मा र भगवानको कहिले पनि अभाव हुँदैन । अनेक ठूला ठूला सन्त हुँदै आएका छन्, भगवानका अवतार हुँदै आएका छन्, तर अहिलेसम्म हाम्रो उद्धार भएको छैन । यसवाट थाहा हुन्छ, हामीले नै उहाँहरुलाई स्वीकार गरेका छैनौं । अतः आफ्नो उद्धार र पतनमा हेतु हामी आफैं हौँ । आफ्नो उद्धार र पतनमा आफूलाई हेतु मान्ने व्यक्तिको कहिले पनि उद्धार हुन सक्तैन । 

वास्तविक दृष्टिले हेर्दा, भगवान पनि विद्यमान हुनुहुन्छ, गुरु पनि विद्यमान हुनुहुन्छ, तत्वज्ञान पनि विद्यमान छ र आफूमा योग्यता, सामर्थ्य पनि विद्यमान छ । खालि नाशवान सुखको आसक्तिले नै भगवान प्रकट हुन वाधा लागिरहेछ । नाशवान सुखको आसक्ति मेटाउने जिम्मेवारी साधकमा छ; किनकि उसैले आसक्ति गरेको हो । 

गुरु वन्नु अथवा वनाउनु गीताको सिद्धान्त होइन । मनुष्य आफू नै आफ्नो गुरु हो । उपदेश आफूले आफूलाई नै दिने हो । सबै परमात्मा नै हुनुहुन्छ भने अर्को गुरु कसरी वन्नु र कसले कसलाई उपदेश दिने ? यसैले यहाँ भनिन्छ, अरुमा कमी नदेखेर आफूमा नै कमी देख्ने र त्यो कमी हटाउने चेष्टा गर्ने, आफूलाई नै उपदेश दिने । आफू नै आफ्नो गुरु वन्ने, आफ्नो नेता आफैं वन्ने र आफू नै आफ्नो शासक वन्ने ।   

No comments:

Post a Comment