Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 10: श्लोक १० भोगबुद्धिले संग्रह नगर्ने, इच्छारहित र अन्तःकरण तथा शरीरलाई वशमा राख्ने योगी एक्लै

No. 170 

श्लोक १०  

भोगबुद्धिले संग्रह नगर्ने, इच्छारहित र अन्तःकरण तथा शरीरलाई वशमा राख्ने योगी एक्लै एकान्तमा स्थित भएर मनलाई निरन्तर परमात्मामा लगाओस् ।

पाँचौं अध्यायका अन्तिम श्लोकहरुमा गरिएको ध्यानयोगको वर्णनको विस्तार यो श्लोकमा भएको छ ।

चित्तवृत्तिको निरोधलाइ योगशास्त्रमा प्रमुखता दिइन्छ । चित्तवृत्तिको निरोधरूप योगको साधन संसारदेखि विमुख भएर केवल परमात्माको सम्मुख भएर गरिन्छ । अतः त्यसकोलागि पहिलो साधन 'अपरिग्रह:' मानिन्छ । अपरिग्रह भनेको आफ्नोलागि सुखबुद्धिले केही पनि संग्रह नगर्ने । अपरिग्रह शब्दले वाहिरको भोगको त्याग वताउँछ । कारण, आफ्नो सुखकोलागि भोग र संग्रह गर्दा त्यसमा खिंचाव रहन्छ । यसो हुँदा साधकको मन ध्यानमा लाग्दैन । अतः ध्यानयोगको साधक अपरिग्रही हुनु जरूरी छ । 

निराशी पदले भित्रको भोग र संग्रहको इच्छाको त्याग भनिन्छ । तात्पर्य, भित्र कुनै पनि भोग भोगबुद्धिले भोग्ने इच्छा, कामना, आशा नराख्ने । कारण, मनमा उत्पत्ति-विनाशशील पदार्थहरुको महत्व, आशा, कामना, परमात्मप्राप्तिमा वाधक छन् । अतः यो कुरामा साधकले सावधान रहनु पर्छ ।

वाहिरवाट आफ्नो सुखकोलागि पदार्थ र संग्रहको त्याग तथा भित्रवाट तिनको कामना-आशाको त्याग भएपछि पनि अन्तःकरण आदिमा नयाँ राग हुने सम्भावना रहन्छ । त्यसैले यहाँ तेस्रो साधन वताइन्छ, अन्तःकरण तथा शरीरलाई वशमा राख्ने । अन्तःकरण र शरीर वशमा भएपछि फेरि नयाँ राग पैदा हुँदैन । यिनलाई वशमा गर्ने उपाय हो -- कुनै पनि नयाँ काम रागपूर्वक नगर्ने ।किनकि, रागपूर्वक प्रवृत्ति हुँदा शरीरको आराम-आलस्यमा, इन्द्रियहरुको भोगहरुमा र मनको भोगहरुको चिन्तनमा प्रवृत्ति हुन्छ, यसैले अन्तःकरण र शरीर वशमा गर्ने कुरा यहाँ भनियो । 
                                  
जसको ध्येय, लक्ष्य केवल परमात्मामा लाग्ने छ अर्थात् जो परमात्मा प्राप्त गर्न ध्यान गर्छ, सिद्धिहरु र भोगहरुकोलागि होइन, त्यस्तो व्यक्तिलाई यहाँ योगी भनिएको छ ।

ध्यानयोगको साधक एक्लै होस्, उसँग कुनै सहायक नहोस्; किनकि दुई जना भए कुराकानी हुन थाल्छ र सँगै कुनै सहायक भयो भने रागले गर्दा उसको याद आइरहन सक्छ, जसले गर्दा मन भगवानमा नलाग्न सक्छ ।

साधकले कहाँ स्थित हुने हो भन्ने कुरा भगवान वताउनु हुन्छ, साधक एकान्तमा रहोस् अर्थात् ध्यान विरुद्ध वातावरण भएको ठाउँमा नवसोस । नदीको किनार, वनको एकान्त स्थान, एकान्त मन्दिर अथवा घरैमा कुनै एउटा ध्यान, भजन गर्ने कोठामा ध्यान गर्न उपयुक्त हुन्छ । 

माथि वर्णन गरेको तरिकाले एकान्तमा वसेर मनलाई निरन्तर भगवानमा लगाउनु । मनलाई निरन्तर भगवानमा लगाउन मुख्य कुरो, ध्यान गर्नकोलागि एकान्तमा जाँदा, जानु भन्दा पहिले नै यस्तो विचार गर्ने, 'अव मलाइ संसारको कुनै काम गर्नु छैन' भनेर निरन्तर सावधान रहने; किनकि सावधानी नै साधना हो। 

साधककोलागि वडो आवश्यकताको कुरो, उसले ध्यान गर्दा त भगवानको चिन्तनमा तत्परतापूर्वक लागिरहने, व्यवहार गर्दा पनि निर्लिप्त रहँदै भगवानको चिन्तन गरिरहने; किनकि व्यवहारको समयमा भगवानको चिन्तन भएन भने संसारमा लिप्तता धेरै हुन्छ । व्यवहारको वेला भगवानको चिन्तन गर्नाले ध्यानको वेला चिन्तन गर्न सजिलो हुन्छ र ध्यानको वेला ठीक तरिकाले चिन्तन भयो भने व्यवहारमा चिन्तन भइरहन्छ अर्थात् दुवै समयमा गरिएको चिन्तन एक-अर्कोलाई (व्यवहार काल र ध्यान काल) सहायक हुन्छन् । तात्पर्य, साधकको साधकपना हर समय जाग्रत रहन्छ । ऊ संसारमा भगवानलाई मिलाओस्, तर भगवानमा संसार नमिलाओस् अर्थात् सांसारिक कार्य गर्दा पनि भगवतस्मरण भइरहोस् । यदि ध्यान गर्न वस्ने वेलामा साधकले 'फलानो काम गर्नु छ, यति लिनु छ, यति दिनु छ, फलानो ठाउँमा जानु छ, फलानोसँग भेट्नु छ' भन्ने कामहरु मनमा राख्छ भने अर्थात् मनमा संकल्प गर्छ भने उसको मन ध्यानमा लाग्दैन । अतः ध्यानमा वस्ने वेला साधकले यस्तो दृढ निश्चय गर्ने, 'जे भए पनि भइरहोस्, मलाई त खालि भगवानको मात्रै ध्यान गर्नु छ ।' यस्तो दृढ विचार भयो भने भगवानमा मन लगाउन सुविधा हुनेछ ।

धेरै साधकको गुनासो हुन्छ, 'मलाई त भगवानमा मन लाग्दैन ।' यसको कारण हो, साधकले ध्यान संसारसँग सम्बन्ध तोडेर होइन, जोडेर गर्छ । त्यसैले, आफ्नो सुख, सेवाकोलागि भित्रैदेखि कसैलाई पनि आफ्नो नमान्ने अर्थात् कसैसँग पनि आफ्नो ममता नराख्ने, किनकि जहाँ मन जान्छ, त्यहीं ममता हुन्छ । यसैले उद्देश्य केवल परमात्माको रहे र सबैसँग निर्लिप्त रहिए भगवानमा मन लाग्छ ।

अर्जुन पहिले पनि युद्धकोलागि तयार थिए र अन्तमा पनि उनले युद्ध गरे । खालि वीचमा उनले युद्ध गर्नु पाप हो भन्ने सोचे र भगवानले सम्झाएपछि उनले युद्ध गर्न स्वीकार गरे । कर्मको प्रसंग भएकोले गीतामा कर्मयोगको विषय आउनु ठीकै थियो, तर यसमा ज्ञानयोग, भक्तियोग आदि धेरै पारामार्थिक साधनहरुको वर्णन किन आयो ? त्यसमा पनि ध्यानयोगको वर्णन किन आयो ?

अर्जुन पापको भयले युद्धवाट उपरत (हट्न) हुन खोज्दा उनमा कल्याणको इच्छा जाग्रत हुन्छ । अतः उनी भगवानसँग प्रार्थना गर्छन्, 'जेले मेरो निश्चित श्रेय (कल्याण) हुन्छ, त्यही कुरा हजुर मलाई भन्नुहोस् ।' यसैले भगवानलाई श्रेय गर्ने सबै मार्गहरु अर्जुनलाई वताउनु पर्यो । ती मार्गहरुमा दान, यज्ञ, तप, वेदाध्ययन, प्राणायाम, ध्यानयोग, हठयोग, लययोगको वारे वताउने पनि केही कर्तव्य हुन्छ वक्ताको । यसैले भगवानले गीतामा सबै कल्याणकारक साधनहरु वताउनु भयो । ती सबै साधन वताउँदा भगवानले भन्नुभयो, उत्पत्ति-विनाशशील वस्तुहरुको लक्ष मनुष्यको नै खास वाधक हो । यदि साधकको लक्ष केवल परमात्माको छ भने उसको अगाडि आएको जुन सुकै कर्तव्य कर्म समभावले हुन्छ । समभावले गरिएका सबै कर्तव्य-कर्म कल्याण गर्ने हुन्छन् ।

No comments:

Post a Comment