Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 19: श्लोक १९ स्पन्दनरहित वायु भएको ठाउँमा रहेको दीपकको ज्वाला चेष्टारहित हुने जस्तै योगको अभ्यास

No.175

श्लोक १९

स्पन्दनरहित वायु भएको ठाउँमा रहेको दीपकको ज्वाला चेष्टारहित हुने जस्तै योगको अभ्यास गर्दै वशमा गरिएको योगीको चित्तको उपमा दिइएको छ ।

पूरा स्पन्दन नभएको वायु भएको ठाउँमा राखिएको दीपकको ज्वाला अलिकति पनि चल-हल गर्दैन, योगको अभ्यास गर्नेको मन स्वरूपको चिन्तनमा लाग्छ । चित्तलाई आफ्नो वशमा राख्ने त्यो ध्यानयोगीको चित्तलाई पनि दीपकको ज्वालाको उपमा दिइएको छ । तात्पर्य, त्यो योगीको चित्त स्वरूपमा यस्तो लागेको हुन्छ कि उसमा एक स्वरूप सिवाय अर्को कुनैको पनि चिन्तन हुँदैन । 
    
कुनै पनि स्थान वायुले सर्वथा रहित हुँदैन । वायु सर्वत्र रहन्छ । कुनै ठाउँमा वायु स्पन्दनरूपले रहन्छ र कुनै ठाउँमा वायु निःस्पन्दनरूपले रहन्छ । 

यहाँ चित्तलाई पर्वत जस्तो स्थिर, अचल नभनेर दीपकको ज्वालाको उपमा किन दिइयो ? दीपकको ज्वाला त स्पन्दन भएको वायुले हल्लिन पनि सक्छ, तर पर्वत कहिले पनि हल्लिन सक्तैन । अव प्रश्न छ, के चित्तलाई पर्वतको नै उपमा दिनु पर्थ्यो ? यसको उत्तर यो हो, पर्वत स्वभावले नै स्थिर, अचल र प्रकाशहीन छ, तर दीपकको ज्वाला स्वभावले चंचल र प्रकाशमान छ । चंचल वस्तुलाई स्थिर राख्न विशेष कठिन हुन्छ । चित्त पनि दीपकको ज्वाला जस्तो स्वभावले नै चंचल छ, त्यसैले चित्तलाई दीपकको ज्वालाको उपमा दिइएको हो ।

अर्को कुरो, दीपकको ज्वाला प्रकाशमान भए जस्तै योगीको चित्त परमात्मतत्वमा जाग्रत रहन्छ । यो जागृति सुषुप्ति भन्दा विलक्षण छ । सुषुप्ति र समाधि -- यी दुईमा संसारको निवृत्ति समान रहन्छ, तर सुषुप्तिमा चित्तवृत्ति अविदयामा लीन हुन्छ । अतः त्यो अवस्थामा स्वरूपको भान हुँदैन । तर समाधिमा चित्तवृत्ति जाग्रत रहन्छ अर्थात् चित्तमा स्वरूपको जागृति रहन्छ । यसैले यहाँ दीपकको ज्वालाको दृष्टान्त दिइएको छ । अव आउने श्लोकमा साधकले पूर्णता पाएको स्थितिको वर्णन छ ।

श्लोक २० 

योगको सेवन गरी गरी  निरुद्ध गरिएको चित्त उपराम भएको अवस्थामा स्वयं आफैंले आफैंलाई देख्दै आफैंमा सन्तुष्ट हुन्छ । 

ध्यानयोगमा पहिले 'मनलाई केवल स्वरूपमा नै लगाउनु छ' भन्ने धारणा हुन्छ ।यस्तो धारणा भएपछि स्वरूप सिवाय अर्को कुनै वृत्ति पैदा भए पनि त्यो वृत्तिलाई उपेक्षा गरेर त्यसलाई हटाउने र चित्तलाई केवल स्वरूपमा नै लगाउनाले त्यो अवस्थालाई ध्यान भनिन्छ । ध्यान गर्दा ध्याता, ध्यान र ध्येय -- यस्तो त्रिपुटी रहन्छ अर्थात् साधक ध्यान गर्दा आफूलाई ध्याता (ध्यान गर्ने व्यक्ति) मान्छ, स्वरूपमा तद्रूप हुने वृत्तिलाई ध्यान मान्छ र साध्यरूप स्वरूपलाई ध्येय मान्छ । तात्पर्य, यी तीनैको छुट्टा-छुट्टै ज्ञान रहुन्जेलको अवस्थालाई 'ध्यान' भनिन्छ । अन्तमा केवल ध्येय नै जाग्रत रहन्छ । यसैलाई 'समाधि' भनिन्छ । यो समाधि 'संप्रज्ञात-समाधि' हो । यो समाधि चित्तको एकाग्र अवस्थामा हुन्छ । यो समाधिको दीर्घकालको अभ्यासले 'असम्प्रज्ञात-समाधि' हुन्छ । यही असम्प्रज्ञात समाधिलाई नै चित्तको 'निरुद्ध' अवस्था भनिन्छ । 

निरुद्ध अवस्थाको समाधि दुई किसिमको हुन्छ -- सबीज र निर्बीज । संसारको सूक्ष्म वासना रहेको समाधि 'सबीज समाधि' भनिन्छ । सूक्ष्म वासनाले गर्दा सबीज समाधिमा सिद्धिहरु प्रकट हुन्छन् । यी सिद्धिहरु सांसारिक दृष्टिले त ऐश्वर्य हुन्, पारमार्थिक दृष्टिले (चेतन तत्वको प्राप्तिमा) विघ्न हुन् । ध्यानयोगीले यी सिद्धिहरुलाई निस्तत्व भन्ने जानेर यिनवाट उपराम भएपछि उसलाई 'निर्वीज समाधि' हुन्छ । यसैलाई यहाँ 'निरूद्धम्' पदले संकेत गरिएको छ। 

ध्यानमा संसारको सम्बन्धवाट विमुख भएपछि एक शान्ति, सुख पाइन्छ । यो सुख संसारसँग सम्बन्ध रहँदा कहिले पाइंदैन । संप्रज्ञात-समाधिमा त्यो भन्दा विलक्षण सुखको अनुभव हुन्छ । यो संप्रज्ञात-समाधि भन्दा पनि असम्प्रज्ञात समाधिमा विलक्षण सुख हुन्छ । साधक निर्बीज समाधिमा पुगेपछि त्यो समाधिमा उसलाई वडो विलक्षण सुख, आनन्द हुन्छ । योगको अभ्यास गर्दा गर्दा चित्त निरुद्ध-अवस्था -- निर्बीज समाधिवाट पनि उपराम हुन्छ अर्थात् योगीले त्यो निर्वीज समाधिको पनि सुख लिंदैन, त्यो समाधिको सुखको भोक्ता ऊ वन्दैन । त्यो वेला ऊ आफ्नो स्वरूपमा आफूले आफैंमा आफ्नो अनुभव गर्दै आफैंमा सन्तुष्ट हुन्छ ।

'उपरमते' पदको तात्पर्य, चित्तलाई संसारसँग त प्रयोजन रहेन र स्वरूपलाई पनि पक्डन सकेन । कारण कि चित्त प्रकृतिको कार्य भएकोले जड हो र स्वरूप चेतन हो । जड चित्त चेतन स्वरूपलाई कसरी पक्डन सक्छ ? यसैले यो (चित्त) उपराम हुन्छ, चित्त उपराम भएपछि योगीको चित्तसँग सर्वथा सम्बन्ध-विच्छेद हुन्छ । 

'तुष्यति' भन्नुको तात्पर्य, उसको सन्तोषको अर्को कुनै किञ्चित् मात्र पनि कारण रहँदैन । केवल आफ्नो स्वरूप नै उसको सन्तोषको कारण रहन्छ । 

यो श्लोकको सार, आफू द्वारा आफूमा नै आफ़ो स्वरूपको अनुभूति हुन्छ । त्यो तत्व आफ्नो भित्र नै जस्ता-को-तस्तै छ । केवल संसारसँग आफ्नो सम्बन्ध मान्दा नै चित्तका वृत्तिहरु संसारमा लाग्छन् । यसो हुँदा त्यो तत्वको अनुभूति हुन नपाएको हो । ध्यानयोगद्वारा चित्त संसारवाट उपराम भएपछि योगीको चित्तसँग तथा संसारसँग सर्वथा सम्बन्ध-विच्छेद हुने वित्तिकै उसलाई आफैंमा आफ्नो स्वरूपको अनुभूति हुन्छ ।

ध्यानयोगवाट पाइने प्राप्ति कर्मयोगले पनि हुन्छ । परन्तु यी दुई साधनहरुमा केही अन्तर छ । ध्यानयोगमा साधकको चित्त समाधिको सुखवाट पनि उपराम भएपछि उ आफूले आफैंसँग आफैंमा   सन्तुष्ट हुन्छ ।

ध्यानयोगमा आफ्नो स्वरूपमा मन लाग्दा मन स्वरूपमा तदाकार हुन्छ, अनि समाधि लाग्छ । त्यो समाधिवाट पनि मन उपराम भएपछि योगीको चित्तसँग सम्बन्ध-विच्छेद हुन्छ र ऊ आफू आफैंमा सन्तुष्ट हुन्छ । 

कर्मयोगमा मन, बुद्धि, इन्द्रियहरु, शरीर आदि पदार्थहरु र सम्पूर्ण क्रियाहरुको प्रवाह केवल अरुको हित तर्फ हुन्छ, त्यसपछि मनोगत कामनाहरु छुट्छन् । कामनाहरुको त्याग हुने वित्तिकै मनसँग सम्बन्ध-विच्छेद हुन्छ र उ आफू आफूमा नै सन्तुष्ट हुन्छ ।

मन आत्मामा लाग्दैन, उपराम हुन्छ । कारण, मनको जाति छुट्टै छ र आत्माको जाति छुट्टै छ । मन अपरा प्रकृति जड हो र आत्मा परा प्रकृति चेतन हो । यसैले आत्मा नै आत्मामा लाग्छ । 

आफुले आफूलाई आफैंमा देख्ने तात्पर्य, आत्म-तत्व स्वसंवेद्य छ । मनमा गरिने चिन्तन मनको विषय (अनात्मा) को नै चिन्तन हुन्छन्, परमात्माको होइन । बुद्धिले गरिने निश्चय बुद्धिको विषयको नै हुन्छ, परमात्माको होइन, वाणीले गरिने वर्णन वाणीको विषयको नै हुन्छ, परमात्माको होइन । तात्पर्य, मन-बुद्धि-वाणीले प्रकृतिको कार्य (अनात्मा)को नै चिन्तन, निश्चय तथा वर्णन गरिन्छ । परन्तु परमात्माको प्राप्ति मन-बुद्धि-वाणीले सर्वथा विमुख (सम्बन्ध-विच्छेद) भएपछि नै हुन्छ ।  

No comments:

Post a Comment