Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 26: श्लोक २६ यो अस्थिर र चंचल मन जहाँ जहाँ विचरण गर्छ, त्यहाँ त्यहाँवाट हटाएर यसलाई एक परमात्मामा

No.182

श्लोक २६ 

यो अस्थिर र चंचल मन जहाँ जहाँ विचरण गर्छ, त्यहाँ त्यहाँवाट हटाएर यसलाई एक परमात्मामा नै भलिभाँती लगाउने ।

साधकले वनाएको ध्येयमा यो मन टिक्तैन, अड्दैन । यसैले यसलाई अस्थिर भनियो । यो तरह-तरहको सांसारिक भोगहरुको, पदार्थहरुको चिन्तन गर्छ । अतः यसलाई चंचल भनेको हो । तात्पर्य, मन न त परमात्मामा स्थित हुन्छ र न संसारलाई नै छोड्छ । यसैले साधकले यो जहाँ जहाँ जान्छ, जुन जुन कारणले जान्छ, जसरी जसरी जान्छ र जव जव जान्छ, यसलाई त्यहाँ त्यहाँवाट, त्यही त्यही कारणले, त्यसरी त्यसरी र त्यो त्यो वेला हटाएर परमात्मामा लगाउनु पर्छ भनिएको हो । यो अस्थिर र चंचल मनको नियमन गर्न सावधानी राख्ने, ढिलाई नगर्ने ।

मनलाई परमात्मामा लगाउनु भन्ने तात्पर्य हो, जव जव यो कुरा थाहा हुन्छ कि मन पदार्थहरुको चिन्तन गर्दैछ, त्यो वेला यस्तो विचार गर्ने, चिन्तनको वृत्ति र त्यसको विषयको आधार र प्रकाशक परमात्मा नै हुनुहुन्छ । यसैलाई परमात्मामा मन लगाउने भनिएको हो । 

परमात्मामा मन लगाउने युक्तिहरु 

(१) मन जुन कुनै इन्द्रियको विषयमा, जुन कुनै व्यक्ति, वस्तु, घटना, परिस्थिति आदिमा गयो भने त्यही वेला त्यो विषय आदिवाट मनलाई हटाएर आफ्नो ध्येय -- परमात्मामा लगाउने । फेरि गयो भने फेरि त्यो विषयवाट ल्याएर परमात्मामा लगाउने । यसरी मनलाई वारम्वार आफ्नो ध्येयमा लगाइरहने ।

(२) जहाँ जहाँ मन जान्छ, त्यहाँ त्यहाँ नै परमात्मा देख्ने । जस्तो, गंगाजी याद आयो भने गंगाजीको रूपमा परमात्मा नै हो, गाइ याद आयो भने गाइको रूपमा परमात्मा नै हो -- यसरी मनलाई परमात्मामा लगाउने । अर्को दृष्टिले, गंगाजी आदिमा सत्तारूपले परमात्मा नै परमात्मा हुनुहुन्छ; किनकि यो   भन्दा पहिले पनि परमात्मा नै हुनुहुन्थ्यो, यिनीहरु नरहँदा पनि परमात्मा नै रहनु हुनेछ र यिनीहरु रहँदा पनि परमात्मा नै हुनुहुन्छ । यसरी मनलाई परमात्मामा लगाउने । 

(३) साधकले आफ्नो मन परमात्मामा लगाउने अभ्यास गर्दा उसलाई संसारको कुरा याद आउँछ । यसले गर्दा साधक डराउँछ, 'जव म संसारको काम गर्छु, त्यो वेला यति धेरै कुराहरु आउँदैनन्; परन्तु जव परमात्मामा मन लगाउने अभ्यास गर्छु' भनेर । त्यो वेला मनमा किसिम किसिमका कुराहरु आउन थाल्छन् ! तर यस्तो ठानेर साधकले डराउनु हुँदैन; किनकि अहिले साधकको उद्देश्य परमात्माको भएपछि संसारको चिन्तनको रूपमा भित्रवाट कूडा-कचरा निस्किरहेको हो, भित्रवाट सफाइ भइरहेको हो । तात्पर्य, सांसारिक कार्य गर्दा भित्र जम्मा भएका पुराना संस्कारहरु वाहिर निस्कने मौका मिल्दैन । यसैले सांसारिक कार्य छोडेर एकान्तमा वस्दा तिनलाई वाहिर निस्कने मौका मिल्छ र ती वाहिर निस्कन्छन् ।

(४) साधकलाई भगवानको चिन्तन गर्न कठिनता पर्ने कारण हो, ऊ आफूलाई संसारको मानेर भगवानको चिन्तन गर्छ । अतः संसारको चिन्तन स्वतः हुन्छ र भगवानको चिन्तन गर्नु पर्छ, तैपनि चिन्तन हुँदैन ।  यसले साधक भगवानको भएर भगवानको चिन्तन गर्ने । तात्पर्य, 'म त केवल भगवानको हुँ र केवल भगवान नै मेरो हुनुहुन्छ; म शरीर-संसारको होइन र शरीर-संसार मेरो होइन' भनेर भगवानसँग सम्बन्ध भएपछि भगवानको चिन्तन स्वाभाविक हुन थाल्छ, चिन्तन गर्नु पर्दैन ।

(५) ध्यान गर्दा साधकले यो विचार गर्ने, मनमा कुनै कार्य जम्मा नरहोस् अर्थात् 'फलानो कार्य गर्नु छ, फलानो ठाउँमा जानु छ, फलानो व्यक्तिसँग भेट्नु छ, फलानो व्यक्ति मलाई भेट्न आउँछ, ऊसँग कुरा गर्नु छ' भन्ने कार्य जम्मा नराख्ने । यी कार्यहरुका संकल्पहरुले ध्यान लाग्न दिंदैनन् । त्यसैले ध्यानमा शान्तचित्त भएर वस्नु पर्छ ।

(६) ध्यान गर्दा संकल्पहरु आए भने तिनलाई तुरुन्तै हटाउने ।

(७) सामुन्ने हेर्दै पलकहरुलाई वारम्वार छिटो छिटो झप्काउने र त्यसपछि नेत्र बन्द गर्ने । पलकहरु झप्काउँदा वाहिरका दृश्य हट्छन् र भित्रको संकल्प पनि काटिन्छन् ।

(८ ) पहिले नासिकाले स्वासलाई दुई-तीन चोटी जोडले वाहिर निकाल्ने र फेरि अन्तमा जोडले (फुंकार गर्दै) पूरा स्वास वाहिर निकालेर वाहिर नै रोक्ने । जति वेर सकिन्छ, त्यति वेर स्वास रोकेर विस्तारै विस्तारै स्वास लिएर स्वाभाविक स्वास लिने स्थितिमा आउने । यसवाट सबै संकल्प-विकल्प मेटिन्छन् । 

यदि पूर्वश्लोक अनुसार चुप-साधन गर्न नसके मन जहाँ जहाँ जान्छ, त्यहाँ त्यहाँवाट मन हटाएर त्यसलाई एक परमात्मामा नै लगाउने । मनलाई परमात्मामा लगाउने सजिलो साधन हो, मन जहाँ जहाँ जान्छ, त्यहाँ त्यहाँ परमात्मा नै देखियोस् अथवा मनले जे जे चिन्तन गरिन्छ, त्यसलाई परमात्माको नै स्वरूप सम्झने ।

एक परमात्माको सत्ता सिवाय अर्को सत्ता मानुन्जेल साधकको मन पूर्णतया निरोध हुन सक्तैन । कारण, आफूमा अर्को सत्ताको मान्यता रहुन्जेल रागको सर्वथा नाश हुन सक्तैन र रागको सर्वथा नाश नभई मन सर्वथा निर्विषय हुन सक्तैन । राग रहँदा मनको सीमित निरोध हुन्छ । यसले गर्दा लौकिक सिद्धिहरुको प्राप्ति हुन्छ, तर वास्तविक तत्वको प्राप्ति हुँदैन । अर्को सत्ताको मान्यता रहँदा निरुद्ध भएको मन व्युत्थान हुन्छ अर्थात् त्यसमा समाधि र व्युत्थान -- यी दुइ अवस्थाहरु हुन्छन् । कारण, अर्को सत्ता नमानी दुई अवस्थाहरु सम्भव पनि छैन । अतः मनको सर्वथा निरोध अर्को सत्ता नमान्दा नै हुन्छ । 

No comments:

Post a Comment